विकासन्युज

हिमालयन बैंकलाई एडिबीले दियाे ‘टिएससिएफपि – लिडिङ्ग बैंक इन नेपाल’ अवार्ड

काठमाडौं । हिमालयन बैंकले ‘टिएससिएफपि अवार्ड २०२२ – लिडिङ्ग बैंक इन नेपाल’ अवार्ड पाएको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । एशियाली विकास बैंकले हिमालयन बैंकलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो । बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले मंगलबार सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका थिए । हाल बैंकले १५३ वटा एटिएम, ५५ सय भन्दा बढि पीओएर तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी अभिभावकलाई म्यासेजमार्फत

भरतपुर । चितवनको एक सामुदायिक विद्यालयले मोबाइल म्यासेजमार्फत विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो । यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुलमा विद्यार्थीको सङ्ख्या धेरै भएका कारण व्यवस्थापनमा सहजता ल्याउन मोबाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘विद्यार्थी घरबाट हिँडेर कहिलेकाहीँ स्कुल नपुग्ने र स्कुलबाट छुटेपछि पनि समयमा घर नजाने गुनासो आउने गरेपछि यो प्रविधिको सुरुआत गरेका हौँ ।’ उनले विद्यालयले विद्यार्थीबारे म्यासेजको व्यवस्था गरेपछि अभिभावकलाई पनि ढुक्क हुने बताए । ‘कहिलेकाहीँ ५ बजेसम्म पनि अध्ययन हुनसक्छ, म्यासेज नआएसम्म आफ्ना छोराछोरी स्कुलमा सुरक्षित छन् भनेर अभिभावक ढुक्क हुनुहुन्छ’, प्रचार्य दवाडीले भने । यो प्रविधिमार्फत विद्यार्थीको वैज्ञानिक व्यवस्थापनको अभ्यास थालिएको उनको भनाइ छ । यो प्रविधि जडानका लागि विद्यालयले भरतपुरको प्राचीन मेटल आर्टस् एण्ड फ्लेक्ससँग सम्झौता गरेको छ । प्राचीन मेटलका सञ्चालक गोपालभक्त अधिकारीले विद्यार्थीको आइडी कार्डमा चिप जडान गरिएको र विद्यार्थी विद्यालय प्रवेश गर्ने र बाहिरिने बित्तिकै अटोमेटिक रिड गरेर अभिभावकलाई म्यासेज पठाउने बताए । अभिभावकलाई म्यासेज पठाउने प्रविधि केही निजी स्कूल कलेजमा यसअघिनै जडान गरे पनि सामुदायिक विद्यालयमा नारायणी नमूना मावि जिल्लामा नै पहिलो भएको उनले बताए । विद्यालयसँग एक वर्षको सम्झौता गरेर काम गरिएको अधिकारीले जानकारी दिए । विद्यालयको बसमा समेत जिपिएस जडान गरिएको छ । जसको माध्यमबाट अभिभावक तथा शिक्षकले मोबाइल एपको माध्यमबाट स्कुल बसलाई ट्रयाक गर्न सक्नेछन् । विद्यालयमा तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । अभिभावकले विद्यालय पु¥याउने र लैजानेबाहेकका अन्य विद्यार्थीलाई म्यासेज पठाउने व्यवस्था गरिएको छ । करिब तीन हजार विद्यार्थीलाई एकैपटक म्यासेज जाने प्राचार्य दवाडीले बताए । विद्यालयले सूचना र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ । सबै कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ भने सिसीटिभी जडान समेत गरिएको दवाडीेले जानकारी दिए । विद्यालयले पढाउने विधिलाई पनि प्रविधिमैत्री बनाएको उहाँले जानकारी दिए । रासस

