एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको नयाँ दाबी

पोस्टमार्टम गर्ने चिकित्सकको निष्कर्ष फरक

काठमाडौं । अमेरिकाका कुख्यात यौन अपराधी जेफ्री एपस्टिनको जेलभित्र भएको मृत्यु आत्महत्या नभई हत्या भएको हुनसक्ने दाबी एक फरेन्सिक विज्ञले गरेका छन् । 

सन् २०१९ मा जेलभित्र मृत फेला परेका एपस्टिनको पोस्टमार्टमका तस्बिर र मेडिकल रिपोर्टका आधारमा फरेन्सिक विज्ञ प्राध्यापक माइकल फ्रीम्यानले यस्तो निष्कर्ष निकालेका हुन् ।

बीबीसीको ‘न्युज्नाइट’सँग कुरा गर्दै फ्रीम्यानले न्यूयोर्क सहरका मेडिकल एक्जामिनरको फाइल अध्ययन गर्दा एपस्टिनको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रमाण फेला परेको बताए । उनको विश्लेषणअनुसार एपस्टिनको पछाडिबाट घाँटी थिचिएको सम्भावना बढी छ ।

तर, सन् २०१९ मा एपस्टिनको पोस्टमार्टम गरेका मेडिकल एक्जामिनरले भने उनको मृत्यु आत्महत्याका कारण भएको निष्कर्ष निकालेका थिए । पोस्टमार्टमका क्रममा भेटिएका चोटहरू आत्महत्यासँग मेल खाने उनको भनाइ थियो । हत्या भएको अवस्थामा प्रतिकार गर्दा शरीरमा देखिन सक्ने चोटका प्रमाणसमेत फेला नपरेको उनले बताएका थिए ।

एपस्टिन सन् २०१९ अगस्ट १० मा न्यूयोर्कस्थित जेलमा मृत फेला परेका थिए । त्यतिबेला उनी नाबालिग किशोरीहरूको यौन तस्करीसम्बन्धी अभियोगमा मुद्दाको सुनुवाइ पर्खिरहेका थिए । उनको मृत्युको आधिकारिक कारण आत्महत्या बताइएको थियो ।

घाँटी थिचेर हत्या गरिएको फरेन्सिक विज्ञको दाबी

एपस्टिनको पोस्टमार्टमका बेला न्यूयोर्क सहरको प्रमुख मेडिकल एक्जामिनर रहेकी डा. बारबरा स्याम्पसनले उनको मृत्यु आत्महत्या भएको निष्कर्ष निकालेकी थिइन् । उनले यसपछि पनि आफ्नो निष्कर्षमा आफू पूर्ण रूपमा अडिग रहेको बताउँदै आएकी छन् ।

तर, अमेरिकामा प्रहरी हिरासतमा भएका मृत्युका घटनाको फरेन्सिक अनुसन्धानमा अनुभव हासिल गरेका प्राध्यापक फ्रीम्यानले भने यस निष्कर्षमाथि प्रश्न उठाएका छन् । उनले मिनेसोटामा प्रहरी नियन्त्रणमा ज्यान गुमाएका जर्ज फ्लोयडको मृत्यु प्रकरणमा समेत फरेन्सिक विज्ञका रूपमा काम गरेका थिए ।

फ्रीम्यानले सोमबार साँझ लन्डनमा आफ्नो अनुसन्धानका निष्कर्ष सार्वजनिक गरेका थिए । त्यसपछि उनले आफ्नो अनुसन्धान र न्यूयोर्क सहरका मेडिकल एक्जामिनरको फाइलसमेत सार्वजनिक गरेका छन् ।

उनले एपस्टिनको शव आफैले परीक्षण गरेका भने होइनन् । मेडिकल एक्जामिनरको रिपोर्टमा समावेश गरिएका कागजात र तस्बिरका आधारमा उनले आफ्नो निष्कर्ष निकालेका हुन् । ती सामग्री एपस्टिनका भाइ मार्क एपस्टिनले उनलाई उपलब्ध गराएका थिए ।

मार्कले लामो समयदेखि आफ्ना भाइको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएका छन् ।

फ्रीम्यानका अनुसार उनको अध्ययनमा एपस्टिनमाथि आक्रमण भएको संकेत दिने केही चोटहरू देखिएका छन् । एपस्टिनको बायाँ काँधको भित्री भागमा गम्भीर रक्तस्राव भएको र अनुहारमा कुनै वस्तुले प्रहार गर्दा लाग्न सक्ने चोटका चिह्नहरू भेटिएको उनको दाबी छ ।

उनले उपलब्ध प्रमाणले एपस्टिनको घाँटीमा पासो लगाएर घाँटी थिचिएको र त्यसपछि त्यही पासो प्रयोग गरी उनको शवलाई सुत्ने खाटबाट झुन्ड्याइएको हुन सक्ने देखाउने बताए ।

फ्रीम्यानका अनुसार एपस्टिनको घाँटीमा पासोले पारेको दागमाथि नङले कोतरेका जस्ता चिह्नसमेत देखिन्छन् । यस्तो चिह्न घाँटी थिचिँदा पीडितले पासो हटाउन गरेको प्रयाससँग मेल खाने उनको भनाइ छ ।

उनले भने, ‘यो घाँटी थिचिएको घटनासँग मेल खान्छ । विशेषगरी पछाडिबाट घाँटी थिचिएको अवस्थामा यस्तो हुन सक्छ । यसले पीडितले आफ्नो घाँटीबाट पासो हटाउन खोजेको पनि देखाउँछ ।’

