कस्मेटिक उत्पादनहरूमा हानिकारक रसायन, जसले ज्यानै समेत लिन सक्छ
एजेन्सी । तपाईंले पनि अनुहार सफा र चम्किलो बनाउन दाबी गर्ने क्रिमहरू प्रयोग गर्नुभएको हुनुपर्छ। यी कस्मेटिक उत्पादनले केही दिनमै अनुहारको रङ्ग निखार्न सक्छ तर के तपाईलाई थाहा छ कि यसको अत्याधिक प्रयोग तपाईको लागि घातक हुन सक्छ ? यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले छालालाई हल्का बनाउने क्रीम र उत्पादनहरूको गम्भीर साइड इफेक्टको बारेमा चेतावनी जारी गरेको छ अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् कि धेरै छालालाई उज्यालो बनाउने उत्पादनहरूमा हानिकारक तत्वहरू प्रतिबन्धित छन्, जुन तपाईंको छालालाई हानिकारक मात्र होइन, तर तिनीहरूको लामो समयसम्म प्रयोगले आँखा, मृगौला र फोक्सोमा गम्भीर समस्याहरू निम्त्याउन सक्छ। कतिपय अवस्थामा यीनको प्रयोगले निम्त्याउने रोगहरूले ज्यानसमेत लिन सक्छन्। कस्मेटिक उत्पादनमा प्रतिबन्धित हाइड्रोक्विनोन हाइड्रोक्विनोन र मर्करी धेरै कस्मेटिक उत्पादनहरूमा फेला परेको छ, एजेन्सीले एक समाचार विज्ञप्तिमा भन्यो। हाइड्रोक्विनोन युक्त उत्पादनहरूको प्रयोगले अनुहारमा दाग र सुन्निने, र केही अवस्थामा, छालाको स्थायी रङ्ग निम्त्याउन सक्छ। अर्कोतर्फ, पारा अत्यधिक विषाक्त मानिन्छ जसको अत्यधिक प्रयोगले स्नायु प्रणाली, पाचन र प्रतिरक्षा प्रणालीमा गम्भीर समस्या निम्त्याउन सक्छ। यस्ता उत्पादनमा विशेष सावधानी अपनाउनु पर्ने भएकाले दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढाउन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।अनुसन्धाताहरू भन्छन् कि छाला उज्यालो बनाउने उत्पादनहरू सामान्यतया छालाको टोनिङ, एक्ने, उमेरका दागहरू, झुकाव र चाउरीहरूका लागि उपचारको रूपमा बजारमा छन्। पसलहरूमा यी क्रीम, लोशन, साबुन वा पाउडरको रूपमा बेचिन्छन्। धेरै जसो त्यस्ता उत्पादनहरूमा केमिकल पाइन्छ जसले मेलानिनको उत्पादनलाई असर गर्न सक्छ र धेरै गम्भीर छाला समस्याहरूको जोखिम बढाउन सक्छ। मेलानिन मुख्यतया छाला, कपाल र आँखाको रंगको लागि आवश्यक हुन्छ। तिनीहरूको लामो समयसम्म प्रयोगले धेरै जीवनमा खतरनाक रोगहरूको जोखिम पनि बढाउन सक्छ। फोक्सो र मिर्गौला गम्भीर रोग हुन सक्छ एक अध्ययन प्रतिवेदनमा, स्वास्थ्य विशेषज्ञहरूले हाइड्रोक्विनोन र मर्करी युक्त उत्पादनहरूको लामो समयसम्म प्रयोगले तपाईंको छालाको प्राकृतिक रंगलाई हानि पुर्याउन सक्छ भनेर औंल्याए। यस्ता उत्पादनहरू विटिलिगो भएका केही बिरामीहरूको अनुसन्धानमा कारक भएको पाइयो। केही अनुसन्धानले उत्पादनमा पाइने मर्करी छालामा जम्मा भएर फोक्सो, मिर्गौला र आँखाका धेरै प्रकारका विषाक्तता र गम्भीर रोगहरू निम्त्याउन सक्छ भन्ने पनि संकेत गरेको छ। फोक्सो र मिर्गौला रोग पनि घातक हुन सक्छ। हाइड्रोक्विनोन युक्त उत्पादनहरू प्रतिबन्धित छन् यद्यपि धेरै कम्पनीहरूले छाला सेतो पार्ने र र दाग जस्ता समस्याहरूको उपचार गर्न यस्ता कस्मेटिक उत्पादनहरूमा हाइड्रोक्विनोन प्रयोग गर्दै आएका छन् । त्यस्तै, छालालाई उज्यालो बनाउने उत्पादनमा पाराको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ । यसका बाबजुद पनि विश्वभर धेरै कस्मेटिक उत्पादनहरू अन्धविश्वासपूर्ण रूपमा प्रयोग भइरहेको छ। अत्तर र डिओडोरेन्टमा पनि विषाक्त रसायन खतरा छालालाई उज्यालो बनाउने उत्पादनहरूमा मात्र होइन, अत्तर र सुगन्धजन्य पदार्थहरुबाट समेत हुनसक्छ । पेन मेडिसिन जर्नलमा प्रकाशित रिपोर्टका अनुसार केही डिओडोरेन्टमा एल्युमिनियम र प्याराबेन्स जस्ता यौगिकहरू भेटिएका छन्। यी यौगिकहरू छालामा अवशोषित हुन सक्छ र गम्भीर खतरा निम्त्याउन सक्छ। डिओडोरेन्टमा प्रयोग