रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए
एजेन्सी । रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् । तिनै समूहका लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् भने अरु केही घाइते भएका छन् । सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो । बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा आक्रमण गरेका थिए । त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरु पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरु मारिएका थिए ।
बागलुङका किसान सुन्तलापछि अलैँचीखेतीमा रमाउँदै, वार्षिक पाँच लाख फाइदा
बागलुङ । लामो जागिरे जीवनबाट अवकाश भएपछि कृषिमा व्यस्त भएका बागलुङ नगरपालिका–८ सिगानाका रमेश थापाले सुन्तला खेतीपछि अलैँचीखेती थालेका छन् । अवकाश जीवनमा कतिले घरमै बसेर आराम गर्ने, समाजसेवा गर्ने त कति राजनीतिमा लाग्ने गरेकामा ऊर्जावान समय नेपाल आमाको सेवामा खर्चेका थापाको जोश र जाँगरमा कमी आएको छैन । बीस वर्ष नेपाली सेनामा कार्यरत सुवेदार थापाले कृषि क्षेत्रमा आफ्नो रुचि रहेको भन्दै सुन्तला र अलैँचीखेतीतर्फ आकर्षित भएका हुन् । सुन्तला गाउँको रूपमा चिनिएको सिगानामा चिस्यान भएको स्थानमा राम्रो अलैँची खेती हुने देखेर अलैँची खेती पनि गरेका उनले अहिले अलैँची खेती राम्रो भएपछि दङ्ग परेका छन् । आठ रोपनी जग्गामा व्यावसायिक सुन्तला खेती गरेका थापाले पछिल्लो समय अलैँचीमा समेत राम्रो कमाइ हुने भएकाले यसतर्फ आकर्षित भएको बताए । खेतीयोग्य जग्गा मासेर उनले सुन्तला र अलैँची खेती विस्तार गरेका छन् । ‘सिगाना सुन्तला खेतीका लागि जिल्लामै चर्चित बनिसकेको छ, यहाँका एक दर्जन किसान व्यावसायिक अलैँचीखेतीतर्फ आकर्षित भएका छन्, दुई सय किसानले सुन्तला खेती गर्दै आएका छन्’, थापाले भने, ‘सुक्खा जग्गामा सुन्तला र चिस्यानमा अलैँची राम्रो हुँदोरहेछ, पछिल्लो समय चिस्यान र भिरालो जग्गामा अलैँची लगाउने किसान सिगानामा मात्र नभएर जिल्लाभर बढेका छन्, सुवेदारबाट अवकाशपछि सहर बस्ने रहर नभएको होइन तर गाउँको जग्गा सदुपयोगसँगै राम्रो आम्दानी गर्न सकिने भएकाले सुन्तलासँगै अलैँची खेतीमा लागिएको हो, पहिलो वर्ष नै दुई सय केजी अलैँची उत्पादन हुँदा दङ्ग परे ।’ सुन्तला र अलैँची खेती थोरै मेहेनतमा धेरै कमाइका लागि उपयुक्त बाली भएको थापाको अनुभव छ । पाँच वर्षअघिदेखि सुन्तलाखेती र तीन वर्षअघिदेखि अलैँची खेती थलेका थापाले आठ रोपनी जग्गामा लागइएको दुई सय बोट सुन्तला र पाँच रोपनी जग्गामा लगाइएको अलैँचीले पूर्ण उत्पादन दिन थाल्यो भने वार्षिक पाँच लाख कमाइ हुने अनुमान गरे । श्री गणेश व्यावसायिक कृषि सहकारीका सचिवसमेत रहेका उनले आफूले कृषि सहकारीमा लागेपछि व्यवसायिक योजना अगाढी बढाउन सहयोग भएको बताए । ‘कृषक नै भएपछि कृषि सहकारीमा बस्नुको अर्थ रहन्छ, आफूले सिकेका कुरा अरूलाई भन्न सजिलो हुन्छ’, थापाले भने, ‘सिगानामा सुन्तलापछिको राम्रो आम्दानी दिने खेती भनेको अलैँची नै हो, चिस्यान भिरालो जग्गा अहिले बाँझो छ त्यही बाँझोमा महङ्गो अलैँची उब्जाउ हुन्छ भनेर अन्य किसानलाई समेत देखाउन आफूले सुरुमा खेती गरेको हुँ ।’ बीस २० वर्ष नेपाली सेनामा रहेर अवकास प्राप्त गरेका उनले अबको पाँच वर्षपछि सुन्तला र अलैँची खेतीबाट वार्षिक पाँच लाख रुपैयाँ कमाइ हुने बताए । थापामात्रै होइन सोही स्थानका लाल थापाले समेत हालै पाँच रोपनी जग्गामा अलैँची खेती गर्न थालेको जानकारी दिए । थापाद्वयमात्रै नभएर कोरिखोलामा समेत छ जनाले अलैँचीको व्यावसायिक खेती थालेका छन् । सुरुमा रमेशले इलामबाट बिरुवा लिएर अलैँची खेती थालेका थिए । सिगानाका किसानले सुन्तला बिक्रीबाटै वार्षिक दुई करोड रुपैयाँ बढी रकम भित्र्याउँदै आएको तथ्याङ्कमा उल्लेख छ । सिगाना सुन्तला जोनमा समेत समावेश भइसकेको छ । सिगानाको तल्लो चिसो भागमा अलैँची, बीचको सुक्खा क्षेत्रमा सुन्तला र माथिल्लो भागमा चिया र किबीखेती भइरहेको सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले बताए । उनका अनुसार अहिले परीक्षणमा किबी र चियाखेती भइरहे पनि सिगानामा सुन्तलापछि अलैँचीखेती सफल भइसकेको छ । अहिले अलैँचीको मूल्य प्रतिकेजी छ सय रुपैयाँ छ । अहिले अलैँचीको राम्रो उत्पादन हुने ताराखोला, जैमिनी, दुदिलाभाटीलगायत स्थानमा किसानलाई अलँैची टिप्नको चटारो छ । सिगानामा बेमौसममा सुन्तला बिक्री गरेर दोब्बर आम्दानी गर्नका लागि २० टन क्षमताको विद्युतीय शीत भण्डार गृहसमेत निर्माण गरिएको श्री गणेश कृषि व्यावसायिक सहकारीका अध्यक्ष रामबहादुर थापाले बताए । उनले शीतभण्डारमा सुन्तलाबाहेक अदुवालगायत नगदे बालीसमेत भण्डार गर्न सकिने जानकारी दिए । सिगानाको माटोमा विस्तारै अम्लियपन बढ्दै गएकाले क्रमशः माटोको उपचारसँगै सुन्तला, कागती, अलैँची तथा किबीखेती गर्न सकिने बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले उल्लेख गरे । रासस
‘तरलताको अभाव भनेर गलत सूचना प्रवाह नगरौं, लगानीयोग्य पुँजीको अभाव हो’
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालमा तरलताको अभाव नभइ लगानीयोग्य पुँजीको अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोलदै उनले नेपालमा तरलता अभाव नभई लगानीयोग्य पुँजीको अभाव भएको बताएका छन् । उनले कार्यक्रममा सबैलाई तरलताको अभाव भन्दै गलत सूचना प्रवाह नगर्न आग्रह पनि गरे । अहिले नेपालमा तरलताभन्दा पनि लगानीयोग्य पुँजीको अभाव हो, हामी ठूलो फोरममा छौं, तरलता अभावभन्दा अन्तर्राष्ट्रिय रुपमा पनि गलत सूचना प्रवाह हुन्छ,’ उनले भने । यस्तै, उनले हेजिङको व्यवस्थाप्रति राष्ट्र बैंक सकारात्मक भएको बताउँदै उनले सरकारले केही निश्चित सीमा व्यहोर्ने किसिमले हेजिङको व्यवस्था गर्नु पर्ने धारणा राखे । उनका अनुसार लगानीकर्तालाई बस्ने, बस्ने र निस्कने वातावरण पनि सहज गराउनु पर्छ । लगानीकर्तालाई अनेक दुख दिने काम गर्यो भने देशमा लगानीको वातावरण बनन्ने बताउँदै त्यसका लागि सरकारले सहज वातावरणको सिर्जना गर्नु पर्ने उनको राय छ ।+
भोजपुरको शैक्षिक सुधारका लागि ६४ बुँदे अवधारणा पत्र
भोजपुर । यहाँको शैक्षिक सुधारका लागि ६४ बुँदे शिक्षासम्बन्धी अवधारणा पत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरलाई सुधारका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अवधारणा पत्र सार्वजनिक गरेको हो । अवधारणा पत्रमा शिक्षा क्षेत्रका समस्या र त्यसको सुधारका लागि गर्नुपर्ने कामलाई समेटिएको छ । सङ्गठनले तयार गरेको यो अवधारणा पत्र कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई बुझाउने योजना रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए । शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकलाई मात्र दोषी देखाएर राज्य पन्छिन खोजेकाले राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले अवधारणा पत्र सार्वजनिक गरेको उनको भनाइ छ । ‘शिक्षा क्षेत्रमा रहेका समस्यालाई उजागर गर्न अवधारणा पत्र सार्वजनिक गरेका छौँ’, अध्यक्ष रेग्मीले भने, ‘शिक्षक सङ्गठनका तर्फबाट सार्वजनिक गरिएको देशमा नै यो अवधारणा पत्र पहिलो हो, यसमा हामीले शिक्षा क्षेत्रका समस्या, शिक्षक तथा राज्यले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा उठान गरेका छौँ, यसको कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई समेत बुझाउने योजना छ ।’ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भोजपुरको चखेवामा आयोजना गरिएको कार्यक्रममार्फत अवधारणा पत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तयार गरिएको अवधारणा पत्र राम्रो रहेकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । राज्यको तहबाट यसलाई कार्यान्वयन गराउने हो भने शिक्षा क्षेत्रका अधिकांश समस्या समधान हुने उनीहरुको भनाइ छ । नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तीर्थकुमार राईले राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको बताए । राज्यले शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्दासमेत कम प्राथमिकतामा राख्ने गरेको धारणा राखे । राज्यले शिक्षामा लगानी बढाउनुपर्ने उनको भनाइ छ । ‘राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको छ’, अध्यक्ष राईले भने, ‘जहाँ गुरु वर्गको सम्मान हुँदैन, त्यस्तो अवस्थामा कसरी सभ्य समाज निर्माण हुन्छ, राज्यले यो क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न आवश्यक छ ।’ एमाले जिल्ला कमिटी उपाध्यक्ष मक्कर खड्काले आगामी निर्वाचनमा शिक्षा क्षेत्रका समस्यालाई समाधान गर्न दलहरुले घोषणापत्रमा समेटेर लैजानुपर्ने बताए । उनले शिक्षा क्षेत्रका समस्या समाधानका लागि आफ्नो पार्टीले पनि शिक्षकसँग छलफल तथा परामर्श गर्ने योजना रहेकोसमेत सुनाए । उनले शिक्षाको सुधारका लागि सबै राजनीतिक दलले शिक्षालाई पहिलो एजेण्डा बनाउनुपर्ने धारणा राखे । ‘अवधारणा पत्रमा उल्लेख भएका विषयवस्तु उत्कृष्ट छन्’, उपाध्यक्ष खड्काले भने, ‘यसको कार्यान्वयन तथा नीति निर्माणमा राजनीतिक पार्टीले भूमिका खेल्नुपर्छ, शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा तपाई हामी एकजुट भएर अघि बढ्न आवश्यक छ ।’ कार्यक्रमका अवसरमा बढुवा भएका चार शिक्षकलाई सम्मानसमेत गरिएको छ । बढुवा भएका ध्रुवराज रेग्मी, तीर्थकुमार राई, राजधन राई र सरिता तामाङलाई सम्मान गरिएको हो । सङ्गठनका तर्फबाट स्वास्थ्य उपचारका लागि सङ्गठनका पूर्वअध्यक्ष प्रकाशचन्द्र खतिवडालाई २५ हजार रुपैयाँ सहयोग गरिएको छ । रासस
पनौती नगरपालिकाले पनि मापदण्ड विपरितका घर टहरा हटाउने
काठमाडौं । पनौती नगरपालिकाले पनि मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ । नगरपालिकाले भदौ २० गते एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । नगरपालिकाले उक्त क्षेत्रमा मापदण्ड विपरित बनेका सबै घर टहराहरु हटाउन सबैलाई सूचित गराएको छ । र, नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु बनाएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेकोले पनि नगरपालिकाको स्वीकृत लिएर मात्र निर्माण कार्य अघि बढाउनु पर्ने जनाइएको छ । साथै, नगरपालिकाको निर्देशनलाई अटेर गरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गरिने बताइएको छ ।