उनका अनुसार एपस्टिनको शरीरमा देखिएका चोट र शव भेटिएको अवस्थाबीच मेल छैन । त्यसैले उनको मृत्यु हत्याकै परिणाम भएको हुन सक्ने उनको निष्कर्ष छ ।

पोस्टमार्टम गर्ने चिकित्सकको निष्कर्ष फरक

यद्यपि, एपस्टिनको पोस्टमार्टम गर्ने मेडिकल एक्जामिनरले भने फ्रीम्यानको दाबीसँग असहमति जनाएकी छन् ।

उनले अमेरिकी न्याय मन्त्रालयको महानिरीक्षक कार्यालयलाई दिएको जानकारीअनुसार एपस्टिनको शरीरमा देखिएका चोटहरू घाँटी थिचेर हत्या गरिएको भन्दा झुन्डिएर आत्महत्या गरिएको घटनासँग बढी मेल खान्थे ।

उनका अनुसार घाँटी थिचेर हत्या गरिएका व्यक्तिको शरीरमा प्रतिकार गर्ने क्रममा लागेका चोटका प्रमाण पनि भेटिन सक्थे । तर, एपस्टिनको शरीरमा त्यस्ता प्रमाण फेला परेका थिएनन् ।

फ्रीम्यानले भने हिरासतमा झुन्डिएर मृत्यु भएको घटनाको अनुसन्धान गर्दा शव तल झार्नुअघि त्यसको तस्बिर खिचिएको हुनुपर्ने बताएका छन् ।

अमेरिकी न्याय मन्त्रालयको अनुसन्धान प्रतिवेदनअनुसार एपस्टिनलाई जेलमा भेट्टाउने सुरक्षाकर्मीले तत्कालै अर्का सहकर्मीलाई सहयोगका लागि बोलाएका थिए । त्यसपछि एपस्टिनको शव तल झारेर उनलाई पुनः होसमा ल्याउने प्रयास गरिएको थियो ।

न्याय मन्त्रालयको प्रतिवेदनअनुसार मृत्यु हुनुभन्दा करिब एक महिनाअघि एपस्टिनलाई केही समय आत्महत्या रोकथामसम्बन्धी विशेष निगरानीमा समेत राखिएको थियो ।

हत्या कसले गर्यो भन्नेबारे विज्ञ नै अनभिज्ञ

फ्रीम्यानले एपस्टिनको हत्या भएको भए त्यसमा को संलग्न थियो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘यस विषयमा मेरो कुनै धारणा छैन । यो मेरो अनुसन्धानको हिस्सा पनि होइन ।’

आफ्नो निष्कर्ष षड्यन्त्रको सिद्धान्तजस्तो सुनिने प्रश्नमा उनले आफ्नो अनुसन्धानमाथि प्रश्न उठाउन र प्रमाणका आधारमा बहस गर्न सबैलाई आग्रह गरेका छन् ।

‘मेरो कुरामा विश्वास नगर्न पनि सक्नुहुन्छ । सबैलाई आफै अनुसन्धान गर्न दिनूहोस्,’ उनले भने ।

आफूले देखेका प्रमाणले घाँटी थिचिएको संकेत गर्दा त्यसलाई त्यही रूपमा व्याख्या गरेको उनको भनाइ छ । आफ्नो निष्कर्ष गलत भए त्यसको कारण देखाउन पनि उनले चुनौती दिएका छन् ।

उनले आफू शैक्षिक अनुसन्धानमा संलग्न व्यक्ति भएकाले तथ्यमा आधारित आलोचना र बहसका लागि सधैँ तयार रहेको बताए ।

फ्रीम्यानको अनुसन्धानमाथि अहिलेसम्म अन्य विज्ञहरूले स्वतन्त्र रूपमा समीक्षा गरिसकेका छैनन् । उनले आफ्नो अध्ययनका लागि मार्क एपस्टिनबाट कुनै आर्थिक पारिश्रमिकसमेत नलिएको बताएका छन् ।

कसरी जोडिएको थियो एपस्टिनको नाम यौन अपराधमा ?

एपस्टिन सन् २००८ मा नाबालिग किशोरीलाई देहव्यापारमा संलग्न गराएको अभियोगमा दोषी ठहर भएका थिए । त्यसपछि उनको नाम यौन अपराधीहरूको सूचीमा राखिएको थियो ।

तर, त्यतिबेला भएको एउटा कानुनी सम्झौताका कारण उनले कडा जेल सजायबाट बच्ने अवसर पाएका थिए ।

त्यसको ११ वर्षपछि सन् २०१९ मा उनीमाथि नाबालिग किशोरीहरूको यौन शोषणका लागि संगठित सञ्जाल सञ्चालन गरेको आरोप लाग्यो । यही अभियोगमा मुद्दाको सुनुवाइ पर्खिरहेका बेला उनी न्यूयोर्कको मेट्रोपोलिटन करेक्सनल सेन्टरमा मृत फेला परेका थिए ।

उनको मृत्युले अमेरिकामा राजनीतिक तथा आर्थिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध, यौन अपराधको सञ्जाल र जेल सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाएको थियो ।

यद्यपि, फ्रीम्यानको पछिल्लो दाबी नयाँ फरेन्सिक विश्लेषणमा आधारित छ । यसले एपस्टिनको हत्या भएको आधिकारिक रूपमा पुष्टि गर्दैन । उनको मृत्युबारे सन् २०१९ मा निकालिएको आत्महत्याको आधिकारिक निष्कर्षलाई समेत अहिलेसम्म औपचारिक रूपमा परिवर्तन गरिएको छैन । 

सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी

Share News