लामो पुलले बढायो बागलुङमा पर्यटक, नयाँ होटलहरु थपिए
बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ । पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन् । धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ । लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या निकै बाक्लो देखिन्छ । पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन् । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यस वर्ष बागलुङमा पर्यटक बढेको बताए । अध्यक्ष चोखालले लामो पुलले गर्दा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाउँदै गएको बताउँछन् । ‘लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटक बागलुङ धेरै आएको हामीले पाएका छौँ, होटल व्यवसाय पनि फस्टाउँदै गएका छन्, नयाँ नयाँ होटल पनि थपिएका छन्’, अध्यक्ष चोखालले भने, ‘दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायी पनि उत्साहित बन्दै गएका छन् ।’ अध्यक्ष चोखालले पहिले बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकामा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेको बताउँछन् । ‘पहिले बागलुङ कालिका आउने आन्तरिक पर्यटक मन्दिर दर्शन गरेर फर्किने गर्थे, मन्दिरमा डेढ लाख पर्यटक आए पनि बागलुङ बजारमा २५ प्रतिशत मात्रै जाने गर्थे, अहिले बागलुङमा वार्षिक दुई लाख बढी पर्यटक आएको पाएका छौँ, त्यसमध्ये ४५ प्रतिशत बजारमा आउँछन्’, चोखालले भने, ‘अब फाट्टफुट्ट विदेशी पर्यटक पनि आउने गरेका छन्, अर्को वर्षदेखि थप बढ्दै जाने हाम्रो अनुमान छ, प्रचारप्रचार बढी भयो भने हामीले धेरै पर्यटक बागलुङमा भित्र्याउन सक्छौँ ।’ बागलुङ बजार हुँदै पञ्चकोट र सुरुङभित्र रहेको सालिग्राम सङ्ग्रहालय हेर्न जाने पर्यटक सङ्ख्या पनि उत्तिकै छ । त्यसले गर्दा बागलुङ बजारका होटल व्यवसायी उत्साहित बनेका हुन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको बताए । अध्यक्ष खड्काले छोटो समयमा धेरै प्रचार हुँदा पुलमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताए । सामाजिक सञ्जालमा व्यापाकरुपमा प्रचार भएको हुँदा पुलमा आउने आगन्तुक दिनदिनै बढेको उनकाे भनाइ छ । खड्काले पुलसँगै बागलुङ कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा समेत पर्यटकको आकर्षण निकै बढेको बताउँछन् । ‘लामो पुलले बागलुङको पर्यटन प्रवद्र्धन गर्न निकै ठूलो भूमिका खेलेको छ, अहिले रहेक दिन पुलमा सयौँको सङ्ख्यामा मान्छे आउँछन्, अझ बिदाको दिन निकै ठूलो भीड हुन्छ, छोटो समयमा धेरै प्रचारका कारण पर्यटक बढेका हुन्’, अध्यक्ष खड्काले भने, ‘पुलमा मात्रै होइन, अहिले कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा पनि पर्यटकको आगमन निकै बढेको छ, यसले बागलुङको पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ ।’ खड्काले मुस्ताङ जाने पर्यटक पनि बागलुङ भित्रिन थालेको भन्दै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिने बताए । पुल वरपरका गन्तव्यबाहेक पछिल्लो समय अन्य क्षेत्रमा पनि पर्यटक पुग्ने गरेको उनी बताउँछन् । ‘अहिले मुुस्ताङको मुक्तिनाथ जाने आधा पर्यटक बागलुङ आउने गरेका छन्, पुलले बागलुङमा व्यापकरुपमा पर्यटक भित्र्याउन मद्दत गरेको छ, यसभन्दा अगाडि मुस्ताङ जाने पर्यटक बागलुङमा १० प्रतिशत पनि आउँदैनथे, पुलकै कारण बागलुङका अन्य गन्तव्य पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्’, उनले भने, ‘पर्यटकलाई थप आकर्षण गर्न प्रचारप्रसारलाई तीव्र पार्ने र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलाई जोड दिनु पर्नेछ ।’ उनले पुल वरपरका स्थानमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार निर्माणसँगै बत्ती जडान गर्ने बताए । अहिले जडान भएको लाइट आधा भागमा मात्रै बलेको भन्दै त्यसले करेन्ट लाग्ने जोखिम बढेपछि नयाँ बत्ती जडान गर्न थालेको खड्काले बताए । नयाँ बत्ती जडान गर्न १२ लाख लाग्ने अनुमान गरेको भन्दै बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाको यस सहकार्य हुने उनको भनाइ छ । ‘यसभन्दा अगाडि जडान भएको लाइट सबैले काम गरेन, त्यसले पुलमा हिँड्नेलाई करेन्ट लाग्ने जोखिम बढायो, त्यसलाई हटाए नयाँ लाइट जडान गर्ने काम सुरु भएको छ, यसका लागि १२ लाख लाग्ने अनुमान गरिएको छ, यसलाई बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाले सहकार्य गरेर निर्माण गर्न थालेको छ’, उनले भने, ‘बत्ति जडानपछि रातमा पनि पुल वारपार गर्न सहज हुनेछ ।’ ‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल पाँच सय ६७ मिटर लामो छ । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोडिएको छ । पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो । रासस
