विकासन्युज

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा लम्बियो राहदानी बन्ने समय

नवलपरासी । मध्यविन्दु–१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि राहदानी हातमा परेको बताए । गत असार १७ मा फारम भरेका उनको बायोमेट्रिक गर्ने पालो ४७ दिनपछि मात्रै आयो । उनले भने, ‘बायोमेट्रिकको एक महिनापछि मात्रै राहदानी हात प¥यो ।’ पूर्वी नवलपरासीमा राहदानी बनाउन तीन महिना पर्खिनुपर्ने बाध्यता छ । त्यसैगरी कावासोती–१२ की निशा लम्सालले गत साउन १८ गते फारम भरेर टोकन लिएकी थिइन् । उनीले बायोमेट्रिक गर्न ५१ दिनपछि अर्थात् असोज ७ मा मात्र पालो पाएको बताए । सरकारले विद्युतीय राहदानी अनिवार्य गरेपछि राहदानी बनाउन आउनेको सङ्ख्या बढेको र यसका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले राहदानी बनाउन लामो समय लागेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खिमराज भुसालले बताए । राहदानी बनाउन आउनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले टोकन सिस्टम सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार राहदानीका लागि एक दिनमा अधिकतम एक सय जनाको मात्र बायोमेट्रिक गर्न सकिन्छ । पर्याप्त कर्मचारी र बायोमेट्रिक गर्ने मेसिनको कमीले मुस्किलले एक सय जनासम्मको बायोमेट्रिक हुने गरेको हो । बायोमेट्रिक गरेपछि पनि राहदानी सेवाग्राहीको हातमा पर्न थप करिब एक महिना लाग्ने भुसालले बताए । कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पुनः सुरु भएपछि राहदानी बनाउने बढेका भुसालले बताए । भुसालका अनुसार राहदानी बनाउन आउनेहरूमा धेरै युवा छन् । त्यसमा पनि वैदेशिक रोजगार र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ । गएको आवभन्दा चालु आवको सुरुआतदेखि नै राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । भुसालका अनुसार गत आव २०७८/७९ मा नौ हजार छ सय ७५ जनाले राहदानी बनाएकामा चालु आवको पहिलो महिना साउनमा दुई हजार छ सय ८४ ले राहदानीका लागि फारम भरेका छन् । यसैबीच राहदानीबाट मात्र जिल्लामा गत एक वर्षमा पाँच करोड रुपैयाँ भन्दाबढी राजस्व सङ्कलन भएको छ । गत आव २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट पाँच करोड एक लाख ३८ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको जिल्ला प्रसासन कार्यालय नवलपुरका सूचना अधिकारी भुसालले बताए । यो अवधिमा सात हजार चार सय पाँच जनाले साधरण राहदानी र एक हजार चार सय ७६ ले विद्युतीय राहदानी बनाएका भुसालले बताए । भुसालका अनुसार आव २०७७/७८ मा दुई करोड ३४ लाख ३५ हजार, आव २०७६/७७ मा दुई करोड ४७ लाख ६७ हजार पाँच सय र आव २०७५/७६ मा तीन करोड ३८ लाख ८७ हजार पाँच सय राजस्व सङ्कलन भएको हो । रासस

मिस ग्राण्ड नेपाल २०२२ को शनिबार फाइनल हुने

काठमाडौं । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी मिस ग्राण्ड नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यही भाद्र २५ गते होटेल शंकर, लाजिम्पाटमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजकले जनाएको छ । विजेताले मिस ग्राण्ड नेपाल २०२२ को ताज सहित इन्डोनेसियाको बाली र जाकार्तामा हुने अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी बन्न पाउनेछन् । साथै विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । प्रतियोगिता विजेताले ६ लाख रुपैयाँको उपहार पनि पाउने आयोजक कमिटीले जनाएको छ । प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् । मिस ग्राण्ड नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा अभिनेता अनुपविक्रम शाही, र्यापर आशिष राना (लाहुरे), अभिनेत्री आँचल शर्मा, समाजसेवी छिरिङ वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिइएको जनाएको छ । प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरिरहेको छ ।

