पैसाका कारण ७० वर्षभन्दा पुरानो ऐतिहासिक पुस्तकालय बन्द
टक्सार । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो । राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी चन्द्रप्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायतका युवाद्वारा पुस्तक सङ्कलन गरी मर्यादा पुरुषोत्तम भगवान् रामको नामबाट सञ्चालन गरिएको श्रीराम पुस्तकालयलाई शासकको नीतिनियममा सञ्चालित हुनेगरी तत्कालीन मेजर जरनल मृगेन्द्र शम्शेर जङ्गबहादुर राणाबाट बि.स.२००५ सालमा अनुमति प्राप्त भएसँगै श्रीराम पुस्तकालय सञ्चालनमा आएको हो । राणा विरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर शहीदको सम्झनामा विसं २०१० मा भोजपुर सदरमुकाममा नै श्री अमर शहीद पुस्तकालय नामको अर्काे पुस्तकालयसमेत स्थापना भएको पाइन्छ । पछि आएको पुस्तकालयलाई तत्कालीन वडा हाकिमले २०१२ साल माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएको पुस्तकालयका ज्ञाता स्थानीयवासी शेरबहादुर मोक्तान बताउँछन् । पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभाव जस्ता कारणले गर्दा दुवै पुस्तकालयलाई अगाडि बढाउन र सञ्चालन गर्न नसकिएपछि विसं २०२३ माघ १६ गते श्रीराम पुस्तकालय र श्री अमर शहीद पुस्तकालयलाई एकीकरणगरी श्रीराम अमर शहीद पुस्तकालय भोजपुरका नामबाट सञ्चालनमा ल्याइएको पुस्तकालयका संरक्षकसमेत रहनुभएका मोक्तानले जानकारी दिए । त्यसपश्चात् पुस्तकालयले भोजपुर जिल्लाको शैक्षिक, बौद्धिक, साहित्यिक, सामाजिक, खेलकुद, सांस्कृतिकलगायत विविध क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आइरहेको थियो । जिल्ला प्रशासन कार्यालय, भोजपुरमा संस्था दर्ता ऐन २०३४ अनुसार बि.स.२०३८ साल साउन ६ गते दर्ता भएको पुस्तकालयले समाजकल्याण परिषद्मा समेत दर्ता भएको पुस्तकालय सञ्चालक समितिका सचिव विनम श्रेष्ठले जानकारी दिए । हाल यो पुस्तकालयको सात आना दुई पैसा जग्गामा बनेको तीनतले आफ्नै घरमा छ । तत्कालीन पुस्तकालयका संस्थापक सदस्य युवाले चाडपर्वमा देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसमा नाटक एकाङ्की प्रदर्शन मञ्चन गरेर वचत गरी तथा तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोग प्राप्त गरी कूल एक लाख १४ हजारको लागतमा विसं २०४० भदौ महिनामा भोजपुर सदरमुकाममा भवन निर्माण गरेका थिए । त्यसबेला पुस्तकालय सञ्चालनका लागि भवन निर्माणमा स्थानीय युवाले स्वेच्छाले श्रमदान गरी भवन निर्माण गरेकाले पुस्तकालयप्रति सबैको सकारात्मक भावना र सोच देखिएको थियो, संरक्षक मोक्तान बताउँछन् । पुस्तकालयबाट २०२८/२९ सालमा नाटक प्रदर्शनको लागि ‘कलाकुञ्ज सांस्कृतिक समूह’ स्थापना भएको थियो । जसले आफैँ नाटक लेख्ने, मञ्चन निर्देशनगर्ने काम गरी प्रत्येक शुक्रबार जनसेवा निमावि, सामुदायिक भवनमा नाटक प्रदर्शनगर्ने गरेका थिए । केही नाटक र नाटकका संवाददेखि आत्तिएर तत्कालीन शासकले नाटकका कलाकार, निर्देशकलाई सजाय स्वरुप हिरासतमा पु¥याएका थिए । उनीहरुले तुँवालोले ढाकेको बस्ती, छ औले मान्छे, सतित्व, दोबाटो, पर्दाभित्रको रहस्य जस्ता चर्चित नाटकलाई सदरमुकाममा मात्रै सीमित नराखी गाउँगाउँमासमेत प्रदर्शन गरेका थिए । विसं २०५७ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको आयोजनामा विराटनगरमा भएको ‘पूर्वाञ्चल क्षेत्रीय गीतसङ्गीत महोत्सव’ मा यसै पुस्तकालयले समग्र भोजपुर जिल्लाको प्रतिनिधित्व गर्दै भाग लिएको थियो । श्रीराम अमर शहीद पुस्तकालयले बौद्धिक तथा प्राज्ञिक क्षेत्रका स्रष्टा र सर्जकलाई सम्मान प्रदान पनि र्दै आएको छ । साहित्यकार मेघराज नेपाल ‘मन्जुल’, विप्लव