विकासन्युज

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा. जागेश्वर गौतम

काठमाडौं । राष्ट्रिय चिकित्सक संघकोको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संघकोका निवर्तमान अध्यक्ष डा. सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सङ्घको महासचिवमा डा पुष्पमणि खराल, कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवमा डा मिलन गैरे, डा छवि पन्थी र डा क्रिष्टिना श्रेष्ठ रहेका छन् । सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ । केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ । यस्तै प्रदेश १ मा डा प्रमोद बराल, मधेसमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदीश थापा, गण्डकी प्रदेशमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा सागर न्यौपाने, कर्णाली प्रदेशमा डा कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा निरज अर्याल र काठमाडौं उपत्यकामा डा कालुसिंह खत्रीलाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष डा गौतमले चिकित्सकको हकहित र सङ्गठन विस्तारको काम गर्ने बताए। अहिले संघकोका बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कमिटी तथा देशभरि नौवटा शाखा रहेका छन् । उनले सातवटै प्रदेश, ७७ वटै जिल्ला, शिक्षण अस्पताल र प्रतिष्ठानमा सङ्गठन विस्तार गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचमा पु¥याउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मिलेर काम गर्ने जानकारी दिए । सङ्घमा देशभरि पाँच सय चिकित्सक आवद्ध रहेको बताइएको छ । रासस

अछाम पहिरो : मृतकको सङ्ख्या २२ पुग्यो

अछाम । अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाही छन् । यस्तै कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीय अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीय सिरु कामी छन । सोही कमलबजार ८ डुङाल्ला का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, छ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परी ११ जना घाइते भएका छन् । ती मध्ये तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । रासस

झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक

बनियानी । झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईंका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका)का पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले भारतबाट आयात गरिने मरेका माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको छ । बजार अनुगमनका क्रममा अस्वस्थकर मरेका माछा बिक्री वितरण भइरहेको पाइएपछि आ–आफ्नो पालिकामा मरेका भारतीय माछा बिक्रीमा रोक लगाउने निणर्य गरिएको बिर्तामोड नगर प्रमुख प्रसाईंले जानकारी दिए । त्यस्तै आ–आफ्नो पालिकामा माछा, मासु, तरकारी तथा खाद्यान्नलगायतका वस्तु बिक्री–वितरणको नियमित अनुगमन गर्न कृषि वा पशु सेवा शाखाको नेतृत्वमा बजार अनुगमन गर्ने संयन्त्र र कार्य प्रणाली बनाई कार्यान्वयन गर्ने, आ–आफ्नो पालिकमा खाद्यान्नको गुणस्तर, स्वच्छता, अखाद्य वस्तुको मिसावट, नक्कली उत्पादनजस्ता विषयमा सघनरूपमा बजारको अनुगमन गर्ने र सर्वसाधारणलाई सो विषयमा सचेत गराउन कार्ययोजना बनाएर लागू गर्ने पनि निर्णयसमेत गरिएको छ । यस्तै पालिकाहरूले कृषि उत्पादनको प्रेस्टिसाइज्ड मापनका लागि पालिकाहरूले आपसी सहकार्यमा विषादी परीक्षणका लागि ल्याबको व्यवस्थापन गरी परीक्षण गर्ने व्यवस्था मिलाउने, कृषिजन्य उत्पादनमा विषादी न्यूनीकरण गर्न सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय समेतको समन्वयात्मक भूमिकालाई अगाडि बढाउने जनाइएको छ ।

निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

दैलेख । निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ । गुरास गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत–दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ ।

सेबोनले २ वटा वस्तु विनिमय बजार सञ्चालन गर्न दिने, आवेदन माग

काठमाडौं । वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निवेदन खुला गरेको छ । सेबोनले आइतबार एक सूचना प्रकाशन गरी वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्ने बताएको हो । मुलुकको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षण समेतलाई दृष्टिगत गरी हाललाई दुईवटा वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति दिने बोर्डले बताएको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधिनमा रही वस्तु विनिमय बजार सञ्चालन गर्ने उद्देश्यले कानून बमोजिम सीमित दायित्वको संगठित संस्था संस्थापना गर्नु अघि बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था रहेको सेबोनले जनाएको छ । वस्तु उत्पादकलाई बजारसम्म पहुँच पुर्याउन, वस्तुको मूल्य आविष्कारमा सघाउन र मूल्य स्थिरता कायम गर्न, लगानीकर्ताहरूलाई लगानीको वैकल्पिक उपकरण प्रदान गर्ने लगायतका उद्देश्यले लगानीकर्ता मैत्री, प्रतिस्पर्धात्मक एवं अन्तार्राष्ट्रिय स्तरको प्रविधि र क्षमतायुक्त वस्तु विनिमय बजार सञ्चालन गर्न आवश्यक भएको सेबोनले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४, वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ र वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८ बमोजिम ४५ दिनभित्र निवेदन पेस गर्न बोर्डले अनुरोध गरेको छ ।

नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न आवेदन खुल्ला, स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि आवेदन खुलाएको छ । सेबानले आइतबार एक सूचना प्रकाशन गरी योग्य संस्थाहरुबाट नयाँ स्टक स्थापना गरी सञ्चालन गर्नका लागि निवेदन पेश गर्न भनेको हो । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित वास्तविक क्षेत्रका सङ्गठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिइने बोर्डले जनाएको छ । धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ सो अन्तर्गत बनेका नियम र निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम सीमित दायित्वको सङ्गठित संस्था स्थापना गर्न चाहनेले बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था रहेको बोर्डले जारी सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । बोर्डले धितोपत्र बजार सञ्चालन गर्न सङ्गठित संस्था स्थापना गर्न चाहनेलाई सिफारिस गर्न लागेको हुँदा सो प्रयोजनको लागि धितोपत्र सम्बन्धी ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिमका सर्तहरूको अधीनमा रही निवेदन पेश गर्न बोर्डले अनुरोध गरेको छ । सूचना प्रकाशित भएको मितिले ४५ दिन भित्र सबोन समक्षा निवेदन पेश गर्नुपर्ने छ । निवेदन पेश गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलीपल्ट कार्यालय समय भित्र निवेदन बुझाउन सकिनेछ । रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सर्त समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही नहुने बोर्डले जनाएको छ । यस्तै, सूचना बमोजिम पेस हुन आएका निवेदन स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा सुरक्षित रहने छ ।

नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलायो धितोपत्र बोर्डले

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि निवेदन खुला गरेको छ । आइतबार एक सूचना प्रकाशन गरी सेबानले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन खुला गरेको हो । धितोपत्र बजारलाई थप प्रतिस्पर्धा, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तराष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाउनका लागि नयाँ ब्रोकरको लाइसेन्स प्रदान गर्न लागेको बोर्डले जनाएको छ । नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने छ । यदि आवेदन दिने समयमा अन्तिम दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दोस्रो दिन पनि निवेदन दिन सकिने छ । धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न चाहने संगठित संस्था वा कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाइएको बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

स्थानीय तहलाई बजार अनुगमन गर्न मन्त्री बडुको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरुलाई बजार अनुगमन गर्न आग्रह गर्नुभएको छ । शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गरेका छन् । उनले दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मुल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताए । उनले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भएपनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताए । उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भएपनि ति तहहरुबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताए । मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखिकरण राख्न निर्देशन दिए । उनले कम्पनीको सम्पतिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देशन गरे । उनले भने, ‘नेशनल ट्रेडिङ र खाद्य संस्थान एक ठाउँमा आइसकेपछि यसको सम्पति धेरै बढेको छ । भौतिक सम्पति धेरै बढेको छ तर त्यसको क्यास सम्पतिमा तपाईहरु रुपान्तरण गरेर त्यसको व्यापारिक लाभ लिन सक्ने योजना तयार गर्नुस् । सहि अभिलेखिकरण हुन सकिरहेको अवस्था होइन भन्ने सुनिरहेको छु । यसलाई छिटोभन्दा छिटो अभिलेखिकरण गर्नुस् । र यो सम्पतिको सदुपयोग जनताको सेवामा, सस्तो सेवा दिन सकौँ । सस्तो सेवा धेरै ठुलो परिमाणमा दिन सकियो भने नाफा पनि कमाउनुहुन्छ । यसको परिमाण बढाउनुस् । अनुगमन पनि हुनुपर्ने अवस्था छ । गुणस्तरीय वस्तु सर्कुलेशनमा आउनुप¥यो । बजारको अनुगमन बढाउनुपर्छ । मन्त्रालय सचेत छ । बजार क्षेत्रमा पनि अनुगमनलाई यतिबेला हामीले विशेष रुपले जनशक्ति बढाएर अनुगमनको टिमहरु बढाएर, जनशक्ति बढाएर पनि हामीले अनुगमन बढाइरहेका छौँ मन्त्रालयको तर्फबाट । यो अनुगमन कार्य मन्त्रालयको निकायबाट मात्र सम्भव देखिएन । अनुगमनको निम्ति अधिकार जिल्लामा अझ बढाएको छ । प्रदेश र स्थानीय तहमा बढाएको छ । स्थानीय तहको अनुगमन त्यति प्रभावकारी, अपेक्षित ढंगले हुन सकेन । त्यसकारण उहाँहरु पनि लाग्नुभयो भने जनतालाई सहज ढंगले मुल्यमा नियन्त्रण गरेर सहज र सुपथ मुल्यमा दिन सक्ने स्पष्ट अवस्था छ । यसका लागि पनि हामी प्रयत्न गरिरहेका छौँ ।’ मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा विक्रि वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरुमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।