भारतले चामल र धानमा लगाएको करले नेपाली उद्योग मारमा
विरगंज । भारत सरकारले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएकोमा बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन् । नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका डा सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको बताए । अर्का चामल उद्योगी सुरेश रुगङ्टाले चामल र धानमा लगाइएको भन्सार शुल्कले उद्योगीभन्दा प्रत्यक्षरुपमा उपभोक्ता बढी मारमा पर्न सक्ने बताए । अध्यक्ष गुप्ताले चामल मिल बन्द हुने अवस्थामा पुग्न सक्नेतर्फ अवगत गराउँदै छिटोभन्दा छिटो यसको समाधानका लागि नेपाल सरकारले पहल गर्न आवश्यक रहेको बताए । नेपालले भारतबाट वार्षिक सात/आठ अर्ब बढीको चामल आयात गर्दै आएको छ । गत वर्ष मात्रै भारतबाट नेपालमा साढे पाँच लाख मेट्रिकटन धान, पाँच लाख २० हजार मेट्रिकटन चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरिएको तथ्याङ्क छ । देशभरि करिब दुई हजार पाँच सय चामल उद्योग छन् जसमध्ये आधा जति बन्द अवस्थामा छन् । रहेका उद्योगले विभिन्न कारणले शतप्रतिशत क्षमतामा चल्न सकेका छैनन् । नेपालकामा उद्योगले ४० प्रतिशत चामल उत्पादन गर्दै आएका छन् । बाँकी चामलका लागि भारतमाथि निर्भर हुनुपर्ने अवस्था रहेको उद्योगीको भनाइ छ ।
नेपालमा जेसीबीका १० हजार मेशिन बिक्री
काठमाडौं । एमएडब्लू जेसीबीले नेपालमा १० हजार मेशिन बिक्री वितरण गरेको बताएको छ । नेपालको कन्स्ट्रक्सन तथा हेभी इक्यूपमेन्ट क्षेत्रमा जेसीबी मेशिन बिक्री गरेर नयाँ प्रतिविम्ब स्थापना गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले एमएडब्लू जेसीबीले १० हजार मेशिनका रुपमा बिक्री गरेको हो । एमएडब्लुले आफ्नो बिश्वस्तरीय निर्माण उपकरण र बिक्री पश्चात् सेवा सुविधाका कारण नेपालको नम्बर एक कन्स्ट्रक्सन तथा हेभी इक्यूपमेन्ट कम्पनीको रुपमा स्थापित भएको कम्पनीको दाबी छ । जेसीबी इन्डियाका सीईओ तथा एमडी दिपक सेठीले मएडब्लूका एमडी विष्णु कुमार अग्रवाल र सीइओ गोपाल कुमार अग्रवाललाई १० हजार मेशिन बिक्री भएको चाबि हस्तान्तरण गरे ।
जनता सहभागिता नभएको विकास सफल हुन्न: मन्त्री भुसाल
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छिन् । ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उनले भने, ‘जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।’ आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन् । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कला, संस्कृतिको संरक्षण गर्ने र बुङ्मतीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आफ्नो ध्येय रहेको उल्लेख गर्दै उनले भनिन्, ‘बुङ्मतीका हरेक घरमा एक कोठा घरबास होमस्टेका लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ ।’ बुङ्मतीका कला, संस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘यहाँको जनताको आर्थिक अवस्था माथि उठाउनका लागि सिङ्गो बुङ्मतीलाई एकताबद्ध गरौँ, सहिष्णुण बनाऔँ ।’ कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री जीवनराम खड्काले महर्जन समाजले आगामी दिनमा यहाँको समाज रुपमान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी समाजका पदाधिकारीले समाजको विकास र रुपमान्तरणमा सहयोग गर्न राजनीतिक दल एवं समाजका अगुवालाई आग्रह गरेका थिए । रासस
खप्तड लघुवित्तको आईपीओको ओपनिङ्ग रेञ्ज अधिकतम ३०३.२१ रुपैयाँ !
