काठमाडौं । गत वर्षको माघमा नेपाल इन्भेष्टमेन्ट बैंकले निक्षेपमा राखेको रकम २० वर्षमा ६ गुणा हुने योजना सार्वजनिक गर्याे । बैंकले सो योजना ल्याएको केही समयपछि एनआईसी एशिया बैंकल पनि सोही प्रकृतिको १० गुणा बढी रकम पाइने स्कीम सार्वजनिक गर्यो । एनआईसी एशिया बैंकले सो योजना ल्याएपछि अन्य बैंकले पनि धमाधम सोही प्रकारका योजना ल्याउन थालेका छन् । अहिले अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले सोही प्रकृतिका योजना ल्याएका छन् भने कतिपपय ल्याउने चरणमा छन् । लगानीयोग्य पुँजीको अभाव भइरहेको समयमा बैंकहरुले यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकलाई आकर्षित गरिरहेका छन् ।
यस्तै, केही वर्ष अघि माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक कल सेन्टर सेवा सञ्चालन गरेको थियो । बैंकले आफ्नो ग्राहकलाई सेवा बारे जानकारी गराउनका लागि कल सेन्टरको अवधारण ल्याएको थियो । सोही सेवालाई अन्य बैंकले पनि अनुसरण गर्दै अन्य बैंकहरुले पनि कल सेन्टर सञ्चालनमा ल्याए ।
यस्तै माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक करिब ५ वर्षअघि नै च्याटबाट सेवा सुरु गरेको थियो । बैंकले च्याटबट सेवा सुरु गरेसँगै अन्य बैंकले पनि सोही सेवा सुरु गरे ।
केही समय अघि (२०७८ बैशाख ) मा एनआईसी एशिया बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक ‘क्विक पे’ सेवाको सुरुआत गरेको थियो । साना तथा मझौला व्यवसायीका एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने सेवा ल्याउँदा अन्य बैंकहरुले पछि सोही सेवाको सुरुवात गरे ।
यस्तै, नेपाली बैंकिङ क्षेत्रमै एनएमबि बैंकले भिडियो कलमा आधारित खाता खोल्न सकिने सुविधा ल्याएकोथियो । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्ने सुविधा ल्याएको थियो । अहिले अधिकांश बैंकहरुले सेवा सुरु गरिसकेका छन् ।
यी केही उदाहरणहरु हुन् । पछिल्लो समय बैंकहरु एक बैंकले ल्याएको ल्याएको योजना अर्को बैंकले अनुसरण गर्ने अभ्यास नेपालमा व्याप्त छ । डिजिटल बैंकिङ मा त झन यो अभ्यास बढ्दो छ । बजारमा नयाँ प्रडक्ट आउँदा पहिला ल्याउने बैंकमा कार्यरत कर्मचारीको श्रृजनात्मक क्षमता अब्बल रहेको पनि यस्त उदाहरणले देखाउँछ । बैंकहरुले आफ्नो ब्राण्डिङ र प्रडक्ट उत्पादन गर्नका कर्मचारी राखेको हुन्छ । यसका लागि बैंकले दख्खल भएका व्यक्तिलाई बैंकमा जागिर दिने गरेको हुन्छ । तर, अधिकांश बैंकले इनोभेसन वा दख्खल भएका कर्मचारी नपाउँदा अर्काको योजना वा प्रडक्ट कपी गर्नुपर्ने बाध्यता बैंकहरुमा देखिन्छ ।
बैंकहरु ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छन् । ग्राहकलाई राम्रो सेवा सुविधा दिन बैंकहरुबीच प्रतिस्पर्धा बढी हुन्छ । तर, आफ्नो ग्राहकलाई अन्य बैंकमा जान नदिन अर्काे बैंकको प्रडक्ट वा योजना कपी गर्नु पर्ने बाध्यता रहेको बैंकर्सहरु बताउँछन् ।
