सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण
काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहिन सुकुम्वासी घरपरिवारलाई लालपूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि ५० हजार भन्दाबढी भूमिहीनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छिन् । जसमा गाउँब्लक, पुनःनापी र विशेष नापीबाट ४९ हजार भन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत करिब एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिएको छ ।
काठमाडौं–तराई/मधेस द्रुतमार्गका पदाधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनामा कानून विपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन गरेको हो । समितिले गत चैत १३ गतेको निर्देशनअनुसार छानबिन समिति गठन भएकामा त्यसले प्याकेज नम्बर ४ र ५ को ठेक्का सम्झौता सार्वजनिक खरिद ऐनको दफा २७ (३) बमोजिम नभएको पुष्टि गरेको थियो । समितिले पनि आयोजनालाई पटकपटक कानूनबमोजिम ठेक्का प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएको थियो । रक्षा मन्त्रालयको योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख एवं सहसचिव बाबुराम अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । यसअघि नै छानबिन समितिले प्रतिवेदन समितिलाई बुझाइसकेको छ ।
एनआईसी एशिया बैंकले ल्यायो ग्राहक पहिचानको लागि भिडियो केवाइसी सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरेको छ । बैंकले अनलाईन खाता खोल्ने स्वदेश र विदेशमा रहेका ग्राहकका लागि भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरेको हो । बैंकको वेबसाइट मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडियो कल गरी उक्त कल मार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिइएको छ । यदि भि-केवाइसी मार्फत आफ्नो केवाइसी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कल मार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भि केवाइसी को भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरि सो समयमा केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने छ । ग्राहकहरुले भि(केवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर कार्ड) तथा सेतो कागज र कालोरनिलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्नेछ । भिडियो केवाइसी मार्फत केवाइसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बाबा रामदेबको पतञ्जली आयुर्वेदले पनि आईपीओ ल्याउने, अन्य चार कम्पनीले पनि तयारी गर्दै
नयाँदिल्ली । पतञ्जली आयुर्वेदले पनि छिट्टै आईपीओ सार्वजनिक गर्ने भएको छ । योग गुरु बाबा रामदेवले छिट्टै आईपीओर जारी गर्ने बताएका छन् । योगगुरु बाबा रामदेवद्वारा सञ्चालित पतञ्जली फुड्सकाे भारतमा सेयर मूल्य १३८० रुपैयाँमा छ । यसरी कम्पनीको मार्केट क्याप ५० हजार करोड नाघेको छ । रामदेवले पतञ्जली फुड्सलाई ऋणमुक्त बनाउनु पर्ने बताएका छन् । उनले यस कम्पनीको विस्तार योजनाका बारेमा पनि छलफल गरेका छन् । ‘बजारबाट पैसा कमाउनु फरक कुरा हो, तर हाम्रो ध्यान पतञ्जली फुड्सलाई ऋणमुक्त कम्पनी बनाउने हो, डिसेम्बर २०२२ सम्म ६ प्रतिशत लिक्विडेट गर्न कम्पनी जुटिसकेको पनि उनले बताएका छन् । कम्पनीले १५ लाख एकडभन्दा बढी जग्गामा पाम खेती गर्ने योजना बनाएको छ । यससँगै कम्पनीले ५ देखि ७ वर्षमा वार्षिक करिब २ हजार करोड रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको छ । पाम रूखले ४०वर्षसम्म नाफा दिनेछ । यससँगै देश पाम आयलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्ने जनाएको छ । देशको तीन लाख करोड रुपैयाँ बचत हुने विश्वास कम्पनीको छ । बाबा रामदेवले कम्तीमा ४ कम्पनीले आईपीओ ल्याउने योजना बनाएको बताएका छन् । यो आईपीओ योजनामा पतञ्जली आयुर्वेद, पतञ्जली वेलनेस, पतञ्जली मेडिसिनलगायत पतञ्जलीका अन्य कम्पनीहरू समावेश गर्न सकिनेछ । आगामी वर्षहरुमा आईपीओ ल्याउने कम्पनाीको तयारी छ । अहिले भारतीय सेयर बजारमा पतञ्जली फुड्सको स्टक किनबेच भइरहेको छ । सेयरको मूल्य ५२ हप्ताकै उच्च विन्दुमा पुगेको छ । शेयरको मूल्य १३८०.३५ रुपैयाँमा कारोबार भइरहेको छ । एजेन्सी
हुन्डाई नेपाल मन्दिर र विद्यालयमा गर्यो सरसफाइ तथा रंगरोगन
काठमाडौं । हुन्डाई नेपालले ‘बिभि द चेन्ज अभियान अन्तर्गत टेकुमा रहको पचली भैरव मन्दिरमा सरसफाई गरेको छ । कम्पनीले शनिबार पचली भैरवका साथै महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरेको हो । हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रङ्ग पनि लगाइएको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा आयोजना गरिएको थियो। हुन्डाई नेपालको बिभि द चेन्ज हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य९बद्धता गर्ने पहल स्वरूप ल्याईएको कार्यक्रम हो । बिभि द चेन्ज अभियान अन्तर्गत यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको थियो । साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्न गरिएको उक्त कार्यक्रममा ४० भन्दा बढी विद्युतीय गाडीका ग्राहकसँगै १५० भन्दा बढिको उत्साहजनक सहभागिता रहेको थियो । गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।
गढीमाई मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा
काठमाडाैं । माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएकाे छ । बैंकले शनिबार बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा भएको एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको थियो । उक्त क्युआर कोड बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलमई हस्तान्तरण गरेका थिए । यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा नि:शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएकाे छ ।
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने
काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । १३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रुपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस करिडोरमा निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत आयोजनाको ७२ मेगावाट विद्युत कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए । ‘गत वर्षको बाढीले क्षति पुर्याएको एउटा टावर निर्माणको अन्तिम चरणमा छ, त्यसैले उदीपुरबाट दोर्दी खोला–१ जलविद्युत आयोजनासम्म हाम्रो लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१को प्रसारण लाइन प्रयोग गरी लाइन सञ्चालनमा ल्याएका छौं’, पौडेलले भने, ‘प्रसारण लाइन अभावमा विद्युत जोड्न नपाउने हो की भन्ने चिन्ता र चासो त्यस क्षेत्रका निजी लगानीकर्ताहरुलाई थियो, अब लाइन सञ्चालना आएपछि कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन ।’ प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिने छन् । दोर्दी खोलामा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाहरुको विद्युत वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभीे मस्र्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ । करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेसन निर्माण गरेको हो । निर्माण सम्पन्न भएको प्रसारण लाइनको गत वर्षको असारमा दोर्दी खोलामा आएको बाढीले ४ वटा टावर बगाइदिएको थियो । त्यसमध्ये ३ वटा टावर निर्माण सम्पन्न भएको छ भने एउटा अन्तिम चरणमा छ ।
नेशनल लाईफ इन्स्योरेन्सले अस्पताललाई गर्यो २० लाख सहयोग
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक एक पाईला फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनकोशी गाउँपालिकामा अस्पताल बनाएको फाउण्डेसनलाई उक्त रकम सहयोग गरेको हो । फाउण्डेसनले सुनकोशी गाउँपालिकामा एक एक पाइला ठोकर्पा आधारभूत अस्पताल निर्माण गरी संचालनमा ल्याइसकेको छ । सुनकोशी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा फाउण्डेसनका अध्यक्ष डा। सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो । उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनले आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप-कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरेको थियो ।