विकासन्युज

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज टुँडिखेलस्थितसैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने र यसले हाम्रो संविधानलाई चलायमान बनाउनाका साथै जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । निर्वाचन गराउने कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको समृद्धि, सम्पन्नता र आत्मसम्मान अभिवृद्धि नै आफूहरुको एकमात्र अभिष्ट भएको स्पष्ट पारे । ‘संविधान दिवसका अवसरमा उक्त लक्ष्य पूरा गर्न कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वोपरी ठान्दै विकास र सम्मुन्नतिको महायज्ञमा जुट्न म सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्रलगायत सबैमा आह्वान गर्दछु’, उनले भने, ‘अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रुपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तर सुधार नै हो ।’ प्रधानमन्त्री देउवाले जनताको जीवनस्तरमा सुधार ल्याई मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवद्र्धन गर्न तथा समृद्धिको सपनालाई चाँडो पूरा गर्ने गरी काम गर्न जरुरी रहेको भनाइ व्यक्त गरे । लोकतन्त्र भनेको जनताले जनताद्वारा जनताकै लागि उनीहरुको इच्छाबमोजिम गरिने शासन हो भन्दै उनले लोकतन्त्रमा सम्पूर्ण निर्णायक शक्ति सार्वभौम जनतामै रहने हुनाले राज्यका सबै तहका संरचनामा देशका सबै वर्ग तथा समुदायको समान पहुँच र सहभागिता सुनिश्चित हुने स्पष्ट गरे । प्रधानमन्त्री देउवाले भने, ‘लोकतन्त्रमा सबै जनता संविधान र कानुनले सुनिश्चित गरेको हकअधिकार समानरुपमा उपभोग गर्न सक्ने हैसियतमा हुनुपर्छ । शासन प्रणालीमा सबै जनता अटाउने र राज्यका अवसरहरुमा सबैले समान हिस्सा पाउने व्यवस्था यसको आधारभूत चरित्र हुनुपर्छ । कसैलाई पनि नछोड्ने सबैलाई सँगसँगै लिएर अघि बढ्ने विशेषता यसको हुनुपर्छ ।’ संविधानको कार्यान्वयनले गति लिएको र मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार अग्रसर रहेको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै यस प्रणालीलाई संस्थागत गर्न हाम्रा सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता आँैल्याए । संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद् र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताए । उनले विनासकारी भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण नसकिँदै कोभिड– १९ को महामारी र डेङ्गुको प्रकोपबाट थप पीडित हुनुपरेको उल्लेख गर्दै सबैको समन्वयात्मक प्रयासबाट महामारी नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो । रासस

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

ग्यापुमा दशैं सपिङ गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमले दशैंको अवसरमा विशेष अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सपिङ गर्नेहरुबाट दैनिक सपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने ग्यापुको हेड अफ अपरेसन सुजनी केसीले बताइन् । ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् । त्यस्तै, एनआइसी एसिया ब‌ैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत ९अधिकतम ५ सय रुपैयाँ० क्यासब्याक, हिमालय बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ हजार), एनसिसि बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम २ हजार) र माछापुच्छ्रे बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म (अधिकतम १ हजारसम्म) क्यास ब्याक दिने भएको छ । त्यस्तै इसेवाबाट भुक्तानी गर्ने मध्ये अफर अवधीभर दैनिक २ जना ग्राहकले लक्की ड्र मार्फत गिफ्ट भौचर पाउने ग्यापुका हेड अफ बिजनेस अभिमन्यु शर्माले बताए । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको आधिकारिक वेबसाईटमार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैकंको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा आगामी दुई वर्षका लागि ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल, रेणुका न्यौपाने, उषा ढुलाल, सुष्मा ज्ञवाली, कोषाध्यक्षमा ऋषि ज्ञवाली र सहकोषाध्यक्षमा लिना यादव तथा बाँकी २६ जना सदस्यहरु निर्वाचित भएका छन् । संघका का.वा.अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनकोे समुद्घाटन नेकपा एमालेका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गरेका थिए । उनले रा.वा. बैंक नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण वित्तिय संस्था भएको बताउँदै, संंस्थालाई सबल बनाउन व्यवस्थापन र ट्रेड युनियनको भूमिका अहम हुने बताए ।  

‘दशैं तिहारमा विभागले वाचडगको रुपमा काम गर्छ, गलत गर्नेलाई तत्काल कारवाही हुन्छ’

