प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा आयोजित कार्यक्रममा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो।

यस उपलब्धिले ई.मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रति प्रोटोनले दिएको प्राथमिकतालाई उजागर गरेको कम्पनीले जनाएको छ।

ई.मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता सुविधाहरू छन्। यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ। यी सुविधाले सवारी चलाउँदा चालकलाई थप सहायता प्रदान गर्छन्।

अन्तर्राष्ट्रिय सम्मानसँगै ई.मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि राम्रो उपस्थिति कायम गरेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएका छन्। अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ।

सोही अवधिमा प्रोटोन ई.मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्। यसले मलेसियामा कम्पनीका विद्युतीय सवारीप्रति बढ्दो आकर्षण देखाउँछ।

नेपालमा प्रोटोन ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ। प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा छन्।

गाडीमा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्। त्यस्तै, भेहिकल टु लोड (भीटूएल) सुविधामार्फत गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ। यसले यात्राका क्रममा आवश्यक विद्युतीय उपकरण प्रयोग गर्न सहज बनाउँछ। यसमा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल र मनोरञ्जनसम्बन्धी सुविधालाई सहज बनाउँछ।

ई.मास ७ को प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ। यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा ३४५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।

त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ। यसले एकपटकको पूर्ण चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिन्छ।

दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। ई.मास ७ मा ११ किलोवाटसम्मको एसी चार्जिङ क्षमता र १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट पनि छ।

अन्तर्राष्ट्रिय सुरक्षा सम्मान, उन्नत चालक सहायता प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने सुविधासहित ई.मास ७ ले नेपालको विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ। 

Share News