विकासन्युज

सिन्धुलीको कुप्रीडाँडामा पुग्यो बिजुली

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका–१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन् । चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं १३ को विद्युत् विस्तार थालिएको हो । भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत् विस्तार गर्न नसकिएको खड्काले बताए । नेपाल विद्युत् प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो विद्युत् विस्तार थालेको छ । बाँकी रहेका अरुनडाँडा, पोखरी, च्यामालगायत क्षेत्रमा पनि विद्युत् विस्तारको पहल भइरहेको उनले बताए । रासस

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

चितवन । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छिन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । ‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,’ मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।’ ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् । फरक प्रसङ्गमा उहनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताइन् । शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख उनले भनिन्, ‘गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुङ्गिन्छ ।’ रासस

उखु किसानले अझै पाएनन् अनुदान रकम

सुनसरी । सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् । जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिदवापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो । आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताए । उनका अनुसार जिल्लाका केही उद्योगले किसानको रकम समयमै भुक्तानी गरे पनि केही उद्योगले रकम भुक्तानी नगर्दा आफूहरूले पटक–पटक आन्दोलन गर्नुपरेको बताए । उद्योगहरूले दिने रकम किसानको आन्दोलन, सरोकारवाला निकायको पहलबाट रकम उठ्ने क्रम जारी रहेको भए पनि सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताए । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घर–व्यवहार चलाउन गाह्रो भएको जिल्लाका किसानको गुनासो छ । नेपाल सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउँछन् । गत आर्थिक वर्षका लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल पाँच सय २० र नेपाल सरकारले ७० अनुदान रकम दिने सहमति भएको तर रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताए । यता चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्याङ्क उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताए । उनले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्याङ्क पठाउन ताकेता गरिएको र उद्योगले तथ्याङ्क पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताए । जिल्लामा तीनवटा उखु मिल रहेका छन् । जसमा इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी नै रहेको छ । रासस

सुनसरीका जुट खेतीका किसान निराश, मल नपाएकोमा चिन्तित

काठमाडाैं ।  अघिल्ला वर्षहरुमा जुट (सनपाट) खेतीबाट मनग्गै आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरु यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् । मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरु उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन । उत्पादन भएको जुटको मूल्यमा पनि गरावट आएपछि आफूहरुको रुचि समेत सो खेतीमा घटदै गएको किसानहरुको भनाई छ । भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढन गएको तर आम्दानी कम हुने गरेको उनीहरुको पीडा छ । सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन, ‘सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउँनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौं ।’ खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ । रामकृपाल भन्छन, ‘पेशा छोड्न अन्य विकल्प छैन । भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो छ । जसको प्रभाव उत्पादनमा कमी स्वभाविक हो । तर पनि बाध्य छौं । जसले खर्च धान्नै धौधौ छ ।’ विगतका वर्षको दाँजोमा जुट खेतीमा आर्कषण कम हुँदै गएतापनि केहि किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन । लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिएपनि किसानहरुमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने ज्यूँकात्यू छ ।

अझै केही दिन वर्षा हुने

काठमाडाैं । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ’, उनले भने । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । गए राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा सुदूरपश्चिम प्रदेशलगायत थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव चार डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस छ । रासस

धादिङ अस्पतालमा आकस्मिक सेवा विस्तार

मलेखु । दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो । आकस्मिक कक्ष सञ्चालन हुँदै आएका साना–साना कोठालाई पुनःनिर्माण गरेर एउटै कोठाबाट १२ शय्याको सुविधासम्पन्न आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । डा दिनेश रेग्मीलाई आकस्मिक शाखाको जिम्मेवारी तोकी दुई चिकित्सकर, मेडिकल अधिकृत र स्टाफ नर्सहरूले २४सै घण्टा सेवा उपलब्ध गराउने पनि अध्यक्ष धमलाले बताए । हाल अस्पतालमा बिरामीको चाप पनि अत्यधिक छ । ५० शय्या क्षमताको धादिङ अस्पतालमा अहिले ७५ बिरामी उपचाररत छन् । आकस्मिक कक्षमा दैनिक ४० जनाको हाराहारीमा बिरामी आइपुग्ने गरेका छन् । दुर्घटनाका बिरामी, भाइरल ज्वरोलगायतका बिरामी धेरैजसो आकस्मिक कक्षमा आउने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । रासस

