विकासन्युज

टारो मोटरसाइकल तथा स्कुटरको शोरुम इटहरीमा विस्तार

काठमाडौं । एस.जी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली वजारमा भित्र्याएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा तथा शोरुम विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ विभिन्न मिडियाकर्मी तथा इटहरीका विशेष अतिथिका बीच कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले उक्त शोरुमको उद्घाटन गरेका थिए । आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो ब्राण्ड मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो ब्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित ब्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका वाइक तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल कम्पनीले टारो व्राण्डका जिपि २ २००, जिपि १ २५० र जिपि १ ४०० सिसि गरी तीन मोडलका वाइक नेपाली वजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सिसिका दुई मोडल इमोला १५० र एलेक्स टि ९ १५० ग्राहकको लागी उपलब्ध गराएको छ । यस ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप सिबिएस ब्रेकिङ, कि लेस इगिनेसन, इएफआई, अन्डर सिट एक्ज्याउस्ट, टिएफटि डिस्प्ले, एरोडाइनामिकल्ली बुल्ट, प्रोजेक्टर हेडल्याम्प आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र बिक्री पछिको सेवालाई समेत विस्तार गर्ने योजना रहेको बताएको छ । दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० को खरिदमा १५,०००, जिपि २ २०० को खरिदमा ३०,००० र जिपि १ २५० को खरिदमा २०,००० छुटको अफर लागू हुने कम्पनीले जनाएको छ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्नुहुने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने जनाइएको छ ।

सरकारद्वारा मिटर ब्याज पिडितसँग ५ बुँदे सहमति

काठमाडौं । सरकारले मिटर ब्याज पिडितसँग ५ बुँदे सहमति गरेको छ । गृह मन्त्रालयले र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिसँग उक्त सम्झौता गरेको हो । सहमतिपछि संघर्ष समितिले काठमाडौं केन्द्रित रुपमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ । गृह मन्त्रालयले निर्माण गरेको मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक सहसचिव डा. भीष्मकुमार भूसाल र संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका थिए । सरकार र संघर्ष समितिका बीचमा मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने र मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ । साँवा ब्जाय पूरै चुक्ता गर्दा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न कानुनी व्यवस्था गर्ने विषयमा दुई पक्षबीचमा सहमति भएको छ । मिटर ब्याज पिडितको माग कार्यदलको प्रतिवेदनका आधारमा कार्यान्वयन गर्नको लागि मन्त्रिपरिषदमा पेश गर्ने सहमति भएको कार्यदलका अधिकारीकाले जानकारी दिएका छन् ।

परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन गर्न आवश्यक – प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति गर्न आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा भएको १० औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले सरकार विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि प्रयत्नरत रहेको बताए । उनले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताए । उनले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागि आह्वान गरे । उनले विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले भने, ‘हाम्रा विशिष्ट परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति, वैज्ञानिक आधुनिकीकरणका साथै समाजको परिवर्तन गरी अघि बढ्न आवश्यक छ । विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ । यस क्षेत्रमा सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागिसमेत आह्वान गर्न चाहन्छु । विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध छौँ । देशमा बढी भन्दा बढी वैज्ञानिक जनशक्ति उत्पादन गर्ने वातावरण निर्माण गर्न सरकारले जोड दिँदै आएको छ ।’ प्रधानमन्त्री देउवाले राष्ट्रिय विज्ञान दिवसले देशमा विज्ञान र प्रविधिको क्षेत्रलाई बिस्तार गर्न थप सहयोग पुग्ने विश्वास गरेको बताए ।

सुदूरमा पहिरो र डुबान, अछाममा १७ जनाको मृत्यु

महेन्द्रनगर । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए । ‘यकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ”, उनले भने, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।’ त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ । अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् । वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए। जिल्लाको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरु, लालझाडी गाउँपालिका–३, शुक्लाफाँटा नगरपालिका–१२, बेलौरी नगरपालिका–५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ । प्रहरी उपरीक्षक चौधरीका अनुसार अहिले डुबान परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । ‘केही जङ्गलमा बसेका छन् भने कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन्’, उनले भने, ‘बाढीले शुक्लाफाँटा–१२ दुवाहमा झोलुङ्गे पुलसमेत बगाएको छ ।’ जिल्लाभर उद्धारमा सुरक्षाकर्मी खटिएका छन् । “गए राति २ बजेदेखि नै प्रहरी टोली परिचालन गरिएको छ ।” त्यसैगरी वर्षापछि आएको बाढीका कारण कैलालीको चुरे गाउँपालिका–६ बालकोटस्थित भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं ५ र ६ स्थित भीमदत्त राजमार्गको अन्य पाँच स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध छ । कैलालीको भजनी नगरपालिका–८ पथरिया नदीमा बाढी आउँदा सोनाफाटा, दैलेखी, भरतान, जनकपुर र छछरहवा टोल डुबानमा परेको छ । नदीमा पानीको बहाब बढ्ने क्रम जारी छ । वडा नं ५ स्थित कान्द्रा नदीमा पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलमा बाढी पसेको छ । दार्चुलाका दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग पहाडी जिल्ला दार्चुलामा गत भदौ २४ गते वर्षासँगै पहिराबाट क्षतविक्षत भएका महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यी दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको प्रजिअ दीर्घराज उपाध्यायले बताए। वर्षाका कारण महाकाली र नौगाडमा ठूलो धनजनको क्षति भएको थियो । विपद् व्यवस्थापन समितिले मानवीय क्षति तथा भौतिक क्षतिको विवरण गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश र संघीय सरकारलाई पठाइएको नौगाडका अध्यक्ष दलजीतसिंह धामीले बताए। बाढीपहिरामा परी दार्चुलामा पाँचजनाको मृत्यु भएको थियो, भने १० जना बेपत्ता छन् ।

