आफ्नो मोबाइल वा डिभाइसलाई ह्याकिङबाट कसरी जोगाउने ?
एजेन्सी । डिजिटल संसारमा ह्याकिङका घटनाहरू अहिले सामान्य भइसकेका छन्। हरेक दिन हामी अनलाइन ह्याकिङ र यससँग सम्बन्धित समाचारहरू दैनिक रुपमा पढिरहेका हुन्छौं । विश्वभरका ५ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्ने भएकाले ह्याक हुन सक्ने उपकरण फेला पार्नु सजिलो काम होइन। त्यसोभए ह्याकरहरूले कसरी थाहा पाउने कि तपाईंको फोन ह्याक हुन सक्छ सक्दैन भन्ने कुरा ? कसरी ह्याकरहरूले यति धेरै इन्टरनेट प्रयोगकर्ताहरू बीच आफ्नो शिकार छनौट गर्छन् ? यदि तपाईं पनि ह्याकिङ प्रक्रिया जान्न चाहनुहुन्छ भने यो रिपोर्ट तपाईंको लागि हो। यस रिपोर्टमा, हामी तपाईंलाई ह्याकिङसँग सम्बन्धित केही रोचक कुराहरू बताउनेछौं, जसले तपाईंलाई जानकारीका साथसाथै भविष्यमा अनलाइन ह्याकिङबाट जोगाउनेछ। ह्याकरहरूले कमजोर उपकरणहरू कसरी फेला पार्छन् ? सिस्कोको २०२२ को रिपोर्ट अनुसार विश्वभर ५ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्छन्। पछिल्लो अनुमान अनुसार सन् २०२३ सम्म २९ अर्ब यन्त्रहरू (ल्यापटप, ट्याब्लेट, स्मार्टफोन, घडी आदि) इन्टरनेट सर्भरमा जोडिएर काम गरिरहेका छन् । यो संख्या विश्वको जनसंख्याको तीन गुणा बढी हो। अर्थात्, औसत व्यक्तिले चारवटा यन्त्रहरू प्रयोग गर्नेछन्। यी उपकरणहरूको आफ्नै छुट्टै आइपी एड्रेस हुन्छ । अर्थात्, आइपी एड्रेसको सहायताले इन्टरनेट अफ थिंक्स सर्च इन्जिन प्रयोग गरेर उपकरणको बारेमा धेरै जानकारी प्राप्त गर्न सकिन्छ । इन्टरनेट अफ थिंक्स सर्च इन्जिन इन्टरनेट अफ थिंग्स एउटा यस्तो प्रविधि हो जसद्वारा नेटवर्किङ मार्फत धेरै ग्याजेटहरू एकसाथ जोड्न सकिन्छ। यसमा, सबै ग्याजेटहरू एकसाथ जडान हुन्छन् र एकअर्कासँग डाटा आदान प्रदान गर्ने काम गरिन्छ । जसले सबै उपकरणहरूलाई एकठाउँमा एकीकृत गर्न मद्दत गर्छ । विशेष खोज इन्जिनहरू जस्तै र्यापिड सेभेन र ‘मिटरे’ ले जोखिमपूर्ण उपकरणहरु ट्रयाक गर्दछन् । जुम आई र सुढान एप्लिकेसनले सर्च इन्जिनहरूको प्रयोग गरेर, ह्याकरहरूले इन्टरनेट, जियोलोकेशन, पोर्ट, अपरेटिङ सिस्टम, सेवा, होस्ट र आईपी एड्रेसहरुमा जडान भएका उपकरणहरू पनि फेला पार्न सक्छन्। तिनीहरूले सिस्टममार्फत सम्बन्धित डिभाइसमा पहिल्यै कसरी लगइन गरिएको छ भनेर समेत जाँच गर्न सक्छन् । पहिले लगइन गर्दाको पासवर्ड प्रयोग गरिएको वा नगरिएको भनेर पनि थाहा पाउन सक्छन् । यी सबै उपकरणहरूबाट डाटा संयोजन गर्नाले ह्याकरहरूलाई इन्टरनेटमा कमजोर उपकरणहरू फेला पार्न र सबैभन्दा प्रभावकारी आक्रमणहरूको योजना बनाउन मद्दत गर्दछ। स्पेयर फिसिङ ह्याकरहरूले प्रायः इन्टरनेटमा धेरै रुची भएका प्रयोगकर्ताहरू फेला पार्न अतिरिक्त फिसिङ प्रयोग गर्छन्। जसले जानीजानी जोखिममा रुची राख्छन उनीहरुलाई ह्याकरहरुले बढी टार्गेट गर्ने गर्दछन् । को टार्गेटमा परेको छ भन्ने विषय थाहा पाउन हप्ता वा महिना दिन पनि लाग्न सक्छ । ह्याकरहरुले स्पीयर फिसिङ त्यतिबेला शुरु गर्छन जब सम्बन्धित व्यक्तिको बारेमा पर्याप्त जानकारी प्राप्त गरिसकेका हुन्छन् । ह्याकरले त्यसपछि मालवेयर होस्टिंग लिङ्क वा इमेल पठाउन सक्छन् । यस्तो लिङ्कमा क्लिक गर्दा वा त्यस्तो फाइल डाउनलोड गर्दा उपकरणमा