काँग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छ – महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् । शुक्रवार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तर्तामा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताए । उनले विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए । उनले नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । उनले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए । आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने उनको भनाइ छ । महामन्त्री शर्माले भने, ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रुपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली काँग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नविनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नविनता पनि अघि बढाउनु पर्छ । वर्षमा भएका कमजोरीलाई हामीले आत्मलोचना गरेर जानुपर्छ । एक वर्षमा हुन खोजेका प्रयत्नहरुमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ । काँग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरुलाई पनि समीक्षा गर्नुपर्छ । नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व छ, अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर सँगैका सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ । निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ ।’ महामन्त्री शर्माले नेपाली काँग्रेस उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा स्थापित गर्न अग्रसर हुने बताए । उनले नेपाली काँग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको शुरुवात भएको घोषणा गरे । उनले भने, ‘नेपाली काँग्रेस पार्टीको सदस्य हुनुको नाताले उज्यालो अनुहार बनाएर, नागरिक पंक्तिमा हामीले हाम्रा कमजोरीहरु जे भएपनि त्यसलाई आत्मालोचना गरेर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा उभ्याउन हामी लागि पर्नेछौँ । देशव्यापी रुपमा नेपाली काँग्रेस पार्टी पंक्तिले कमजोरी गरेन भन्दैन । भएका कमजोरीलाई जनताको बीचमा आत्मालोचना गरेर, कमीकमजोरी नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरी, मुलकको सही नेतृत्व गरेर मुलुकलाई गति दिन्छौँ । नेपाली काँग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको शुरुवात गर्दैछ । आज मानिसहरुको बीचमा आशंका छ । कतै नेपाल श्रीलंका हुने त होइन भन्ने आशंका छ । तर यो भ्रमपूर्ण प्रचार हो । अहिले नेपालको अवस्था त्यो छैन । उनीहरुले २५ वर्ष लामो हिंसा व्यहोरे, हामीले १० वर्षको हिंसा व्यहोर्यौं । उनीहरुले हिंसालाई बन्दुकले समाधान गरे, हामीले वार्ताबाट समाधान गर्यौं । उनीहरुले ऋणमाति ऋण लिए, हामीले ऋण भन्दा अनुदानमा जोड दियौँ । तर विगतमा बनाएका ठूला प्राजेक्ट शुरु गर्दैगर्दा कतै हामी ऋणमा त डुब्दै छैनौँ ? ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? ऋण लिने कुरामा बुद्धिमता नपुर्याउँदा कमजोरी हुने त होइन ? घोषणापत्र लेख्दा यी कुरामा पनि ध्यान दिनेछौँ ।’ महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रम बाहेक अरु नभएको जिकिर गरे । उनले नेपाल देशले सामाजिक न्याय शैलीको उदार अर्थ व्यवस्थाको बाटोबाट कसरी जनताको अनुहारमा खुशी ल्याउन सकिन्छ भन्ने कुरामा काँग्रेस अघि बढ्ने बताए । महामन्त्री शर्माले ठूलो योजना अघि बढाउँदै गर्दा ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? भन्ने प्रश्न उठ्नसक्ने भन्दै बुद्धिमतापूवएक काम गर्नुपर्ने बेला भएको पनि बताए ।
