सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो सुरु
काठमाडौं । सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डपमा सुरु भएको छ । खाद्य, पेय पदार्थ र आतिथ्यतामा केन्द्रित यस एक्स्पो असोज २ गतेसम्म हुनेछ । एक्स्पोम ६० प्रतिशत विगत वर्षहरूबाट र बाँकी नयाँ प्रदर्शकहरु रहने आयोजकले जानकारी दिएको छ । एक्स्पोमा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ । एक्स्पो फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुने आयोजक बताउँछन् । आयोजकले एक्स्पोमा ३० हजार बढी आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको बताएको छ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ जना अन्य गरी उक्त सङ्ख्यामा मतदाता नामावली आज स्वीकृत गरेको हो । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी मतदाता सङ्ख्यासमेतका आधारमा आयोगले १० हजार आठ सय ९१ मतदान स्थल र सोअन्तर्गत २२ हजार दुई सय २६ मतदान केन्द्रहरु रहने गरी स्वीकृत गरेको जानकारी दिएका छन् । आयोगका अनुसार सबैभन्दा बढी मतदाता रहेका जिल्लाहरु मोरङ, झापा र काठमाडौं छन् भने सबैभन्दा कमतर्फ क्रमशः मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
रोयल इनफिल्ड ‘वान राइड २०२२’ हुँदै
काठमाडौं । नेपालको लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले ‘रोयल इनफिल्ड वान राइड २०२२’ कार्यक्रम आयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् । वान राइड बिश्वभर एकै दिन आयोजना गरिन्छ। यस पटकको राइडको नारा ुवान वल्ड्र, वान मिसन, वान राइड रहेको छ । ‘इडिर इनोे २०२२” कार्यक्रम यही असोज २ गते हुनेछ । बिहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ । उक्त राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै विभिन्न मनोरन्जनात्कम खेल तथा सिएसआरका कार्यहरुसमेत हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सिएसआरको कार्यक्रम अन्तर्गत चित्लाङमा रहेको श्री कालीदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने गर्ने छ । वान राइड को पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो ।
ललिता निवासदेखि साइकल खरिद प्रकरणको अनुसन्धान भइरहेको छ : अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गरे । सहभागीले ठूलालाई छाडेर साना मुद्दामा आयोग केन्द्रित भएको गुनासो गरेपछि त्यसको जवाफ दिँदै उनले ललिता निवासको जस्तै धेरै मुद्दाको अनुसन्धान भइरहेको जानकारी दिए । सरकारी सम्पत्ति दुरुपयोगका विषयमा महत्वपूर्ण अनुसन्धान भइरहेको उनको भनाइ थियो । मधेश प्रदेशको साइकल खरिद प्रकरणलगायत महत्वपूर्ण अनुसन्धान आयोगले गरिरहेको सिलवालले बताए । भ्रष्टाचार निवारण ऐन, २०५९ मा बनेको भन्दै उनले संसोधन हुन नसक्दा समस्या देखिएको बताए । उनले भने, ‘भ्रष्टाचार निवारण ऐन २० वर्षसम्म जस्ताको तस्तै त्यहीँ ठाउँमा रहेको छ ।’ सिलवालले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम नगर्न पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव दिए । पालिकाका प्रमुख, उपप्रमुख एवं भ्रष्ट्राचार निवारणका क्षेत्रमा काम गरेका सङ्घ संस्थाका प्रतिनिधि एवं सहभागीले राखेका जिज्ञासाको उनले जवाफ दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले ऐन कानुन सबैलाई समान भएको भन्दै भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समाजका सबै तह र तप्काको सहयोग बिना भ्रष्टाचार निवारण गर्न नसकिने बताए । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँँडाका प्रमुख नरहरि घिमिरेले भ्रष्टाचारका कारण, असर, लागत, आयोगसम्बन्धी संवैधानिक व्यवस्था, काम कर्तव्य, अधिकारलगायत विषयमा कार्यपत्र पेश गरेका थिए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गलत नीतिका कारण भएका नोक्सानको सुनुवाई गर्ने निकाय नहुँदा नीजि क्षेत्र प्रभावित बनेको बताए । कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखले काम गर्दा भए गरेको अफ्ठ्याराका विषयमा प्रश्न गरेका थिए ।
नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता हुँदै, विजेतालाई ४ लाख
