विकासन्युज

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा, भूतप्रेत भाग्ने विश्वास

भक्तपुर । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका हुन् । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरेका थिए । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिएका थिए । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो । स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो । जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ । संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिए । उनले भने, ‘हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।’ शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताए । जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्याइएको थियो । डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उनको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो । धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् । आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ । आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७-१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् । शनिवार राति ९ बजे श्रेष्ठ दोस्रोपटक जिब्रो छेडेका हुन् । उनले यसअघि विसं २०७४ मा जिब्रो छेडाएका थिए । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक-पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो । विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् । रासस

होटल बाराहीलाई उत्कृष्ट उद्योगको सम्मान

काठमाडौं । हस्पिट्यालिटीको क्षेत्रको पायोनियर पौडेल परिवारले सञ्चालन गरेको पोखराको होटल बाराहीले उत्कृष्ट उद्योगको सम्मान प्राप्त गरेको छ । पोखरा उद्योग वाणिज्य संघले प्रदान गरेको उक्त सम्मान गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले बाराही ग्रुपका निर्देशक वैभव पौडेललाई हस्तान्तरण गरेका छन् । होटल बाराही ४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले सुरु गरेका हुन् । पौडेलले हस्पिट्यालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरु विप्लव र वैभव आफ्नो बुवाको पदचाप पछ्याउँदै सोही व्यवसायमा आवद्ध छन् । सामान्य स्तरबाट सुरु भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको निर्देशक पौडेलले बताए । पर्यटन विभागबाट चार तारे होटलको मान्यता पाएको बाराहीमा अहिले ८० कोठा रहेका छन्, जहाँ एकैपटकमा दुई सय जनासम्म बास बस्न सक्छन् । आकर्षक स्वीमिङ पुल र गार्डेन रहेको होटलमा कन्फ्रेन्स हल, डेस्टिनेसन वेडिङ र अन्य इभेन्ट्स गर्न सकिने सुविधा पनि रहेको पौडेलले बताए । बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज, बब्स जिम सञ्चालनमा छन् भने काठमाडौंको ठमेलमा चार तारे बाराही काठमाडौं सञ्चालनको तयारीमा रहेको छ ।

‘चीनले अघोषित नाकाबन्दी गर्यो, नाकामा अर्बौका सामान अड्किए’

काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौका सामान छुटाउन राज्यका तफृबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उदोगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । नेपालीहरुको ठूलो चाड दशैं नजिएको तर दशैंमा बेच्नु पर्ने सामान नाकामै रोकिदा अर्बौका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् । ‘संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयौ मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रीत अर्बौका सामानहरु सडिने, कुहिने र बिग्रने भइ नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।’ महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ । बैंकले दिएको मानसिक तनाबका कारण कतिपय उद्योगी व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै महासंघले यसतर्फ गम्भीर बन्न समेत सरकारलाई अनुरोध गरेको छ । ‘व्यापार व्यवसाय गर्न सामान नाकामा थन्किएको, बैंकले ऋण चुक्ता गर्न बारम्बार ताकेता गर्दै सम्पत्ति लिलाम तथा जफथ गर्ने धम्की दिदै मानसिक तनाव दिइरहेको अवस्था छ’ विज्ञप्तिमा भनिएको छ, ‘यावत समस्याले गर्दा व्यवसायीहरु मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्नुपरेको उदाहरणहरु छन् ।’ बैंकको ब्याजदर अत्यधिक बढेको भन्दै बैंकको ब्याजदर नियन्त्रण गर्न समेत महासंघले नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ ।