ढकाल, शैलेन्द्र साकार, विष्णुविभु घिमिरे, नेपाली भाषामा स्नातकोत्तर जापानी नागरिक हारोहितो नोजुलाई अभिनन्दन तथा भोजपुर साहित्य, कला, सङ्गीत महोत्सवका अवसरमा हीरण्य भोजपुरे, उर्मिला भोजपुरे, श्रवण मुकारुङ, सैलेन्द्र साकार, बुलु मुकारुङ, भूपाल राई, मुकारुङ गोविन्द, भिषण मुकारुङ, श्याम तमोट, पारस मुकारुङ, खेमराज गुरुङ, आभा मुकारुङ, शेरबहादुर मोक्तान, गीता कार्की र दीपा राई जस्ता नेपालका मूर्धन्य कवि तथा कवयत्री, साहित्यकार, गीतकार, गायकगायिका तथा सङ्गीतकारलाई एकैथलो पुस्तकालय हातामा सम्मान प्रदान गरिएको थियो । यसरि सम्मानित हुने अधिकांश भोजपुरे र तिनीहरुको सम्बन्ध यस पुस्तकालयसँग कुनै न कुनै तवरले जोडिएको पाइन्छ । पुस्तकालय सञ्चालक समितिका सचिव श्रेष्ठका अनुसार पुस्तकालयले विगतमा वीरेन्द्र शुभजन्मोत्सव विषेशाङ्क तथा पिखुवाको सुशेलीलगायत थप अरु केही फुटकर साहित्यिक पुस्तकसमेत प्रकाशन गरिसकेको छ । भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, शहीद दिवस तथा पुस्तकालय वार्षिकोत्सवलगायतका अवसरमा साहित्यिक भेला, कविता गोष्ठीलाई पुस्तकालयले सञ्चालन गर्ने गरेको थियो । पुस्तकालयले सामाजिक एवं सांस्कृतिक क्षेत्रमासमेत सहभागिता जनाएको छ । सांस्कृतिक पर्वको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपञ्चमीदेखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णाअष्टमी जात्रा, रथ यात्राको प्रदर्शन र नेपालसंवत्, ल्होसार चण्डीनाचको आयोजना सहयोग तथा सहभागिता गर्ने गरेको छ । सदरमुकाममा संचालन गरिएको पुस्तकालयले खेलकुद क्षेत्रमा पनि सहयोग गरेको बताउँदै भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवाल भन्छन्, ‘खेलकुद क्षेत्रलाई पनि पुस्तकालयले आफ्नोतर्फबाट टेवा पु¥याउँदै आएको थियो, भूकम्पका कारण पुस्तकालयको माथिल्लो तला मर्मत हुन नसक्दा ऐतिहासिक पुस्तकालय सञ्चालनमा आउन सकेको छैन ।’ यो पुस्तकालय सञ्चालनमा आउँदा स्थानीय मात्र नभएर विद्यालयस्तरका अतिरिक्त क्याम्पसका विद्यार्थी पनि पुस्तकालयबाट प्रत्यक्ष लाभान्वित बनेको स्थानीय जीवन श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘अन्यत्र नपाइने पुस्तकसमेत यस पुस्तकालयमा पढ्न पाइन्थ्यो ।’ यसका अलावा पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहासका पुस्तक छन् साथै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुस्तक, हास्य, विभिन्न ठाउँबाट प्राप्त पुस्तक, भूगोल, अर्थशास्त्र, अङ्ग्रेजी विधाका पुस्तक, रेफरेन्स पुस्तकसमेत गरी करिब छ हजार पुस्तक छन् । पुस्तकालय राष्ट्रिय तथा स्थानीयस्तरमा मासिक, पाक्षिक, साप्ताहिक पत्रपत्रिकासमेत नियमितरुपमा आउने पढने व्यवस्था मिलाइएको थियो । अहिले आएर भवन पुनःनिर्माण हुन नसक्दा पुस्तकालय नियमित सञ्चालनमा समस्या भएको पदाधिकारीको भनाइ छ । जीर्ण बनेको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा ऐतिहासिक पुस्तकालयको सञ्चालनमा समस्या भएको सञ्चालक समितिका अध्यक्ष सिरोज श्रेष्ठ बताउँछन् । अध्यक्ष श्रेष्ठले भने, ‘सदरमुकाममा पक्की घर बनाउन आर्थिक स्रोत जुटाउन नै समस्या छ, हामीले पुनःनिर्माणका लागि सरोकारवाला र स्थानीय निकायमा भने पटकपटक पहल गरेका नै छौँ ।’ पुस्तकालयमा इ–लाइब्रेरी सञ्चालनका लागि पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले दुई थान कम्प्युटरसमेत पुस्तकालयलाई सहयोग गरेको थियो । गृहजिल्ला भोजपुरका पूर्वअर्थमन्त्री कोइरालाले राणाशासनकालमा सञ्चालनमा आएको पुस्तकालय संरक्षणमा सबैले ध्यान दिन जरुरी रहेको बताए । ‘आगामी दिनमा पुस्तकालयलाई अझ पाठकको सुविधामा पुग्नेगरी समयसापेक्ष सुधार गर्दै पुस्तकालयको भवन जीर्णोद्धार गर्न आवश्यक देखिन्छ ।’ पुस्तकालय सञ्चालनमा लामो सयम काम गर्नुभएका सङ्केत कोइराला सदरमुकाममा रहेको ऐतिहासिक पुस्तकालयमा पुस्तक र पत्रपत्रिका हेर्न आउनेको बिगतको भीड सम्झँदै भन्छन्, ‘बिहान र बेलुका खुल्ने पुस्तकालयमा हामीले नियमित पुस्तक लिन आउनेका लागि सदस्यता कार्डमार्फत पुस्तक दिने व्यवस्था मिलाएका थियौँ । पुस्तकालयका पुस्तक लगेर अध्ययन गर्ने साधारण सदस्यको सङ्ख्या मात्र करिब चार सय थियो ।’ ‘पुनःनिर्माण प्राधिकरणले संस्थाका नाममा रहेका भवनलाई पुनःनिर्माण गर्ने सूचीमा नराखेका कारण पुनःनिर्माणमा समस्या देखिएको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । प्राधिकरणले पनि सूचीमा राखेन, घर पुनःनिर्माणका लागि करोडौँ पैसा लाग्छ, जसले गर्दा समस्या भएको छ’, अध्यक्ष श्रेष्ठले भने । रासस
‘अब गाडी विलासिताको वस्तु होइन, अत्यावश्यकका रुपमा लिनुपर्छ’
काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाले सरकारका मन्त्री फेरबदलसँगै नीति पनि फेरिने बताएका छन् । सोमबार नाडाको इभी एक्स्पो बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले नीति स्पष्ट नबनाउँदा समस्या सिर्जना हुने गरेको बताएका हुन् । ‘सरकारका मन्त्रीहरू फेरबदल अनुसारको नीति लागू हुन्छ, स्थीर नीति भएन भने हामीले लगानी गर्न सक्ने अवस्था हुँदैन, हामी एसेम्बल गर्न तयार छौं, यसको लागि स्पष्ट र स्थीर नीतिको खाँचो छ,’ उनले भने कार्यक्रममा नाडाका अध्यक्ष थापाले पहिलाको जस्तो अटोमोवाईल्स विलासिताको वस्तु नभएर अब अति आवश्यक साधनको रूपमा लिनु पर्ने धारणा राखे । उनले विद्युतीय सवारीप्रति मानिसहरूको चासो बढ्दै गएको बताए । ‘इभीप्रति नेपालको नीति स्थिर छ, विगत ४ वर्षदेखि भन्सार महशुल फेरबदल भइरहेको छ, जसले गर्दा आगामी दिनमा के होला भनेर व्यवसायी आत्तिएका छौं, लगानी गरेर व्यवसाय गर्न चाहन्छौं, गाडी खरिद गरेर भन्सारमा यकिन महसुल निर्धारण नहुँदा समस्या भएको छ,’ उनले भने । अबको ५ वर्षमा विद्युतिय गाडी (इभी)को बजार ५० प्रतिशत बढी हुने पनि थापाले दाबी गरे । उनका अनुसार अहिले नेपालमा इभीको माग बढ्दै गएको छ, डिमान्ड अनुसार सप्लाई हुन सकेको छैन । अटो उद्योग नै धरासायीमा हुने अवस्थामा अवस्थामा पुग्दा यस एक्सपोबाट यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने विश्वास नाडाको छ । नेपालमा नै पहिलो पटक इभी एक्स पो हुन लागेको हो । नाडाले विगतमा नाडा अटो शो आयोजना गर्दै आएको थियो । तर, कोरोनाका कारण दुई वर्षदेखि नाडा अटो सो स्थगित हुँदै आएको छ । इभीको सवारी प्रयोग गर्नाले विद्युत खपत हुनुका साथै इन्धनको पनि आयातमा धरै कमी उनको विश्वास छ । नेपाल विधुत प्राधिकरणसँगको सहकार्य गरेर उक्त एक्स्पो गर्न लागेको हो । विद्युतीय सवारी मेलामा ५१ स्टल रहने पहिलो पटक हुन गइरहेको विद्युतीय सवारीसाधनको मेलामा ५१ वटा स्टल रहने भएका छन् । असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुन गइरहेको नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपुर्जाबारे सम्पूर्ण रूपमा जानकारी लिन पाइनेछ । नाडाका अनुसार मेलामा ७ ब्राण्डका चार पांग्रे, १६ ब्राण्डका दुई पांग्रे, एउटा तीन पांग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शन रहनेछ । नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको मेला हुन लागेको बताउँदै प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ सोमबारदेखि नै खुला गरिएको जानकारी दिए । प्रवेश गर्दा विद्यार्थीका लागि २५ प्रतिशत छुट सहित