राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आन्तरिक राजस्व विभागले आज मंसिर १ गतेदेखि सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी कर दिवस मनाइरहेको छ । यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मनाइँदै गरेको कर दिवसका अवसरमा विभागले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउँदै स्वैच्छिक कर सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले विभागले २८ बुँदे सुधार योजना कार्यान्वयनमा ल्याएको छ । करदर्तादेखि भुक्तानीसम्मका प्रक्रियालाई डिजिटल तथा स्वचालित बनाउने, करदाताका समस्या शीघ्र समाधान गर्ने र कर प्रशासनमा सुशासन कायम गर्ने लक्ष्यसहित योजना अघि बढाइएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल बताउँछन् ।
उनका अनुसार कर प्रशासनमा संरचनात्मक सुधार गर्दै करदातालाई सम्मानित साझेदारका रूपमा व्यवहार गर्ने, गुनासो सुनुवाइलाई प्रभावकारी बनाउने तथा कर निर्धारण र असुली प्रक्रियालाई न्यायसङ्गत बनाउने कार्यलाई प्राथमिकता दिइएको छ । साथै, राजस्व चुहावट र कर छली नियन्त्रण, इमानदार व्यवसायीको संरक्षण तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको छ । राष्ट्रिय कर दिवसलाई राजस्व सङ्कलनको प्रगति समीक्षा गर्ने अवसरमा मात्र सीमित नराखी नागरिक र राज्यबीचको विश्वास अभिवृद्धि गर्ने तथा राष्ट्र निर्माणमा नागरिक सहभागिता बढाउने अवसरका रूपमा लिनुपर्ने महानिर्देशक भुसालको भनाइ छ । यसै सन्दर्भमा विभागका महानिर्देशक डा. भुसालसँग कर प्रणालीमा सुधार, करदातामैत्री सेवा, डिजिटल रूपान्तरण, करदाताको गोपनीयता र उत्कृष्ट करदाता छनोटका आधारलगायत विषयमा गरिएको कुराकानीको सम्पादित अंशः
कर दिवस मनाउनुको उद्देश्य के हो ?
कुनै पनि राष्ट्रको समृद्धिका लागि नयाँ देवदूत आएर देश समृद्ध हुने होइन । देशभित्र रहेका प्रत्येक नागरिकले आफ्नो कर दायित्व पूरा गर्नुपर्छ । नागरिकबाट थोपा-थोपा गरी सङ्कलन भएको राजस्वबाट राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा, राष्ट्रिय सुरक्षा, पुल, बाटो तथा अन्य सामाजिक सेवा र पूर्वाधार निर्माणमा योगदान पुग्ने हो । अहिलेसम्म हाम्रो सोच कर करले तिर्ने भन्ने छ । कर रहरले तिर्ने वातावरण बनाउन नागरिकले आफूले तिरेको प्रत्येक पैसाको सदुपयोग भएको छ भन्नेमा ढुक्क हुनुपर्छ ।
राष्ट्रिय कर दिवस मनाउनुको उद्देश्य करसम्बन्धी जनचेतना फैलाउनु मात्र होइन, कर प्रशासन सुधारका प्रतिबद्धता व्यक्त गर्नु पनि हो । साथै, राष्ट्रिय राजस्वमा ठूलो योगदान पु¥याउने करदातालाई सम्मान गरेर अरूलाई पनि कानुनबमोजिम कर तिर्न प्रेरित गर्नु यसको अर्को उद्देश्य हो । त्यसैगरी, लगनशील र निष्ठापूर्वक काम गर्ने कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम पनि हो । यसले आगामी दिनमा सुशासनयुक्त र पारदर्शी कर प्रशासन निर्माणका लागि अन्य कर्मचारीलाई समेत मनोबल र प्रेरणा प्रदान गर्छ ।
रहरले कर तिर्ने वातावरण बनाउन के गरिरहनु भएको छ ?
यसमा सबैभन्दा महत्वपूर्ण पक्ष प्रविधि हो । कर प्रशासनमा पारदर्शिता कायम गर्नु आवश्यक छ । यसको अर्थ नागरिकले तिरेको प्रत्येक पैसा राज्यको ढुकुटीमा पुगेको छ र त्यसको सदुपयोग भएको छ भन्ने सुनिश्चित गर्नु हो । दोस्रो, कर तिर्न, व्यवसाय दर्ता गर्न, स्थायी लेखा नम्बर (प्यान) लिन र विवरण बुझाउन जति झन्झट कम हुन्छ, करदाताहरू त्यति नै उत्सुक हुन्छन् । त्यसका लागि हामीले डिजिटल रूपान्तरणका विभिन्न रणनीतिक कार्य अघि बढाएका छौँ ।
अब बढीभन्दा बढी करदाताले घरबाटै सबै प्रकारका सेवा लिन सकून् भन्ने उद्देश्यले तयारी गरिरहेका छौँ । यसका लागि विभिन्न प्रणालीबीच एकीकरण गर्ने काम भइरहेको छ । व्यवसाय दर्तादेखि कर भुक्तानीसम्मका सबै प्रणालीलाई एकीकृत गरी एउटै विवरणका लागि विभिन्न कार्यालयमा पटक–पटक धाउनुपर्ने र १० ठाउँमा १० पटक विवरण बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले काम गरिरहेका छौँ । यसले कर तिर्ने उत्साहजनक वातावरण निर्माण गर्ने हाम्रो अपेक्षा छ ।
सबैभन्दा धेरै आयकर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुभयो । कर प्रणाली पारदर्शी हुनुपर्छ भन्नुहुन्छ । तर, उनीहरूले कति आयकर तिरेका छन् भन्ने विवरण किन सार्वजनिक गर्नुहुन्न ?
