६६ प्रतिशत हिस्सा ओगटेको सिप्रदीको आम्दानी २२.९० अर्ब, ऋण १३.७५ अर्ब

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा घटेको छ । कम्पनीले उक्त अवधिमा २२ अर्ब ९० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.८९ प्रतिशत अर्थात् १ अर्ब १७ करोड ९० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २४ अर्ब ८ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

सिप्रदीले आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ, आव २०७९/८० मा १८ अर्ब ३० करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँ, आव २०७६/७७ मा १९ अर्ब ७० करोड ५० लाख रुपैयाँ र आव २०७५/७६ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

सन् १९७९ मा स्थापना भएको सिप्रदी ट्रेडिङ नेपालमा टाटा ब्रान्डका सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले सन् १९८२ देखि टाटाका व्यावसायिक सवारीसाधन र सन् १९९२ देखि निजी सवारीसाधनको बिक्री तथा वितरण गर्दै आएको छ । त्यस्तै, सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि म्याक लुब्रिकेन्ट्सको आधिकारिक वितरकका रूपमा काम गरिरहेको छ ।

काठमाडौंमा दर्ता कार्यालय रहेको कम्पनीले देशभर १० वटा आफ्नै सोरुम र १४ वटा डिलर सञ्जालमार्फत व्यवसाय सञ्चालन गर्दै आएको छ । सिप्रदी ट्रेडिङ सिप्रदी समूहअन्तर्गत सवारीसाधनको बिक्री तथा वितरण र यससँग सम्बन्धित विभिन्न व्यवसाय सञ्चालनमा छन् । समूहले सिप्रदी हायर पर्चेज प्रालिमार्फत सवारीसाधन खरिदका लागि वित्तीय सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

सिप्रदी ट्रेडिङमा सिद्धार्थशमशेर जबराको मुख्य सेयर स्वामित्व रहेको छ । उनी सिप्रदी समूहका अध्यक्षसमेत हुन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् ।

सिप्रदीले नेपालको व्यावसायिक सवारीसाधन बजारमा आफ्नो अग्रणी स्थान कायम राखेको छ । कम्पनीले गत आर्थिक वर्षमा उक्त बजारमा करिब ६६ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । सवारीसाधनको बिक्रीबाहेक वर्कसप सेवा, ब्याट्री, लुब्रिकेन्ट्स र जेनेरेटरलगायतका व्यवसायबाट पनि कम्पनीले आम्दानी गर्दै आएको छ ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा व्यावसायिक सवारीसाधनको बजार करिब ६ प्रतिशतले विस्तार भएको थियो । तर, निजी सवारीसाधनको बजार भने करिब २१ प्रतिशतले संकुचित भएको थियो । निजी सवारीसाधनको बजारमा आएको गिरावटले कम्पनीको समग्र कारोबारमा दबाब सिर्जना गरेको जनाएको छ । 

नेपालको अटोमोबाइल बजारमा प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ । विद्युतीय निजी सवारीसाधनको क्षेत्रमा बीवाईडी र एमजीजस्ता ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यस्तै, पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको बजारमा हुन्डाई, किया र सुजुकीजस्ता ब्रान्डको उपस्थिति छ ।

कम्पनीका अनुसार चालू आर्थिक वर्षदेखि विद्युतीय सवारीसाधनमा मूल्यमा आधारित कर प्रणाली लागू भएपछि त्यस्ता सवारीसाधनको मूल्य बढेको छ । यसले मागमा दबाब सिर्जना गर्न सक्ने देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीको सवारीसाधन बिक्रीबाट हुने आम्दानीमा विद्युतीय सवारीसाधनको योगदान करिब ३९ प्रतिशत थियो । त्यसैले विद्युतीय सवारीसाधनको मूल्य वृद्धिले कम्पनीको कारोबारमा प्रत्यक्ष असर पार्न सक्ने जोखिम रहेको छ ।

सरकारी नीतिगत परिवर्तन पनि कम्पनीका लागि चुनौती बनेको छ । सन् २०२६ मे महिनामा नयाँ व्यावसायिक सवारीसाधनको आयात तथा दर्तामा लगाइएको अस्थायी रोक करिब तीन महिनासम्म कायम रहेको थियो । त्यस्तै, काठमाडौं उपत्यकाभित्र नयाँ सार्वजनिक निजी सवारीसाधन दर्तामा लगाइएको प्रतिबन्धसमेत जारी रहेको छ ।

यसैगरी, चिनियाँ विद्युतीय सवारीसाधनमा नयाँ प्रविधि र अत्याधुनिक सुविधाको उपलब्धता बढ्दै जाँदा उपभोक्ताको रोजाइमा परिवर्तन आउन थालेको छ । यसको प्रभाव विशेषगरी व्यावसायिक सवारीसाधनको बजारमा देखिन थालेको छ । हलुका व्यावसायिक सवारीसाधनमा विद्युतीय मोडलको प्रयोग बढ्दै गएको छ भने छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक बसमा पनि यसको आकर्षण विस्तार भइरहेको छ ।

उपभोक्ताको बदलिँदो मागअनुसार टाटा मोटर्सले प्रतिस्पर्धी विद्युतीय मोडल बजारमा ल्याउन नसकेमा सिप्रदीको आम्दानीमा असर पर्न सक्ने जोखिम छ । परम्परागत व्यावसायिक सवारीसाधनमा बलियो उपस्थिति भए पनि विद्युतीय सवारीसाधनतर्फको बजार परिवर्तन कम्पनीका लागि दीर्घकालीन चुनौती बन्न सक्ने देखिएको छ । यसैबीच, सिप्रदी ट्रेडिङले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १३ अर्ब ७५ करोड रुपैयाँ ऋण लिएको छ । 

Share News