विकासन्युज

संविधान दिवस : पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न, ९९८ विभूषित हुँदै

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छिन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाएका छन् । यस्तै अलङ्कारतर्फ राष्ट्र यशोवर्द्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिनेछ । पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ । यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई प्रदान गर्ने सरकारले घोषणा गरेको छ । यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

टीकापुर । कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ । भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उनको घर बाढीले डुबेपछि उनी बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आइन् । बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उनलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ । ‘आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैँ भोकै छु’, उनले भनिन्, ‘पेटभरि पानी खान पनि पाइएको छैन । गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ ।’ दीपा सुनार र उनको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ । ]घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ’, उनले भनिन्, ‘यहाँ सडकमा आमाले त खान पाएका छैनौँ, बच्चाको बारेमा कसले सोँच्छ । बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो ।’ अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आउनुभयो । भिज्दै आएकाले होला उहाँको नौ महिनाको बच्चा बिरामी भइसकेको छ । उनको बच्चालाई रुघाखोकी सुरु भएको छ । ‘घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौँ, बच्चा भिजेर निर्थुक्कै भएको थियो’, उनले भनिन्, ‘लौ न सरकार भएको महसुस गराइदिनुप¥यो । हामी त बर्बाद भयौँ ।’ भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ । घरमा छिनछिनमा खानेकुरा खाने सानुको बच्चाले शनिबार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ । ‘हामी त दुःखसुख सहन सक्छौँ, बच्चाले सहन सकेको छैन, घर जाउ भन्छ, घर बाढीमा डुबेको छ’, उनले भनिन्, ‘लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन । घरमा के के बग्यो थाहा छैन ।’ भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै सो दिन खटिसकेका जानकारी दिए । ‘हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौँँ, स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ’, उनले भने, ‘यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन । अब हामी पोषणमा समेत ध्यान दिन्छौँ ।’ हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ । महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताए । ‘सुत्केरी र गर्भवतीलाई अन्य मानिसभन्दा बढी पोषण चाहिन्छ, बालबालिकालाई थप खानेकुरा चाहिन्छ’, उनले भने, ‘महिला महिनावारी हुन्छन्, स्यानिटर प्याड चाहियो, शौचालय, पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ ।’ यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर, जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन् । प्रभावित परिवार उच्च घर, विद्यालय तथा सडकमा बसिरहेका छन् ।

नयाँ हाइड्रोजन फ्युल सेल डिजेल इन्जिनभन्दा बढी प्रभावकारी

एजेन्सी । हाइड्रोजन फ्युल सेल निर्माता कम्पनी लुप इनर्जीले विकास गरेको नयाँ सेल प्रणाली अहिलेको मूल्य अनुसार डिजेल इन्जिनको तुलनामा सस्तो भएको जनाएको छ । सेप्टेम्बर ५ सम्म युरोपमा डिजेलको मूल्य प्रतिलिटर १.९१ डलर रहेको छ भने हाइड्रोजनको मूल्य प्रतिकेजी १० डलर रहेको छ । ब्रिटिस कोलम्बियामा आधार रहेको ‘द बर्नबे’ कम्पनीका अनुसार नयाँ एस१२०० हाइड्रोजन फ्युल सेल सिस्टम जडित ट्रक १०० डलरको हाइड्रोजनको सहायताले १११ माइल गुड्छ भने सोही डिजेल ट्रक सोही मूल्य बराबरको डिजेल हालेर १०९ माइल मात्रै गुड्छ । पछिल्लो समयमा अटो उद्योगहरुले डिजेल इन्धनबाट सञ्चालन हुने ठूला मालबाहक ट्रकहरुलाई पनि हाइड्रोजन इन्जिनमा परिणत गर्ने कुरामा लगानी गरिरहेका छन् । लामो दुरीसम्म चल्ने ठूला ट्रकहरुमा विद्युतीय ब्याट्र जडान गर्ने कुरा महंगो बनिरहेको छ । हाइड्रोजन इन्धन जडित सेलहरुले निश्चित प्रकृयामार्फत् शक्ति र तापको उत्पादन गर्छ, जसको सहायताले ट्रकको गुड्न सक्छ । हाइड्रोजनको उत्पादन पानीको रासायनिक प्रतिक्रिया गराएर हुन्छ । हाइड्रोजन इन्धन सेलहरुले मुख्यतः २ चुनौतीहरुलाई सामना गरिरहेको छ, पहिलो यो इन्जिन डिजेल इन्जिनको तुलनामा कम प्रभावकारी भएको छ र दोस्रो अहिले युरोपमा यसको भर्ने प्रकृया लगभग अस्तित्वमा छैन । लुप इनर्जीका कार्यकारी प्रमुख नाइल्यान्डले समाचार एजेन्सीलाई हाइड्रोजनको सेल प्रणालीले अगाडि देखिएका २ चुनौतीमध्ये पहिलो चुनौतीलाई सामना गर्ने बताएका छन् । ‘यसले भविष्यतर्फ लक्षित छ, यसले अहिलेको आर्थिक अवस्थामा सिर्जना भएको आवश्यकतालाई पूर्ति गर्न सघाउँछ ।’ नाइल्याण्डले भने की अहिले सो कम्पनीले स्टार्टअप ट्रक निर्माताहरुलाई सो सेल प्रणाली प्रदान गर्ने र ठूला ट्रकहरुलाई मूख्य आपुर्तिकर्ताको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी अमेरिकी इन्जिन निर्माता कमिन्स हो, जसको २० प्रतिशत भन्दा ठूलो हिस्सा रहेको छ ।