ग्राहकलाई सर्वसुलभ सेवा सुविधा दिनका लागि बैंकहरुले नयाँ नयाँ योजना वा अफर ल्याउने गरेका छन । तर, एक बैंकले सार्वजनिक गरेको योजनालाई अर्काे बैंकले पनि जस्ताको त्यस्तै कपी गर्ने गरेका छन ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ भने बैंकका प्रडक्ट ‘कपी’ हुनेका रुपमा लिनु नपर्ने बताउँछन् । उनका अनुसार बैंकहरुले ग्राहकलाई लक्षित गरेर नै नयाँ प्रडक्ट ल्याउने भएकाले एक बैंकले ल्याएको प्रडक्ट अर्को बैंकले पनि ल्याउनु पर्ने बाध्यता छ । तर, त्यसलाई कपि पेष्टका रुपमा लिन भने नहुने उनको भनाइ छ ।
‘बैंकका प्रडक्ट ‘कपि’ हुँदैनन्, खासै नौलो प्रडक्ट भनेर कसैले ल्याएका छैनन्, पहिला २/४ वर्षका मुद्दती योेजना थिए, अहिले ग्राहक तान्न १५ गुणा फिर्ता गर्ने योजना ल्याए,’ उनले भने, ग्राहकले त्यो बैंकमा यस्तै सुविधा छ यता छैन भनेर कम्प्लेन गर्छन्, सोही कारण पनि एक बैंकले अर्को बैंकको जस्तै सेवा ल्याउनु पर्ने हुन्छ ।’
एउटा बैंकले ल्याएको योजना वा प्रडक्टलाई अन्य बैंकले फरक भेरियन्ट राख्ने गरेको उनको तर्क छ । पहिला–पहिला सरकारी बैंकले प्रडक्ट कपी नगरेपनि हाल सरकारी बैंकले पनि कपी गर्ने गरेको उनले बताए ।
‘सबै बैंकका घर कर्जा, गाडी कर्जालगायत सबै एउटै प्रकृतिका प्रडक्ट हन्छन्, यसमा नयाँ फरक केही हुँदैनन्, सबै बैंकको बचत, मुद्दती, कर्जा हुन्छ, अलिकति केही फरक हुन्छ,’ उनले भने । तर, प्रडक्टमा कपिराइट भने नलाग्ने उनको भनाइ छ ।
‘बैंकका प्रडक्टमा कपिराइट लाग्दैन, नाम फरक गरेर ल्याएका हुन्छन्, कपिराइट नै लगाउनु पर्ने समस्या छैन, आफूसँग भएको ग्राहकलाई अरु बैंकमा जान रोक्नुपर्ने बाध्यता हो, अहिले त सरकारी बैंकहरु वाणिज्य, कृषि विकास र नेपाल बैंकले समेत बाध्य भएर दिनुपर्ने बाध्यता आयो, पहिला–पहिला उनीहरुलाई मतलब हुँदैनथ्यो ।’
यस्तै, ग्लोबल आइएमई बैंकका डेपुटी सीईओ महेश शर्मा ढकाल कुनै बैंकले नयाँ प्रडक्ट ल्याउँदा अन्य बैंकको निक्षेप बाहिरिने गरेको बताउँछन् । बजारको माग अनुसार ग्राहकलाई सेवा दिनका लागि यस्ता योजना आउने गरेको उनको बुझाइ छ । समान खालको प्रडक्ट आउँदा ग्राहकलाई छनोट गर्न सक्ने बाटो खुला हुने उनको बुझाइ छ । समान किसिमको प्रडक्ट हुँदा ग्राहकलाई फाइदा नै हुने उनले बताए ।
‘आवश्यकता अनुसार कुनैले नयाँ प्रडक्ट ल्याए भने अरुको डिपोजिट त्यता जान्छ, नयाँ स्कीम ल्याउनु भनेको अरु बैंकको डिपोजिट तान्ने रणनीति हो, त्यो निक्षेप नखोसियोस् भन्नका लागि फरक तरिकाले समान प्रडक्ट ल्याएका हुन, ग्राहकको माग, मार्केटको सम्भावना, तरलता, बजार कुन ट्रेण्डमा गएको छ भनेर प्रडक्ट ल्याउने गरिएको छ,’ उनले भने, ‘समान खालको प्रडक्ट हुँदा ग्राहकले छनोट गर्न पाउँछन्, ग्राहकले यस्तै प्रडक्ट हुँदा अन्य बैंकसँग तुलना गर्छन् जहाँ राम्रो देख्छ त्यहाँ जान्छन्, ग्राहकलाई फाइदा नै हुन्छ ।’
बैंकका प्रडक्टलाई दर्ता गर्ने प्रचलन नहुँदा कपिराइटको मुद्धा नलाग्ने उनले बताए । कपिराइटको मुद्धा लाग्नका लागि प्रडक्ट दर्ता गर्नुपर्ने उनको भनाइ छ ।
‘बैंकको प्रडक्ट भनेर दर्ता गरिएको हुँदैन, दर्ता गरेको छ भने मात्रै कपिराइटको मुद्धा लाग्ने हो, कपिराइट लिएको हुनुपर्छ, कपिराइट लिएको छ भने मुद्धा लाग्ने हो, लिएको छैन भने लाग्दैन, नयाँ नयाँ प्रडक्ट, फिचर ल्याउँदा बैंकको श्रृजना पनि बढ्छ, बैंकको ब्राण्डिङमा पनि ठूलो सहयोग पुर्याउँछ,’ डीसीईओ ढकालले भने ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले बैंकका प्रडक्ट समान हुन सक्ने बताए । बैंकले निक्षेप र कर्जाका प्रडक्ट नै डेभलप गर्ने भएकाले समान हुन सक्ने उनको भनाइ छ । कुनै बैंकले एउटा प्रडक्ट डेभलप गरेमा अर्काे बैंकले मूल्य भेरियसन गरेर ल्याउन सक्ने उनले बताए ।
ग्राहकलाई जुन बैंकको प्रडक्ट राम्रो लाग्छ सोही बैंकमा जान सक्ने उनको बुझाइ छ । बैंकहरुलाई ब्याजदरको सीमा तोकिएको हुँदा प्रडक्ट पनि समान हुने गरेको उनको तर्क छ ।
‘बैंकहरुका प्रडक्ट समान हुन सक्छन्, बैंकहरुले डिपोजिट र क्रेडिटका प्रडक्ट नै डेभलप गर्ने हो, जस्तै कृषि कर्जाका लागि कुनै बैंकले प्रडक्ट बनायो भने उस्तै–उस्तै प्रडक्ट अर्काे बैंकले ल्याउन सक्छ तर प्राइस भेरियसन हुन्छ, ग्राहक आफूलाई कस्ट इफेक्टिभ जहाँ सस्तो पर्छ त्यहाँ जान्छ, बैंकले फाइदा हुने ठाउँमा मात्रै एप्रोच गर्छ,’ उनले भने, ‘ब्याजदर महत्वपूर्ण हो, ब्याजदर पनि समान हुन्छ किनभने सर्टेन प्रतिशत भन्दा भेरियसन गर्न नपाइने भएकाले समानता देखिएको हो ।’
बैंकहरुले इनोभसनमा जोड दिनुपर्ने उनको भनाइ छ । बैंकहरुमा इनोभेसन नहुँदा निक्षेप र कर्जाको प्रडक्ट समान हुनु स्वभाविक रहेको उनको भनाइ छ । बैंकहरुको सञ्चालक समितिले गरेको निर्णयलाई कपिपेस्ट भन्न नमिल्ने उनको बुझाइ छ । बैंकलाई आफ्नो बैंकिङ्ग सेवालाई कसरी पृथक बनाउन भन्ने सञ्चालक समितिको चासोको विषय भएको उनले बताए ।
‘कतिपय कुरा राष्ट्र बैंकले डाइरेक्टिभ लेण्डिङ तय गरेको हुन्छ, त्यो एरियामा पनि बैंकहरु पुग्नै पर्छ, बैंकहरुले इनोभेसन गर्न सकेमा झनै राम्रो हो, इनोभेसन गर्न नसक्दा लोन र डिपोजिटका प्रडक्ट समान हुनु सामान्य नै हो, अर्काे डिजाइनमा पनि समानता हुन सक्छ, पोखरेलले भने, ‘बैंकहरुको सञ्चलाक समितिले स्वीकृत गरेर निर्णय गरेको विषयलाई कपि पेस्ट गर्याे भन्न मिल्दैन, उहाँहरु आफै अलर्ट हुनुहुन्छ, बैंकको सेवा, प्रडक्ट कस्ता ल्याउने, बैंकलाई कसरी पृथक बनाउने राष्ट्र बैंकको चासो होइन सञ्चालक समितिको हो ।’
हालसम्म बैंकको प्रडक्टलाई कपी गरेको विषयमा अदालतमा मुद्दा भने परेको छैन । तर, बैंकरहरुले अनौपचारिक रुपमा यो बैंकले मेरो प्रडक्ट कपि गर्यो भन्ने आरोप भने लगाउने गरेका छन् ।