विकासन्युज

पारित भयो बीमा विधेयक, समिति छिट्टै प्राधिकरण बन्ने

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाले संशोधन गरेको बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्ने छ । त्यसपछि मात्रै लागू हुने छ । बीमा विद्येयकमा बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा रुपान्तरण हुने छ । प्रतिनिधसभाबाट पारित उक्त विधेयकको दफा ३८ मा नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ । प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले दुई अवस्थामा बीमकको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने विधेयकमा लेखिएको छ । बीमा कम्पनी समस्यग्रस्त परेको देखिएमा र बीमाको पोर्टफोलिया मध्ये कुनै प्रकारको बीमाको इजाजत खारेज भएमा चुक्ता पुँजी घटाउन प्राधिकरणले आदेश दिन सक्नेछ । विधेयकमा बीमकको चुक्ता पुँजी तोकिएको छैन । ‘बीमकको न्यूनतम चुक्ता पुँजी प्राधिकरणले समय समयमा निर्धारित गरे बमोजिम हुनेछ’ भनिएको छ । तोकिएअनुसार चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकको लाइसेन्स निलम्बन गर्ने अधिकार प्राधिकरणलाई दिइएको छ । बीमा समितिको सञ्चालकले निरन्तरता पाउने यो विधेयक २ वर्षअघि नै पारित हुने चरणमा पुगेको थियो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले बीमा समितिको तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागाईप्रति पूर्वाग्रह राखेर विधेयक पारितसँगै बीमा समितिको सञ्चालक समिति भंग गराउन प्रयास गरेपछि विधेयक अगाडि बढ्न सकेको थिएन । प्रतिनिधसभाबाट पारित विधेयकमा बीमा समितिको सञ्चालक समितिले बीमा प्राधिकरणमा निरन्तरता पाउने व्यवस्था गरिएको छ । स्नातकोत्तर पास नभएका व्यक्ति बीमाको सञ्चालक बन्न नपाउने धनी तर विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । बीमा कम्पनीको सञ्चालक बन्न स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ । तर चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरेकाले सञ्चालक बन्न पाउने प्रष्ट पारिएको छ । बीमा कम्पनीको सञ्चालक बन्न सीए, वा बीमा, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । विज्ञान लगायत अन्य विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरु बीमा कम्पनीको सञ्चालक बन्न अयोग्य हुने गरि बनेको विधेयक संसदको अर्थसमितिबाट पारित भएको छ । सेयर कारोबारीलाई पनि रोक नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार गर्न अनुमति पाएका व्यवसायीहरुलाई पनि बीमा कम्पनीको सञ्चालक बन्न रोक लगाइएको छ । बीमकको सञ्चालकको कार्यकाल ४ वर्ष हुने र पछि पुनः नियुक्त हुन सक्ने उल्लेख छ । तर विज्ञ सञ्चालक भए बढीमा ४ वर्ष मात्र सञ्चालक बन्न पाउने व्यवस्था गरिएको छ । सरकारी निकायमा कर्मचारी वा पदाधिकारी, एकाघर परिवारको दोस्रो व्यक्ति, आधारभूत सेयर नलिएको व्यक्ति, कम्पनीसँग स्वार्थ बाझिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन । यस्तै हाल बीमा क्षेत्रमा कार्यरत सर्भेयरहरु क्षेत्र विषेशको आधारमा काम गर्दैनन् । बीमा विद्येयकले सर्भेयरले गर्ने कामलाई विषेश विधागत आधारमा गर्ने व्यवस्था गर्नेछ । अहिले बीमा क्षेत्रमा काम गर्ने सर्भेयर सिभिल इन्जिनियरिङ्गसँग सम्बन्धित हो भने उसले मेकानिकल समेतको सर्भे गरेका पाइन्छ । तर, बीमा ऐन आए पश्चात सिभिल इन्जिनियरिङ्ग पढेको सर्भेयरले मेकानिकलमा सर्भे गर्न पाउँदैनन् । बीमा क्षेत्रमा सुशासन कायम गर्ने कुरामा बीमा ऐन केन्द्रित रहेको जानकारहरुले बताएका छन् ।