अनुदान नपाउँदा उद्योग बन्द गरेर विदेशिन बाध्य

सुर्खेत  । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने बलियो सोचले नै उनले स्वदेशमै केही गर्ने अठोटका साथ कागज उद्योग सुरु गरे । उनले २०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याए । दुई रोपनी जग्गा भाडामा लिएर रु सात लाखमा नेपाली कागज उद्योग सञ्चालन गरेका उहाँले आठ जनालाई रोजगारीसमेत दिए । उद्योगका लागि चाहिने कच्चा पदार्थ दैलेख र कालीकोटबाट ल्याउनुपथ्र्यो । सुरुआती चरणमा उद्योग राम्रै चलेको बुद्धिमान बताउँछन् । “सुरुमा रु सात/आठ लाख ऋण लिएर उद्योग सुरु गरेँ, उद्योगले राम्रै आम्दानी दिइरहेको थियो, सुर्खेत र नेपालगञ्ज नेपाली कागजको बजार राम्रो थियो,” उनले भने । उद्योगबाट मासिक रु ६० हजारदेखि डेढ लाखसम्म नाफा भइरहेकाे थियाे, । स्थापनासँगै आठ जनालाई रोजगारी दिएको उद्योगले महिनामै रु दुईदेखि तीन लाखसम्म कारोबार गर्दै आएको पनि बुद्धिमानले बताए । लोक्ता हाते कागजको कच्चा पदार्थ हो । लोक्तालाई पकाएर कागज उत्पादन गर्ने गरिन्छ । लेकाली जङ्गलमा पाइने बरुवा नामक बिरुवाको बोक्रालाई लोक्ता भनिन्छ । यसैबाट नेपाली कागज तयार हुन्छ । पछिल्लो समय सामुदायिक उपभोक्ता समितिले सामुदायिक वन क्षेत्रमा लोक्ता सङ्कलनमा रोक लगाइदिएपछि उहाँको उद्योग फस्टाउन सकेन । कच्चा पदार्थ अभाव हुन थालेपछि महँगोमा किन्नुपर्ने अवस्था आएको र उद्योगको नाफा विस्तारै घट्दै जान थालेको पनि उनले बताए । कच्चा पदार्थ अभाव हुन थालेपछि नेपाली कागज उत्पादनमा समस्या पर्दै जान थालेको बुद्धिमानको भनाइ छ । उनले भने, “सुरुआतको दुई वर्षसम्म उद्योगले कच्चा पदार्थ राम्रै पाइरहेको थियो । विस्तारै वन समितिले लोक्ता सङ्कलन गर्न नदिएपछि कच्चा पदार्थ अभाव हुन थाल्यो । कच्चा पदार्थ महँगियो । कच्चा पदार्थ अभावसँगै उत्पादन पनि घट्न थाल्यो । यता कागजको मूल्य भने अहिले पनि बढेको छैन । यसले उद्योग दिन प्रतिदिन घाटातर्फ गइरह्यो ।” एकातिर कच्चा पदार्थको अभाव छँदै थियो, अर्कोतिर कोरोना सङ्क्रमणले सबैतिर अस्तव्यस्त बनाइदियो । कोरोनाकै कारण उद्योग सञ्चालनमा समस्या पर्न थालेपछि ऋणको जोहोमा चारैतिर भौतारिँदा पनि कहीँकतैबाट ऋण नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बुद्धिमानको गुनासो छ । “सञ्चालनको सुरुआतमा त ठीकै थियो, कोरोनापछि उद्योग निरन्तर घाटामा जान थाल्यो”, बुद्धिमानले भने, “कोरोनाको दोस्रो लहर सुरु भएपछि कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।” उद्योगबाट राम्रै आम्दानी गर्न सकिने सम्भावना रहे पनि लगानीको अभावमा उद्योग बन्द गर्नुपरेको उनी बताउँछन् । उनले उत्पादित कागज बिक्री गर्न टाढा लिनुपर्ने झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चा पदार्थ नपाइनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको बताए । उनका अनुसार जाजरकोट, दैलेख, कालीकोटका जङ्गलमा पाइने लोक्ताको पनि अभाव भयो । उनकाे उद्योगबाट नोटबुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्ट बक्स, गमलालगायत नेपाली हाते कागजका आकर्षक सामग्री उत्पादन हुने गर्दथ्यो । हाल कागज बनाउनका लागि महँगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि उद्योग बन्द गरेको बताउँदै उनले भने, “न चाहिएको बेला कच्चा पदार्थ आउँछ, न कतैबाट अनुदान पाइयो, उद्योग सञ्चालन गर्न मुस्किल परेपछि बन्द गर्न बाध्य भएँ ।” स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदानसमेत टाठाबाठाले पाउने गरेको उनको गुनासो छ । स्थानीय तथा प्रदेश तहमा बारम्बर धाइरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उनकाे गुनासो छ । स्वरोजगारमूलक तथा परम्परागत लघु घरेलु तथा साना उद्यमलाई सरकारले प्रोत्साहन गर्न नसकेको उहाँको गुनासो छ । अनुदान र ऋणका लागि सम्बन्धित निकायमा जाँदा पनि कमिसनमा मोलमोलाई हुने गरेको उनको तीतो अनुभव छ । अनुदान माग्दा हाकाहाकी यति र उति प्रतिशत भन्दै कमिसन माग्ने भेटिएको उहाँको अनुभव छ । कोरोना महामारीका कारण उद्योगमा परेको प्रभावले अहिले बुद्धिमान विदेशिने तयारीमा छन् । कोरोनाका कारण दोस्रो पटकको बन्दाबन्दीका कारण उद्योग पूर्णरुपमा बन्द गर्नुपरेको उनले बताए । “कतैबाट ऋण तथा अनुदान नपाएपछि अहिले विदेश जाने तयारी गरेको हुँ ।” उद्योगको ऋण र परिवार पाल्नकै लागि विदेशिन बाध्य भएको सुनाउँदै गर्दा उनले कागज उद्योग बन्द गरेर रोजगारी दिएका सबैलाई बिदाइसमेत गरिसकेका छन् । कच्चा पदार्थको भाउ बढ्दा पनि कागजको भने मूल्य नबढ्नुले उद्योग सञ्चालनमा कठिनाइ भएको उनकाे अनुभव छ । चार वर्ष पहिला र अहिलेको कागजको मूल्य एउटै भए पनि कच्चा पदार्थको मूल्य आकाशिएको उनको भनाइ छ । नेपाली कागज उत्पादनका लागि सरकारले दिने अनुदानसमेत वास्तविक उद्यमीले पाउन नसक्दा आफूजस्ता उद्यमी विदेश पलायन हुनुपर्ने अवस्था आएको उनकाे गुनासो छ । साना तथा घरेलु उद्योग महासङ्घका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योग छन् । तीमध्ये मुस्किलले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन् ।