टिकेट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । ‘असोज ५ गतेसम्म प्रि टिकेट बुकिङ गर्न सकिने छ, विद्युतीय सवारीको प्रयोगलाई बढाउन मेला प्रभावकारी हुनेछ’ थापाले भने । खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्दा २५ प्रतिशत ‘क्यासब्याक’ पाइने नाडाले जनाएको छ । नाडाले सबै प्रकारका सवारी साधनको मेला गर्ने तयारी गरेका बेला सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध लगाएपछि ईभी एक्स्पो हुन लागेको हो । नाडाका अनुसार मेला ४ दिनसम्म चल्ने ४० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ।
दोहोरो अंकले घटेको बजारमा नबिल बैंकको सर्वाधिक कारोबार
काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको उक्त परिसूचक अन्त्यमा १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा सीमित भएको हो । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले घटी हो । आइतबारको तुलनामा सोमबारको कारोबार रकम भने बढेको छ । सोमबारको बजारमा ८३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी आइतबारको कारोबार ७४ करोड ७२ लाख रुपैयाँमा सीमित थियो । बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ४ रुपैयाँले घटेर प्रतिकित्ता ७५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्टको ऋणपत्रको भाउ घटेको छ । जसको भाउ ९.५८ प्रतिशतले घटेर प्रतिथान ९५९ रुपैयाँमा झरेको छ । त्यस्तै, यूनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ । जुन अन्य कम्पनीकीको तुलनामा सबैभन्दा बढी प्रतिशतले बढेको हो । यता म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड समूह ०.०२ अंकले घटेको छ । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ५२.५५ अंकले घटेको छ ।
साल्ट ट्रेडिङले अब छिट्टै एसटीसी ब्राण्डको तोरीको तेल उत्पादन गर्ने
काठमाडौं । साल्ट ट्रेडिङले अब छिट्टै एसटीसी ब्राण्डको तेल उत्पादन गर्ने बताएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङले आफ्नै ब्राण्डकाे तेल उत्पादन गर्ने बताएकी हुन्। उनले उपभोक्ताहरुलाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौडा स्थित नेपाल वनस्पती उद्मोग लिमिटेडबाट निकट भविष्यमा एसटीसी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने प्रयास भइरहेको बताएकी हुन् । यस्तै, उनले रासायनिक मलको अभाव नहोस् र कृषकहरुले समयमा मल पाउन भन्नेमा हामी निरन्तर सक्रिय रहेको पनि बताएकी छन् । ‘नेपाल सरकारले दिएको दायित्वलाई बोध गरी रासायनिक मलको आपूर्ति गरी कृषकहरुमा राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको स्मरण गराउन चाहन्छ, कर्पोरेशनले कृषि विकासमा योगदान पुयाउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नभई गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरिरहेको छ, कर्पोरेशन कतिपय नयाँ–नयाँ उत्पादन गर्ने तिर लागेको छ र निकट भविष्यमा त्यसको प्रतिफल प्राप्त हुने आशा गरेका छौं,’ उनले कार्यक्रममा भनिन् । कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितिका बावजुद पनि आम उपभोक्ताको सेवामा सदैव सक्रिय रही आएको छ । सरकारले पनि कर्पाेरेशनकाे कार्यक्षेत्रमा व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्य वस्तु उत्पादन, आयात तथा सुपथ मूल्यमा वितरण गर्न प्रोत्साहित गर्दै आएको छ । सरकारले दिएको दायित्वलाई बोध गरी रासायनिक मलको आपूर्ति गरी कृषकहरुमा राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको बताउँदै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले कृषि विकासमा योगदान पुयाउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नभई गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरिरहेको बताइन्।