महानगरको अभियानमा नागरिकको साथ

काठमाडौं । काठमाडौं महानगरपालिका–१८ का मञ्जली शाक्यलाई कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सुरु भएको अवैध संरचना भत्काउने काम सकारात्मक लागेको छ । शाक्य भन्छन्, ‘यसलाई निरन्तरता दिनुपर्छ, सोहीअनुसारको संरचना कसैको भत्काउने कसैको नभत्काउने गरियो भने यसमा विमति जनाइन्छ अन्यथा सकारात्मक कार्यको थालनीमा सहयोग रहन्छ’, उनले भने । ‘नगरप्रमुख साहले अवैध संरचना भत्काउने सम्बन्धमा अहिलेसम्म गरेको अध्यास ठीक छ । कानुनविपरीतका संरचना भत्काउँदा व्यक्तिगतरूपमा व्यक्तिलाई घाटा वा नाफाभन्दा पनि सामूहिकरूपमा यसको प्रभाव के हो भन्ने विषय प्रमुख हो’, शाक्यले भने । दश वर्षदेखि काठमाडौँ बस्दै आएकी धादिङकी फूलमाया तामाङ पनि कामपाले सुरु गरेको अवैध संरचना भत्काउने र फुटपाथमा सञ्चालन हुँदै आएको पसल हटाउने कार्यलाई राम्रो भन्छिन् । यसरी संरचना भत्काइरहँदा नगरप्रमुखको नजर गरिखाने वर्गमा मात्रै नपरोस्, कानुन सबैमा बराबर लागू होस्, हुनेखानी र पहुँचवालालाई पनि यसले आभाष दिलाओस् यसमा हाम्रो सहयोग नै रहन्छ । फूलमाया र मञ्जलीले जस्तै कामपा वडा नं १७ का यशोधा थापाको भनाइ पनि प्रमुख साहको समर्थन गर्ने पक्षमा नै छ । शिक्षण पेशा गर्दै आउनुभएकी थापाले भनिन्, ‘नगरपिताले केही सकारात्मक परिवर्तन गर्न खोज्नुभएको छ, त्यसमा हाम्रो साथ रहन्छ ।’ कामपाको भित्री क्षेत्रमा कुनै पनि समयमा सहजरूपमा आवतजावत गर्न सकिँदैन, जताततै पसल छ, पसलको कारण कठिन भयो भन्न पाइँदैन उल्टै पसल सञ्चालकले नै गाली गर्छन् उनीहरुसँग डराएर हिँड्नुपर्ने अवस्था छ, प्रमुख साहको कदमले आगामी दिनमा उक्त समस्याबाट मुक्त पाउने विश्वास शिक्षक थापाको छ । थापा भन्छिन्, ‘यो काम राम्रो छ, यसलाई महानगरको सबै स्थानमा अनुगमन गरी गैरकानुनी संरचना भत्काउने र नागरिक आवतजावतगर्ने बाटोमा सञ्चालन भइरहेका सबै पसल हटाउनुपर्छ ।’ थापा र शाक्यको भन्दा फरकमत छ रामेछामको अर्पण केसीको । उनले १३ वर्षदेखि असनको फुटपाथमा सञ्चालित जुत्ता व्यापारबाट छोराछोरीको लालनपालनगर्दै आएका थिए । पछिल्लो समय कामपाले अवैध संरचनासँगै फुटपाथ पसल हटाउने कामपले धेरैको व्यापार–व्यवसायमात्रै होइन, दैनिक खाने गाँससमेत खोसिएको छ । संरक्षण गर्नुपर्ने निकायले झनै विजोग बनाएर छाडेको उनले दुःखेसो पोखे । चाडवाडको मुखमा महानगरले धेरैको बिजोग बनाएको उनको गुनासो छ । ‘लामो समयदेखि गरिँदै आएको पेशामात्रै खोसिएको छैन, काम गर्ने स्थान पनि खोसिएको छ’, केसीले भन्नुभयो, ‘हटाउँदा पनि विकल्प दिनुपथ्र्यो’, उनले भने । कामपाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर गरिरहेको छ । कामपाले यसलाई अभियानका रूपमा नै अघि बढाएको भन्दै यो कार्य कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने अडान लिएको छ । कानुनीरूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ, त्यसका लागि कामपाले नक्साअनुरुप वैध–अवैध यकिन गरिरहेको छ, कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने । ‘नक्साविपरीतका संरचना, नक्सापास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ’, उनले भने । यो कामलाई अभियानका रूपमा सञ्चालन गरिने र महानगरको ३२ सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी राखिने छैन, महानगरप्रमुख साहको सचिवालय सदस्य सुनिल लम्सालले भने । यस सम्बन्धमा कामपाको ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो र सम्बन्ध भएका व्यक्ति वा संस्थाले यसको बेवास्ता गरेपछि कामपाले अवैध संरचनामा डोजर चलाउन थालेको हो । कहाँ–कहाँ भत्काइए संरचना ? उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा पनि मापदण्डविपरीत प्रयोग भएका संरचना भत्काइएका छन् । त्यस्तै त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन पनि महानगरप्रमुख साहको निर्देशनमा हटाइसकेको छ । एक साताअघि वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भ¥याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ । त्यसैगरी बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सय बढी कानुनविपरीत निर्माण भएका संरचना भत्काएको छ । गत आइतबार कोटेश्वर प्रहरीचौकी नजिकैको ५० भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमबार पनि बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० भन्दा बढी अवैध संरचना भत्काएको हो । यसरी भत्काइएका संरचनाअन्तर्गत सडकपेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भ¥याङ रहेको कामपाको भनाइ छ । अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान असन र इन्द्रचोकमा अस्तव्यस्तरूपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ । यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले बताए । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अण्डरग्राउण्ड पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । रासस