नुवाकोटमा देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन, ४ अर्ब लगानी

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युत्को परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । उनका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । “फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको छ”, आयोजना प्रमुख रघुवंशीले भने, “मौसम अनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको छ ।” फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सौर्य फार्म विदुर–६ र १२ मा पर्दछ । विसं २०७४ जेठ ३ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास विसं २०७५ वैशाख १४ मा गरिएको थियो । एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीबाट ढिलो गरेर तयार भएको डिजाइन परामर्शदाता कम्पनीले पुनरावलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न थप ढिला गरेसँगै फार्म निर्माणको काम डेढ वर्ष पर धकेलिएको हो । निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले विसं २०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा विसं २०७७ माघमा एक दशमलव पाँँच मेगावाट विद्युत् उत्पादन गरेको थियो । आयोजनाको पूर्ण क्षमता (२५ मेगावाट) गत भदौ १० गतेदेखि थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्मले आफैँले निर्माण गरेको ३३/६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत्गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्‍याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ । “सिधै प्रसारण प्रणालीमा पठाएकाले ब्याट्री राखेर विद्युत् सञ्चय गरिएको छैन”, उनले भने, “मौसम सफा भएको मध्याह्नको समयमा २५ दशमलव दुई मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, परीक्षण अवधिमा दैनिक एकलाख युनिट विद्युत् उत्पादन भएकाले आयोजनाको निर्माण सफल मानिएको हो ।” सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ । अब नियमित उत्पादन सुरु गरिने आयोजना पक्षले जनाएको छ । यद्यपि फार्ममा जडान गरिएका सौर्य प्यानल सफा गर्न चाहिने पानीपोखरी, संरक्षणका लागि लगाउनुपर्ने घेराबार र पर्खाललगायतका केही भौतिक संरचना निर्माणको काम जारी रहेकाले आयोजना सम्पन्न भएको जानकारी दिन अझै एक महिना लाग्ने निर्माण व्यावसायीले नेपाल विद्युत् प्राधिकरणलाई जनाएको छ । खेर गएका बाँझो जग्गा उपयोग एउटा प्यानलबाट दुई सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट विद्युत् उत्पादनका लागि प्यानल राख्न २० रोपनी जग्गा आवश्यक पर्दछ । हाल प्राधिकरणको नाममा रहेको ३८ हेक्टर बाँझो जग्गाको उपभोग गरेर २५ मेगावाट विद्युत् उत्पादन थालिएको हो । विदुर नपा वडा नं ६ र १२ स्थित प्राधिकरणको आफ्नै नाममा रहेको खाली जग्गाको विभिन्न सात ब्लकमा सौर्य प्यानल जडान गरेर प्राधिकरणले सौर्य फार्म निर्माण गरेको हो । सुरुमा स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कुल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर)बाट विद्युत् उत्पादन सुरु भएको थियो भने क्रमश: रातमाटे, केराघारी, हेलिप्याड, कफीघारी–१ र कफीघारी–२ बाट विद्युत् भइरहेको