लाभांश घोषणा गर्ने तयारीमा आधा दर्जन बैंक, कुनको क्षमता कति ?

काठमाडौं । आधा दर्जन वाणिज्य बैंकले लाभांश घोषणा गर्ने तयारी गरेका छन् । लाभांश घोषणाका लागि आधा दर्जन वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका हुन् । केही प्राविधिक समस्याका कारण ती बैंकहरुकाे वित्तीय विवरण स्वीकृत हुन ढिलाइ भएकोले अब केही समयभित्रै लाभांश घोषणा गर्ने तयारी गरिरहेकाे रहेकाे बुझिएकाे छ । राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलका अनुसार राष्ट्र बैंकमा ८ वटा वाणिज्य बैंकको वित्तीय विवरण पेश भएको छ । ‘आधा दर्जन बढी वाणिज्य बैंकहरुले वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा पठाएका छन्, त्यस विषयमा हामी अध्ययन गरिरहेका छौं, पूर्ण रुपमा अध्ययन गरेपछि हामी हाम्रो निर्णय गर्छौं,’ उनले भने । राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सिद्धार्थ, सिटिजन्स, मेगा र कुमारी बैंकको वित्तीय विवरण राष्ट्र बैंक पुगेको छ । तर, यी बैंकहरुका वित्तीय विवरणमा केही प्राविधिक समस्या देखिएको कारण स्वीकृत गर्न केही ढिलाइ भएको स्रोतको भनाइ छ । अब बैंकहरुले सो विषय सच्याएपछि यी ८ वटा बैंकहरुले राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति पाउनेछन् । ‘राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि आएका बैंकहरुलाई हामीले जति सक्दो छिट्टो स्वीकृति दिने योजना बनाएका छौं, सकेसम्म दशैं अगाडि नै स्वीस्कृति दिने हाम्रो योजना थियो तर केही प्राविधिक समस्या देखियो, अझै पनि समय छ, दशैं अगाडि नै सबै बैंकले स्विकृति पाउन सक्छन्’ राष्ट्र बैंक स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरणमा कुनै अंकुश नलागेमा बैंकहरुले चाहेकाे हाराहारीमै लाभांश वितरण गर्न सक्छन् । यद्यपि, बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउँछन् । नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न सक्ने स्वीकृति दिएपछि बैंकले २१ दिन अगावै वार्षिक साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ । बैंकहरुको गत आर्थिक वर्षको नाफाको आधारमा वित्तीय विवरण पेश गरेका बैंकहरुमध्ये एनआइसी एसियाले ३३ प्रतिशत, सनराइजले १४.४६ प्रतिशत, ग्लोबल आइएमईले १३.४५ प्रतिशत, बैंक अफ काठमाण्डूले १२.२५ प्रतिशत, सिद्धार्थले १६.८२ प्रतिशत, सिटिजन्सले ११.२४ प्रतिशत, मेगाले ११.४४ र कुमारी बैंकले १२.६६ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ । स्रोतका अनुसार बैंकहरुले पठाएको वित्तीय विवरणमा राष्ट्र बैंकले केही असहमति जनाएकोले वित्तीय विवरण स्वीकृतिमा केही ढिलाइ भएको हो । राष्ट्र बैंकले केही कर्जामा प्रोभिजन गर्न लगाएको छ । बैंकहरुले सो प्रोभिजन गरेपछि राष्ट्र बैंकले एजीएम क्लिरियनसको स्वीकृति दिनेछ र बैंकहरुले लाभांश घोषणा गर्नेछन् । तर, केही रकम प्रोभिजन गरेपछि बैंकहरुको लाभांश दिन सक्ने क्षमतामा भने केही ह्रास आउनेछ ।