काठमाडौं । खप्तड लघुवित्तको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भइसकेको छ । लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतका लागि प्रक्रियामा छ । लघुवित्तको सेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेपनि पहिलो काराबो कति पाउला भन्ने चासो लगानीकर्तामा देखिन्छ । वित्तीय विवरण अनुसार लघुवित्तको सेयरले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०१ रुपैयाँ ७ पैसादेखि अधिकतम ३०३ रुपैयाँ २१ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । लघुवित्तको आर्थिक वर्ष २०७७÷०७८ को वास्तविक प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७ पैसा रहेको छ । सोही तथ्याङ्कका आधारमा लघुवित्तको सेयरले पहिलो कारोबारका लागि १०१ रुपैयाँ ७ पैसादेखि ३०३ रुपैयाँ २१ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो । लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ३२ लाख रुपैयाँका १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । लघुवित्तको आईपीओ १२ हजार ३४० जना लगानीकर्ताले १० कित्ता सेयर पाएका छन ।
भिभोको दशैं तिहार योजना सार्वजनिक, भी २५ सिरिजको बिक्री शुरु
काठमाडौं । भिभोले शुक्रबार भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी २५ सिरिज नेपालमा सार्वजनिक गरेको छ । भिभोले प्रि–बुकिङका लागि उपलब्ध गराएको ४ दिनमा ६ सय भन्दा बढी भी २५ सिरिजको प्रि–बुकिङ भएको जनाएको छ । भी २५ र भी २५ ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोमा हामी युवा प्रयोगकताहरुका लागी नवीनतम, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन समायोजन गरेर उनीहरुको व्यक्तित्व झल्काउने स्मार्टफोन प्रदान गर्दछौं । भिभोको वर्षौंको अनुसन्धान र नवीनताको संयोजक भी२५ सिरिजमा यी सबै विशेषताहरु छन् जसले प्रयोगकर्ताहरुको व्यक्तित्व अझ झल्काउनेछ । साथैं हामीले ग्राहकहरुका लागि दशैं तिहार योजना ल्याएका छौं जसमा ग्राहकहरुले हरेक भिभो मोबाइलको खरिदमा आकर्षक उपहार जित्न सक्नेछन् ।’ भिभोले भदौं २३ गते देखि ‘दशैं तिहार भिभोको साथमा उपहार हातमा’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा, २ जनाले भी २५ फाइभजी जित्न सक्नेछन, त्यस्तै हरेक हप्ता १ जनाले वाई १५ सी जित्न सक्नेछन् र हरेक दिन एक जनाले भिभोको टीडब्लूएस २ ई नेकब्यान्ड, हरेक दिन ३ जनाले एनकरको यू २ आई नेकब्यान्ड र ४ जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा सियोर सटमा ६ महिनाको वारेन्टी पाउँन सक्नेछन् । यो योजना कात्तिक १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । त्यस्तै, हालै सार्वजनिक भएको भी २५ श्रृंखलामा उत्कृष्ट क्यामेरा क्षमता छ । भी २५ फाइभजी र भी २५ ई दुवैमा ६४ एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ । रियर क्यामेरामा हाइब्रिड इमेज स्टेबिलाइजेशन छ जसले क्लियर भिडियो रेकर्ड गर्न अनुमति दिन्छ । साथै भी २५ सिरिजमा बोकेह फ्ल्येर पोट्र्रेट लगायत अन्य क्यामेरा विशेषताहरु छन् । भी २५ फाइभजीमा ५० एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ । साथै, भी २५ ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । भी २५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्रा भिजन स्क्रिन लगायतका विशेषताहरु छन् । भी २५ फाइभजी –अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा ५२,९९९ उपलब्ध छ र भिभो भी २५ ई –सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा ४२,९९९ मा उपलब्ध छ ।
सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार
देउखुरी । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए । “शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ”, उनले भने । म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र खोजी भइरहेको प्रनाउ गौतमले बताए । विश्वकर्मालाई यही यही भदौ २२ मा प्रहरीले पक्राउ गरेको थियो । रासस
तीन सहकारीबीच मर्जर सम्झौता, बचत ८ अर्ब बढी पुग्ने, सेयर पुँजी ३१ करोड