मालवेयर ल्याउँछ र ह्याकरहरूले त्यो उपकरणलाई आफ्नो नियन्त्रणमा लिने गर्दछन् । ब्लुटुथ ह्याकिंग ब्लुज्याकिङ, ब्लुस्नार्फिङ र ब्लुबगिङ जस्ता ब्लुटुथ ह्याकिङ प्रविधिहरूले ह्याकरहरूलाई ब्लुटुथ जडान भएको यन्त्रहरुको कमजोरी पत्ता लगायर डाटा ह्याकिङ गर्न सहयोग पुर्याउँछ । यद्यपि, अधिकांश ह्याकरहरूले ब्लुटुथ ह्याकिङको सट्टा मालवेयर इन्स्टल गरेर ह्याकिङ गर्न रुचाउँछन् किनभने ब्लुटुथ बन्द गरेर ब्लुटुथ ह्याकिङ रोक्न सकिन्छ । यदि सम्बन्धित यन्त्रको व्यक्तिले ब्लुटुथ अफ गर्यो भने, ह्याकिङ प्रक्रिया रोकिन पुग्छ । कसैको परिवारमा ठूलो संख्यामा वायरलेस उपकरणहरू (जस्तै हेडफोन, स्मार्टवाच, स्मार्टफोन र ल्यापटपहरू) छन् र त्यहाँ ब्लुटुथ खुला छोडिएको छ भने त्यहाँ ह्याकिङ हुने अधिक सम्भावना रहन्छ । ह्याकिङबाट कसरी सुरक्षित रहने ? ह्याकिङबाट बच्नको लागि ब्राउजिङ गर्दा भर्चुअल निजी नेटवर्क (भिपिएन) को प्रयोग गर्न सकिन्छ। कम्प्युटर संसारमा भिपिएनले डिभाइसको आइपी एड्रेस र इन्टरनेट गतिविधिहरू लुकाएर राख्छ, ताकि व्यक्तिगत गोप्य विवरण सुरक्षित रहोस । भिपिएन मार्फत ब्राउज गर्नु भनेको सुरुङ मार्फत गाडी चलाउनु जस्तै हो। इन्टरनेट ब्राउज गर्दा एचटिटिपिएस इन्क्रिप्सन भएका वेबसाइटहरू मात्र प्रयोग गर्नु सुरक्षित मानिन्छ । यी वेबसाइटहरू सुरक्षित हुन्छन् र जसले व्यक्तिगत डाटा गोप्य राख्छन्। साथै, अज्ञात लिङ्कहरूमा क्लिक गर्नबाट जोगिन र आफ्नो मोबाइल र ल्यापटपको लागि इन्क्रिप्सन सेटअप बारे जान्न जरुरी हुन्छ ।
यी हुन् संविधान दिवसमा विभुषित उद्योगी व्यवसायी र बैंकर
काठमाडौं । नेपाल सरकारले संविधान दिवसको अवसरमा विभिन्न उद्योगी व्यवसायी तथा बैंकरलाई विभिन्न पदकबाट सम्मान गरेको छ । सरकारले नेपालको उद्योग व्यवसायमा योगदान दिएका उद्योगी व्यवसायी तथा बैंकरहरुलाई आज विभिन्न पदकबाट विभूषित गरेको हो । सरकारले स्वर्गीय उद्योगी÷व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेको छ । व्यवसायीहरू कुशकुमार जोशी, कुशुम लामा, शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल र राजेशकुमार अग्रवाल सुप्रबल जनसेवाश्री पदबाट विभूषित भएका छन् । यस्तै, पर्यटन व्यवसायीहरू राम थापा र रामबहादुर कोइरी, खुमबहादुुर सुवेदी पदकबाट विभूषित भएका छन् । मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मेरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा समेत यही पदकबाट विभूषित बनेका छन् । नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीइओ सुनिल केसी सुप्रवल जनसेवाश्री पदकबाट विभुषित हुने भएका हुन् । प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुनेमा उद्योगी बालकृष्ण भुसाल, प्रताप जङ्ग पाण्डे वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध कुमार गुप्ता, सुरकृष्ण वैद्य पनि प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुने भएका छन् । कीर्तिमय राष्ट्रदीपबाट गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि सम्मानित भएका छन् । यस्तै, प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशील कुमार गोयन्का, भरतप्रसाद पराजुली, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल, खेमबहादुर केसी, यादव कुँवर, , विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार सम्मानित हुने भएका छन् ।