सरकारी बैंकलाई मात्रै हेजिङको सुविधा, क्षेत्रिय र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले २०% व्यहोर्ने
काठमाडौं । नेपाल सरकारले हेजिङ नियमावली २०७९ जारी गरेको छ । विदेशी विनिमय ऐन २०१९ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले हेजिङ नियमावली २०७९ जारी गरेको हो । एकसय मेगावाट वा सो भन्दा बढी क्षमताको जलाशययुक्त वा अर्ध जलाशययुक्त विद्युत परियोजना, २२० केभी वा सो भन्दा बढी भोल्टेज लेभेलको ३० किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइनको निर्माण परियोजना, १० किलोमिटर भन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माण परियोजना, शुल्क लिई सञ्चालन गर्ने सडक, फ्लाईओभर, अण्डरपास, सिग्नेचर पुल वा सुरुङ्गमार्ग निर्माण तथा ५० किलोमिटर भन्दा लामो द्रुतमार्ग निर्माण परियोजना, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको निर्माण तथा क्षमता विस्तार परियोजना, २ अर्ब रुपैयाँभन्दा माथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार र शहरी विकास सम्बन्धी पूर्वाधार परियोजना, नेपाल सरकारले निर्णय गरी तोकेको अन्य परियोजनामा हेजिङ सुविधा उपलब्ध गराइने भएको छ । हेजिङ गर्ने संस्थाले विदेशी विनिमय दरको जोखिम, मुद्रास्फीति जोखिम, परियोजनाको स्वपुँजी र ऋणको अंश, ऋण भुक्तानी गर्नुपर्ने अवधि, अन्तरमुद्रा प्रचलित ब्याजदर जोखिमको व्यवस्थापन तथा हस्तान्तरण र परियोजनाको प्रकृतिको समेतको आधारमा हेजिङ शुल्क निर्धारण गरिने नियमावलीमा उल्लेख छ । १ सय मेगावाट वा सो भन्दा बढी क्षमताको जलाशययुक्त वा अर्ध जलाशययुक्त विद्युत परियोजनामा नेपाल सरकारको तर्फबाट ५ प्रतिशत र व्यावसायिक संस्थाबाट ४० प्रतिशत हेजिङ ब्यहोरिने छ । यस्तै, २ सय २० केभी वा सो भन्दा बढी भोल्टेज लेभेलको ३० किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइनको निर्माण परियोजनामा नेपाल सरकारले २० प्रतिशत र व्यावसायिक संस्थाको ३५ प्रतिशत हेजिङ ब्याहोरिने उल्लेख छ । यस्तै, १० किलोमिटर भन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माण परियोजनामा नेपाल सरकारको ५ प्रतिशत र संस्थाको ३० प्रतिशत, शुल्क लिई सञ्चालन गर्ने सडक, फ्लाईओभर, अण्डरपास, सिग्नेचर पुल वा सुरुङ्गमार्ग निर्माण तथा ५० किलोमिटर भन्दा लामो द्रुतमार्ग निर्माण परियोजनामा नेपाल सरकारको १० प्रतिशत र संस्थाको ३० प्रतिशत, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको निर्माण तथा क्षमता विस्तार परियोजनामा २० प्रतिशत सरकार र ३० प्रतिशत व्यावसायिक संस्थाले हेजिङ ब्यहोर्नु पर्नेछ । यस्तै, २ अर्ब रुपैयाँभन्दा माथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार र शहरी विकास सम्बन्धी पूर्वाधार परियोजनामा १० प्रतिशत सरकार र २० प्रतिशत व्यावसायिक संथाले हेजिङ ब्यहोर्नु पर्नेछ । यस्तै, नेपाल सरकारले निर्णय गरी तोकेको अन्य परियोजनामा नेपाल सरकारको निर्णय बमोजिम बढीमा २० प्रतिशत हेजिङ ब्यहोरिने भएको हो । नियमावली बमोजिम हेजिङ सुविधा प्रदान गर्ने संस्थाको रुपमा काम गर्न चाहने प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पुर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजना सहित मन्त्रालयमा प्रस्ताव पेश