हुने एल्युमिनियम वा प्याराबेन्स यौगिकहरू कार्सिनोजेनिक नभए पनि तिनीहरूको लामो समयसम्म प्रयोगले संवेदनशील छाला र जोखिम कारक भएका मानिसहरूमा गम्भीर जटिलताहरू निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। के भन्छन् विज्ञ ? भारतकी छाला रोग विशेषज्ञ डा. दीप्ती नन्दन कस्मेटिक उत्पादनमा हानिकारक केमिकलको प्रयोग लामो समयदेखि चर्चामा रहे पनि त्यसको प्रयोग र मार्केटिङ भईरहेको बताउँछिन् । उनका अनुसार उपभोक्ताले आफ्नो सुरक्षाको लागि व्यक्तिगत रूपमा सावधानी अपनाउन आवश्यक छ। त्यस्तै उनले उपभोक्ताहरूले कस्मेटिक सामग्रीहरु खरिद गर्दा लेबल जाँच गर्नुपर्छ, ताकि हामीले गरेको वस्तुमा के सामग्रीहरू मिलाइएको छ भनेर थाहा पाउनुपर्दछ ।
८ कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालसम्म विभिन्न ८ वटा कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ । सेबोनले ग्लोबल इक्विटी फण्ड, अवसर इक्विटी, एनआईसी एशिया क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, एनआईविएल एस क्यापिटल, एनएमबि क्यापिटल, प्रभु क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको हो । नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र नयाँ व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्डमार्फत् अर्थतन्त्रमा लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने गरी लागू भएको ‘विशिष्टिकृत लगानी कोष नियमावली, २०७५’ को व्यवस्था अनुरुप बोर्डले विशिष्टीकृत लगानी कोषको स्थापना तथा संचालन गर्ने कार्यका लागि ८ वटा संस्थालाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको हो । अनुमतिपत्र प्राप्त विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरु यसअघि बोर्डबाट धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेका संस्थाहरु रहेको बोर्डले जनाएको छ । यी संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान भएसँगै धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य क्षेत्र समेत विस्तार भएको बोर्डको दाबी छ । यसले विना धितो साना तथा मझौला संस्थाहरुको पहुँच बढ्न गई नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने बोर्डले अपेक्षा गरेको छ ।
फेवातालको मापदण्डभित्रका क्षेत्रमा भौतिक संरचना निर्माणमा रोक
कास्की । देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ । महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको हो । पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी गरी तालको मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ । सर्वोच्च अदालतबाट महानगरपालिकालाई तालको मापदण्डभित्र कुनै पनि संरचना निर्माणकार्य रोक्का गर्न आदेश भएकामा सोहीअनुसार निर्माणमा रोक लगाइएको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार अदालतको आदेशको अवज्ञा गर्दै विभिन्न निर्माणकार्य भइरहेकाले त्यस्ता अनधिकृत संरचना निर्माणकार्य तत्काल रोक्न आग्रह गरिएको हो । ताल किनारका विभिन्न स्थानको शनिबार अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेशविपरीत नयाँ संरचना निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले ती संरचना निर्माणकार्य तत्काल रोक्नका साथै निर्माण सामग्री जफत गर्न नगर प्रहरीलाई निर्देशनसमेत दिए । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने उनले चेतावनी दिए । प्रमुख आचार्यसहितको टोली फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसारसम्म पुगेर निरीक्षण गरेको हो । फेवातालको माथिल्लो जलाधार क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुङ्गा माटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फकाईने महानगरले जनाएको छ । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि बाहेक अन्य कार्यमा उपयोग गर्न नपाइने व्यवस्था छ । यसअघि गत चैतमा पोखरा महानगरले फेवातालको मापदण्ड घटाएर ३० मिटरमा झार्ने कार्यपालिका बैठकबाट निर्णय गरेको थियो । महानगरको सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले गत असार १३ गते मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेको फेवाताल प्राकृतिक तथा मानवीय अतिक्रमणको चपेटामा परेको छ । ताल संरक्षणका लागि विभिन्न समयमा पटक–पटक प्रयास हुँदै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन । पछिल्लो समय तालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले तालको क्षेत्रफल यकिन गरी आफ्नो प्रतिवेदन बुझाएको वर्ष दिनभन्दा बढी समय व्यतित हुँदासमेत तालको सीमाङ्कनका लागि काम भएको छैन । रासस
जबराले ११ बजे सर्वोच्च अदालतमा पुग्छु भनेपछि प्रहरी परिचालन
काठमाडौं । सर्वोच्च अदालत प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार ११ बजे सर्वोच्च अदालतमा पुग्छु भनेपछि उनलाई रोक्न प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरिएको हो । शनिबार संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए । संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ ।
खुला ब्याजदरका कारण अर्थतन्त्रमा थप संकुचन आउँछ : अम्बिका पौडेल
काठमाडौं । बैंकिङ्ग क्षेत्रमा निक्षेप सुधार हुँदै गएका बेलामा ब्याजदर बढ्दा अर्थतन्त्रमा संकुचन आउने लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै बैंकिङ्ग क्षेत्रमा निक्षेप क्रमशः सुधार हुँदै गएका बेलामा ब्याजदर खुला छाड्दा अर्थतन्त्रमा थप संकुचन आउने बताएका हुन् । यस्तै, उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा राष्ट्र बैंक र अर्थमन्त्रालयले केही विचार गर्नुपर्ने समेत बताएका छन् । बिस्तारै सहज हुँदै गएको अर्थतन्त्रलाई नीतिको कारण असहज नबनाउन उनले आग्रह गरेका हुन् । खुला ब्याजदर कायम गर्दा अर्थतन्त्रमा थप संकुचन आउने र आर्थिक र मौद्रिक नीतिले लिएको लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको उनको भनाइ छ । ‘बैंकिंग क्षेत्रको निक्षेपमा क्रमश सुधार हुँदै आईरहेको, अनुत्पादक क्षेत्रको कर्जा बिस्तार नियन्त्रण हुँदै गईरहेको बर्तमान अवस्थामा नेपाल बैंकर एशोसियसनले एकाएक खुला ब्याजदर कायम गर्नुले अर्थतन्त्रमा थप संकुचन आई आर्थिक र मौद्रिक नीतिले लिएको लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएकोले तत्काल अर्थमन्त्रालय र राष्ट्र बैंकले केही विचार गर्न ढिलो नगर्ने हो कि ?,’ उनले भने, ‘बिस्तारै सहज हुँदै गएको अर्थतन्त्रलाई नीतिको कारणले असहज नबनाऊ ।’
दशैंका लागि रसुवागढी नाकाबाट भित्रिन थाले सामानका कन्टेनर
रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो । आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो । गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ । सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ । बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् । व्यापारीलाई परेको मर्का समाधान गरी रोकिएर बसेको सामग्री कूटनैतिक पहलबाट दशैँअगावै आयात गर्न सहजीकरण गरिदिनुहुने परराष्ट्रमन्त्रीलगायत सबै अधिकारीमा व्यापारीका तर्फबाट धन्यवाद ज्ञापन गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए । नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग अवरूद्व भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको बताए । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ । अर्कोतर्फ समस्या पर्दा दुई सय १६ मेगावाट अपरत्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएकोे छ । गत साउन २४ गते रातिको वर्षाले क्षतिग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङल्हामु मार्ग भने छिटो छरितो पुनःनिर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ग्यावियन जाली भर्ने काम ८५ प्रतिशत पूरा भएको प्राविधिकले जानकारी दिएका छन् । सडक सतहमा माटो भर्ने, रोलरले माटो थिच्ने र ढुङ्गा सोलिङ गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ । बनुवा घुम्तीको पासाङल्हामु मार्ग बन्द भएपश्चात् उत्तरी रसुवाको विकास निर्माणका कार्य ठप्प हुनुका साथै उपकरण ढुवानी गर्न नपाउँदा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासमेत प्रभावित भएको बताइएको छ । रासस
विराटनगर महानगरले गुनासो सुन्न र सम्बोधन गर्न सञ्चालनमा ल्यायो हटलाइन सेवा
विराटनगर । विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ‘कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ’, उनले भने, ‘त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान गरिने छ ।’ महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेरसमेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको प्रमुख कोइरालाको भनाइ छ । उgका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो । असोज १ गतेदेखि भने औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो । हटलाइन व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिए । हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर प्रमुख एवं उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ । रासस
बेनी–जोमसोम सडक सास्ती र जोखिम
म्याग्दी । पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो । ‘कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हुँदैन”, उनले भने, ‘खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।’ राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ । बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । बीच बाटेमै अलपत्र पर्नुपर्ने अथवा गाडी परिवर्तन गर्नुपर्ने समस्या छ । जोमसोमबाट शनिबार बेनी आइपुग्न काठमाडौँका तीर्थ श्रेष्ठले पहिरोका कारण पूरै दिन लागेको बताए । ‘अघिपछि जोमसोमबाट चार घण्टामै बेनी आइपुगिन्थ्यो,’ उनले भने, ‘यसपालि पहिरोले बिहान ६ बजे हिँडेको साँझ ७ बजेमात्र बेनी आइपुगियो ।’ राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरोन्नतिको क्रममा रहेको छ । मुस्ताङको घाँसा देखि जोमसोम खण्डको पुल नभएको ठाउँ बाहेकका ठाउँमा सहज यातायात सञ्चालन भइरहेको छ । भिरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला वस एकतर्फी मात्र आवत जावत गर्न सक्छन् । बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजर लगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छाउने र यातायात सञ्चालन गर्ने गरिएको बताए । म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उहाँको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरेखोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । बेगखोला र रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् । काठबेनीमा दिवङ्गत पितृलाई सोह्रश्राद्धमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको चाप बढ्न थालेको छ । यसैगरी मुस्ताङ भ्रमणको याम पनि सुरु भएको छ । सडकको समस्याले मुस्ताङमा उत्पादन भएको स्याउ र आलुलगायत कृषि उपज निकासीमा समस्या भएको छ । रासस