मानिसहरुबीच विश्वास घट्दो, दुःखी व्यक्तिको संख्या १० वर्षयताकै उच्च
काठमाडौं । पछिल्लो समय मानिसहरुमा एक अर्काप्रति विश्वास गर्नेको संख्या घट्दै गएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडीपी) ले सार्वजनिक गरेको सन् २०२१/२२ को मानव विकास प्रतिवेदन अनुसार सो पाइएको हो । सो प्रतिवेदन अनुसार अधिकांश व्यक्तिमाथि विश्वास गर्न सकिन्छ भन्ने सोचाई राख्ने मानिसको संख्या विश्वभरी ३० प्रतिशतभन्दा कम छ । जुन अहिलेसम्मकै न्यून हो । समिक्षा अवधिमा मानिसहरुले बढी दुःखी महसुस गरेको समेत अध्ययनले बताएको छ । पछिल्लो दशकदेखि बढ्दै गइरहेको तनाव, उदासी, क्रोध र चिन्ता हाल अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । विश्वव्यापी रूपमा तनाव भएको बताउने मानिसहरूको अनुपात ३५ प्रतिशतभन्दा बढी छ, जुन् एक दशकअघि भन्दा १० प्रतिशत बढी हो । कूल १९० वटा देशमा गरिएको अध्ययन अनुसार बनेको प्रतिवेदनले ९० प्रतिशत देशहरूमा मानव विकास सूचकांक ओरालो लागेको देखाएको छ । बढ्दै गइरहेको विश्वव्यापी उथलपुथल जस्तै, असमानता, जलवायुजन्य विपद्, द्रुत प्राविधिक नवप्रवर्तन र सामाजिक अविश्वासका कारणले उक्त सूचकांक अप्रत्याशित रुपले ओरालो लागेको अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले जानकारी गराए । ‘अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ आशयको उक्त प्रतिवेदन अनुसार मानव विकासले लगातार दोस्रो वर्ष उल्टो गति लिनाले मानव विकासमा यसअघि कहिल्यै नदेखिएको स्तरमा धक्का परेको डा. वाग्लेको भनाई छ । युक्रेनमाथिको आक्रमणले एउटै पुस्तामा सबैभन्दा ठूलो बजार महंगी निम्त्याउनुका साथै विश्वव्यापी खाद्य असुरक्षा संकटले करोडौंलाई भोकै पार्ने खतरा देखाएको छ । कोभिड-१९ महामारीले मानिसको स्वास्थ्य र मानसिक कल्याणमा क्षति पुर्याउनुका साथै अर्थतन्त्रलाई ध्वस्त पार्ने र लैङ्गिक असमानतालाई झन् बढाउने काम गरेको समेत अध्ययनले बताएको छ । समीक्षा अवधिमा विशेषगरी बालबालिकाहरू प्रभावित भएको पाइएको छ । उनीहरूमध्ये ५० प्रतिशत भन्दा बढीले मानसिक, शारीरिक वा यौन हिंसाको सामना गर्नु परेको देखिएको छ । करिव ४५ करोड बालबालिका वा हरेक छ जनामा एक जना हाल द्वन्द्वग्रस्त क्षेत्रहरूमा बसोबास गर्छन्, जसले आघातजन्य तनासहित उनीहरूको मानसिक स्वास्थ्यमा विनाशकारी परिणामहरू निम्याइरहेको उक्त प्रतिवेदनले जनाएको छ । समाधानका उपाय कार्यक्रममा प्रतिवेदनलाई प्रस्तुत गर्दै अर्थशास्त्री डा. वाग्लेले मानव विकासको लागि विभिन्न माग रहेको बताए । उनका अनुसार मानव विकासलाई थप बलियो बनाउँदा त्यसले मानिसलाई भविष्यतर्फ अघि बढ्न गर्न र परिवर्तनको सम्वाहक हुन सक्ने मानिसहरूको क्षमतालाई उर्जागर गर्न मद्दत गर्नेछ । त्यस्तै, बुझाई र गराईको परम्परागत तरिका र आजको समयको माग बीचको बढ्दो बेमेल केही नयाँ गर्ने अवसर रहेको उनले बताए । त्यसैगरी, मानिसहरु बीच घट्दै गएको विश्वासलाई पुनः निर्माण गर्नको लागि नयाँ बाटो तय गर्नुपर्ने देखिन्छ । मानिसहरुको सोच परिवर्तन गर्न, उनीहरुको पहिचान गर्न तथा मानव आचरणप्रतिको बुझाइलाई थप फराकिलो बनाउनु पर्छ । ‘हामीले आकांक्षा गरे अनुसारको भविष्य हासिल गर्नका लागि संस्थाहरू आजको विश्व अनुकूल बन्न आवश्यक छ, मानसिक पीडा कम गर्ने, संकटहरू न्यून गर्ने र मनोवैज्ञानिक जुझारुपन विकास गर्ने काम गर्नुछ, यसमा मानसिक स्वास्थ्य सेवाको पहुँचलाई उल्लेख्य रूपमा विस्तार गर्ने कार्य पर्दछ,’ कार्यक्रममा बोल्दै उनले