सहसचिव महेश भट्टराई केही दिन अगाडि मात्रै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बनेका छन् । मन्त्रिपरिषद् बैठकले भट्टराईलाई महानिर्देशक बनेसँगै अब उनी माथि बजार अनुगमनको जिम्मेवारी आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका थिए । भट्टराई यसअघि अर्थमन्त्रालय मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए । चाडपर्व नजिकिएसँगै बजारमा अनुगमन तीव्रता देखाउनु पर्ने भएपनि विभागले खासै चासो नदेखाएको गुनासो पनि सर्वसाधारणबाट आइरहेको छ । बजार अनुगमनको विषयमा महानिर्देशक भट्टराईसँग विकासन्युजका लागि नारायण अर्यालले गरेको कुराकानी गरेका छन् । तपाईं विभागको नेतृत्वमा आउनुभएको छ, विभागलाई कसरी हाँक्ने योजना बनाउनु भएकाे छ ? म भर्खरै नेतृत्वमा आएको छु । विभागमा लामो समयदेखि काम गर्दै आएका साथीहरु हुनुहुन्छ । मन्त्रालयसँग समन्वय गरेर अन्य सम्बन्धित निकायहरुसँग समन्वय गर्दै कामलाई अगाडि बढाउनुपर्ने हुन्छ । सबै पक्षको आइडिया लिएर अगाडि बढ्नुपर्ने हुन्छ । खुसीको कुरा यो विभागकै रिफर्म गरेर अगाडि बढ्ने विषयमा बनेको रिपोर्ट म पदस्थापना भएकै दिन आएको छ । त्यसैले त्यसमा नै टेकेर सबै पक्षबाट प्राप्त हुने पृष्ठपोषणका आधारमा अगाडि बढ्छु । सधैंको दशैंमा विभागले बजारको अनुगमन गर्छ, जुन परम्परा नै बनेको छ । यसपटकको अभियान कहिलेबाट कसरी शुरु गर्दै हुनुहुन्छ ? बजार अनुगमन भनेको विभागको नियमित काम हो । त्यसैले हामी वर्षभरी नै ‘अनकल’ अवस्थामा बस्नैपर्छ । विभागले नियमित रुपमा गर्नुपर्ने अनुगमनको काम पनि गर्दै आएको छ । चाडपर्वको समयमा उपभोक्ताहरुमा वस्तुको माग र आम्दानी दुबै बढ्छ । यसले गर्दा बजारमा बिक्री पनि स्वभाविक रुपमा बढ्छ । यस्तो अवस्थामा म्याद गुज्रेका, अखाद्य वा पुराना वस्तुहरुलाई पनि लुकाइछिपाई गरेर बेच्ने प्रवल सम्भावना रहन्छ । यस्तो अवस्थामा जब माग उच्च हुन जान्छ, मूल्यलाई पनि बढाउने सम्भावना उच्च हुन्छ । त्यसैले नियामक निकायले यस्तो अवस्थामा मूल्य, वस्तु र गुणस्तरको नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अर्थात् चाडबाडको समयमा अभै धेरै बल लगाएर काम गर्नुपर्ने हुन्छ । यो नियमित परम्परा पनि हो र आवश्यकता पनि हो । चाडबाडको सन्दर्भसँग जोडेर गरिने अनुगमनका लागि असोज २ गतेबाट विभागले ५ वटा विभिन्न निकायसँग मिलेर फिल्डमा गएको अवस्था छ । झट्ट हेर्दाखेरी अहिले गरिएको चाडपर्व अनुगमन नै हो । तर, हामीहरुले अब यसलाई सम्बन्धित सबै निकायहरुसँग समन्वय गरेर नियमित रुपमा अगाडि बढाउने उद्देश्य पनि तय गरेका छौं । यसपटकको चाडपर्व लक्षित अनुगमनमा नयाँ विशेषता के छन् ? चाडपर्व लक्षित गरेर अगाडि बढाइएको अनुगमनमा अहिले विभाग एक्लै अगाडि बढेको छैन। बजार अनुगमनमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल तथा गुणस्तर विभाग, पशु सेवा विभाग र औषधी व्यवस्था विभाग पनि सँगै रहनेछन् । अनुगमनको क्रममा सबै विषयको विज्ञता हामीसँग हुँदैन । विभाग आँफैमा नन–टेक्निकल कर्मचारीहरुले सञ्चालन गर्ने कार्यालय हो । हामीले बजारका धेरै विषयहरुलाई हेर्नुपर्ने तर हामीसँग प्राविधिक जनशक्ति हुँदैन । कुनै मासु पसलमा गएर अनुगमन गर्दा मासु गन्हाएको पाएमा हामीले खान अयोग्य छ भनेर भन्न सक्छौं, तर त्यसलाई खान अयोग्य हो भनेर सर्टिफाइड गर्न नेपाल सरकारको प्रशासन शाखाको अधिकृतले सक्दैन । त्यसको लागि माछामासुकै विज्ञले गर्नुपर्छ । त्यसले गर्दा अहिलेको अनुगमनले विगतको तुलनामा नतिजा दिन्छ भन्ने हामीलाई लागेको छ । अहिलेको अनुगमनमा हामीले उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न