सिम्याटको निःशुल्क अनलाइन कक्षा संञ्चालन गर्दै एडु सञ्जाल
काठमाडौं । एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहयोग गर्दै आएको ‘एडु सञ्जाल’ले ‘सिम्याट’को अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत विद्यार्थीले आफ्नो मोबाइल वा ल्यापटपबाट इन्टरनेटको सहयोगमा एडुसञ्जालको आधिकारिक वेबसाइट सक्ने व्यवस्था गरिएको छ । साथै सीमित अवधिका लागी यो सुविधा निःशुल्करूपमा प्रदान गरिएको सञ्जालका संस्थापक विदुर आचार्यले जानकारी दिए । ‘सिम्याट परीक्षाको तयारीलाई थप सहज बनाउन अनुभवी प्रशिक्षकसँगको सहकार्यमा अनलाइन भिडियो सामग्री राखेका छौँ’, उनले भने, ‘हरेक लेसनको पछाडि क्विज पनि राखेका छौँ । यसले विद्यार्थीलाई आफ्नो बुझाइ र सिकाइको आफैँ मूल्याङ्कन गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ ।’ भौतिक उपस्थितिमा पठनपाठनका लागि समयको निश्चित अवधि हुँदा विद्यार्थीलाई केही असहज हुने गरेको छ तर अनलाइन पठनपाठनमा विद्यार्थीले आफ्नो समय अनुकूल पठनपाठन गर्न सहज हुने, साथै काठमाडौँ उपत्यका बाहिरका विद्यार्थीका लागि पनि यसले थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ । ‘विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अङ्क हसिल गर्न सहयोग हुने, आफैँलाई मूल्याङ्कन गर्ने र आफ्नो क्षमता पत्ता लगाउने अवसर पाउने र व्यावसायिक तथा दैनिक जीवनमा उपयोगी हुने ज्ञान हासिल गर्नेछन्’, उनले भने, ‘मोक टेस्ट र विगतमा सिम्याटमा सोधिएका प्रश्न पनि सोही लेसनमा समावेश गरेकाले विद्यार्थीलाई अझ सहज हुने विश्वास छ ।’ के हो सिम्याट ? त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन सङ्कायअन्तर्गत सेमेस्टर सिस्टममा आधारित बिबिए, बिबिएम, बिएचएम, बिआइएम, बिपिए, बिटिटिएम र बिएमएसको शैक्षिक कार्यक्रमका लागि लिइने अनिवार्य ‘एजिबिलिटी टेस्ट एक्जाम’ नै सिम्याट सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट हो । आफूले चाहेको कलेजमा उपयुक्त कोर्ष पढ्नका लागि र छात्रवृत्तिका लागि सिम्याटमा राम्रो अङ्क ल्याउनुपर्ने हुन्छ । सिम्याटको ‘इलिजिबिलिटी’मा कक्षा १२ वा सोसरहको पढाइमा १।८ सिजिपिए वा कम्तीमा दोस्रो श्रेणी वा पूर्ण विषयमा सी ग्रेड प्राप्त भएको हुनुपर्ने जनाइएको छ । नब्बे मिनेटको सिम्याट परीक्षामा ‘भर्बल एबिलिटी’, ‘क्वान्टिटेटिभ’ ‘एबिलिटी’, ‘लजिकल रिजनिङ’ र ‘जेनेरल अवेरनेस’ चार ‘सेसन’ हुन्छन् । हरेक ‘सेसन’मा २५ प्रश्न र २५ नै अङ्कभार बोकेको हुन्छ भने कूल एक सय वस्तुगत प्रश्न हुने बताइएको छ । रासस
३० करोडको नेपाली पानी विदेश निर्यात
काठमाडौं । नेपालबाट गतवर्ष ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताए । कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उनको भनाइ थियो । खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको भन्दै त्यसलाई चाँडो घटाउन उनले माग गरे । सङ्घका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गरे । अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको उनको भनाइ थियो । अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरे । नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिए । उनका अनुसार हाल बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन् । विसं २०६५ मा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाडौँभित्रका १८२ र देशभरका ६०० भन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन् ।
सरकारको अबको गन्तव्य मुलुकको आर्थिक रुपान्तरण हो : देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको बताएका छन् । सोमबार सैनिक मञ्च टुँडिखेलमा ८ औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, का।मु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिति थियो । प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए । देउवाले सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले सुन्दर, समृद्ध राष्ट्र निर्माण गरेर जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाएर सबै किसिमका राजनीतिक स्वतन्त्रताबाट समतामुलक समाजको निर्माण गर्न सक्नुपर्ने बताए ।
चन्द्र ढकाल र पशुपति मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ पदक
काठमाडाैं । सरकारले ‘सुकीर्तिमय राष्ट्रदीप’बाट उद्यमी चन्द्रप्रसाद ढकाल र पशुपति मुरारकालाई सम्मान गर्ने भएको छ । संविधान दिवसकाे अवसरमा सरकारले ढकाल र मुरारकालाई सम्मान गर्ने भएको हाे । ढकाल आइएमई ग्रुपका अध्यक्षका साथै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पनि हुन् । यस्तै, महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य हुन् । उनीहरुसँगैं आज नौ सय ९८ जना विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुँदैछन् ।
बैंकर ढुंगाना र केसीलाई ‘सुप्रवल जनसेवाश्री’ पदक
काठमाडौं । दुई बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) ‘सुप्रवल जनसेवाश्री’ पदकबाट विभुषित हुने भएका छन् । नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीइओ सुनिल केसी ‘सुप्रवल जनसेवाश्री’ पदकबाट विभुषित हुने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा उनीहरुलाई ‘सुप्रवल जनसेवाश्री’ पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन् । उनीहरुसँगैं आज नौ सय ९८ जना विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुँदैछन् ।
आध्यन्त फन्ड म्यानेजमेन्टले पायो लगानी गर्ने अनुमति
काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्टले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको छ। । आध्यन्तले लगानीकर्ताहरूका लागि वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नविन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्ने आध्यन्तका संस्थापक मनोज पौडेलले बताए । पौडेल सेबोनले देखाएको नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्ने बताउँछन् । उनले आध्यन्तले आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखेको बताए । ुहामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्य सहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं,ु उनले भने । आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक फर्म हो ।