काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकको खुद नाफा १ खर्ब ७२ अर्ब ३९ करोड रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार सुनचाँदी तथा विदेशी विनिमयको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभका कारण एक वर्षमै बैंकको खुद नाफा १३७.८८ प्रतिशत अर्थात् २ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँले बढेको हो ।
राष्ट्र बैंकको वित्तीय विवरणअनुसार पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ तथा हानि समायोजन गर्नुअघिको खुद नाफा ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो नाफा ८० अर्ब ४८ करोड २६ लाख रुपैयाँ थियो ।
सुन तथा चाँदीको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभले पनि राष्ट्र बैंकको नाफा बढाउन योगदान गरेको छ । बैंकले सुन तथा चाँदीको पुनर्मूल्याङ्कनबाट ७१ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ लाभ प्राप्त गरेको छ । अघिल्लो वर्ष यस्तो लाभ ४६ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ थियो ।
त्यस्तै, विदेशी विनिमयको पुनर्मूल्याङ्कनबाट २ खर्ब ५४ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ लाभ भएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो लाभ ४५ अर्ब २ करोड ९९ लाख रुपैयाँ मात्र थियो ।
विदेशी मुद्रा सञ्चिति ऐतिहासिक रूपमा वृद्धि भएपछि त्यसको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ नै राष्ट्र बैंकको खुद नाफा बढ्नुको प्रमुख कारण देखिएको छ ।
गत आर्थिक वर्षमा केन्द्रीय बैंकले विदेशी मुद्राबाट १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा विदेशी मुद्राबाट यस्तो खुद ब्याज आम्दानी ९४ अर्ब ८१ करोड रुपैयाँ थियो ।
वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहँदा केन्द्रीय बैंकको स्वदेशी मुद्राबाट हुने खुद ब्याज आम्दानी भने थप ऋणात्मक बनेको छ । गत आर्थिक वर्षमा स्वदेशी मुद्राबाट हुने खुद ब्याज आम्दानी २२ अर्ब ५ करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नोक्सानी ७ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ थियो ।
समग्रमा गत असार मसान्तसम्ममा राष्ट्र बैंकको खुद ब्याज आम्दानी ९४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ८७ अर्ब ५ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकको कुल खुद सञ्चालन आम्दानी पनि बढेको छ । वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा यस्तो आम्दानी ९३ अर्ब ९२ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा कुल खुद सञ्चालन आम्दानी ८८ अर्ब २० करोड ८७ लाख रुपैयाँ थियो ।
यद्यपि, अन्य आम्दानीतर्फ भने बैंकले घाटा व्यहोरेको छ । विदेशी विनिमय कारोबारबाट भएको वास्तविक लाभ तथा हानिअन्तर्गत २ अर्ब १३ करोड ८८ लाख रुपैयाँ नोक्सानी देखिएको छ । अघिल्लो अवधिमा यस्तो नोक्सानी ८ करोड ९० लाख रुपैयाँ मात्र थियो ।
त्यस्तै, अन्य खुद आम्दानी ९३ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो अवधिमा यस शीर्षकमा १ अर्ब ४० करोड २० लाख रुपैयाँ सकारात्मक आम्दानी थियो । बैंकले शुल्क तथा कमिसनबाट १ करोड ९४ लाख रुपैयाँ र सुन प्रमाणपत्रबाट ८६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बैंकको सञ्चालन खर्चमा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा कुल सञ्चालन खर्च १० अर्ब ३५ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च ७ अर्ब ७२ करोड ६० लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा सञ्चालन खर्च करिब ३४ प्रतिशतले बढेको छ ।
कुल सञ्चालन खर्चमध्ये कर्मचारी खर्च ५ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, नोट छपाइमा २ अर्ब ६४ करोड ७९ लाख रुपैयाँ, प्रशासनिक खर्चमा १ अर्ब ८२ करोड २६ लाख रुपैयाँ तथा ह्रासकट्टी, परिशोधन र सम्पत्ति क्षतिबापत ४७ करोड २९ लाख रुपैयाँ खर्च भएको छ ।
यसैबीच, राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण निर्धारित समयमै सम्पन्न गरेको जनाएको छ । समीक्षा वर्षको लेखापरीक्षणसमेत समयमै सम्पन्न भएको र २०८३ मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरेको बैंकले जनाएको छ ।
सञ्चालक समितिको बैठकले बैंकको खुद नाफाबाट विभिन्न आवश्यक कोषमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकममध्ये ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।