निकायलाई वाचडगको रुपमा बस्न आग्रह गरेका छौं । बजारमा जुत्ता तथा कपडाका सामानहरुमा नक्कलीको बिगबिगी बढेकाे सुनिन्छऽ विभागले यो विषयलाई कसरी हेर्छ ? बजारमा नक्कलीलाई सक्कली भन्ने, अन्डर इन्भ्वाइसिङ गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने लगायत विभिन्न विषयहरु रहेका छन् । अन्डर इन्भ्वाइसिङको विषयमा अनुगमन गर्दा आन्तरिक राजस्व विभागको टिमसँगै हिँड्नुपर्ने देखिन्छ । कुनै स्थापित ब्राण्डको जुक्ता सस्तोमा पाएमा मख्ख परेर किन्ने बानी छ हाम्रो । हामीले सुनेको के छ भने चाइनाबाट जुन ब्राण्डको भन्यो त्यही ब्राण्डको छापेर आउँछ । हामीले बजारमा नक्कली वस्तुको नियन्त्रण गर्नको लागि ती वस्तुको आयात पनि रोक्न पर्ने हुन्छ । त्यसको लागि भञ्सारमा सक्कली लोगोकै भ्यालुएसन गरेपछि स्वतः त्यसलाई निरुत्साहित गर्न सकिन्छ । यसमा मेरो अनुभव के छ भने म त्रिभुवन विमानस्थलनमा काम गर्ने क्रममा कुनै एकजना इम्पोर्टरले एप्पलको लोगो टाँसेको नक्कली एयरबड लिएर आयो । हामीले त्यो एयरबडमा सक्कली एयरबर्डकै कर लगाइदियौं, त्यसपछि त्यो प्रकारले एयरबड ल्याएको देखिएन । बजारमा प्रभावकारी रुपमा अनुगमन गर्नका लागि सबै सम्बन्धित पक्षसँग पनि सहकार्य गरेर सँयुक्त रुपमा अगाडि बढ्नुपर्छ । त्यसो गर्दाखेरी मात्रै हामीले अपेक्षित नतिजा हासिल गर्नसक्छौं । ‘जागरुक उपभोक्ता जिम्मेवार उपभोक्ता’ भन्ने नारामा विभागले शुरु गर्ने भनेको उपभोक्ता हित संरक्षण अभियान अहिले कहाँ पुगेको छ ? बजारलाई व्यवस्थित बनाउनको लागि एउटा पक्ष मात्रै नभएर उपभोक्ता र बिक्री गर्ने निकाय जिम्मेवार हुनुपर्ने, नियामक निकायले सहि ढंगले नियमन गर्नुपर्ने, मिडियाहरुले वाचडगको रुपमा पनि काम गर्नुपर्ने र असल व्यवसायीहरुलाई प्रवद्र्धन गर्नुपर्ने लगायत सबै पक्षका आ–आफ्ना भूमिकाहरु रहेका हुन्छन् । सबै उपभोक्ताहरु व्यवसायी होइनन् तर सबै व्यवसायीहरु उपभोक्ता हुन् । बजारमा सचेतना ल्याउनका लागि प्रयोग गरिने विभिन्न उपायहरुमध्ये अगाडि बढाइएको यो एकप्रकारको सचेतना क्याम्पिङ हो । यस अन्तर्गत विभागको तर्फबाट डिजिटल पर्चा निर्माण गरेर ७७ वटा जिल्ला प्रशासन कार्यालय, ७५३ वटा पालिका र विभागको क्षेत्रीय कार्यालयमा पठाएका छौं । साथै मिडियामा पनि पठाएका छौं । विभागको दैनिक अनुगमनले बजार तथा व्यवसाय धेरै नै अपारदर्शी रुपमा रहेको छ भन्ने देखाएको छ । बजार तथा व्यवसायलाई अपडेट गर्नको लागि विभागको जनशक्ति कमि भएको हो ? यो सन्दर्भमा पहिलो विषय, विभागले आँफै फिल्डमा उत्रिएर अनुगमन गर्ने काम गर्नु हुँदैन । विभागले उदाहरणको रुपमा केही अनुगमन तथा परीक्षण गर्ने बाहेक अनुगमन गर्ने परम्परालाई रिभिजन गर्नैपर्छ । दोस्रो विषय भनेको अहिले सबैभन्दा फ्रन्टमा बसेर अनुगमन गर्ने भनेको स्थानीय तहले हो । ७५३ वटै स्थानीय तहलाई ‘स्थानीय सरकार सञ्चालन ऐन्, २०७४’ ले बजार अनुगमन गर्ने म्यान्डेड दिएको छ । अब स्थानीय तहहरुले आफ्नो संवैधानिक अधिकारलाई लिएर हामी बजार अनुगमन गर्नको लागि तयार छौं भनेर भन्नुपर्यो । त्यसको लागि जनप्रतिनिधिहरु खरो रुपमा उत्रिन आवश्यक छ । स्थानीय तहहरुले बजार अनुगमनको विषयलाई अगाडि बढाइसकेपछि विभागले राष्ट्रिय स्तरको नीति निर्माण गर्ने, निर्देशन गर्ने, राष्ट्रिय रुपमा एकरुपता कायम गर्ने र समन्वय गर्ने काममा केन्द्रीत हुन्छ । त्यो सेक्टरमा आगामी दिनमा हामी केन्द्रीत हुन्छौं । त्यसैले ७५३ वटा पालिका र ७७ वटा जिल्ला प्रशासन कार्यालय फ्रन्टलाइनमा बसेर अनुगमन गर्ने निकाय हुन् । अहिले विभागले उदाहरणको रुपमा केन्द्रमा अनुगमन गर्छ । यसको प्रभाव जिल्लासम्म पर्न जान्छ ।