कैलालीमा उत्पादित केराको बजार देशैभरि

टीकापुर । खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको केरा खेती कैलालीमा हरेक वर्ष विस्तार हुँदै गएको छ । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा करिब नौ सय बिघा जमिनमा केरा खेती गरिएको छ । पछिल्लो समय यहाँका नागरिकले केराका परिकारलाई खाद्य वस्तुका रुपमा प्रयोगमा ल्याउन थालेका छन् । यहाँ उत्पादन भएको केराले देशैभर बजार पाएको छ । यहाँ उत्पादन भएको केरा सुदूर र लुम्बिनी प्रदेशका केही जिल्लामा मात्र होइन पूर्वी नेपालका केही जिल्लामा समेत जाने गरेको छ । यहाँ उत्पादन भएको केरा बढी पोखरा, काठमाडौं, बुटवललगायत सहरमा खपत हुन्छ । यी सहरमा दैनिक यहाँ उत्पादन भएका केराका गाडी जाने गरेका केरा व्यवसायी किसान विनोदकुमार शाह बताउँछन् । ‘मैले दाङ, सुर्खेतलगायत विभिन्न ठूला सहरमा केरा पठाउने गरेको छु’, उनी भन्छन्, ‘पचपन्न बिघामा खेती गरेको छु । अब केराको याम सुरु हुँदैछ । दसैँ तिहारका समयमा हामीलाई केरा बेच्न बजार खोजाखोज हुन्छ ।’ केरा किसान शाह भारतीय केरा भित्रँदा नेपाली केराले बजारमा मूल्य पाउन भने समस्या रहेको बताउँछन् । ‘भारतीय केरा नेपाली बजारमा छ्यापछ्याप्ती पाइन्छ । त्यहाँ सरकारले किसानलाई विभिन्न सहयोग र अनुदान दिन्छ । त्यहाँ लागत कम लाग्छ । हामीकहाँ लागत बढी हुन्छ’, उनी भन्छन्, ‘सिजनमा भारतीय केरा सस्तोमा आउँदा हामीलाई लागत उठाउनसमेत समस्या हुन्छ । अस्वस्थ प्रतिस्पर्धा हामीले गर्नु परिरहेको छ ।’ केरा किसानहरु आफ्नो बजारमा पहिलो प्राथमिकतामा नेपाली उत्पादित केराले बजार पाउनुपर्नेमा भारतीय केरासँग अस्वस्थ प्रतिस्पर्धा गर्नुपरेको गुनासो गर्छन् । केराले देशैभरि बजार पाए पनि उत्पादन भएको समयमा लागत मूल्यसमेत नपाउँदा फाइदा लिन कठिन भएको उनीहरुको भनाइ छ । भारतीय केरा सहजै नेपाल भित्रन नदिएमा नेपाली केराको माग देशैभरिबाट आउने गरेको कृषक शाह बताउँछन् । ‘सरकारको नीति भएन, स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति हुनुपर्छ, आफ्नो उत्पादन अभाव भए पो बाह्य उत्पादन ल्याउने हो’, उनी भन्छन्, ‘आफ्नो उत्पादनले मूल्य नपाउने गरी भारतीय उत्पादन नेपाली बजारमा आउँदा कृषि पेशामा लागेका किसान विस्थापित हुनुपर्ने अवस्था आउने देखिन्छ ।’ ‘केरा बढी उत्पादन हुने र बिक्री गर्ने समयमा बजारमा भारतीय केराले बजार ढाक्छ”, केरा किसान टेकेन्द्र धामी भन्छन्, ‘हाम्रोमा प्रतिदर्जन केरा रु ३० पर्छ तर सिजनमा रु १० देखि २० सम्ममा बेच्नुपरेकाले घाटा भएको छ । अस्वस्थ प्रतिस्पर्धाले नेपाली किसान सुरक्षित छैनन् ।’ यहाँका किसानले गत वर्ष बजार नपाएपछि १० प्रतिदर्जन मूल्यमा केरा बेच्नुपरेको थियो । फाइदा नभए पनि लगानी केही उठोस् भनेर धेरै किसान न्यून मूल्य पाए पनि केरा बेच्न बाध्य भएका थिए । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण किसानका केरा बजार नपाएर बारीमा सडेका थिए । किसानहरु भारतीय केरा नेपाल भित्रिन कडाइ गरेमा नेपाली केराले राम्रो बजार र मूल्य पाउनेमा आशावादी छन् । विगतमा फलफूलका रुपमा खाइने केरा आजभोलि मानिसले अन्नका रुपमा समेत खान थालेका छन् । केरा स्वास्थ्यका हिसाबले समेत फाइदा दिने फल भएकाले यसका विभिन्न उत्पादन बनाएर खानेहरु समेत यहाँ बढेका छन् । कैलालीको टीकापुरमा कृषि उत्पादनमा किसानको सहभागिता बढाउने उद्देश्यले रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइ स्थापना गरिएको छ । उक्त एकाइले कृषितर्फ विभिन्न सहयोग गर्दै आएको छ । आयोजना सञ्चालनपछि यहाँ केरा खेती गर्ने किसान अझ बढेका छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा करिब नौ सय बिघामा केरा खेती भइरहेको केरा किसानहरु बताउँछन् । आयोजनाले किसानलाई केरा खेती विस्तारका लागि थोपा सिँचाइ, केराको टिस्युकल्चर बेर्ना उत्पादन, प्रविधिमा सहयोगजस्ता कार्यक्रम गरिरहेको छ । आयोजनाको सहयोगमा नयाँ प्रविधिमार्फत खेती गर्न चाहने किसानले ७५ प्रतिशत अनुदान, बेर्ना उत्पादनमा ५० प्रतिशत र प्राविधिक सहयोगतर्फ ५० प्रतिशत अनुदान दिने गरेको छ । कृषि कार्यान्वयन एकाइको सहयोगमा अहिलेसम्म यस क्षेत्रमा दुई सय ५० हेक्टरमा केरा खेतीका लागि किसानलाई सहयोग गरिएको छ । उक्त एकाइका सूचना अधिकारी दिलीपजङ्ग राना आयोजनाले तीन सय ३० बिघामा थोपा सिँचाइ सुविधासहित दोस्रो चरणमा सहयोग गरिरहको बताउनुहुन्छ । ‘हामीले नयाँ प्रविधिमार्फत खेती गर्न चाहने किसानलाई प्राथमिकता दिएका छौँ, यसका साथै थप खेती विस्तार गर्न चाहनेलाई बेर्ना सहयोगसमेत भइरहेको छ’, उनी भन्छन्, ‘गत वर्ष ४४ हेक्टरमा केरा खेती थप गरिएको थियो । केरा खेतीमा थोपा सिँचाइलाई प्राथमिकता दिन्छौँ, त्यसका साथै बेर्ना, विषादी, भिटामिन सहयोगमा समेत अनुदान दिइन्छ ।’ यहाँका किसानलाई सिँचाइ आयोजना तथा स्थानीय सरकारले खेतीमा आकर्षित गराउन, उत्पादकत्व बढाउन सघाए पनि बजारीकरणमा सघाउन सकेको देखिँदैन । उत्पादन वृद्धिमात्र भएर भएन । बजारीकरणमा समेत आयोजना र स्थानीय सरकारले सघाउनुपर्ने, केरा बिक्री वितरणमा सघाउने व्यापारीलाई समेत सहयोगका कार्यक्रम ल्याउनुपर्ने माग उठिरहेको छ । सूचना अधिकारी राना यहाँको बजार व्यवस्थित गराउने र किसान तथा व्यापारीबीच सम्झौतामा सहयोग, व्यापारीलाई समेत साधन सहयोगजस्ता कार्यक्रम गर्न आवश्यक रहेकोे बताउनुहुन्छ । ‘हामीले अहिले उत्पादन वृद्धिलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, त्यस्ताखाले माग पनि आएका छैनन्’, उनी भन्छन्, ‘बजारीकरण राम्रो भएमा किसानलाई थप हौसला मिल्छ, उत्पादनले मूल्य पनि पाउँछ । अबका दिनमा त्यतातिर पनि सोच्न आवश्यक छ ।’ रासस

