शुक्रबारको अन्तिम कारोबारमा दोहोरो अंकले घट्यो बजार
काठमाडौं । शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १४.१० अंकले घटेर १९१०.३८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो । बजारमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये रिडी पावर कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । टप गेनरको शीर्ष स्थानमा नबिल ब्यालेन्स्ड फण्ड २ रहेको छ । फण्डको इकाई मूल्य ७.८७ प्रतिशतले बढेर प्रतिइकाई ९.६० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ९८० रुपैयाँमा झरेको छ । बजारमा म्युचुअल फण्ड समूह उकालो लागेको छ । बाँकी समूह ओरालो लागेको छ । यससँगै अब असोजदेखिको सेयर कारोबार ५ दिनमात्रै खुल्ने छ । हाल आइतबारदेखि शुक्रबारसम्म कारोबार हुँदै आएको बजारमा अब भने आइतबारदेखि बिहीबारसम्म मात्रै हुने छ ।
सेञ्चुरी बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट
काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले चितवनकाे जंगल भिल्ला रिसोर्ट र काठमाडाैंस्थित त्रिसारासँग बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झाैता गरेकाे छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमूख सुहानी गिरी र त्रिसाराका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरेका छन् । सम्झाैता अनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, तथा बैकका कर्मचारीहरुले जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट पाउनेछन् । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ्ग फ्याकट्रीमा समेत उपलब्ध हुने बैंकल जानकारी दिएकाे छ । बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टकाे एकोमोडेशन शुल्कमा १५ प्रतिशत र त्रिसरामा १० प्रतिशत छुट पाउनेछन् ।
स्वदेशी फूलको कारोबार बढ्यो, वर्षमै दुई अर्ब ३० करोडकाे किनबेच
काठमाडौं । स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८/७९ मा दुई अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ । आव २०७७/७८ मा एक अर्ब ६३ करोड रुपैयाँको व्यापार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । विभिन्न ४८ जिल्लामा हाल एक सय ७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ । गत वर्ष भारत, चीन, नेदरल्याण्ड, भियतनाम, जापान, थाइल्याण्डबाट करिब ३६ करोडको फूल आयात भएको छ भने करिब एक करोडको निर्यात पनि गरिएको एशोसिएशनले जनाएको छ । एशोसिएशनको ३० औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक शान्ता कार्कीले व्यवसायलाई प्रवद्र्धन गर्न उनीहरुका दक्षता अभिवृद्धि तथा उत्पादन बजारीकरणमा देखिएका समस्या समाधान गर्न विभागले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भू–उपयोगको अधिकार स्थानीय तहमा रहेकाले जमिन भाडामा लिन, व्यवसाय प्रवद्र्धन गर्न स्थानीय सरकारसँग समेत समन्वय गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जन श्रेष्ठले देशको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि सरकारले व्यवसायीलाई सहयोगी नीति अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा ‘पुष्प प्रवद्र्धन नीति’ २०६९ सङ्घीय प्रकृतिको रहेकाले त्यसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्नेमा व्यवसायीले सुझाएका थिए । रासस
बससेवाले सुरू गर्यो दशैँका लागि अनलाइन टिकट बुकिङ्ग, मोबाईलबाटै सबै ठाउँको टिकट काट्न सकिने
काठमाडाैं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाईल मार्फत सहजै काट्न सकिनेछ । बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुहरूले पर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यात्रुहरूले असोज १ गतेदेखि मोबाईल देखि नै आफ्नो गन्तब्यको टिकट काट्न सक्नेछन् । अनलाइन टिकट सुविधाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘हामीले विगत देखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका थियौँ, यस पटक हाम्रो सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ्ग गरि सहज रुपमा यात्रा गर्नुहुन अनुरोध गर्दछौँँ ।’ अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर रहेका इसेवाका १ लाख ५० हजार भन्दा बढि एजेन्ट नेटवर्कबाट समेत टिकाट काट्न सकिनेछ । साथै खल्ती,आइएमईपेका एजेन्ट नेटवर्कंका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आवद्ध रहेका छन् ।
टिकट पाएमा पूर्व गभर्नर डा. नेपालको प्रतिस्पर्धा ठाकुर गैरेसँग, जित्ने सम्भावना कसको बढी ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिबी नेपालले आगामी मंसिरमा हुने निर्वाचनमा संघीय सांसदको उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंक, विश्व बैंक, लगायत विभिन्न संस्थामा लामो समय काम गरेका नेपाललाई नेपाली काँग्रेस पाल्पा जिल्ला कार्यसमितिले निर्वाचन क्षेत्र नम्बर दुई को उम्मेदवारको लागि सिफारिस गरेको छ । उम्मेदवारीको लागि सिफारिस हुनेहरुमा नेपालसहित अन्य दुई जना पनि रहेका छन् । तर, नेपालले आफ्नो उम्मेदवारीको विषयमा सम्पूर्ण पार्टी र जनस्तरमा उत्साह भएको र आफुले टिकट पाउनेमा विश्वस्त भएको प्रतिक्रिया दिएका छन् । गठबन्धको तर्फबाट टिकट तय गर्दा पनि आफ्नो उम्मेदवारीमाथि परिचित भएको नेपालको भनाइ छ । विगतमा नेपाल राष्ट्र बैंक लगायत विभिन्न क्षेत्रमा रहेर काम गर्दा पाल्पा क्षेत्र नम्बर दुई को विकासका निम्ति आफूले ठूलो भूमिका खेलेको आफुले टिकट पाउनेमा ढुक्क भएको उनको भनाइ छ । पाल्पा जिल्लामा वित्तिय संस्था विस्तारको लागि महत्वपूर्ण भूमिका खेलेको, कतिपय सडक, विद्यालय लगायत क्षेत्रमा विकासको लागि काम गरेको नेपालको भनाई छ । अब पाल्पा, बुटवल, गुल्मी र स्याङ्जा लगायतका जिल्लाको विकासका लागि आफ्नो उम्मेदवारी आवश्यक भएको नेपालले विकासन्युजलाई बताए । गभर्नर भएर काम गरिसकेको मान्छे आफ्नो क्षेत्रको विकास गर्नका लागि सांसद बन्नैपर्छ त भन्ने सन्दर्भमा उनले गभर्नर हुँदा आँफूले नेपाल राष्ट्र बैंकको आधुनिकिकरण गर्नेदेखि बैंकिङ क्षेत्रमा सुधार गर्ने धेरै कामहरु गरेको बताए । तर, नेपाल राष्ट्र बैंकमा बसेर नीतिगत तहमा काम गर्न नमिल्ने भएकाले आगामी दिनमा नीतिगत तहमा रहेर मुलुकको विकासका निम्ति काम गर्न इच्छुक रहेको नेपालको भनाइ छ । सांसदमा कानून बनाउने अधिकार भएको हुने हुनाले त्यो ठाउँमा पुगेर धेरै काम गर्न सक्ने उनले बताए । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा वर्षौंदेखि देखिएको समस्या समाधान गर्ने विषय नै नेपालले आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन् । ‘पाल्पाको दोभानमा जुन सधँै पहिरो जाने समस्या छ, सोही समाधानको लागि पहिलो र अन्तिम एजेण्डा मेरो त्यही नै हो’, नेपालले भने । उनले भने, ‘सिद्धबाबा क्षेत्रको ५/६ किलोमिटर सडकखण्डलाई सुधार गर्दा नै यो पाल्पा र बुटवल क्षेत्रमा ठूलो विकास हुन्छ, पाल्पामा पर्यटनको विकास गर्न र बुटवल बजारको थप विस्तार गर्नका लागि यो अनिवार्य विषय हो ।’ आफ्नै पहलमा ९ वर्षअगाडि सो सडक खण्डमा देखिएको समस्यालाई स्थायी रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको भन्दै नेपालले यो बीचमा सो सम्बन्धी निर्णायक रुपमा काम हुन नसकेको बताए । आफूहरुले तत्कालिन समयमा गरेको छलफलमा एउटा बिकल्पको रुपमा सुरुङमार्गपनि आएको तर सुरुङमार्ग बन्नुभन्दा अगाडि वैकल्पिक सहज बाटो छिटो तयार गर्नुपर्ने उनी बताउँछन्, ‘निश्चित रुपमा सुरुङमार्ग निर्माण गर्नुभन्दा अगाडि नै सहज बैकल्पिक बाटो बनाउने भन्ने कुरा भैसकेको छ, म नीतिगत तहमा पुगेपछि सम्बन्धित क्षेत्रलाई सक्रिय बनाएर काम गराउँछु’, नेपालले भने । सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा रहेको समस्या समाधान भएपछि सो पाल्पादेखि बुटवल क्षेत्रका मानिसहरु रातारात करोडपति बन्नसक्ने नेपाल बताउँछन् । ‘जब त्यो सुरक्षित बाटो हुन्छ, सुरक्षित बाटो भइसकेपछि बुटवलको शहर विस्तार हुँदै जान्छ, उत्तरतिर विस्तार हुनेवित्तिकै त्यहाँ बसेका मानिसहरु रातारात करोडपति हुन्छन्’, उनले भने, ‘जसरी काठमाडौंमा रिङरोड बाहिरको जग्गा कसरी महंगो भयो ? अहिले पहाड डाँडाकाँडाहरु कसरी महंगो भयो ?’ बाटो सहज भएपछि पाल्पामा उत्पादन भएका वस्तुहरु बिक्री गर्न सहज हुने उनको भनाइ छ । साथै रुपन्देही र पाल्पाको छोटो दुरीमा हावापानीमा ठुलो भिन्नता भएकाले सिद्धार्थ राजमार्गमा यातायातको सहजता भइसकेपछि पाल्पामा पर्यटन क्षेत्रको विकासमा सहजता हुने नेपालले बताए । सबैभन्दा महत्वपूर्ण कन्केक्टीभीटी भएकाले राजमार्ग सहज हुनेवित्तिकै वातावरण तयार भएर धेरै कुराहरुको आँफै विकास हुने नेपाल बताउँछन् । बुटवलको बजार विस्तार हुन नसक्नुको मुख्य कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा रहेको समस्या भएको बताउँदै नेपालले सो समस्या समाधान भएमा बुटवलको बजार समेत विस्तार हुने बताए । सिद्धार्थ राजमार्गको सडक खण्डलाई व्यवस्थित गर्दा कनेक्टिीभिटी पनि जोडिने, पर्यटन क्षेत्रको विकास हुने, उत्पादन विस्तार हुने र रोजगारी सिर्जना हुने जस्ता सकारात्मक प्रभावहरु देखापर्ने नेपालको भनाई छ । सोही कारणले आफूले आगामी चुनावमा सोही ऐजेण्डालाई मुख्य बनाएर अगाडि बढेको उनले बताए । पाल्पा बाइसे चौबिसे राज्यको समयमा पनि बलियो क्षेत्र भएको, राणाकालमा पनि बलियो भएको भन्दै पछिल्लो समय मुख्य कनेक्टिभीटीमा राम्रो गर्न नसक्दा पछाडि परेको नेपालको भनाइ छ । पुरानो एतिहासिक पृष्ठभूमी भएको क्षेत्रलाई संरक्षण गर्दै थप विकास गर्नको लागि कनेक्टिभीटीमा सुधार गर्नु अवको आवश्यकता भएको उनी बताउँछन् । ‘हरेक कुरामा अगाडि रहेको ठाउँ तर, कनेक्टिीभीटीको कुरामा हामीले ध्यान नदिँदा पाल्पा पछाडि पर्यो’, उनले भने, ‘मैले नै शुरुदेखि उठाएको हो दोभानको विषय, विष्णु पौडेल मन्त्री बन्नुभन्दा ९ वर्ष अगाडि यस क्षेत्रसँग सम्बन्धित १६/१७ जना सभासद बसेर छलफल गरेका हौं ।’ आफूले शंकर पोखरेल मुख्यमन्त्री बन्दा पनि दोभान क्षेत्रको विषयलाई उनीसमक्षा राखेको तर सो सम्बन्धमा थप काम हुन नसकेको बताए । टिकट पाए जित्ने सम्भावना कति ? गठबन्धनको तर्फबाट नेपालले टिकट प्राप्त गरेमा गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको नतिजालाई हेर्दा उनले चुनाव जित्न सक्छन् भनेर अनुमान गर्न सकिन्छ । पाल्पाको निर्वाचन क्षेत्र नम्बर दुईमा ५ वटा पालिका पर्छन् । जसमा तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिका, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिका रहेका छन् । गत बैशाखमा भएको निर्वाचनमध्ये अधिकांश स्थानीय तहमा नेपाली कांग्रेश र माओवादीका उम्मेदवारले बिजयी हासिल गरेका थिए । पाल्पाको निर्वाचन क्षेत्र नम्बर दुईमा पर्ने पालिकाहरुमा गत वैशाखमा भएको निर्वाचनमा अहिले गठबन्धनमा रहेका दलहरुले ५ वटा पालिका मध्ये ३ वटा पालिकाको प्रमुखमा बिजयी हासिल गरेका थिए भने २ वटा पालिकाको प्रमुखमा एमालेले बिजयी हासिल गरेको थियो । मतको आधारमा हेर्दा सो निर्वाचन क्षेत्र नम्बर अन्तर्गत पर्ने पालिकाहरुको प्रमुखमा वर्तमान गठबन्धनमा रहेका दलहरुले प्राप्त गरेको मत ३३ हजार ७ सय १९ थियो । जहाँ एमालेले ३२ हजार ८ सय २१ मत प्राप्त गरेको थियो । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तानसेन नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २ सय ७३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरेका थिए । उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)की प्रतीक्षा सिँजाली ११ हजार १ सय ५१ मत प्राप्त गरी विजयी भएकी थिइन् । यस हिसाबले पनि सो नगरपालिकामा गठबन्धन नै बलियो देखिन्छ । तानसेनमा २०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख दुवै पदमा एमाले फराकिलो मतान्तरले विजयी भएको थियो । यस्तै, पाल्पाकै क्षेत्र नम्बर दुईमा पर्ने रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका थिए । कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाएका थिए । उपाध्यक्षमा माओवादी केन्द्रका थापाले ६ हजार ३ सय ७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत प्राप्त गरेकी थिइन् । यस गाउँपालिमामा पनि गठबन्धन नै अगाडि देखिन्छ । पाल्पाकै रिब्दिकोट गाउँपालिकामा पनि गठबन्धन नै विजयी भएको थियो । गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्कीले ५ हजार ७०४ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणबहादुर जिसीले चार हजार ७२६ मत पाएका थिए । उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी पाँच हजार ४७९ मत पाएर विजयी भएकी थिइन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९२६ मत मात्रै प्राप्त गरेकी थिइन् । यस्तै, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकामा एमाले विजयी भएको थियो । तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठले ५ हजार ९० मत ल्याएर विजयी भएका थिए भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापाले ५ हजार ८२ मत प्राप्त गरेर विजयी भएका थिए । बगनासकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । अध्यक्षमा नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) र उपाध्यक्षमा हरि पाठक विजयी भएका थिए । अध्यक्षमा विजयी भएकी दर्लामीले ६ हजार ४ सय ६६ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत पाएकी थिइन् । पाँच वटा पालिका रहेको चितवन क्षेत्र नम्बर दुईमा तीन वटा पालिकामा गठबन्धन र दुइटामा नेकपा एमाले विजयी भएको देखिन्छ । चिरञ्जिवी नेपाललाई गठबन्धनले उम्मेदवार बनाएमा जित्ने सम्भावना बढी देखिन्छ । ठाकुर गैरेसँग भिडन्त पाल्पा क्षेत्र नम्बर दुईबाट एकल रुपमा सिफारिस भएका नेकपा एमालेका नेता ठाकुर गैरेसँग गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । एमाले पोलिटब्यूरो सदस्य रहेका ठाकुर एमालेमा अवसर नपाएका नेताका रुपमा पनि चिनिन्छन् । काँग्रेसबाट क्षेत्र नंं दुईमा डा. चिरञ्जिवी नेपालसँगै वीरबहादुर राना, हरि प्रसाद नेपाल र सिफारिस भएका छन् भने माओवादी केन्द्रले अनिल किशोर घिमिरे र कोशल राज न्यौपानेको नाम सिफारिस गरेको छ । एकिकृत समाजवादीले लेखनाथ पोखरेल सिफारिस गरेको छ । तर, पाल्पा क्षेत्र नम्बर दुईमा एकिकृत समाजवादीले टिकट पाउने सम्भावना बढी देखिन्छ । गठबन्धनबीच भएको हालसम्मको सहमति अनुसार पाल्पा दुईमा समाजवादीले पाउन सक्छ । सो क्षेत्रमा समाजवादीले टिकट पाएमा एमालेका गैरे र समाजवादीका पोखरेलबीच प्रतिस्पवर्धा हुनेछ । तर, काँग्रेसले पाएको खण्डमा भने डा. नेपालले गैरेसँग प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ ।
चितवनमा सात मिटरब्याजी विरुद्ध जिल्ला प्रहरीमा मुद्दा दर्ता