एकैदिन बहुमतले पारित भयो तीन विधेयक

काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ । त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ । प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

उपायको ढुवानी सेवा अब इसेवाबाटै बुक गर्न सकिने

काठमाडौं । उपायकोे ढुवानी सेवाहरु अब इसेवाबाटै बुक गर्न सकिने भएको छ । जसको लागि उपाय र इसेवाले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका हुन् । उक्त सम्झौताअनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ । प्रारम्भिक चरणमा इसेवाले आफ्नो एपमा ‘घर सराई सेवा’ समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ । असोज महिनादेखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ । उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ बताए । यता इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले इसेवाले आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जाने बताए ।

बैंक वित्तीय संस्थाबाट हुने लगानी पनि जनताकै लगानी हो : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ‘नेपालको पानी जनताको लगानी’ नारा सरकारले व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको बताएकी छिन् । बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाको लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सहवित्तियकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले माथिल्लो अरुण जलविद्युत आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्ने बताइन् । उनले अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने भनाई राखिन् । यो आयोजनाले नेपालका वित्तीय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने बताउँदै उनले बैंक वित्तीय संस्थाबाट हुने लगानी पनि जनताको लगानी र सर्वसाधरण सेयर दिनुपनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्च स्तरबाट पुष्टि हुँदै गएको दाबी गरिन् । ‘नेपालको पानी जनताको लगानी नारा अहिले सरकारले व्यवहारिक ढङ्गले कार्यान्वयन गर्ने स्थानमा पुगेका छौं, कसैलाई मन परोस् नपरोस् तर सत्यतथ्य यही हो, यो जलविद्युत आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्नेछ, अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक सामाजिक विकासमा योगदान गर्नसक्ने स्थानमा पुग्यौं, बुढीगण्डकी जलविद्युत आयोजना यो भन्दा बढी क्षमताको कम्पनी दर्ताको प्रक्रियामा पुगेको छ, लगानी खोज्ने विषयमा बाँकी छ तर अगाडि बढाउने अवस्थामा छौं, नेपालका वित्तिय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि हुनेछ, यो बैंक वित्तीय संस्थाबाट गरेपनि जनताको सेयर हो, जनतालाई सार्वसाधरण सेयर दिनुपनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्च स्तरबाट पुष्टि गर्न सकेका छौं,’ उनले भनिन् । मन्त्री भुसालले माथिल्लो अरुणभन्दा बढी क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी दर्ताको प्रक्रियामा पुगेको बताइन् ।

महामन्त्री गगन थापामा देखियो डेंगु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । ज्वरो आएपछि परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको थापाको सचिवालयले जानकारी गराएको छ । सचिवालयका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ । उनी घरमै आराम गरिरहेका छन् ।

न्युयोर्कमा पनि खाद्य अभाव, दशकौं पछि सबैभन्दा बढी घरबार बिहीन

न्युयोर्क ।  सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो ।  सन् १९३० को दशक पछि पहिलो पटक घरबार विहीन भएकाहरूको सङ्ख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् । न्युयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३३८ जना मात्रै घरबार विहीन रहेको जनाएको छ । विभागको वेबसाइटमा उल्लेखित ५५ हजार मध्ये १८ हजार भन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ ।   घरबार विहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ । रासस

आइएमई जनरल इन्स्योरेन्स र इसान चिल्ड्रेन अस्पतालबीच नगदरहित सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र इसान चिल्ड्रेन एण्ड वेमेन्स हस्पिटल प्रा. लि. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान चिल्ड्रेनका हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका हुन् । यो सम्झौता पश्चात आइएमई जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म इसान चिल्ड्रेन हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । कार्यक्रममा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अस्पतालले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखे । साथै, अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन उनले आग्रह समेत गरे ।