जनयुद्धका डोवः शीतलता दिँदै ‘मालगदिस’ विद्यालय

महोत्तरी । जता हे¥यो जनयुद्धका डोव (पीडाको भावमा) देखिने महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा वस्तीमा यी डोवमै मन शीतल बनाउने सम्झना पनि छ । खयरमाराका वस्तीभित्र त्यतिखेर आफन्त गुमाएको पिडा अझै भुल्न नसकेका परिवारजनका लागि सहिदहरूको सम्झनामा स्थापित विद्यालय मन बुझाउने छहारी बनेको छ । माओवादी जनयुद्धमा तत्कालीन सरकारी सेनाको निशानामा परेका सात माओवादी कमाण्डरको सम्झनामा स्थापित विद्यालय दिवङ्गतका परिवारजनका लागि शीतल छहारी बनेको हो । जहाँ गोलीगठ्ठा र वन्दुकको अभ्यास होइन, गरिव वस्तीका वालवालिका शिक्षाको उज्यालो घामसँग रमाउँदैछन् । सहिद विशालकुमार मालगदिस आधारभूत विद्यालय । सात माओवादी कमाण्डरको स्मृतिमा स्थापित विद्यालय परिसर पुग्दा छटपटिएको मनले सान्त्वना पाउने गरेको सहिद परिवार बताउँछन् । ‘विद्यालय परिसर पुग्दा चर्को गर्मीमा पनि शीतल हावाको अनुभूति हुन्छ’, आफैँ पनि जनयुद्धमा होमिनुभएका सहिद पिता खयरमारा वजारका कमल देवकोटा भन्छन्, ‘यहाँ पुग्दा छोरी र अन्य सहिद साथी नजिक छन् भन्ने लाग्दोरहेछ ।’ आफ्नै निर्णयले जनयुद्धमा होमिएको हुँदा अरु पश्चाताप नभए पनि आम जनताको जीवन भने जहाँको त्यहीँ रहँदा मन कुँडिने गरेको देवकोटाको भनाइ छ । माओवादी जनयुद्धताका जिल्लाको एक क्षेत्रका राजनीतिक कमिसार रहनुभएका देवकोटाकी छोरी सरलाको तत्कालीन शाही सेनाले हत्या गरेको थियो । चुरे दक्षिण फेदीको वस्ती खयरमारा माओवादी जनयुद्धको आधार इलाका थियो । अहिले महोत्तरीको बर्दिबास नगरपालिका–१० र ११ मा पर्ने खयरमारा पुग्दा जनयुद्ध सम्झाउने धेरै कुरा भेटिन्छन् । जनयुद्धमा परिवारजन गुमाएकाहरुको आँसु, टुहुरा छोराछोरीको वियोग र घरको मुख्य मान्छे जनयुद्धमा मारिएपछि भताभुङ्ग भएको परिवार ! यी उदाहरण बन्छन् जनयुद्ध सम्झाउन खयरमारामा । यसै ठाउँमा फरक अनुभूति ठाउँ बनेको छ, सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय । यो जनयुद्धताकाको आधार इलाकामै दुःख, पीडा, वियोगसँगै जनयुद्धका लडाकुको सौर्य र समर्पणको स्मृति यो विद्यालयले सम्झाउने गरेको खयरमारावासी बताउँछन् । खयरमाराले जनयुद्धमा वैचारिक, सैन्य र व्यवस्थापकीय कामका कमाण्डर उल्लेख्य सङ्ख्यामै दियो । जनयुद्धमा हाम फाल्ने लडाकु त कतिकति ! तीमध्ये सहादत प्राप्त गरेका सात कमाण्डरको सम्झनामा यो विद्यालय स्थापना भएको हो । ‘हाम्रो सिङ्गो बस्ती (खयरमारा) नै ‘माओवादी गाउँ’ भनेर चिनिन्थ्यो’ जनयुद्धका सहिद मोहनचन्द्र गौतम (कुमार) की जीवनसङ्गिनी बर्दिबास नगरपालिकाका निवर्तमान उपप्रमुख कृष्णमाया गौतम भन्छिने, ‘यहीँका वासिन्दामात्र होइन, जनयुद्धमा होमिएका थुप्रै लडाकुको आश्रयस्थल थियो ।’ खयरमारामा घरखेतनै भएका त्यतिखेरका केन्द्रीय नेता सिपी गजुरेल र शेरमान कुँवर (विशाल) सहितका नेताको सामिप्यता खयरमाराले पाएको गौतम सम्झिन्छिन् । यतिखेर खयरमारासँग जनयुद्ध सम्झाउने पारिवारिक विछोडको पीडा खेप्दै आएका परिवारजनमात्र नभएर त्यस युद्धमा सहादत प्राप्त गरेका अमर सहिदको सम्झनास्वरुप स्थापित यो विद्यालय छ । सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय ! अर्थात् माओवादी जनयुद्धमा सहादत प्राप्त गरेका खयरमाराका सात सहिदको सम्झना सधैँ ज्युँदो राख्ने शिक्षाको पवित्र मन्दिर । यी सातमा ‘विशाल’ भनिने शेरमान कुँवर, ‘कुमार’ भनिने मोहनचन्द्र गौतम र पाँच अक्षरको ‘मालगदिस’ मा अन्य पाँच मानबहादुर स्याङ्तान्, लक्ष्मण देवकोटा, गङ्गामायाँ स्याङ्तान् ,दीपा कार्की र सरला देवकोटाको सम्झना