भने । लगानी, बीमा र नवप्रवर्तनमा केन्द्रित नीतिहरूले मानिसहरूलाई अनिश्चितताको सामना गर्दै अघि बढ्न सक्षम बनाउँछ । नवीकरणीय ऊर्जा चरम प्राकृतिक प्रकोपहरुको पूर्वतयारी र पृथ्वीमाथिको दबाब कम गर्नका लागि लगानीका नीति आवश्यक देखिन्छ । सामाजिक सुरक्षासँगै अनिश्चित संसारमा आइपर्ने आकस्मिक परिस्थितिहरूका लागि हाम्रो समाजलाई तयार राख्न बीमा बढी महत्वपूर्ण छ । त्यस्तै, प्राविधिक, आर्थिक, सांस्कृतिक-मानवताले सामना गर्ने अज्ञात चुनौतीहरूको सामना गर्न धेरै नवप्रवर्तन पनि चाहिने प्रतिवेदनमा उल्लेख छ । ‘यदि हामीले साझा लक्ष्यहरूका लागि मिलेर काम गर्ने हों भने हामीले धेरै कुरा हासिल गर्न सक्छौं, हामी यहाँबाट कतातिर जान्छौं भन्ने कुरा हामीमाथि निर्भर गर्दछ,’ कार्यक्रममा बोल्दै अर्थशास्त्री डा. वाग्लेले बताए । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतको उपस्थिति थियो ।
खासामा रोकिएका कन्टेनर नेपाल भित्रिन थाले
काठमाडाैं । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको तर स्याउ बिग्रिसकेका बताइएको छ । कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको गौतमले बताए । गत साउन २३ गतेदेखि लगाएको लकडाउनले तातोपानी र केरुङ नाका ठप्प थिए । तातोपानी हुँदै आउने डेढ सयभन्दा बढी दसैँ लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर उतै थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले बताए । परराष्ट्र मन्त्रालयमा आइतबार हिमालपारि व्यापार सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आग्रह गरेका थिए ।
एउटै बैंकका ५० बढी बचत खाता, संख्या बढाउँदैमा निक्षेप बढ्ने हो ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवालाई ब्यापक गर्न ग्राहकका लागि थुप्रै योजनाहरु सञ्चालनमा ल्याउँछन् । बैंकमा जति सक्दो बढी निक्षेप भित्र्याएर बढीभन्दा बढी कर्जा लगानी गरी बिजनेसलाई आक्रामक गर्ने रणनीति जुनसुकै बैंकको पनि हुन्छ । यही रणनीतिलाई आत्मसात गर्दै बैंकहरुले अनेकन किसिमका बचत खाता ल्याउँछन् । तर, ती बचत खातामा अपेक्षा गरिए अनुसारको निक्षेप आउने या नआउनेमा भने बैंकर्स नै ढुक्क बन्न सक्दैनन् । कुनै समय एउटै बैंकले ८० प्रकारका बचत खाता ल्याएका उदाहरण पनि छन् । तर, जति किसिमका बचत खाता ल्याएपनि निक्षेप नबढ्ने देखेपछि बैंकहरुले त्यसलाई घटाउँदै गएका छन् । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुमा न्यूनतम १५ देखि अधिकतम् ५२ वटासम्म बचत खाता सञ्चालनमा छन् । विभिन्न प्रकारका खाता सञ्चालन गरेर निक्षेप भित्र्याउने र ग्राहकलाई राम्रो सुविधा दिने उद्देश्य भएपनि हाल यस्ता बचत खातामा निक्षेप नआउने गरेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले विभिन्न उमेर समूह तथा वर्गलाई लक्षित गरेर यस्ता बचत खाता ल्याएका भएपनि त्यसबाट खासै निक्षेप नआएपछि बैंकहरुले बचत खाता घटाउँदै लिएको बुझिन्छ । बैंक तथा वित्तीय संस्थाहरुले बालबालिकादेखि जेष्ठ नागरिक, घरदैलो बचत, कर्मचारी, नारी, गोल्डेन बचत खातादेखि विद्यार्थी बचत खाता लगायतका थुप्रै किसिमका खाता सञ्चालन गरिरहेका छन् । थुप्रै बचत खाता सञ्चालन गरेपनि निक्षेप संकलन भने खासै नभएको बैंकर्सहरुको धारणा छ । तर, उच्च ब्याजदर भएका खातामा अर्गानिक निक्षेप बैंकिङ्ग प्रणालीमा आएपनि अन्य खातामा भने खासै निक्षेप नआउने गरेको उनीहरुको भनाइ छ । हाल बैंकहरुले बचत खातामा अधिकतम ८.