छ । उक्त जग्गा यसअघि अधिकांश अतिक्रमणमा परेका थिए । पाँच वर्षसम्म निर्माण व्यवसायीको जिम्मामा नेपाल सरकारले आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने योजनाअनुरुप १० वर्षमा १५ हजार मेगावाटको लक्ष्यमा विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात निर्धारणअनुसार सरकारीस्तरबाट देवीघाटमा सौर्य फार्म निर्माण गरिएको हो । यो देशको पहिलो र हालसम्मकै ठूलो फार्म मानिन्छ । आयोजना निर्माणमा ‘ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना’मार्फत विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा प्राप्त ३८ मिलियन डलर लगानी छ । परियोजनाको प्लान्टका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । उक्त कम्पनीसँग विसं २०७४ जेठ ३ मा भएको सम्झौताअनुसार सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार समेत गरेर चालु अबस्थामा पाँच वर्षपछि मात्र सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ । प्राधिकरणलाई फार्म औपचारिकरूपमा हस्तान्तरण गर्न बाँकी रहेकाले उक्त पाँच वर्ष अवधिको गणना सुरु भएको छैन । प्रतिमेगावाट रु १६ करोड लगानी प्लान्टबाट वार्षिक तीन करोड ४६ लाख ५० हजार युनिट सुनिश्चित (ग्यारेण्टी) विद्युत् आपूर्ति हुनुपर्ने सम्झौतामा भनिएको छ । सो परिणाममा विद्युत् उत्पादन नभए निर्माण व्यवसायीले प्रतियुनिट ३० सेन्ट क्षतिपूर्ति तिर्नुपर्दछ ।  फार्म निर्माणका लागि सम्झौता समयमा रु तीन अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिए पनि लक्ष्यभन्दा साढे तीन वर्ष ढिलो हुदाँ लगानी थप बढेको प्राधिरकणले जनाएको छ । आयोजनामार्फत विद्युत् उत्पादनमा लगानी महँगो भए पनि ऊर्जाको वैकल्पिक स्रोतको व्यवस्थापन र नमूना योजनाका रुपमा निर्माण गरिएकाले लगानीसँग तुलना गर्न नहुने आयोजना प्रमुख रघुवंशीको भनाइ छ । उनका अनुसार प्लान्ट निर्माण गर्दा प्रतिमेगावाट रु १६ करोड लगानी छ । वैकल्पिक ऊर्जाको पहिलो ठूलो स्रोत खेर गएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालनमा ल्याएको आयोजनामा गरिएको लगानी र विद्युत् उत्पादनलाई वैकल्पिक ऊर्जाका लागि देशकै ‘नमूना’ योजना रहेको प्राधिरकणको दाबी छ । फार्म सञ्चालनमा आएपछि हिउँदको समयमा राष्ट्रिय प्रसारण प्रणालीमा हुने ऊर्जा अभाव कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । काठमाडौँको नजिक दूरीमा पर्ने र यसका लागि छुट्टै प्रसारण प्रणाली बनाउन नपर्ने भएकाले पनि यस आयोजना निर्माण सम्पन्नले ऊर्जाको राष्ट्रिय योगदानमा महत्वपूर्ण मानिन्छ । भूकम्पलगायतका विपद्का कारण जलविद्युत् आयोजनामा क्षति पुग्नसक्ने भएकाले उक्त समयमा चाहिने ऊर्जाको वैकल्पिक स्रोतको उपभोग गर्न सौर्य फार्मको निर्माणलाई थप महत्वका रुपमा हेरिएको छ । हिउँदको समयमा फार्मबाट उत्पादन हुने विद्युत् उपयोग गरेर उक्त समयमा कुलेखानी जलाशययुक्तसहित कालीगण्डकी ‘ए’, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमेलगायतका अर्ध–जलाशययुक्त उत्पादनगृहको पानी दिउँसो सञ्चित गरेर विद्युत्को माग बढी हुने बिहान र बेलुका (पिकआवर)को समयमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।