कार्यकर्ता भेट्न चितवन पुगे प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन् । बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन आएका हुन् । प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन् । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौं फर्कने कार्यक्रम छ । उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका छन् । रासस

भटमास, सुर्यमुखी र पाम तेलको पैठारीमा ९० प्रतिशत भन्सार छुट

काठमाडौं । सरकारले भटमास, सुर्यमुखी र पाम तेलको कच्चा पदार्थ पैठारी (आयात) मा ९० प्रतिशत भन्सार छुटकाे व्यवस्था गरेकाे छ । सरकारले आर्थिक ऐन, २०७९ मार्फत अगाडि बढाएको विभिन्न वस्तुहरुको दस्तुर, शुल्क, महशुल र करको दरमा हेरफेर गरेर सो छुटको व्यवस्था गरेको हो । अर्थमन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न वस्तुहरुको दस्तुर, शुल्क, महशुल र करको दरमा हेरफेर गरिएको जनाएको छ । आर्थिक ऐन, २०७९ ले भटमास, सुर्यमुखी र पाम तेलको कच्चा पदार्थ पैठारीमा ५० प्रतिशत भञ्सार छुटको व्यवस्था गरेको थियो । भन्सार विभागले प्रकाशन गरेको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष ०७९/८० पहिलो महिनामा मात्रै २ अर्ब ४४ करोड, ९ लाख ८६ हजार बराबरको तेलहन लगायत विभिन्न दानाजन्य कच्चापदार्थको आयात गरेको थियो ।

