काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाले सरकारका मन्त्री फेरबदलसँगै नीति पनि फेरिने बताएका छन् । सोमबार नाडाको इभी एक्स्पो बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले नीति स्पष्ट नबनाउँदा समस्या सिर्जना हुने गरेको बताएका हुन् ।
‘सरकारका मन्त्रीहरू फेरबदल अनुसारको नीति लागू हुन्छ, स्थीर नीति भएन भने हामीले लगानी गर्न सक्ने अवस्था हुँदैन, हामी एसेम्बल गर्न तयार छौं, यसको लागि स्पष्ट र स्थीर नीतिको खाँचो छ,’ उनले भने
कार्यक्रममा नाडाका अध्यक्ष थापाले पहिलाको जस्तो अटोमोवाईल्स विलासिताको वस्तु नभएर अब अति आवश्यक साधनको रूपमा लिनु पर्ने धारणा राखे । उनले विद्युतीय सवारीप्रति मानिसहरूको चासो बढ्दै गएको बताए ।
‘इभीप्रति नेपालको नीति स्थिर छ, विगत ४ वर्षदेखि भन्सार महशुल फेरबदल भइरहेको छ, जसले गर्दा आगामी दिनमा के होला भनेर व्यवसायी आत्तिएका छौं, लगानी गरेर व्यवसाय गर्न चाहन्छौं, गाडी खरिद गरेर भन्सारमा यकिन महसुल निर्धारण नहुँदा समस्या भएको छ,’ उनले भने ।
अबको ५ वर्षमा विद्युतिय गाडी (इभी)को बजार ५० प्रतिशत बढी हुने पनि थापाले दाबी गरे । उनका अनुसार अहिले नेपालमा इभीको माग बढ्दै गएको छ, डिमान्ड अनुसार सप्लाई हुन सकेको छैन ।
अटो उद्योग नै धरासायीमा हुने अवस्थामा अवस्थामा पुग्दा यस एक्सपोबाट यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने विश्वास नाडाको छ । नेपालमा नै पहिलो पटक इभी एक्स पो हुन लागेको हो । नाडाले विगतमा नाडा अटो शो आयोजना गर्दै आएको थियो । तर, कोरोनाका कारण दुई वर्षदेखि नाडा अटो सो स्थगित हुँदै आएको छ ।
इभीको सवारी प्रयोग गर्नाले विद्युत खपत हुनुका साथै इन्धनको पनि आयातमा धरै कमी उनको विश्वास छ । नेपाल विधुत प्राधिकरणसँगको सहकार्य गरेर उक्त एक्स्पो गर्न लागेको हो ।
विद्युतीय सवारी मेलामा ५१ स्टल रहने
पहिलो पटक हुन गइरहेको विद्युतीय सवारीसाधनको मेलामा ५१ वटा स्टल रहने भएका छन् । असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुन गइरहेको नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपुर्जाबारे सम्पूर्ण रूपमा जानकारी लिन पाइनेछ ।
नाडाका अनुसार मेलामा ७ ब्राण्डका चार पांग्रे, १६ ब्राण्डका दुई पांग्रे, एउटा तीन पांग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शन रहनेछ । नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको मेला हुन लागेको बताउँदै प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ सोमबारदेखि नै खुला गरिएको जानकारी दिए ।
प्रवेश गर्दा विद्यार्थीका लागि २५ प्रतिशत छुट सहित टिकेट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । ‘असोज ५ गतेसम्म प्रि टिकेट बुकिङ गर्न सकिने छ, विद्युतीय सवारीको प्रयोगलाई बढाउन मेला प्रभावकारी हुनेछ’ थापाले भने । खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्दा २५ प्रतिशत ‘क्यासब्याक’ पाइने नाडाले जनाएको छ ।
नाडाले सबै प्रकारका सवारी साधनको मेला गर्ने तयारी गरेका बेला सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध लगाएपछि ईभी एक्स्पो हुन लागेको हो । नाडाका अनुसार मेला ४ दिनसम्म चल्ने ४० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ।