
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ‘नेपालको पानी जनताको लगानी’ नारा सरकारले व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको बताएकी छिन् ।
बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाको लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सहवित्तियकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
उनले माथिल्लो अरुण जलविद्युत आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्ने बताइन् । उनले अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने भनाई राखिन् ।
यो आयोजनाले नेपालका वित्तीय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने बताउँदै उनले बैंक वित्तीय संस्थाबाट हुने लगानी पनि जनताको लगानी र सर्वसाधरण सेयर दिनुपनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्च स्तरबाट पुष्टि हुँदै गएको दाबी गरिन् ।
‘नेपालको पानी जनताको लगानी नारा अहिले सरकारले व्यवहारिक ढङ्गले कार्यान्वयन गर्ने स्थानमा पुगेका छौं, कसैलाई मन परोस् नपरोस् तर सत्यतथ्य यही हो, यो जलविद्युत आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्नेछ, अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक सामाजिक विकासमा योगदान गर्नसक्ने स्थानमा पुग्यौं, बुढीगण्डकी जलविद्युत आयोजना यो भन्दा बढी क्षमताको कम्पनी दर्ताको प्रक्रियामा पुगेको छ, लगानी खोज्ने विषयमा बाँकी छ तर अगाडि बढाउने अवस्थामा छौं, नेपालका वित्तिय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि हुनेछ, यो बैंक वित्तीय संस्थाबाट गरेपनि जनताको सेयर हो, जनतालाई सार्वसाधरण सेयर दिनुपनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्च स्तरबाट पुष्टि गर्न सकेका छौं,’ उनले भनिन् ।
मन्त्री भुसालले माथिल्लो अरुणभन्दा बढी क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी दर्ताको प्रक्रियामा पुगेको बताइन् ।