अझै केही दिन वर्षा हुने सम्भावना

काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले भने, ‘मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करिब अन्तिम अवस्थामा छ, अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न मिल्दैन ।’ उनका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ । राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रासस

टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमा, तीन लाख पर्ने

काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ ‘टिभिएस एनटर्क १२५ रेस एक्सपी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टिभिएस स्मार्टएक्सओनेक्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्टएक्सओनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म सहितको लन्चसँगै स्कुटर उद्याेगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश छ । १२५ सिसि सेग्मेन्टमा १० पिएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ । यस अवसरमा टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले  टिभिएस एनटोर्क १२५ रेस एक्सपि नेपालमा लन्च गर्न पाउँदा हर्षित भएकाे बताए । उनले नयाँ टिभिएस उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएकाले नेपालमा ग्राहकको आनन्दलाई थप वृद्धि गर्ने बताए । यस्तै, लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिंग डाईरेक्टर साहिल अग्रवालले टिभिएस एनटोर्क १२५ रेस एक्सपि नेपालमै गेम चेन्जिङ स्कुटर हुनसक्ने बताए । ‘हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरुबीच, यो चर्चाको विषय हुनेछ भन्ने हामीलाई विश्वास छ,’ उनले भने । टेक्नोलोजी यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टिभिएस स्मार्टएक्सओनेक्ट हो जसलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टा छुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् । त्यस्तै, अपडेटेड र रिफ्रेस्ड युआइ÷युएक्स एवम राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइन्छ । यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । पर्फर्मेन्स यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिन ले ५५०० आरपि टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन् । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ । स्टाइल हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ । ट्राइ–टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।  

मिर्गौला रोग: डायलासिसभन्दा प्रत्यारोपण किफायती

कास्की । नेपालमा प्रत्येक वर्ष दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको र ९९ प्रतिशत पूर्ण सफल भएको बताइन्छ । सरकारले मिर्गौला प्रत्यारोपणलाई निःशुल्क गरेपछि मिर्गौला फेल भएर अब कुनै पनि नागरिक अकालमा मर्न नपर्ने र यसका लागि राज्यलाई भार परे पनि देशले स्वस्थ नागरिक पाएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ बताउँछन् । नेपालमा पाँच वर्षअघि सुरु गरिएको प्रत्यारोपण सेवामा हालसम्म एक हजार जनाको सफलरुपमा मिर्गौला प्रत्यारोपण गरिएको छ । काठमाडौँबाहेक पोखरामा समेत गत असारदेखि सो प्रत्यारोपण सेवा सुरु भएकामा हालसम्म तीन जनाको प्रत्यारोपण गरिएको र छिट्टै सुर्खेतमा पनि सेवा विस्तारको तयारी भएको प्रत्यारोपण केन्द्रले जनाएको छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार साँझ पोखरामा आयोजना गरेको मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विज्ञेषज्ञ डा श्रेष्ठले प्रत्यारोपणपछि बिरामी र परिवारले गुणस्तरीय जीवन जीउन पाउने भएकाले डायलासिसभन्दा प्रत्यारोपण बढी किफायती रहेको बताए । निःशुल्क डायलासिस सेवा उपलव्ध हुँदा बिरामीको झुकाव यसमा बढी पाइएकाले सरकारले विसं २०७४ वैशाख २ देखी राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पूर्णरुपमा निःशुल्क प्रत्यारोपण सेवा सुरु गरिएको डा श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डायलासिसमा बस्दा बिरामी र बिरामीका परिवार सधँै अस्पताल आउने जाने गर्दा अत्यन्त कष्टकर जिन्दगी बिताउनुपर्ने हुन्छ । प्रत्यारोपणपछि राष्ट्रलाई उत्पादनशील नागरिक प्राप्त हुने, बिरामी दीर्घायु हुने र राष्ट्रलाई आर्थिक भार पनि कम पर्ने भएकाले प्रत्यारोपण कार्यलाई निःशुल्क गरिएको हो ।’ डायलासिस मेसिन तथा उपभोग्य सामान विदेशबाट आयात गर्नुपर्ने कारणले नियमित सञ्चालनका लागि राज्यलाई वार्षिक दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी आर्थिक भार पर्ने गरेको बताइन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण सेवा नहुँदा बर्सेनि छ अर्ब रुपैयाँ रकम देश बाहिर जाने गरेको थियो । स्वदेशमै सेवा सुरु भए पनि विदेश जाने प्रवृत्तिमा अझै कमी आउन नसकेको बताइन्छ । नेपालमै विश्वको उत्कृष्ट प्रत्यारोपण सेवा रहेको केन्द्रको भनाइ छ । केन्द्रबाट वर्षमा अधिकतम दुई सयसम्मको मिर्गौला प्रत्यारोपण गर्नसक्ने क्षमता रहेको र पाँच सयको प्रत्यारोपण माग हुने बताइन्छ । सरकारले पछिल्लो समय प्रत्यारोपण कानुनमा परिमार्जन गरेपछि अङ्गदानको दायरा फराकिलो भई नाता पर्ने जति सबैबाट अङ्गदान हुनसक्ने व्यवस्था गरेपछि मिर्गौला प्रत्यारोपण सेवाले थप गति लिएको र अङ्ग अभाव कम भएको केन्द्रका विशेषज्ञ डा निभाष श्रेष्ठले बताए । नेपालमा बर्सेनि एक हजारको सडक दुर्घटनाबाट मस्तिष्क मृत्यु हुने गरेका तथ्याङ्क छ । दुर्घटनाबाट भएको मानव मृत्युले प्रत्यारोपण गर्न सकिने अङ्ग खेर गएकाले यसको सदुपयोग गर्न अङ्गदान सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । मानिसको मृत्युपछि खेर जाने मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा र प्याङ्क्रियाजको प्रत्यारोपण गर्न सकिने विशेषज्ञको भनाइ छ । एक जना व्यक्तिबाट खेर जाने अङ्गबाट आठ जनालाई नयाँ जीवन सम्भव भएको बताइन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्णरुपमा मृत घोषित गरे पनि यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अङ्ग निकालेर बिरामीमा प्रत्यारोपण गर्न सकिने कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा श्रेष्ठले बताए । मस्तिष्क मृत्युपछिको अङ्ग दान, कुनै पनि व्यक्तिको मृत्यु अस्पतालको आइसियुमा भई मस्तिष्क मृत्यु घोषणापछि मात्र सम्भव हुन्छ । घरमा मृत्यु भएको व्यक्तिको अङ्गदान मरणोपरान्त अङ्ग दान सम्भव नहुने बताइन्छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सरकारले आधारभूत स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउने लक्ष्य राखे पनि देशभर अझै आधारभूत स्वास्थ्य सेवा विस्तारमा सफल हुन नसकेको बताए । उनले प्रत्यारोपण सेवा अत्यन्त महत्वपूर्ण रहेकाले राजधानी बाहिर विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको बताए । रासस