बागलुङमा स्वास्थ्यचौकी भवन पहिराको जोखिममा
बागलुङ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पु¥याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । दुई करोड तीन लाख रुपैयाँमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ । बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि ६५ लाख रुपैयाँ विनियोजन भएको बताए । उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए । ‘बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ’, थापाले भने । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो’, थापाले भने, ‘पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।’ भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन् । रासस
प्रतिकित्ता ७५० रुपैयाँमा साढे ६२ हजार कित्ता सेयर बिक्री
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तले ६२ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । लघुवित्तको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले असोज २७ गतेसम्म आवेदन दिन सक्नेछन । लघुवित्तको उक्त सेयरमा एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तको उक्त सेयरमा बोलकबोल गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन । बोलपत्र असोज २८ गते शुक्रबार बिहान १० बजे एनआईबिएल एस क्यापिटलको कार्यालयमा खोलिनेछ ।
राम्दीमा पक्की पुल बनाउन प्रक्रिया अगाडि बढ्यो
स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो । विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरिसकेको छ । ठेक्का प्रक्रिया अगाडि बढिसकेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिए । बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । ‘सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ’, उनले भने, ‘कुल २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।’ पुल एक सय आठ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ । पुलको दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहने छ । उक्त पुलको ४० टनसम्मको भारवहन क्षमता रहने छ । सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घर–टहरा खाली गरी क्षतिपूर्ति दिइने उनले बताए। उक्त पुल जीर्ण र पुरानो भएकाले चार–पाँच वर्षदेखि अधिकतम १० टन भारवहन क्षमताका सवारीसाधनलाई मात्रै सामान ढुवानी गर्न दिइएको छ ।
आज देशभर वर्षाको सम्भावना
काठमाडौ । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । विभागका अनुसार आगामी २४ घण्टा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस
धादिङमा डेङ्गु लागेर बिरामी हुने क्रम बढ्यो
धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। ‘दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्’, उनले भने। बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिए। सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताए । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउँछन् ।
केपिलासगढी गाउँपालिकाले दियो एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार
खोटाङ । केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई जनही एक लाख पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट छात्र–छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गरेका हुन् । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र–छात्रालाई पुरस्कार प्रदान गरिएको हो । केपिलासगढीले चालु आवदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार १८ महिने प्राविधिक शिक्षाका लागि छात्रबृत्ति प्रदान गर्न लागिएको अध्यक्ष राईले जानकारी दिए। यसैबीच दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिकाको कार्यालय याङ्सोलाटारमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्र राईले एसइईका उत्कृष्ट एक विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन्। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको गाउँपालिका प्रमुख राईले बताए ।
नेपाललाई थप सहयोग उपलब्ध गराउनेबारे अर्थमन्त्री शर्मा र एसियाली बैंकका उपाध्यक्षबीच छलफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजी क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् । एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभासासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने, ‘निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाइ उच्च प्राथमिकतामा राखेको छ।’ उनले नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि बताए । उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित एमोनिया, हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे उनले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली बिकास बैंकको सहयोग अझै ब्रिद्दि गर्न समेत आग्रह गरे । कोभिडको महामारीको बेला एसियाली बिकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि अर्थमन्त्री शर्माले धन्यबाद दिएका थिए । एसियाली विकास बैंकका उपध्यक्ष अशोक लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि संधै हातेमालो गर्ने बताए । अर्थ मन्त्री शर्माले आग्रह अनुसार आफु नेपाल सरकार र निजी क्षेत्रलाइ सहयोग गर्न तयार रहेको लाभासाले बताएका थिए । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा थप छलफल हुने समेत बताए ।
बेलायती महारानी एलिजाबेथको निधन
ऐजेन्सी । बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उनी ९६ वर्षकी थिइन् । वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उनको सामु पुगेका थिए। उनका ७३ वर्षीय छोरा युवराज चार्ल्स अब स्वतः राजा भएका छन् । उनलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ । दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।