कर कानुनले यससम्बन्धी निश्चित प्रावधान राखेको छ । तर, पुरस्कृत भएका व्यवसायीहरूले आफूले राज्यलाई यति योगदान गरेकाले पुरस्कार पाएको भनेर विवरण सार्वजनिक गर्न सक्नुहुन्छ । यसमा उहाँहरूलाई खुला छ । कर कानुनले व्यक्तिगत विवरण सार्वजनिक नगर्न भनेका कारण विभाग त्यसमा बाध्य छ । तर, पुरस्कृत हुनुभएका करदातालाई म अनुरोध गर्न चाहन्छु– मैले राष्ट्रलाई यति योगदान गरेँ र त्यसैका आधारमा सम्मानित भएँ भन्ने कुरा आफैँ सार्वजनिक गरिदिनुहोस् ।
वाणिज्य बैंकबाट नबिल बैंक र लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्तले सम्मान पाएका छन् । तर, विकास बैंक र वित्त कम्पनीबाट कुनै पनि संस्था छनोट भएनन् । क्षेत्रगत रूपमा छनोट कसरी गर्नुहुन्छ ?
गत वर्ष हेर्नुभयो भने १६ वटा विभिन्न विधामा सम्मान गरिएको थियो । यस वर्ष हामीले तीनवटा विधा थपेका छौँ । लघुवित्तलगायतका क्षेत्र यस वर्ष थपिएका नयाँ विधा हुन् । अझै धेरै क्षेत्र समेट्न बाँकी छन् । जस्तै, कतिपय व्यवसायीले पूर्ण रूपमा अनलाइन व्यवसाय सञ्चालन गर्नुहुन्छ र इन्स्टाग्राम तथा फेसबुकमार्फत व्यवसाय गरेर पनि राम्रो कर तिरिरहनुभएको छ । त्यस्ता क्षेत्र पनि छुटिरहेका छन् । आगामी वर्षहरूमा सम्मानको दायरा अझ फराकिलो बनाउने हाम्रो सोच छ ।
क्षेत्र छनोट कसरी गर्नुहुन्छ ?
विगतदेखि चलिआएका केही आधारहरू छन् । सुरुमा सबैभन्दा बढी कर तिर्नेलाई सम्मान गर्ने परम्पराबाट यसको सुरुवात भएको हो । तर, पछिल्लो समय केही विषयमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । जस्तै, करसम्बन्धी मुद्दा छन् कि, बक्यौता छ कि वा कारबाहीको अवस्था कस्तो छ भन्ने पक्षलाई पनि हेर्नुपर्ने हुन्छ । आगामी दिनमा सम्मान गर्दा तिरेको करको रकमलाई मात्रै आधार नबनाई कर अनुपालनमा सम्बन्धित करदाताले कति उदाहरणीय काम गरेका छन् भन्ने विषयलाई पनि समेट्ने गरी नयाँ सूचक तयार गर्नेबारे सोचिरहेका छौँ ।
कुनै पनि गाडी कम्पनी सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित किन हुन सकेनन् ?
गाडी कम्पनीहरू व्यापारिक कारोबार अर्थात् व्यापार क्षेत्रअन्तर्गत पर्छन् । जसले सबैभन्दा बढी कर ति¥यो, उहाँहरू सम्मानित हुनुभएको हो । गाडी कम्पनीहरूको व्यवसायको आकार ठूलो भए पनि आम्दानी छरिएको हुन सक्छ । तर, कर तिर्ने आधारमा उहाँहरू पनि योग्य हुनुभयो भने सम्मानित हुनुहुन्छ ।
कर प्रणालीलाई बलियो र पारदर्शी बनाउन विभागले के काम गरिरहेको छ ?
आन्तरिक राजस्व विभागले गत साउनको पहिलो सातामै २८ बुँदे रणनीतिक रूपान्तरणकारी योजना जारी गरेको हो । म विभागको नेतृत्वमा आउनेबित्तिकै विभागलाई यसरी अघि बढाउनुपर्छ भन्ने सोचका साथ यो योजना ल्याइएको हो । विवाद समाधान, डिजिटल रूपान्तरण, सेवा प्रवाहको सरलीकरणलगायत विभिन्न क्षेत्रलाई समेटेर २८ बुँदे रूपान्तरणकारी कार्ययोजना तयार गरिएको छ । सोही योजनाअनुसार सम्बन्धित निकायलाई जिम्मेवारी दिएर व्यवस्थित रूपमा काम अघि बढाइरहेका छौँ ।