रेमिट्यान्स खातामा ठूला बैंककै बदमासी, ग्राहकलाई जोखिम, राष्ट्र बैंक मौन

काठमाडौं । रेमिट्यान्स खातामा ठूला बैंकले नै बदमासी गर्ने गरेको प्रमाण बाहिर आएका छन । अन्य बैंकको ग्राहक तान्न र अन्य रकमलाई रेमिट्यान्स भनेर बढी ब्याज पाउनका लागि ठूला बैंक नै गलत अभ्यास गरिरहेको गुनासो बैंकर्सहरुले नै गरेका छन् । विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि साधारण बचतभन्दा एक प्रतिशत बढी ब्याज दिने गरि रेमिट्यान्स खाता खोल्न पाइने व्यवस्था गरिएको छ । तर, उक्त खातामा विदेशबाट आएको रेमिट्यान्सभन्दा पनि नेपालको रकम नै जम्मा गर्ने गरेको बैंकर्सहरुले गुनासो गरेका हुन । अन्य बचत खातामा भन्दा रेमिट्यान्स खातामा १ प्रतिशत ब्याज थप दिन पाइन्छ । सोही ब्याज प्राप्त गर्नका लागि ग्राहकको रकमलाई जोखिममा राखेर बैंकहरुले विना प्रमाण रेमिट्यान्स खातामा राख्ने गरेको तथ्य विकासन्युजलाई प्राप्त भएको हो । यसले गर्दा वाणिज्य बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने रेमिट्यान्समा तोकिएको ब्याजभन्दा बढी ब्याज दिइरहेको गुनासो बैंकर्सहरु नै गरिरहेका छन । अहिले ठूला भनिएका बैंकबाटै यस्तो खालको बदमासी हुन थालेपछि प्रतिस्पर्धी बैंकर्स रुष्ट बनेका छन् । दुई वटा ठूला र एक मध्यम क्याटागोरीको बैंकले अस्वस्थ काम गरिरहेको प्रमाण विकासन्युजलाई प्राप्त भएको छ । ‘मेरो रेमिट्यान्सबाट आएको रकम हो, भोलि प्रमाण पुगेन भने पूरानो रेट लागू हुन्छ, म त्यसको जिम्मेवारी हुनेछु भनेर बैंकहरुले ग्राहकलाई हस्ताक्षर गराउने गरेका छन् । केही बैंकहरुले अर्को बैंकको ग्राहक खोसेको आरोप लगाएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबिए) ले यसरी गलत प्रक्रियामार्फत काम गरिरहेको भन्दै ती बैंकहरुलाई स्पष्टिकरण समेत सोधेको छ । झण्डै ८० प्रतिशत ननरेमिट्यान्सवालाले खाता खोलिरहेको पनि बुझिएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ साधारण बचतलाई पनि रेमिट्यान्सबाट आएको रकम भनेर जम्मा गर्ने संख्या बढिरहेको बताउँछन् । कहिल्यै पनि विदेश नगएको व्यक्तिले समेत रेमिट्यान्स खातामा रकम जम्मा गर्ने गरेको उनले बताए । केही बैंकका कारण समग्र बैंकिङ्ग क्षेत्रले बदमासी गरेको जस्तो भएको उनको भनाइ छ । ‘रेमिट्यान्स खातामा साधारण बचतकर्ताले रेमिट्यान्स भनेर रकम राख्ने गरेका छन, रेमिट्यान्सको रकम भनेर रेमिट्यान्स खाता खोल्नेको संख्या बढेको भन्ने सुनेको छु, केही आधार र प्रमाण नहुँदा पनि रेमिट्यान्स खाता खोलिरहेका छन, स्वदेशमा भएकाले पनि खाता खोलेका छन, विदेशमा गएर कमाएर रेमिट्यान्स पठाएको रकम मात्रै रेमिट्यान्स खातामा राख्ने हो,’ उनले भने, ‘व्यक्ती विदेश गएको छैन, विदेशबाट पैसा नआइकन खालेको छ भने त्यो बदमासी हो, केही बैंकहरुले यस्तो गरिरहेका छन ।’ केही बैंकहरुले घरजग्गा खरिदबिक्री गरेको रकम पनि रेमिट्यान्सबाट आएको भन्दै जम्मा गर्ने गरेको सीईओ खालिङको भनाइ छ । केही बैंकले बदमासी गरेकाले राष्ट्र बैंकले कडा एक्सन लिनुपर्ने उनको माग छ । अर्काको बैंकका ग्राहकलाई आफ्नोमा तान्नका लागि केही बैंकले यस्तो गरेको उनले बताए । ‘मेरो विदेशबाट आएको रेमिट्यान्स हो भनेर बैंकहरुले एउटा फाराममा हस्ताक्षर गराउने, घरजग्गा बिक्री गरेको रकम पनि विदेशबाट आएको भनेर भन्दा त्यस्तो पैसालाई पनि लिने गरेका छन, अर्काे बैंकको डिपोजिट तान्ने, चोर्ने प्रवृत्ति बढेको छ,’ सीईओ खालिङले भने, ‘यसमा राष्ट्र बैंकले पनि निरीक्षण गर्नुपर्ने, अनुसन्धान गर्ने, सीईओले टेरेन भने बैंकका बोर्डलाई स्पष्टिकरण लिने, यस्तो गर्दा केही सुधार आउँछ की, एउटा बैंकलाई चेतावनी दिएपछि अन्य बैंकले गर्ने आँट गर्दैन ।’ राष्ट्र बैंकले पनि तत्काल एक्सन लिनुपर्ने उनको भनाइ छ । जसले गर्दा भविष्यमा पनि यस्ता गलत कार्य रोकिने उनले बताए । एउटा बैंकले अर्काको निक्षेप चोरेर लगेपछि उसलाई सहज हुने भएपनि अरुलाई त गाह्रो हुने उनको धारणा छ । सिभिल बैंकका सीईओ सुनिल पोखरेल रेमिट्यान्स खाता खोल्ने संख्या बढेको बताउँछन् । खाता संख्या बढेपनि अधिकांश खाता अन्य व्यक्तिले खोल्ने गरेको उनले बताए । बैंकहरुले पनि कुनै प्रक्रिया नपुर्याएर खाता खोलिदिने गरेको पनि उनको भनाइ छ । ‘रेमिट्यान्स खाता खोल्ने बढ्दो ट्रेण्डमा छ तर ‘जेन्यून’ रेमिट्यान्स खाता अन्य व्यक्तिले रेमिट्यान्स भनेर खोल्ने प्रवृत्ति हावी छ, जसको रेमिट्यान्सबाट पैसा आएको छैन, उनीहरुले खाता खोल्ने गरेका छन, बैंकहरुले पनि कुनै प्रमाण नहेरिकन खाता खोलिरहेका छन,’ उनले भने, ‘मेरो रेमिट्यान्सको पैसा भनेर घोषणा गरेर खाता खोल्ने गरेका छन, केही बैंकले सामान्य व्यक्ति नै बैंकमा गयो भने रेमिट्यान्स खाता खोलिदिने गरेका छन् ।’ केही बैंकका कारण भविष्यमा ग्राहकहरुलाई ठूलो जोखिम पर्न सक्ने उनको भनाइ छ । हाल रेमिट्यान्स खातामा रकम जम्मा गरेपनि राष्ट्र बैंक र सम्पत्ति शुद्धिकरणले उक्त रकमको स्रोत खोजेमा ग्राहकको साँवा रकम समेत फस्न सक्ने उनको भनाइ छ । एक प्रतिशत ब्याजको लोभका कारण केही बैंकले ग्राहकलाई ठूलो जोखिम मोल्ने गरेको उनका तर्क छ । यस्तै, ग्लोबल आइएमई बैंकका नाय प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले विदेशमा काम गर्न जानेको संख्या बढेको कारण खाता खोल्नेको संख्या पनि बढेको बताउँछन् । खातामा रकम राख्दा सुरक्षित हुने भएकाले रेमिट्यान्स संख्या बढेको उनको तर्क छ । ‘रेमिट्यान्स खाता खोल्नेको संख्या पहिलाको भन्दा बढ्दो छ, रेमिट्यान्समा काम गर्न जाने मान्छे बढेका छन, विदेशमा मजदुर बढी गएका छन, बाहिर जानेको संख्या बढेको र स्वतः खाता खोल्ने ट्रेण्ड बढेको हो,’ उनले भने, ‘खातामा पैसा पठाउँदा पैसा सुरक्षित हुन्छ, धेरै खर्च पनि हुँदैन, खातामा भयो भने बचत पनि हुन्छ, ब्याज पनि बढी पाइन्छ, रेमिट्यान्स खाता खोल्नसचेतनामुलक सन्देश दिएर इनकरेज गर्याैं तर अझै पनि खाता खोल्ने ट्रेण्ड प्रयाप्त छैन ।’ केही बैंकले रेमिट्यान्स खातामा सामान्य रकम पनि जम्मा गर्न लगाएको उनको भनाइ छ । रेमिट्यान्सको रकम भनेर प्रमाण भएमात्रै खातामा राख्नु पर्ने उनले बताए । ‘केही बैंकले रेमिट्यान्स खाता खोल्ने तर पैसा भने रेमिट्यान्सको नभएर अर्कै राखेका छन, अन्य बैंकले रेमिट्यान्सको पैसा भनेर सामान्य पैसा पनि रेमिट्यान्समा राखे, हामीले यस्तो गरेको छैन, कता कता गरिएको छ भन्न सुनिएको छ, बाहिरबाट पैसा आएको हुनु पर्छ, प्रमाण भएपछि मात्रै खाता खोल्न मिल्ने हो, हामीले प्रमाण लिएर मात्रै खाता खोल्ने हो,’ डीसीईओ ढकालले भने । नेपाल बैंकर्स संघले यस विषयमा बदमासी गर्ने बैंकहरुलाई स्पष्टिकरण सोधेपनि राष्ट्र बैंक भने मौन बसेको छ । अहिलेसम्म गलत अभ्यास गर्ने बैंकहरुलाई राष्ट्र बैंकले सजग पनि गराएको छैन । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल रेमिट्यान्स खाता खोल्नेको संख्या तथ्याङ्क राष्ट्र बैंकसँग नभएको बताउँछन् । बैंकर्सहरुसँगको अनौपचारिक छलफलमा खाता खोल्ने संख्या बढेको बताउने गरेको भएपनि के कति र के कस्ताले खोलेको छन् भन्ने विषय जानकारी नआएको बताए । उनका अनुसार सामान्य नेपाली नागारिकले खाता खोल्न पाउने तर रेमिट्यान्सको रकम मात्रै राख्नु पर्छ । ‘रेमिट्यान्स खाता खोल्नेको संख्या तथ्याङ्क छैन, बैंकका सीईओहरुसँगको अनौपचारिक छलफलमा बढेको भन्नु भएको छ, यकिन तथ्याङ्क भने राष्ट्र बैंकसँग छैन,’ उनले भने, ‘रेमिट्यान्स खाता सामान्य नेपाली नागारिकले खोल्न पाउँछन, विदेशबाट ल्याएको भन्दै घरजग्गा बिक्री गरेको रकम पनि रेमिट्यान्स भनेर जम्मा बैंकहरुले गर्न पाउँदैनन्, राष्ट्र बैंकले अनुसन्धान गर्याे भने जवाफदेही हुन सकेनन् भने गाह्रो हुन्छ, बैंकहरुले कम्प्लाइन नहुने गरी काम गर्दैनन् ।’ विदेशबाट पठाएको रेमिट्यान्स नभएमा राष्ट्र बैंकसँग कारवाही गर्ने हतियार थुप्रै रहेको सहप्रवक्ता पोखरेलले बताए । विदेशबाट आएको रकम भनेर प्रमाण देखाउन नसक्दा समस्या पर्ने उनको भनाइ छ । ‘छोराले विदेशबाट रेमिट्यान्स पठाएको छ भनेर परिवारले दर्शाउँदा र त्यो रेमिट्यान्स बैंकिङ्ग च्यानलबाट वा फर्मल च्यानलबाट आएको छ भने खातामा राख्न सकिन्छ, अहिले रेमिट्यान्स खातामा राखेको छ भने भोलिका दिनमा रेमिट्यान्सबाट आएको भनेर सम्पत्ति शुद्धिकरणले प्रमाण देखा भन्न सक्छ,’ पोखरेलले भने, ‘यदि बैंकले त्यस्तो गरेको भए राष्ट्र बैंकसँग कारवाहीका प्रयाप्त हतियार छन, नियममा धेरै कुराहरु उल्लेख गरिएको हुँदा कस्तो खालको गलत काम गरेको हो सोही प्रयोजन अुनसार कारवाही हुन्छ ।’ उनका अनुसार राष्ट्र बैंकले रेमिट्यान्स खाताको विषयमा राष्ट्र बैंकले बैंकहरुसँग तथ्यांक पनि माग गरिसकेको छ । सम्बन्धित सामग्री : डलर खातामा १८% सम्म ब्याज, नेपालमै बस्नेले पनि खोल्न थाले, नियामक मुकदर्शक