कागतीखेतीमा कृषकको आकर्षण, वार्षिक छ लाख कमाइ

त्रिवेणी । थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताए । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उनको भनाइ थियो । ‘कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्’, प्रमुख शर्माले भने, ‘तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।’ उनका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किसान कागती खेतीमा आबद्ध भएकामा अहिले क्रमशः सङ्ख्या बढ्दो रहेको इकाइ प्रमुख शर्माले बताए । जिल्लामा सामूहिकरुपमा १५ वटा समूहले कागती खेती गरेका छन् । जस्मा दुई वटा सहकारी र २५ वटा फर्म रहेका छन् । यी सबैमा गरी चार सय ५० घरपरिवार कागती खेतीमा आबद्ध रहेको उनले जानकारी दिए । जोन कार्यक्रममा समावेश नभएका केही कागती खेती गर्ने किसानसमेत रहेका छन् । उक्त परियोजनामार्फत सञ्चालित सुन्तला जात फलफूल जोन कार्यक्रममार्फत नवलपुरको बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यबिन्दुका केही वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । जोन कार्यक्रम सञ्चालनपछि विभिन्न अनुदान र प्राविधिक सहयोग भएकाले कृषक थप कागती खेतीतर्फ लागेका हुन् । अमिलो जातका फलफूलमा परियोजनाले सहयोग प्रदान गर्ने गरेको छ । परियोजनाको लगानीपछि अमिलो जातका फलफूल लगाउने क्षेत्रसमेत विस्तार भएको छ । इकाइ प्रमुख शर्माका अनुसार जोन कार्यक्रम सुरु हुने समयमा तीन सय ३० हेक्टर जमिनमा अमिलो जातका फलफूल लगाउने गरिएकामा अहिले सात सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमध्ये करिब दुई सय हेक्टर जमिनमा व्यावसायिक कागती खेती मात्रै हुने गरेको कार्यालय प्रमुख शर्माले बताए । नवलपुरको तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । कागती खेतीबाट वार्षिक छ लाख कमाइ नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका– ८, का नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । चार कट्ठा जमिनमा लगाइएको कागती खेतीबाट गत वर्ष उनले छ लाख रुपैयाँ आम्दानी गरे । यस वर्ष करिब नौ लाख रुपैयाँ आम्दानी हुने कृषक केसीले बताए । ‘गत वर्ष कोभिडले बजारमा समस्या भयो, तर पनि छ लाख रुपैयाँको कागती बेचेँ, यस वर्ष कागती अझै धेरै फलेको छ, करिब नौ लाख रुपैयाँ जतिको बेच्छु भन्ने लागेको छ’, उनले भने, ‘कागती खेतीअघि बाख्रापालन गरेका उनी २०७३ सालदेखि कागती खेतीतर्फ लागेका हुन्’, ‘बाख्रा पनि पालँे तर भनेजस्तो भएन, पछि यसको खेती सुरु गरे अहिले सोचभन्दा राम्रो आम्दानी दिएको छ’, केसीले भने । उत्पादन भएको कागती लिन व्यापारी बगैँचामा नै आउने गरेको उनको भनाइ थियो । सरदर अहिले प्रतिकिलोग्राम सयका दरले व्यापारीले बगैँचाबाट नै कागती खरिद गरी लैजाने गरेका छन् । काठमाडौँ, नारायणगढलगायत मुख्य सहरमा कागती खपत हुँदै आएको छ। बेच्न ‘समस्या छैन् घरमै व्यापारी आउँछन्, आफूले फलाउन सके मात्रै हुन्छ’, केसीले भने । उनले अहिले कागतीको नर्सरीसमेत सुरु गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रमअन्तर्गत केसीले नर्सरी सुरु गरेका हुन् । कागतीका बिरुवाको माग पूर्वदेखि पश्चिममा विभिन्न जिल्लाबाट हुने गरेको उनको भनाइ थियो । ‘परियोजना सञ्चालन भएका विभिन्न जिल्लामा बिरुवा माग आउँछ, सोहीअनुसार बिक्री गर्ने गरेको छु । कागतीको बिरुवा बेचेरसमेत राम्रो आम्दानी हुने गरेको छ’, केसीले भने । रासस