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबु स्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो । एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हुने प्रारम्भिक सहमति भएको छ । एकीकरणपछि संस्थाको अध्यक्ष जिबी राई र प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहने पनि सहमति भएको छ । एकीकृत संस्थाको सञ्चालक समिति सात सदस्यीय र लेखा सुपरिवेक्षण समिति तीन सदस्यीय हुनेछ । तीन वटै सहकारीले साधारण सभा छिट्टै सक्ने र त्यसपछि एकीकृत सभा गरी एकीकरणलाई अन्तिम रुप दिने सहमति जुटाएका छन् । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), जिल्ला सहकारी संघ लगायतका प्रतिनिधिहरु, तीन वटै सहकारी संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरुको उपस्थितमा आज बिहान एकीकरण सम्झौता भएको हो । एकीकरणपछि संस्थाको सेयर सदस्य संख्या ११ हजार ४ सय ५९ पुग्नेछ भने सेयर पुँजी ३१ करोड ७ लाख ७२ हजार २ सय ४० रुपैयाँ कायम हुनेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार ४ सय ६५ रुपैयाँ, अन्य कोषहरुमा ३ करोड ८२ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार ३ सय ७४ रुपैयाँ हुने जानकारी आज आयोजित कार्यक्रममा गराइएको थियो । त्यस्तै कुल बचत रकम ८ अर्ब ३३ करोड ७५ लाख ९६ हजार ४ सय ५ रुपैयाँ र ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख ८२ हजार ४१ रुपैयाँ रहने प्रस्तावित संस्थाका अध्यक्ष राईले जानकारी दिए । ठुला सहकारीहरु बीचको एकीकरणले राम्रो सन्देश प्रवाह हुने बताउँदै अध्यक्ष राईले एकीकरणले छिट्टै अन्तिम रुपमा प्राप्त गर्ने बताए । संस्था ठुलो हुनु मात्र उपलब्धि नभई सही ढंगले सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै अध्यक्ष राईले सदस्य, कर्मचारी र सम्पूर्ण सञ्चालकहरुको साथले संस्थाले थप गति लिने दाबी गरे । लालीगुँरास बचत तथा ऋण सहकारी संस्था अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा भएको एकीकरण सम्झौता कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल रहेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि मल्लले सहकारी एकीकरण अहिलेको आवश्यकता रहेको बताउँदै छिट्टै एकीकरणलाई अन्तिम रुप दिन आग्रह गर्नुभयो । सहकारी एकीकरणको आवाज विगतदेखि नै उठाउँदै आएको बताउँदै उनले तीन ठूला सहकारीबीचको एकीकरण सम्झौताले आफु खुशी भएको बताइन् । कार्यक्रमका सभापति तथा लालीगुँरास बचत तथा ऋण सहकारी संस्था अध्यक्ष धनबहादुर तामाङले वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, संस्थागत सुशासन, अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्न यो एकीकरणले थप सहयोग पुग्ने बताए । एकीकरणपछि संस्थागत सुशासन बलियो हुने, सञ्चालन खर्च तथा अन्य खर्च कम हुने, सदस्यहरुको विश्वास बढ्ने, सदस्यलाई गुणस्तरीय तथा प्रभावकारी सेवा र चुस्त व्यवस्थापनमा मद्दत पुग्ने अपेक्षा आफूहरुले लिएको बताए । एकीकरण सम्झौता कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष खेम सुवेदी, उपाध्यक्ष सिता ढकाललगायत सहकारी अभियन्ताहरुको उपस्थिति थियो ।
उर्जामन्त्री भुसाल र कुलमानको विरोधमा उत्रिए अर्थमन्त्री, भन्छन् : बिजुली निर्यात गरेर देश बन्दैन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बिजुली निर्यात गरर देश नबन्ने तर्क दिएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा मन्त्री शर्माले उर्जामन्त्री पम्फा भुसाल र विद्युत प्राधिकरणका कार्यकारी निदेशक कुलमान घिसिङको विद्युत धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानको विरोध गर्दै त्यस्तो अभिव्यक्ति दिएका हुन् । उनले विद्युत बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै विद्युत बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताए । मन्त्री शर्माले अब विद्युत बेच्ने युग गएको जिकिर गरे । उनले विद्युतबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्वमा ५ जीमा विकास भएको भएपनि नेपालले २ जीका कुरा गरिरहेको बताए । ‘अहिले विद्युत बेच्नुपर्छ भन्ने छलफल भएको छ, विद्युत बेच्ने हो की प्रयोग गर्ने हो, हामीलाई विद्युत बेच्न पाए गर्व मान्छौं, अब विद्युत बेच्ने जमाना गयो, विद्युतबाट हाइट्रोजन,एमोनिया बनाउने प्रविधि आइसक्यो, विश्वमा ६ जीको कुरा आइसक्यो हामी २ जीका कुरा गरिरहेका,हाम्रो सोचाई साँघुरो छ, एचआइडिसियल र निफ्रालाई मर्ज गर्न प्रश्ताव राख्दा समेत त्यसमा रुचि देखिन, किन भन्दा संस्थामा अर्को मान्छे सिइओ हुन पाइनँ भन्ने स्वार्थ रहेका छन्, निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भुमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नुपर्छ,’ उनले भने ।