जबरा बिरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाउने

महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ । शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्वित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिएको बयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताए । उनले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गरेको र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिएको बताए । उनले भने, ‘आज शुरुमा नै म सबमा साइन गर्छु, खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिएका बयानमा हस्ताक्षर गर्नुभयो । त्यसपछि सदस्यहरुले प्रतिप्रश्न गर्नुभयो । प्रतिप्रश्न गर्दा थप प्रष्ट गर्ने काम भयो । दफाबार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो । पहिलो चरणको बैठक सम्पन्न भएको छ, दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ । दोस्रो बैठक ३ बजे बस्छ । दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेस हुन्छ । सचिवालयमा हामी बुझाउँछौँ । मस्यौदा ३ बजेको बैठकमा समितिमा पेस हुन्छ ।’ समितिको बैठकपछि सञ्चारर्कीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताए । उनले भने, ‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ । आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ ।’ समितिको दोस्रो बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । आजबाट दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ गतेदेखि सार्वजनिक बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो । आज बिहान ७ बजेदेखि बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड छ । टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नका लागि भीड लागेको देख्न सकिन्छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् । काठमाडौंबाट दशैँको समयमा लाखौं यात्रुले उत्पत्यका छोड्छन् । यातायात व्यवस्था विभागले दशैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ । यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय विभागले यसअघि नै गरेको थियो । यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ ।

‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्न गुरुङको पैँतीस दिनको पदयात्रा

बाग्लुङ । गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उनलाई एक वर्ष नपुग्दै पुनः डोर्यायो। त्यसैले यसपटकको उनको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो । अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक्नुभएका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गरे । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवद्र्धनमा ३५ दिन बिताएका हुन् । साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङबाट सुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो । उनले एकलरुपमै पैदलयात्रामा ३५ दिन बिताएका छन् । म्याग्दी जिल्लाको दरबाङबाट सुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट सुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुगेका थिए । ‘गत दसैँमा ढोरपाटन उपत्यकामा १४ दिन बिताएँ, एकल साइकल यात्रामा हिँड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यकाबाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यकासँँगै बुँकी क्षेत्रमै ११ दिन बित्यो”, गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो, “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाई नै गुरिल्ला पदमार्ग नामकरण गरिएको हो, यसको प्रवद्र्धन र विकास पछि पर्यटक ल्याउन आफू एकल यात्रामा निस्केको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माइकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।’ ढोरपाटन उपत्यकाबाट बुँकी एक दिनमै पुग्न सकिने भए पनि गुरुङले बुँकीमै केही दिन बिताएका थिए । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए । विसं २०७२ मा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो । गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रवद्र्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आएका गुरुङले बताए । ‘पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुँनुपर्दछ भन्ने मान्यता हो’, उनले भने, ‘गुरिल्ला पदमार्गको प्रवद्र्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउनसमेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।’ म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ । गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवद्र्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताए । दश वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरु पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ । गुरिल्ला पदमार्गको प्रवद्र्धन र विकासका लागि यसको स्तरोन्नति गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ उहाँले सुनाउनुभयो । यो पदमार्ग धौलागिरि चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्गभन्दा कम नभएको पनि उनले बताए । विसं २०७२ को भूकम्पको समयमा राहत र उद्धारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै बृहत् रहेछ भन्ने ठानेपछि त्यसलगत्तै पर्यटन प्रवद्र्धनसहित एकल यात्रा गर्दै आएका छन् । उनले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साइकल यात्रासमेत गर्दै आएका छन् । उनले सबैभन्दा बढी ४२ दिने एकल साइकल यात्रा २०७५ सालमा गरेका थिए। गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साइकल यात्रापछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताए ।

कर्णाली प्रदेश सभाबाट पाँच वर्षमा ५३ वटा कानूनको निर्माण भयो

कर्णाली । कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानुन निर्माण गरेको छ ।स्थापनाकाल यता प्रदेशसभाले निर्माण गरेका ती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको थियो । विसं २०७४ माघ २१ गते प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेशसभाको पहिलो बैठकदेखि दशौँ अधिवेशनको उनान्तीसौँ बैठकसम्म पारित भएका ५३ विधेयक कानुनका रुपमा प्रमाणीकरण गरिएका हुन् । स्थापनाकाल यता प्रदेशसभामा दर्ता ८३ विधेयक दर्ता भएका थिए । ‘प्रदेशसभामा ८३ विधेयक दर्ता भए पनि अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयकको लगत कट्टी गर्दा विधेयक ६४ पुगेका थिए’, सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, ‘यसमा ११ विधेयकबाहेक अरु सबै प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानून बनिसकेका छन् ।’ उनका अनुसार दर्ता भएका विधेयकमध्ये तीन निस्क्रिय र आठ अध्यादेश फिर्ता भएका थिए । त्यसैगरी सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयकको सङ्ख्या छ, प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी रहेका विधेयकको सङ्ख्या चार, टेबुल भई कारबाहीको प्रक्रियामा रहेको विधेयकको सङ्ख्या एक र सभाबाट स्वीकृत भएका अध्यादेशको सङ्ख्या आठ रहेको उनले बताए ।