निःशुल्क सिआस्वा सेवा दिने बैंक बढ्दै, कुन बैंकबाट सेयर भर्दा पैसा लाग्दैन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिआश्वा शुल्क घटाएपछि निशुल्क सेवा दिने बैंकहरुको संख्या थप हुँदै गएका छन । एकपछि अर्काे गर्दै बैंकहरुले सिआश्वा शुल्कलाई निशुल्क सेवा दिने भएका हुन । सिआस्वा शुल्क नलिने बैंकको संख्या ७ पुगेको हो । जसमध्ये सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक, सानिमा बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले निशुल्क सेवा दिने भएका हुन । एक सय रुपैयाँसम्म शुल्क लिएको गुनासो बढ्दै गएपछि सेबोनले शुल्क घटाउँदै अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको थियो । केही बैंकहरुले पहिला पनि शुल्क लिने गरेका थिएनन् । अहिले सिआश्वा शुल्कलाई निशुल्क गर्ने बैंकको संख्या बढेको हो । अब लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद सेयर लगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु नपर्ने भएको हो ।

निर्माण भएको नौ वर्ष सम्म पनि सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

झापा । झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ । नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकडभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । प्याराभिट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् । बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । पचासौँ वर्षपछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियोे । झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क निर्माण भए पनि सञ्चालनमा भने आउन सकेको छैन । मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख रुपैयाँ र नगर विकास कोषको सात करोड ७७ लाख रुपैयाँ जुटाएर संयुक्त लगानीमा बसपार्क निर्माण अघि बढाइएको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जनाले करोडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए । विसं २०६८ असार १९ गते शिलान्यास गरेर दमकको लामा मैनाचुली शिवशक्तिले निर्माण थालेको थियो । दुई वर्षमा निर्माण भएको बसपार्क २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । तत्कालीन बसपार्क सहयोग समितिका अध्यक्ष डिल्लीराम घिमिरे निर्माण भएर पनि बसपार्क सञ्चालनमा नआउनु दुःखलाग्दो विषय भएको बताए । मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क निर्माणपछि दुई कार्यकाल जनप्रतिनिधिले नगरको नेतृत्व गरिसकेका छन् । बसपार्क प्रयोजनविहीन भए पनि नगर विकास कोषबाट लिएको ऋणको ब्याज नगरपालिकाले बर्सेनी तिर्दैआएको छ । मेची उद्योग वाणिज्य सङ्घका महिला उपाध्यक्ष बिना तामाङले विकास निर्माणमा ठूलो लगानी गरेर त्यसलाई प्रयोगविहीन राख्ने प्रवृत्तिको अन्त्य गर्न राजनीतिक दल र नागरिक समाज जागरुक हुनुपर्ने बताए । नगरपालिकाले जनतामाथि ऋण बोकाएर निर्माण गरेको विकास परियोजना प्रयोगमा ल्याउन नसक्नु जनप्रतिनिधिकै कमजोरी भएको नेकपा माओवादी केन्द्रका झापा क्षेत्र नं १ का अध्यक्ष माधव अर्याल बताउँछन् । ‘बनेका संरचना के कारण प्रयोगमा आएनन् भनेर जनप्रतिनिधिले गम्भीर बन्नुपर्छ’, उनले भने, ‘यो त सरासर ऋणको दुरुपयोगजस्तो भयो ।’ करोडौँ मूल्य पर्ने निजी जग्गा बसपार्क निर्माणका लागि दानमा दिएका जग्गादाता बसपार्क निस्क्रिय रहेकामा आक्रोशित छन् । ‘उपयोग नगर्ने हो भने किन हामीसँग जग्गा लिएको’,  मेचीनगर–७ का जग्गादाता शिव थापा भन्छन्, ‘बसपार्क बन्दा कत्रो खुसीयाली थियो, अहिले प्रयोगमा नआउँदा बेकारमा जग्गा दिइएछ जस्तो लाग्न थालेको छ ।’ बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । वरिपरि पर्खाल निर्माण गरिएको छ । उत्तरतिर पसल निर्माण गरिएका छन् । पूर्वी किनारमा ग्यारेजका लागि पूर्वाधार निर्माण गरिएको छ । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्यबत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्ग कालोपत्र गरिएको छ । तर बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै बेकार सावित भएका छन् । रासस

लुम्बिनी जनरल इन्स्योरेन्सले जम्मा गर्याे बोनस हितग्राही खातामा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोनस सेयर हितग्राही खातामा जम्मा गरेको जनाएको छ । इन्स्योरेन्स कम्पनीले सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा ९.५ प्रतिशत बोनस सेयर जम्मा गरेको बताएको हो । कम्पनको गत असार २९ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले ९.५ प्रतिशत बोनस सेयर पारित गरेको थियो । गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको खातामा मात्रै बोनस सेयर जम्मा गरेको हो । साथै सो मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको खातामा क्रमश जम्मा गर्ने कम्पनीले जनाएको छ ।