गर्नुपर्ने छ । कुनै संस्थाले हेजिङ सम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मुल्याङ्कन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ गर्ने संस्थाको रुपमा तोक्ने भएको छ । हेजिङ गर्ने संस्थाले परियोजनामा लगानी हुने विदेशी ऋणको कूल परिमाण, विदेशी ऋण सम्झौता बमोजिम ऋण चुक्ता गर्नुपर्ने अवधि र ब्याजदर, ऋण उपकरण (ग्रीन बण्ड) को हकमा सोको अवधि समेतको आधारमा हेजिङ सुविधाको अधिकतम अवधि निर्धारण गरिने छ । अर्थ मन्त्रालयका अनुसार हेजिङको सुविधा कुनै परियोजनामा गरिने ऋणको सावाँ तथा ब्याज रकमका लागि उपलब्ध हुनेछ । कुनै परियोजनामा गरिने विदेशी ऋण लगानीको हेजिङ गर्ने भएमा हेजिङ गरिने अनुमति ऋण लगानीको अङ्क परियोजना स्वीकृति वा अनुमतिका लागि व्यावसायिक संस्थामा आवेदन गर्दा नै खुलाउनुपर्नेछ । हरित पूर्वाधारमा लगानी गर्ने गरी बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्त बजारमा ऋण उपकरण जारी गरी वा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँग ऋण लिई अन्तर्राष्ट्रिय मुद्रा कोषले कामय गरेको स्पेसियल ड्रइङ्ग राइट्सभित्र पर्ने विदेशी मुद्रामा कम्तीमा दुई करोड अमेरिकी डलर वा सोभन्दा बढी रकम बराबरको कारोबारमा हेजिङ सुविधा उपलब्ध हुनेछ । त्यस्तो सुविधा उपलब्ध गराइएकामा सरकारले हेजिङ शुल्कको १० प्रतिशत बराबरको रकम बेहोर्न सक्नेछ । त्यस्तो हेजिङको अवधि सात वर्षको हुनेछ । हेजिङ गर्ने संस्थाले विदेशी विनिमय दरको जोखिम, मुद्रा स्फिति जोखिम, परियोजनाको स्वपुँजी र ऋणको अंश, ऋण भुक्तानी गर्नुपर्ने अवधि, अन्तरमुद्रा प्रचलित ब्याजदर, जोखिमको व्यवस्थापन तथा हस्तान्तरण र परियोजनाको प्रकृतिसमेतको आधारमा हेजिङ शुल्क निर्धारण गर्ने व्यवस्था गरिएको छ । त्यस्तो शुल्क निर्धारण गर्दा हेजिङ गर्ने संस्थाले आवश्यकताका आधारमा मन्त्रालयले बैंक, व्यावसायिक संस्था, सरोकारवाला निकाय, परियोजना र त्यस्तो परियोजनाका लगानीकर्तासँग समन्वय गर्नेछ । सार्वजनिक निजी साझेदारी लगानी ऐन, २०७५ बमोजिम सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन हुने सरकारको राष्ट्रिय प्राथमिकतामा परेका वा राष्ट्रिय गौरवका परियोजनामा सरकारले उपलब्ध गराउने हेजिङ शुल्कको पनि निर्धारण गरिएको छ ।
दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन
काठमाडौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गरे । ईन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ । उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिबारका दिन बेलुकी ६ बजे जुम मिटि मार्फत प्रतियोगीहरुको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेलमा पठाईसक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिनेछ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठुलो टेवा पु¥याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने कुरामा जोड दिए । साथै उनले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरिएकोमा विशष धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत दया फाउन्देशनका अध्यक्ष राजेश बहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १८ का का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा न २२ का अध्यक्ष चिनी काजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरु लगायत सो क्षेत्रका स्थानियको वाक्लो उपस्थिति थियो ।