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने भएको छ । २२ सेप्टेम्बरदेखि सुरु हुने यो ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’। नोभेम्बरमा सम्पन्न हुने भएकाे हो । पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रिफायर प्रतियोगिताको ‘पुल प्राइज’ चार लाख रुपैयाँ रहेको छ । यस बाहेक विजेता खेलाडीहरूका लागि विभिन्न गिफ्ट ह्याम्पर समेत रहेको सुबिसुले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि रजिष्ट्रेसन खुला भइसकेको छ । १५ सेप्टेम्बरदेखि सुरु भएको रजिष्ट्रेसन २० सेप्टेम्बरसम्म जारी रहनेछ । यहाँ क्लिक गरेर अथवा माथि फोटोमा रहेको क्यूआर कोड स्क्यान गरेर टिम दर्ता गर्न सकिनेछ । यसका साथै इच्छुक सहभागीहरूले सुबिसुको फेसबुक पेज तथा इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारे थप जानकारी प्राप्त गर्नुका साथै गेमको ‘रुलबुक’ समेत हेर्न सक्नेछन् । प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरको रूपमा रहेको छ भने इभेन्ट पार्टनरमा ओटुका जात्रा छ । सुरुवाती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको छ ।
सेलपेका ग्राहकलाई हरेक सेवामा क्यासब्याक, हवाई टिकट काट्दा १२ सयसम्म फिर्ता पाइने
काठमाडौं । सेलपे सेवाले दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत हवाई सेवामा १२ सयसम्मको क्यासब्याक, बस टिकटमा १० प्रतिशत क्यासब्याक, सुबिसु र भायनेटको इन्टरनेट बिल तिर्दा ५ प्रतिशत क्यासब्याक र साथसाथै रिचार्ज गर्दा ६ प्रतिशत क्यासब्याक पाइनेछ । कम्पनीको अनुसार यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी गर्न सकिन्छ । साथै, यसबाट फोनपे नेटवर्कका करिब ५० हजार मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिठुबी, बिटुपी, बिटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।
मोर फिज पेप्सी बजारमा
काठमाडौं । पेप्सीले अझ धेरै फिज भएको नयाँ पेप्सी बजारमा ल्याएको छ । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा कलाकार प्रदीप खड्काले नयाँ पेप्सी सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा पेप्सीको, नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले मोर फिज पेप्सीलाई उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिने बताए । यस्तै, पेप्सीका ब्राण्ड एम्बासडर समेत रहेका खड्काले सबैलाई नयाँ पेप्सी टेस्ट गर्न आग्रह गर्न अनुराेध गरे । कार्यक्रममा भिबिएल इन्टरनेशनल अपरेसन्सका सीइओ गिरीश शिवरमणले पेप्सीले उत्पादनको यात्रामा एक अर्को माइलस्टोन कायम गर्न सफल भएका बताए । ‘मोर फिज पेप्सीको सुरुवातसङ्गै हाम्रा उपभोक्ताहरूलाई बढी फिँजदार एवं स्फूर्तिदायक उत्पादन प्रदान गर्ने हाम्रो एक अर्को प्रयास सार्थक भएको महसुस हामीले गरेका छौँ,’ उनले भने । नयाँ मोर फिज पेप्सी सिंगल र मल्टि पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराईएको कम्पनीले जानकारि दिएकाे छ ।
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने
काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । आगामी माघ १९ गतेदेखि विराटनगरमा एक्स्पाे हुने भएकाे हाे । माघ २८ गतेसम्म बिराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरपुरमार्गमा हुनेछ । आयाेजककाे अनुसार एक्सपोमा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री हुनेछ । यसका साथै प्रदर्शनीमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकिकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायिकरण, पर्यटनको सम्भावनासँगै ति स्थानहरुको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने आयाेजकले जानकारी दिएकाे छ । कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि समेत महत्वपुर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने बताइएकाे छ । स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको परिसंघले बताएकाे छ । परिसंघकाे अनुसार प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटो मोवाइल्स, उत्पादन र सेवा मुलक उद्योगका सामाग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई बिशेष प्राथमिकताका साथ प्रस्तुत गरिने छ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरु रहने छन् ।