बाटोको कारण ४० वर्ष बित्दा पनि फेरिएन धनकुटाको बुधबारे बजार

धनकुटा । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन । त्यही सहरको ४४ किमि पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले छोएको ४६ वर्षमा पूर्वको प्रमुख पर्यटकीय गन्तव्य र महँगो पर्यटकीय नगरी पनि बन्यो । तर, तीन वर्षपछि सडक सञ्जालले छोएको धनकुटा, पाँचथर र मोरङको सङ्गममा रहेको बुधबारे बजारको अवस्था चार दशक बितिसक्दा पनि उस्तै छ । जिल्लाको सदरमुकामबाट ८० किमि दक्षिण–पूर्व र भेडेटारबाट ४४ किमि पूर्वमा रहेको यो बजार साविक ६ नं बुधबार गाविस हाल चौबिसे गाविसको वडा नं १ मा पर्दछ । हाल एक सय ५० घरधुरी रहेको उक्त बजार आधा धनकुटा र आधा पाँचथरमा रहेको छ । यो बजार इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानबाट सुनसरी, मोरङ र झापा जिल्ला जाने सङ्गमस्थल पनि हो । यो बजार पूर्व–पश्चिम महेन्द्र राजमार्गको कानेपोखरी(मोरङ)बाट ३५ किमिको दूरीमा पर्छ भने भेडेटार सोही राजमार्गको इटहरी (सुनसरी)बाट ३३ किलोमिटरको दूरीमा रहेको छ । विसं २०३३ मा तत्कालीन राजा महेन्द्रले धरान धनकुटा ५२ किमि कोसी राजमार्गको शिलन्यास गरेपछि भेडेटारलाई सडक सञ्जालले छोएको थियो । उता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले आफू प्रधानमन्त्री भएको समयमा २०३६ सालमा लेटाङ–६ नं बुधबारे सडकको शिलन्यास गरी कच्ची सडक विस्तार गरेका थिए । विसं २०३८ मा कालोपत्रे भएको भेडेटार २०५२ सालको माओवादी सशस्त्र द्वन्दका कारण केही समय सुनसान भए पनि २०६४ साल पछि पर्यटकको भीड बढेर समृद्ध बन्यो । अहिले भेडेटार र आसपासका क्षेत्रमा चीसो वातावरण र प्राकृतिक दृश्यपान गर्न पूर्वी तराई र विहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल क्षेत्रका भारतीय पर्यटक र सवारीको घुइँचो लाग्ने गर्दछ तर उति नै दूरीमा रहेको उस्तै वातावरण र पर्यटकीय गन्तव्य भएको बुधबारे बजार भने दीगो सडक सञ्जाल नहुँदा लामो समयदेखि आज पनि ग्रामीण बजारकै रुपमा रहेको छ । विसं २०३६ मा लेटाङ–बुधबारे सडक शिलन्यास पछि सडक निर्माणमा काम गर्नुभएका सोही बजारका ५२ वर्षीय आनन्दकुमार श्रेष्ठले अहिले पनि बाटो पहिलेकै अवस्थामा भएकाले बजारको विकास हुन नसकेको बताए । ‘बर्खाले बाटो बगाएर अहिले पनि मान्छे हिँड्ने बाटो खनेर हिँड्नुपर्छ’, श्रेष्ठले भने, ‘कालोपत्रे नभएसम्म बाटोको अवस्था उस्तै हो ।’ यस सडकको सुधार र स्तरोन्नतिका लागि नेपाल सरकार तथा विभिन्न दातृ निकायले सकम खर्च गरे पनि सडकको अवस्था झन बिग्रिएको वडा अध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिए । पटक–पटक स्तरोन्नति गरे पनि सडक चुरे क्षेत्रमा रहेकाले हरेक वर्ष बर्खाको बाढीले बागाएर बाटो नै हराउने गरेकाले बजार प्रभावित हुँदै आएको उनले जानकारी दिए । ‘कालोपत्रे नगरुञ्जेल बाटोमा गाडी चल्न सक्ने अवस्था नै छैन । पहुँच नभएका हामीजस्ताको मार्का कस्ले बुझ्ने ?’ श्रेष्ठले दुःखेसो गरे । बजार उत्थानका लागि बाटोलाई कालोपत्रे गर्न केन्द्रमा हरेक वर्ष दुई–तीन पटक धाए पनि सबैले हुन्छ भनेर कसैले सहयोग नगरेको श्रेष्ठले गुनासो गरे । जति स्तरोन्नति ग¥यो त्यति बिग्रने उक्त सडक पहिला केही राम्रो हुँदा यहाँ लाग्ने साप्ताहिक बजारमा मोरङका व्यापारीले भरिभराउ हुने गरे पनि अहिले एक जना पनि आउने नगरेको सोही बजारका राजकुमार श्रेष्ठले जानकारी दिए । अहिले उक्त स्थान भएर जाने निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्ग अवरुद्ध भइरहने भएकाले हरेक दिन जमघट हुने बुधबारे बजार थप सुनसान भएको उनले दुखेसो गरे । धेरै भू–भाग मोरङ जिल्लामा पर्ने भएकाले आफूहरुले कालोपत्रेका लागि मोरङका सांसदसँग पहल गरिरहेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए । ‘कालोपत्रेका लागि बजेट परेर शिलन्यास हुन लागेको जानकारी आएको छ’, लिम्बूले भने । दिगो सडक नहुँदा हाल यस बजार हुँदै धनकुटा, पाँचथर र इलामबाट मोरङ, सुनसरी र झापासम्म ठूला सवारी नचल्ने तर महँगो भाडा लिएर साना जिप मात्र जोखिम मोलेर जाने गरेका छन् । बजारबाट ३० किमि लेटाङ जान प्रतिव्यक्ति सात सय ५० भाडा लिने गरिएको छ । बाटोमा पहिरो झरिरहने जोखिमका साथै अत्यधिक सामान टुटफुट हुने गरेकाले भाडा महँगो लिनुपरेको १९ वर्षदेखि जिप चलाउँदै आएका मे१ज ७१९ का ४० वर्षीय चालक विनोद श्रेष्ठले जानकारी दिए । निकट भविष्यमा महेन्द्र राजर्मागको मापदण्डमा कालोपत्रे हुन लागेको भेडेटार–रवी–राँके सडक निर्माण पूरा भई लेटाङबाट बजार–बुधबारेसम्म कालोपत्रे भएमा यस क्षेत्रको दु्रत गतिमा विकास हुने देखिन्छ । बजारको शिरमा दार्जिलिङको टाइगरहिलभन्दा मौसम सफा रहने दुई हजार ५०० मिटर अग्लो मिक्लाजुङ डाँडा र आधा दर्जन जति प्रवद्र्धनका पर्खाइमा रहेको ताल, सिमसार र झरना रहेका छन् । सडक पहुँच नहुँदा महेन्द्र राजमार्गबाट ३५ किमि उत्तरमा रहेको यस क्षेत्रलाई छाडेर यहाँबाट पश्चिममा रहेको भेडेटारमा करिब ७० किमिभन्दा बढीको दूरी पार गरेर पश्चिमी क्षेत्रका भारतीय पर्यटक जाने गरेका छन् । रासस

एमएडब्लुले नेपालमा बिक्री गर्यो १० हजार जेसीबी मेसिन

काठमाडौ । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सले नेपालमा १० हजार जेसीबी मेसिन बिक्री गरेको छ । शुक्रबार जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठी र एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १० हजार औं मेसिनको चाबी हस्तान्तरण गरे । १० हजार औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए । उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पुर्ति गर्न जेसीबी इन्डिया सदैब तयार रहेको पनि बताए । एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दावी छ ।