रहेछ । विशाल स्थायी रुपले सिन्धुलीका वासिन्दा रहेपनि खयरमारालाई बाक्लै कर्मथलो बनाएका तत्कालीन माओवादी नेताका रुपमा खयरमारावासीले सम्झछन् । अन्य छ (६) भने खयरमाराकै वासिन्दा रहेका सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद देवकोटा बताउछन् । ‘उहाँ सातैजना हाम्रो ठाउँको दुःखसुखमा साथ रहनुहुने नेता हुनुहुन्थ्यो, अहिले जनयुद्धकालीन घाँउ विर्साउने उहाँहरुकै नाउँमा स्थापित यो विद्यालय छ’ देवकोटा भन्छन्, ‘विद्यालय परिसर प्रवेश गर्नासाथ ‘बोर्ड’मा रहेको नाउँले उहाँहरुलाई सम्झाउँछ, बाँकी अरु त सवै व्यथाकै कथा छन् ।’ सहिदका नाउँमा २०६७ सालमा स्थापित यो विद्यालयमा अहिले ११३ छात्रा र १०५ छात्र गरी २१८ जना अध्ययनरत छन् । गरिव वस्तीका छात्रछात्राको यो विद्यालयमा ६७ जना जनजाति समुदायका र ३६ जना दलित समुदायका छोराछोरी अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक दीर्घराज गौतम बताउँछन् । विद्यालयमा स्थायी दुई र स्थानीय स्रोतबाट एकजना गरी तीन शिक्षकले कक्षा–६ सम्मको पठनपाठन चलाउदै आएको प्रधानाध्यापक गौतमले बताउँछन् । विद्यार्थी सङ्ख्या र कक्षाअनुसार कमसेकम छ शिक्षक हुनपर्ने आफुरुले बर्दिबास नगर कार्यपालिकाको शिक्षा तथा खेलकुद शाखासँग मागगर्दै आएको उनको भनाइ छ । आवश्यकता अनुसार शिक्षक दरवन्दी नपाउदा कक्षा सञ्चालनमा निकै अप्ठ्यारो झेल्नु परेको गौतमले बताए । खयरमारा खोलाको किनार नजिकको करिव दुई कठ्ठा जग्गामा निर्मित चार कोठे भवन अपूग भएपछि अहिले अर्को भवन निर्माणकै चरणमा छ । सहिदहरुको नाउँमा स्थापित यस विद्यालयलाई भौतिक रुपमा सम्पन्न बनाइ गुणस्तरीय शिक्षाका लागि सम्झनयोग्य ठाउँ बनाउनसके उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुने खयरमारावासी बताउँछन् । रासस

दार्चुला बाढी : उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए । नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पु¥याएको छ । अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने सात जना बेपत्ता तथा आठ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उनले बताए । गृहमन्त्री खाणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् । उनले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बाढीबाट लास्कु क्षेत्रका चार, बाङाबगड क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ । दुहुँ र महाकाली जोड्ने लास्कुखोलाको झोलुङ्गे पुल र मोटरेबल पुल बगाएको छ । बाढीले पार्किङमा राखेका पाँच जीप, एउटा ट्रयाक्टर र एउटा समेत बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीर स्थानीयवासी खोज तथा उद्धारमा खटिएका छन् । रासस

मुक्तिनाथ विकास बैंकको घर दैलो कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकको देशभरको शाखा कार्यलयहरुले ग्राहकमा वित्तीय साक्षरता बढाउन घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शनिबारका दिन देशभर वित्तिय साक्षरता बढाउनुको साथै आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन घर दैलो कार्यक्रम सम्पन्न गरेको हो । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा मात्र नभई बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य रहेको बैंकले जनाएको छ । यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको समेत सहभागीता रहेको थियो । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी, प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग  आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।