०३ प्रतिशतसम्मब्याजदर दिइरहेका छन् । सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द ब्याजदर उच्च भएका बचत खातामा निक्षेप आएपनि अन्य खातामा भने निक्षेप कम भइरहेको बताउँछन् । उच्च ब्याजदर भएको खातामा एकै पटक धेरै निक्षेप नआएपनि अर्गानिक निक्षेप आइरहेको उनको भनाइ छ । लक्षित समूहलाई लक्षित गरेको खातामा ग्राहकको आकर्षण बढ्दो रहेको उनले बताए । ‘उच्च ब्याजदर भएको खातामा बढी रकम आएको देखिन्छ, बढी ब्याज पाउन पुरानो खाता बन्द गरी नयाँ खाता खोल्ने प्रवृत्ति पनि हुन्छ तर त्यो रकम बढी ब्याज भएको खातामा मात्रै आउने हो,’उनले भने, ‘बचत खातामा अर्गानिक वृद्धि हुन्छ किनभने एकचोटी बचत खाता खोलिसकेपछि एउटा बैंकमा दुइवटा खाता खोल्न पाउँदैन, एउटै खाता भएपछि त्यो बैंकको खातामा कारोबार गरिहाल्छन् ।’ उनका अनुसार सानिमा बैंकमा महिलालाई लक्षित गरी ल्याएको खातामा आकर्षण बढ्दो छ । ‘खाताको विशेषता राम्रो भएकोमा आकर्षण बढी हुन्छ, सानिमा बैंकमा पनि महिलालाई टार्गेट गरेर ल्याएको नारी बचत खातामा बढी निक्षेप आउने गरेको छ, उच्च ब्याजदर, स्पेसिफिक स्किम, विशेष छुटको व्यवस्था भएको खातामा राम्रो निक्षेप आउने गरेको छ,’ उनले भने । यस्तै, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकाल बचत खाताको प्रकृतिको आधारमा निक्षेप नआएको बताउँछन् । विभिन्न समूहलाइ लक्षित गरी ल्याएका खाताले गाउँघरमा रहेको निक्षेप ल्याउन भूमिका खेल्ने उनको तर्क छ । तरलताको अभावका कारण बचत खातामा निक्षेप नआएको हुन सक्ने उनले बताए । ‘धेरै प्रकारका खाता सञ्चालनमा छन् तर त्यो हिसावमा निक्षेप आएको छैन, बचत खातामा निक्षेप खासै वृद्धि हुन सकिरहेको छैन, विभिन्न समूहलाई टार्गेट गरेर खाता सञ्चालनमा ल्याएपनि आकर्षण छैन,’ उनले भने, ‘गाउँघरमा रकम राखिएको हुन्छ, आकर्षित भएर आउँछन की भनेर विभिन्न प्रकारका खाता ल्याइएका हुन्, बैंकिङ्ग प्रणालीमा रकम ल्याउन विभिन्न प्रकारका खाता विकास गरिन्छन्, तरलता अभावका कारण निक्षेप नआएको होकी भन्ने महसुस भएको छ ।’ बचत खाताका प्रकारलाई सामाजिक सञ्जालमार्फत् पनि प्रचार–प्रसार गरेर लक्षित समूहमा पुर्याउन सकिने उनको भनाइ छ । गरिमा विकास बैंकका विभिन्न बचत खाताहरु मध्ये मेरो सेयर बचत खातामा ब्याजदर बढी भएका कारण बढी निक्षेप आएको उनले बताए । ब्याजदर बढी भएको खातामा ग्राहकको आकर्षण बढ्दो रहेको उनको बुझाइ छ । एनएमबि बैंकका डेपुटी सीईओ सुदेश उपाध्यायले बजारको माग अनुसार फरक–फरक किसिमका खाता बैंकहरुले ल्याउने गरेको बताए । बैंकहरुले ल्याएका बचत खाता धेरै भएमा केही समयपछि त्यसलाई मर्जर गराउने अभ्यास पनि रहेको उनको भनाइ छ । हाल यस्ता खातामा खासै निक्षेप नआएपनि दशैं तिहारको समयमा निक्षेप बढ्ने अपेक्षा उनको छ । ‘बजारको माग अनुसार फरक ब्याज र फरक सुविधा भएका नयाँ प्रडक्ट आउँछन्, जसलाई बचत खातामा नै गणना गरिन्छन्, एउटा तहमा पुगेपछि बैंकहरुले त्यो खातालाई मर्जर गरेर घटाउने गरेको हुन्छ,’ उनले भने, ‘बैंकको बचत खातामा निक्षेप कम आएको छ, दशैंमा रेमिट्यान्स र कर्मचारीको पनि बोनस आउँछ, सरकारको सिस्टमबाट रकम बाहिर आउँछ, अनि निक्षेप बढ्न सक्छ ।’ निक्षेप संकलनमा बचत खाताको भूमिका महत्वपूर्ण हुने गरेको उनको भनाइ छ । विभिन्न माध्यमबाट बचत खाताको बारेमा जानकारी गराएर गाउँघरमा रहेको रकमलाई बैंकिङ्ग प्रणालीमा ल्याउन सकिने उनको धारणा छ । ‘बचत खाताले निक्षेप ल्याउन भूमिका खेलेको हुन्छ, यस्ता खातामा बढी ब्याज, सुविधा दिएर र डिजिटल माध्यमबाट ग्राहकको घरमा रहेको रकमलाई आकर्षण गर्न सकिन्छ,’ डीसीईओ उपाध्यायले भने । एनएमबि बैंकको सबै बचत खातामा रकम आउने गरेको उनले बताए । सर्वसाधारणदेखि जेष्ठ नागरिकलगायत सबै प्रकारका खाता एनएमबि बैंकले छुट्टा छुट्टै सञ्चालन गरिरहेको छ तर सबै खातामा समान रकम नभएर कुनै खातामा बढी र कुनै खातामा कम निक्षेप आउने गरेको उनको भनाइ छ । उनका अनुसार एनएमबि सहारा बचत खातामा राम्रो निक्षेप संकलन भएको छ । तर कुनै समय कुनै बचत खातामा धेरै निक्षेप र कुनै समय अर्कै खातामा बढी निक्षेप आउने गरेको उनले बताए । नबिल बैंकका डीसीईओ मनोज ज्ञवालीले ब्याजदर बढ्दा फिक्स्ड डिपोजिटमा बढी निक्षेप रुपान्तरण हुने गरेको बताए । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुको ४३ अर्ब रुपैयाँ घटेको बताउँदै उनले निक्षेप घट्दा बचतको निक्षेप पनि स्वतः घट्ने गरेको बताए । ‘ब्याजदर बढ्दा मुद्दती निक्षेप (एफडी) मा सानो रकम पनि रुपमान्तरण हुन्छ, ब्याजदर बढ्दा बचत निक्षेप घट्दै एफडीमा बढ्दै जाने हुन्छ, अहिलेको अवस्था हेर्ने हो भने असार मसान्तसम्मको तथ्याङ्क अनुसार ४३ अर्ब रुपैयाँ निक्षेप घटिसकेको छ, यो रकम घट्नु भनेको सबै खातामा निक्षेप घट्नु हो,’ उनले भने । बैंकहरुले सञ्चालन गरेका बचत खातामा ४/५ अर्ब रकम निक्षेप जम्मा भएपछि ब्याजदर घटाउने गरेको डीसीईओ ज्ञवाली बताउँछन् । तर,अहिले भने त्यस्तो अवस्था छैन । ‘पहिला–पहिला बैंकहरुले कुनै योजना ल्याउँथे, जसमा ४/५ अर्ब निक्षेप जम्मा भयो भने त्यसको ब्याजदर घटाएर तल राख्ने फेरि अर्काे ल्याउने गरेका थिए, डिपोजिटको संरचना राखेर अलिकति सरल बनाएर अर्काे कुनै योजना थपेर ल्याउँथे, त्यो खातामा समेत निक्षेप जम्मा गर्ने काम गर्थे, त्यो बेलामा इथिकल बैंकिङ्गको अभ्यास भएको थिएन,’ उनले भने ‘कतिपयले खाता नै परिवर्तन गर्थे, जान्ने मान्छेले बढी ब्याज पाउँथे नजान्ने ठगिन्थे,राष्ट्र बैंकले पनि कुनै बचत खातामा ब्याजदर निर्धारण गर्दा एकनाश ब्याजदर थपघट गर्न सर्कुलेसन जारी गर्याे, जसले गर्दा अहिले सहज भएको छ ।’ धेरै किसिमका बचत खाता हुँदा फरक ब्याजदरमा बैंकहरुले ग्राहकलाई खेलाउने गरेको भएपनि राष्ट्र बैंकले ल्याएको सर्कुलरले एकनास भइरहेको उनको धारणा छ । नबिल बैंकले जेन खाता लगायतका थुप्रै बचत खाता सञ्चालन गरिरहेको छ । सबैभन्दा बढी निक्षेप जेन खातामा आएको उनको भनाइ छ । नबिल बैंकले ब्याजदरलाई मात्रै फिक्स गरेर नयाँ बचत खातालाई बढी जोड नदिएको उनको भनाइ छ । ‘नबिल बैंकले नेक्स्ट जेनेरेशनका लागि ल्याएको बचत खातामा राम्रो निक्षेप संकलन भयो तर नबिल बैंकले ल्याएका बचत खाताहरु ब्याजदरलाई मात्रै फिक्स गरेर फोकस गरिएको छैन, नबिलले भइरहेका प्रडक्टलाई नै बढी प्रमोट गरेको हुँदा सबैमा निक्षेप एकनास छ, कुनै एउटा प्रडक्ट गज्जब भएर अर्काे नभएको भन्ने छैन,’ डीसीईओ ज्ञवालीले भने ।
नबिल बैंकले गर्यो एकैदिन ८ नयाँ शाखाहरुको उद्घाटन
काठमाडाैं । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा स्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो । बैंककाे उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रुपमा मुलपानी शाखा तथा काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दिक्षितले संयुक्त रुपमा भगवान पाउ (डल्लु) शाखा उद्घाटन गरेका थिए । त्यस्तैगरि, उपत्यका बाहिरका शाखाहरुमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितीमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । त्यसका साथै, राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए । बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुरुप शाखाहरू jlस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिती गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएकाे छ । आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ । बैंकलेविगत ३८ वर्षदेखि ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।