नाडा इभी एक्स्पोमा ५१ वटा स्टल हुने, खल्तीबाट अनलाइन टिकट काट्न सकिने
काठमाडाैं । असोज ६ गतेदेखि हुन लागेकाे नाडा इभी एक्स्पाेमा ५१ वटा स्टलहरु हुने भएकाे छ । असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलो पटक हुन लागेकाे यस एक्स्पाेमा साना तथा ठूलाे गरेर ५१ वटा स्टल रहन् एक्स्पो समितिका सभापति अनुप कुमार बारलले जानकारी दिए । बरालकाे अनुसार एक्स्पाेमा ७ वटा ग्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ वटा याण्डका दुई पाङ्ग्रे, ३ वटा याण्डका टायर, २ वटा याण्डका ब्याटरी, ९ वटा पार्ट-पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको छ भने युृएसएड क्लिन एयरले नलेज पार्टनरको रुपमा एक्स्पाेमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सन्चालन गर्नेछ । एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सह-प्रायोजकमा शिखर इन्स्याेरेन्स कम्पनी तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ । एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएकाे छ । असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ४ दिनसम्म चल्ने नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजकले जनाएकाे छ ।
समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन
काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो सातौं शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन गरेको छ । बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले साेमबार उक्त शाखाकाे उद्घाटन गरेका हुन् । शाखा कार्यलयकाे उद्घाटन कार्यक्रममा फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी, बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धरको उपस्थिति रहेको थियो । फाइनानसले छिटै नै आठौं शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गर्ने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवद्र्धक अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् । समृद्धि फाइनान्सले मुद्धति हाल निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।
मोटरसाइकलमा दशैं अफर : १५ लाखसम्म नगद पुरस्कार, शून्य डाउनपेमेन्टदेखि बीमाको सुविधा
काठमाडौं । दशैं तिहार नजिकिएसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरुले विभिन्न स्कीमहरु सार्वजनिक गरेका छन् । चार्ड पर्वलाई लक्षित गर्दै मोटरसाइकल बिक्रेता कम्पनीहरुले नगद छुटदेखि बीमा सुविधासम्मका योजनाहरु सार्वजनिक गरेका छन् । ग्राहकहरुलाई आकर्षित गर्नका लागि कम्पनीहरुले यस्ता किसिमका स्कीमहरु हरेक चाडपर्वमा ल्याउने गरेका छन् । यस्ता छन् कम्पनीका स्कीम बेनेलीको बाइक किन्दा एक लाख पाइने केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । कम्पनीको अफर अन्तर्गत पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्यूआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । यो क्यूआर कोड मोटरसाइकल किन्न चाहने वा नचाहनेले दुवैले प्रयोग गर्न सक्नेछन् । यस्तै, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ग्राहकले वाक इन डिस्काउन्ट प्राप्त गर्नेछन् । जसमा ग्राहकलाई स्क्रयाच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ । त्यसैगरी, मोटरसाइकल किनिसकेपछि ग्राहकले ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट पाउने कम्पनीले बताएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । बजाज बाइक २५ प्रतिशत डाउनपेमेन्टमा बजाज बाईकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक खरीद गर्न सकिने छ । बजाज मोटरसाइकलले दशैंतिहार र छठलाई लक्षित गर्दै सो अफर ल्याएको हो । नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित अफर गर्दै आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक खरीद गर्न सकिने बताएको छ । यो योजना अन्तर्गत हरेक बजाज बाईकको खरिदमा ७ हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीको दाबी छ । यामाहामा ६ हजार रुपैयाँ जित्न सक्ने यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सकिने छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले दशैं, तिहार र छठलाई लक्षित गर्दै सो लागायताका ल्याएको हो । कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् । कम्पनीका अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन । सीमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी गराएको छ । छठसम्म लागू हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीले जानकारी दिएको छ । टिभीएसमा पाँच पटकसम्म उपहार टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना ल्याएको छ । सो योजनाअन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ । ‘कायापलट’ योजना अन्तर्गत नकिन्दै मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दश लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिने छ । साथै, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नेछन् । होण्डामा ७ लाखसम्मको क्यासब्याक होण्डको बाइक तथा इस्कुटर किन्दा ७ लाखसम्मको क्यासब्याक पाइनेछ । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले स्क्याच कुपन मार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउने कम्पनीले जानकारी दिएको छ । साथै, ७ प्रदेशबाट एक एक जनाले ७ लाख, बम्परमा लक्की ड्र मार्फत् १५ लाख नगद उपहार जित्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार यो योजना भदौ २० गतेदेखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुनेछ । हिरो मोटरसाइकलमा एक लाख नगद नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दशैको अवसरमा ‘आहा दशै चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग’ योजना ल्याएको छ ।यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने छन् । साथै, यसमा सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ । मोटरहेड र टारोमा बीमा सुविधा एसजि गु्रप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डले भदौ २७ गतेदेखि एक्स्चेञ्ज क्याम्प सञ्चालन गरेका छन् । सोमबारबाट शुरु हुने यो क्याम्प शुक्रबार अर्थात भदौ ३१ गतेसम्म लागू हुने छ ।उक्त क्याम्पमा जस्तोसुकै अवस्थाको बाइकहरुमा कम्तिमा २५ हजार रुपैयाँको मुल्याङकन हुनेछ र जुनसुकै ब्राण्डको बाइकसँग एक्स्चेञ्जमा बजार मुल्याङ्कन भन्दा २० हजार रुपैयाँ हुनेछ । साथै, बम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट सम्पूर्ण बीमा छुट हुनेछ । यसका साथ साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत यही १९ भदौ २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, बाइक पनि बचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड ब्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९०० रुपैयाँदेखि १ लाख रुपैयाँ जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै टेक्केन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । टारो ब्राण्डका बाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत बचत पनि हुने उद्देश्यले आफ्नो बाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरको खरीदमा १५ हजार रुपैयाँ छुटको अफर अघि सारेको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गई टेष्ट राइड तथा पोज एण्ड पोष्ट क्यापियन अन्तर्गत फोटो खिची लाइक एण्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।
बागमती प्रदेशका विपन्न नागरिकलाई रगत निःशुल्क
चितवन । बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो । जिल्लामा पनि सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय चितवनले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाई र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका सभापति ज्ञानशाली न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । तीन वटा अस्पतालका प्रतिनिधिको रोहवरमा सम्झौता भएको हो । कार्यालयका प्रमुख चापागाईले असोज १ गतेबाट भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचाररत बिरामीलाई रगत निःशुल्क उपलब्ध गराइने बताए । कार्यविधिअनुसार एउटा बिरामीले एक वर्षमा १० युनिट रगत निःशुल्क पाउने छ । डायलासिस र रक्ततत्व आवश्यकपर्ने बिरामीका लागि थप १० युनिट निःशुल्क हुनेछ । आकस्मिक अवस्थामा रहेका घाइते र बिरामीलाई भने प्रदेश सरकारले जहाँका बिरामी भए पनि निःशुल्क उपलब्ध गराउने छ । बिरामीले निःशुल्क सेवा लिनका लागि आफू बागमती प्रदेशको वासिन्दा भएको खुल्ने कागजपत्र पेश गर्नुपर्ने हुन्छ । चापागाईले भने, ‘यो सेवा लिनका लागि आवश्यक कागजात पेश गर्नुपर्ने भएकाले सोहीअनुसार अनुरोध गर्दछु ।’ निःशुल्क रगत लिनका लागि विपन्न नागरिक भएको स्वघोषणा गर्नुपर्ने हुन्छ । यसका लागि कुनै प्रमाण माग नगरी स्वघोषणा फाराम भरे पुग्ने गरी व्यवस्था गरिएको छ । कार्यालयले एक वर्षका लागि तीन हजार आठ सय युनिट रगतका लागि बजेट विनियोजन गरेको छ । हाल रगतका लागि केन्द्रले सेवा शुल्कबापत आठ सय ५० लिँदै आएको छ । जिल्लामा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गर्दछ । यहाँबाट माग पूर्ति गर्न नसकेर छिमेकी जिल्ला, काठमाडौं, पोखरालगायतका ठाउँबाट रगत ल्याउने गरिएको छ । यस कार्यक्रमसँगै यहाँका तीनवटा अस्पतालमा उपचारका लागि आउने विपन्न वर्गका बिरामी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । दुर्घटना, क्यान्सर र सुत्केरीले तीन अस्पतालमा धेरै रगत खपत हुँदै आएको छ । रासस
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातक तहको इन्जिनियरिङ संकायमा प्रवेश परीक्षाको आवेदन शुरु
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको इन्जिनियरिङ संकायमा भर्नाको लागि प्रवेश परीक्षा फारम भर्न शुरु गरेको छ। भदौ २३ गते प्रवेश परीक्षाको लागि आवेदन फारम भर्ने सूचना प्रकाशित गर्दै विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुलमा प्रवेश परिक्षाका लागि अनलाइनमार्फत आवेदन फारम भर्न आह्वान गरेको हो । विश्वविद्यालयले बिइ अन्तर्गत सिभिल, बायोमेडिकल, इलेक्ट्रोनिक कम्यूनिकेसन तथा अटोमेसन, इलेक्ट्रिकल, जियोमेटिक र बायोमेडिकलमा प्रवेश परीक्षाको लागि आवेदन माग गरेको छ । त्यस्तै विश्वविद्यालयले ब्याचलर इन आर्किटेक्चर विषयमा प्रवेश परीक्षाको लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले प्रवेश परीक्षाको लागि खुलाएको आवेदनमा इच्छुक विद्यार्थीहरुले असोज २६ गते सम्म २ हजार आवेदन शुल्क बुझाई प्रवेश परिक्षाको फारम भर्न सक्नेछन भने बिलम्ब शुल्क ३ हजार बुझाएर कार्तिक ७ गतेसम्म आवेदन भर्न सक्नेछन् । विद्यार्थीहरुले आफुले इच्छ्याएको कलेज रोजेर अनलाइनमार्फत आवेदन भर्न सकिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ । हेर्नुहोस विश्वविद्यालयको सूचना :
निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी
बनियानी । झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ ।बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको जानकारी दिए । तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन, २०६४ अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ । निर्माण कम्पनीले विसं २०७९ असार १ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ असार ८ गते रु पाँच करोड ५० लाख सात हजार सात सय ६० मा ठेक्का सम्झौता गरेको थियो ।“तोकिएको समयभित्र काम सक्न पटक–पटक लिखित र मौखिक जानकारी गराउँदासमेत कार्यप्रगति नदेखिएपछि यसपटक अन्तिम पत्र काटिएको छ”, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, “ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्दा समयमा काम भएन ।” भवनमा प्लोरिङ, विद्युतीकरण (वाइरिङ), झ्यालढोका, रङरोगन, प्लम्बिङलगायतको काम बाँकी रहेको नगरपालिकाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले बताए ।
सार्फीको उपाध्यक्ष बने गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दक्षिण एशिया क्षेत्र वित्तीय समावेशी पहल (सार्फी) को उपाध्यक्षमा चयन भएका छन् । माल्दीभ्सको केन्द्रीय बैंक माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष बनेका छन् भने गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा चयन भएका हुन् । अलाइन्स फर फाइनानसियल इन्क्लूजन र सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन् २०२२ सेप्टेम्बर ५ देखि ८ मा जोर्डनको डेड सीमा आयोजित ‘ग्लोबल पलिसी फोरम, २०२२’ मा सहभागी भएका थिए । सार्फीको औपचारिक शुभारम्भको अघिल्लो दिन सेप्टेम्बर ६ मा आयोजित समारोहमा माल्दीभ्स मनिटरी अथोरिटी र नेपाल राष्ट्र बैंकका गभर्नर, स्टेट बैंक अफ पाकिस्तान र बङ्गलादेश बैंकका डेपुटी गभर्नर तथा एलायन्स फर फाइनान्सियल इन्क्लुजनका कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिङले ‘सार्फी चार्टर’मा हस्ताक्षर गरेका थिए । उक्त समारोहमा बङ्गलादेशको माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी, रोयल मनिटरी अथोरिटी अफ भुटान र सेन्ट्रल बैंक अफ श्रीलङ्काका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रवद्र्धनका निम्ति नीतिगत व्यवस्थाको तर्जुमा र सोको कार्यान्वयनलाई सबल बनाउने सामूहिक अभ्यासस्वरूप सार्फीको शुभारम्भ भएको हो ।