उच्च कर तिर्नेमा बाउछोराको ह्याट्रिक

काठमाडौं । नेपालमा सबैभन्दा बढी व्यक्तिगत आयकर दाखिला गर्ने करदाताको सूचीमा पछिल्ला वर्ष एउटा परिवारको नाम निरन्तर देखिन थालेको छ । त्यो हो, जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयबहादुर शाह र उनका छोरा राजबहादुर शाहको परिवार ।

व्यवसायबाट आर्जित आम्दानी र राज्यलाई बुझाएको करका कारण बाबु र छोरा दुवै व्यक्तिगततर्फ सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित हुँदै आएका छन् । कुनै समय व्यक्तिगत आयकरको शीर्ष स्थानमा रहेका विजयबहादुरले बनाएको पहिचानलाई पछिल्ला वर्ष उनका छोरा राजबहादुरले निरन्तरता दिएका छन् ।

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा यस वर्ष पनि व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा राजबहादुर शाहलाई सम्मान गरेको छ । यससँगै उच्च करदाता सम्मानमा बाबुछोराको उपस्थिति थप चर्चामा आएको छ ।

विजयबहादुर शाह २०७७, २०७९ र २०८० सालमा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता बनेका थिए । त्यसपछि राजबहादुर शाहले २०८१ २०८२ र २०८३ सालमा यो उपलब्धि हासिल गरे । यस वर्ष पनि राजबहादुर नै व्यक्तिगततर्फ सर्वाधिक आयकर दाखिला गर्ने करदाता बनेका छन् ।

यसरी पछिल्ला वर्षको राष्ट्रिय करदाता सम्मानमा बाबु र छोरा गरी एउटै परिवारका सदस्यले पटक-पटक व्यक्तिगत आयकरतर्फ शीर्ष स्थान हासिल गरेका छन् । 

विजयबहादुर शाह नेपालको मदिरा उद्योगका स्थापित व्यवसायी हुन् । उनी जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष हुन् । उनको नेतृत्वमा स्थापित व्यावसायिक समूहले मदिरा तथा पेय पदार्थ उत्पादन, वितरण र बिक्री गर्दै आएको छ ।

विजयबहादुरले सन् १९६९ मा अमेरिकाबाट अध्ययन पूरा गरी नेपाल फर्किएपछि आधुनिक प्रविधि र मेसिन प्रयोग गरेर मदिरा उद्योगको विकासमा काम सुरु गरेका थिए । त्यसपछि उनले विस्तार गरेको व्यावसायिक साम्राज्य आज विभिन्न कम्पनी र ब्रान्डमार्फत फैलिएको छ । 

उनले सञ्चालन तथा नेतृत्व गर्दै आएको समूहअन्तर्गत हिमालयन डिस्टिलरी, जाउलाखेल डिस्टिलरी, एसियन डिस्टिलरी, राज ब्रुअरी, विजय डिस्टिलरीलगायत कम्पनी छन् । यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक, ब्ल्याक ओक, ब्लु डायमन्ड जिनलगायत विभिन्न ब्रान्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएका छन् । समूहले अन्तर्राष्ट्रिय ब्रान्डका बियरसमेत नेपालमै उत्पादन गर्दै आएको छ ।

विजयबहादुर पहिलोपटक २०७७ सालमा व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने करदाता बनेका थिए । आर्थिक वर्ष २०७५/७६ मा उनले १५ करोड २७ लाख रुपैयाँ आयकर दाखिला गरेको विवरण सार्वजनिक भएको थियो ।

त्यसपछि २०७९ र २०८० सालमा पनि उनले व्यक्तिगततर्फ सर्वाधिक आयकर दाखिला गर्ने करदाताको सम्मान प्राप्त गरे । यसरी उनले तीनपटक व्यक्तिगत आयकरतर्फ पहिलो स्थान हासिल गरे ।

छोराले सम्हाले बाबुको विरासत

विजयबहादुरपछि उनका छोरा राजबहादुर शाहले व्यक्तिगत आयकरको शीर्ष स्थानमा आफ्नो उपस्थिति बलियो बनाएका छन् ।

राजबहादुर जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् । उनी समूहको व्यावसायिक व्यवस्थापन र विस्तारमा सक्रिय छन् । बाबुले निर्माण गरेको व्यावसायिक आधारलाई नयाँ पुस्ताले निरन्तरता दिँदै आएको देखिन्छ ।

राजबहादुरले २०८१ सालमा पहिलोपटक व्यक्तिगत आयकरतर्फ सर्वाधिक कर दाखिला गर्ने करदाताको सम्मान प्राप्त गरेका थिए । त्यसपछि २०८२ सालमा पनि उनले यो उपलब्धी दोहोर्याए । यस वर्ष २०८३ मा समेत उनी व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता बनेका छन् ।

यससँगै बाबु विजयबहादुरको तीनपटकको उपलब्धिमा छोरा राजबहादुरको तीनपटकको सफलता थपिएको छ । पछिल्ला वर्षमा व्यक्तिगत आयकरको शीर्ष स्थानमा शाह परिवारको निरन्तरता देखिएको छ । 

कम्पनीबाट पनि करमा बलियो उपस्थिति

शाह परिवारको पहिचान व्यक्तिगत आयकरमा मात्रै सीमित छैन । उनीहरूको व्यावसायिक समूहअन्तर्गतका कम्पनी पनि सरकारी राजस्वमा ठूलो योगदान गर्ने संस्थाका रूपमा देखिँदै आएका छन् ।

विशेषगरी हिमालयन डिस्टिलरीले नियमित रूपमा उच्च कर दाखिला गर्ने कम्पनीको पहिचान बनाएको छ । सरकारले २०७७ सालदेखि नियमित रूपमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा हिमालयन डिस्टिलरीलाई सम्मान गर्दै आएको छ ।

यस वर्ष पनि हिमालयन डिस्टिलरीलाई मूल्य अभिवृद्धि करतर्फ बढी कर दाखिला गरेबापत सम्मान गरिएको छ । यसले शाह परिवारको व्यावसायिक समूहले व्यक्तिगत र संस्थागत दुवै तहमा उच्च करदाताको पहिचान बनाएको छ । 

नेपालमा व्यक्तिगत आयकरतर्फ लामो समयसम्म सिद्धार्थशमशेर जबराको वर्चस्व थियो । उनी २०७१, २०७३, २०७४, २०७५, २०७६ र २०७८ सालमा सर्वाधिक व्यक्तिगत आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएका थिए ।

त्यसपछि विजयबहादुर शाहले उनको वर्चस्व तोडेका थिए । पछिल्ला वर्षमा विजयबहादुर र उनका छोरा राजबहादुरले व्यक्तिगत आयकरको शीर्ष स्थानमा आफ्नो उपस्थिति कायम राखेका छन् ।

आन्तरिक राजस्व विभागले २०६९ सालदेखि विभिन्न विधामा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गर्दै आएको छ । 

Share News