चितवन । जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ । दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । उनका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मद्दा छलफलमा छन् । ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिलाई बोलाउने क्रममा रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलको कानुनी प्रक्रिया सुरु गरिएको बताए । उनले भने, ‘अनुसन्धान सुरु गरिएको छ । कुन कानुन आकर्षण हुन्छ । सरकारी वकिलसँगको परामर्शमा छौँ ।’ जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीका विरुद्धमा २२ वटा उजुरी परेको छ । रासस
भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक
नेपाल । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने कम्पनी बताउँछ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । भिभो वाई ३५ र वाई २२ मा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।’ भिभो वाई३५ ले प्रयोगकर्ताहरूलाई थप सहज अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जिबी र्याममा थप ८ जिबीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेराका विशेषताहरु छन् जसले प्रयोगकर्तालाई कुनै समस्या बिना नै राती सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ । भिभो वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५००० एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई २२ मा ५० एमपी रियर क्यामेरा छ जसबाटराम्रा तस्बिरहरू लिन सकिन्छ । वाई २२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । यसकाे भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । दुवै वाई ३५ र वाई २२ मा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ । वाई ३५ (८जीवी प्लस १२८जिबी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० हजार ९९९ रुपैयाँमा उपलब्ध छ । त्यस्तै ४ जिबी र्याम र ६४ जिबी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द’को उद्घाटन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गरेकी छिन् । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्रअन्तर्गत रहेको सो भवनमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले उद्घाटन गरेकी हुन् । जलस्रोतको परीक्षण त्यससँग सम्बन्धित तालिम सञ्चालन गर्ने उद्देश्यले १२ आना जग्गामा रु १४ करोड लागतमा सात तलाको अत्याधुनिक भवन निर्माण गरिएको हो । सोही अवसरमा मन्त्री भुसालले भौतिक पूर्वाधार, सडक, अवास, सिँचाइ, खानेपानी र जलविद्युत्लगायत समग्र देशको विकासको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीसँग समग्र मास्र्टर प्लान छैन, हामी विकेन्द्रित विकास गर्छौं, सबै मन्त्रालयले आआफ्नै ढङ्गले विकासका काम गर्छौं, त्यसले गर्दा कहिले डुप्लीकेसन, बजेटको केन्द्रीकरण हुने समस्या हुन्छ, त्यसैले सबै सरकारले निरन्तरता दिनेगरी राजनीतिक सहमति गरेर देशको विकासका लागि मास्र्टर प्लान बनाउनुपर्छ ।’ मास्र्टर प्लानसहित विकासको योजना बनाउँदा दिगो र आवश्यकताको विकास हुने उनको भनाइ छ । मन्त्री भुसालले तालिम तथा अनुसन्धानका कार्यक्रम सञ्चालनका लागि केन्द्र प्रयोगमा आउने बताउँदै जलवायु परिर्वतनको उच्च जोखिममा रहेको नेपालको विशिष्ट भौगोलिक अवस्था अनुकूलको विकास निर्माणका योजना तयार पार्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्रालयका ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले जलस्रोतको विकास, नयाँ प्रविधिको प्रयोग र अनुसन्धानका निम्ति निर्माण गरिएको भवन जलस्रोतका क्षेत्रमा बढीभन्दा बढी प्रयोग हुने बताए । मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को क्षेत्राधिकार बढाउँदै विशिष्ट प्रकृतिको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक सरिता दवाडीले प्रयोगशालालाई जलस्रोत क्षेत्रको राष्ट्रियस्तरको प्रयोगशालाका रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । रासस