३ जना पूर्वप्रधानमन्त्रीले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र

झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका थिए । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभागृह सात वर्षसम्म पनि अधुरै छ । सदरमुकामको मध्यभागमा काँसघारीले घेरेको अधुरो भवन अस्थिपञ्जरजस्तो देखिन्छ । सङ्घीयता कार्यान्वयन हुने क्रममा जिल्ला विकास समितिलाई समन्वय समितिमा रुपान्तरण गर्दा यो सभागृह परियोजना स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमध्ये कसैलाई पनि हस्तान्तरण गरिएन । अधिकारविहीन अवस्थाको जिससले सभागृह निर्माणको ठेक्काको म्याद थपेर काम अघि बढाउन अझ सकेको छैन । झापा सदरमुकाम चन्द्रगढीमा सभा सम्मेलन तथा कार्यक्रमगर्न सुविधासम्पन्न एउटा पनि सभागृह नभएपछि प्रमुख राजनीतिक दलहरुको पहलमा जीपी सभागृह बनाउने निर्णय गरिएको थियो । मेची रङ्गशालाको पश्चिमी छेउमा रहेको जिल्ला समन्वय समितिको खाली जग्गामा सभागृहको निर्माण सुरु गरिएको हो । निर्माणाधीन जीपी सभागृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ वटा सटर र दोस्रो तलामा तीन वटा बैंक अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना थियो । तत्कालीन झापा जिल्ला विकास समितिले सभागृह निर्माणका लागि रु १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का लगाएको थियो । सभागृह अत्याधुनिक सुविधायुक्त र मुलुककै गौरवको परियोजना हुने शिलान्यास कार्यक्रममा बताइएको थियो । निर्माणको ठेक्का प्रेरा–शाह जेभी निर्माण कम्पनीले पाएको छ । प्रदेश नं १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगी ‘जीपी स्मृति सभागृह’ राजनीतिक पूर्वाग्रह राखेर रोकिएको आरोप लगाउँछन् । ‘सुशील कोइराला प्रधानमन्त्री हुँदा शिलान्यास भएको यो सभागृहको निर्माण कार्य चलिरहेका बेला सरकार परिवर्तन भयो’, मन्त्री सरावगी भन्छन्, ‘अहिले नेपाली कांग्रेसको सरकार भएकाले अब बनाउँछौँ ।’ राजनीतिक कारणले नभएर प्राविधिक र कानुनी उल्झनका कारण ‘जीपी स्मृति सभागृह’को निर्माण कार्य अलपत्र परेको नेकपा एमालेका नेता एवं झापा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख सोमनाथ पोर्तेलले दाबी गरे । जिससका निवर्तमान प्रमुख पोर्तेलले भने, ‘राजनीतिक कारणले होइन, कानुनी र प्राविधिक उल्झनले परियोजनाको निर्माण कार्य अवरुद्ध भएको हो ।’ सभागृह निर्माणको म्याद थप्ने अधिकार पाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय नगरिदिँदा ‘जीपी स्मृति सभागृह’को काम रोकिएको उहाँको भनाइ छ । पोर्तेल विसं २०७४ मा जिसस झापाको प्रमुख निर्वाचित भएर आउनुअघिनै भवन निर्माण अवरुद्ध भइसकेको थियो । निर्माण कार्यको म्याद थपिदिन वा जिससलाई इन्जिनियरको दरबन्दीसहित प्राविधिक क्षमतायुक्त बनाउन मन्त्रालयलाई पटकपटक पत्राचार गर्दा कुनै सुनुवाइ नभएको उनले बताए । जिसस झापाका निमित्त स्थानीय समन्वय अधिकारी सन्तोष श्रेष्ठले म्याद नथपी निर्माणको कुनै भुक्तानी दिन कानुनीरुपमा नमिल्ने भएकाले अझै पनि काम अघि बढाउन कठिनाइ भएको बताए । ठेक्का पाएको प्रेरा–शाह जेभी कम्पनीले विसं २०७२ असार ९ गते निर्माण सम्झौतामा हस्ताक्षर गरेको र त्यसको म्याद विसं २०७४ भदौ ३१ गते समाप्त भएको श्रेष्ठले जानकारी दिए । निर्माण व्यवसायीले करिब तीन करोड भुक्तानी पाउन बाँकी रहेको दाबी गरेपनि कति प्रतिशत काम बाँकी छ भन्ने कुनै आधार प्रमाण नभेटिएको उनले बताए । ‘जिसससँग इन्जिनियरनै छैन, कामको कति प्रगति भयो भनेर प्राविधिक मूल्याङ्कन गर्न सकिने अवस्था रहेन’, उनले भने, ‘कानुनीरुपमा अव यो सभागृह जीवित छैन, जिससको नियन्त्रणमा हुने कुरै भएन ।’ निर्माणको म्याद सकिए संगै निर्माण व्यवसायी पक्ष परियोजनाबाट पछि हटेको छ । राजनीतिक सरकार परिवर्तन र कानुनी उल्झन उत्पन्न भएकै बेला निर्माण व्यवसायीले काल्पनिक प्रगति विवरण देखाएर कामभन्दा बढी रकम भुक्तानी लगेको बताइएको छ । ऐतिहासिक जनआन्दोलन २०६२/०६३ का नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको सभागृह निर्माणमा लापर्बाही भएको भनेर जनगुनासो बढ्दै गएको बेला जिल्ला समन्वय समिति झापाले कानुनी अड्चन हटाएर अधुरो भवनलाई पूर्णता दिन पहल सुरु गरिसकेको जनाएको छ । जिसस प्रमुख विश्व बराल सभागृहको निर्माण ठेक्काको म्याद थपी समस्याको समाधान गरिनुपर्ने माग लिएर हाल सिंहदरबार गएका छन् । ‘जे जे गर्दा समस्याको गाँठो फुकेर काम बन्छ, त्यही पहलका लागि काठमाडौँ पुगेको छु’, बरालले भने, ‘तीन जना पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्नुभएको गौरवको परियोजना भएकाले जीपी सभागृहको निर्माण पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’ रासस

मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा छन् : अध्यक्ष गाेल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । आईतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताउँदै अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने बताए । अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने उनको भनाइ थियो । उनले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताए । अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने उनको भनाइ छ । नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको उनले बताए । उनको अनुसार नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको छ । कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएको र विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको उनले जानकारी दिए ।

१८ लाखले आवेदन दिँदा ३६ हजारले पाए श्रृजनशील लघुवित्तको आइपीओ

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।सोमबार  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले सर्वसाधरणको लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा तीन लाख ६८ हजार ५९० कित्तको लागि १८ लाख ३८ हजार ७५१ वटा आवेदन परेको थियो । आवेदन दिएका मध्ये रित नपुगेका १ हजार ३१५ जना आवेदकहरुलाई बाँडफाँडमा समावेश नगरी बांँकि १८ लाख ३७ हजार ४३६ जना आवेदकहरु मध्ये ३६ हजार ८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट १०-१० कित्ताको दरले बाँडफाँड गरिएको छ ।

अबको ५ वर्षमा विद्युतिय गाडीको बजार ५० प्रतिशत बढी हुनेछ : ध्रुव थापा

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाले अबको ५ वर्षमा विद्युतिय गाडी( इभी)को बजार ५० प्रतिशत बढी हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नाडाको इभी एक्स्पो बारे जानकारी दिन गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले इभी प्रति मानिसहरुको चाँसो बढ्दै गएको बताए । यस्तै, उनले विभिन्न कारण इभीको डिमान्ड अनुसार बजारमा सप्लाइ गर्ने नसकेको पनि बताएका छन् । नाडाले नेपालमै पहिलोपटक असोज ६ देखि ९ गतेसम्म विद्युतिय गाडीको प्रदर्शनी गर्दैछ । यसअघि नाडा अटो शो गर्दै आएको यस संस्थाले सरकारले प्यासेन्जर भेहिकलमा प्रतिबन्ध लगाएपछि इभी एक्सपो गर्न लागेका हो ।