आकस्मिक लाइसेन्सका लागि यातयात व्यवस्था विभागले खुलायो अनलाइन आवेदन

काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिए । उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रुपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रुपमा लाइसेन्स निकाल्न सक्ने गरी व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन् । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ । रासस

एभरेष्ट बैंकले कागजात बिनै २ लाखसम्म ऋण दिने, बैंक धाउनै नपर्ने

काठमाडौं । एभरेष्ट बैंकले इ-पैचो फोनलोनको सुविधा शुरु गरेको छ । इबिएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि तत्काल धितोरहित ऋण उपलब्ध गराउन बैंकले उक्त सेवा शुरु गरेको हो । योग्य एभरेष्ट बैंक खातावालाहरूले अब जमानत, कागजी कार्य, वा बैंक भ्रमण बिना तत्काल २ लाखसम्म ऋण पाउने छन् । इ-पैचो फोनलोन विभिन्न समय फ्रेमहरूमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाको लागि किस्ता (इएमआई) का आधारमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरुको लागी उपलब्ध छ, जो आफ्नो ऋण चाँडै भुक्तान गर्न चाहन्छन् । इ-पैचो फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी प्रयोग गर्दा ‘बाई नाउ पे लेटर’ सेवाहरू पनि प्राप्त गर्न सक्छन् । यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ इ-पैचो फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ । इ-पैचो फोनलोनको लागि योग्यता विभिन्न मापदण्डहरूको आधारमा स्वचालित रूपमा निर्णय गरिन्छ, जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै अन्य ऋण आदि । योग्य ग्राहकहरूले इ-पैचो फोनलोन आइकन र ‘दर्ता गर्नुहोस्’ बटन देख्नेछन् । ग्राहकहरूले इ-पैचो फोनेलोनका सबै सेवाहरू एक पटक दर्ता र इमेल प्रमाणीकरण गरेपछि प्राप्त गर्न सक्ने छन् । ‘क्रेडिट पहुँच देशमा कुख्यात रूपमा गाह्रो छ,’ एभरेष्ट बैंकका एसएमईररिटेल प्रमुख विष्णु ज्ञवालीले भने, ‘हामीले योग्य ग्राहकहरूलाई सजिलो क्रेडिट पहुँच प्राप्त गर्न अनुमति दिने निर्णय गरेका छौं, इ-पैचो फोनलोन तुरुन्तै वितरण गरिन्छ, र भुक्तानीहरू स्वचालित रूपमा लिइन्छ, त्यसैले ग्राहकहरूले पनि भुक्तानी गर्न चिन्ता लिनु पर्दैन, उनीहरूलाई आवश्यक सन्तुलन कायम गर्न आवश्यक छ, र हामी बाँकीको हेर्ने छौं ।’

तीन दिने महिला नेतृत्व शिखर सम्मेलन गर्दै उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले तीन दिने वोमेन्स् लिडरशीप समीट २३ (महिला नेतृत्व शिखर सम्मेलन) गर्ने भएको छ । परिसंघले आगामी पुस २९ गतेदेखि माघ १ गतेसम्म (जनवरी १३, १४ र १५, २०२३) मा महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्न लागेको हो । परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य यो सम्मेलनको रहेको छ । यसैगरी सम्मेलनलाई लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिनेछ । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुनेछ । परिसंघले पहिलो पटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउँछ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरुको सहभागिता हुनेछ ।

२५ हजार बढीले काटे अग्रिम टिकट, व्यवसायी भन्छन् : समयमै टिकट लिऔं, पछि नपाइन सक्छ

काठमाडौं । यतिबेला बालाजु स्थित नयाँ बसपार्कमा दशैंका लागि घर जानेहरूको घुइँचो बढ्दो छ । दशैं नजिकिएसँगै घर जानेहरूको बसपार्कमा चहलपहल बढ्न थालेको हो । दशैंमा घर जानेदेखि अग्रिम टिकट बुकिङ गर्ने मानिसहरूको घुइँचोको कारण नयाँ बसपार्कको टिकट काउन्टरमा घुइँचो लाग्ने गरेको यातायात व्यवसायीहरु बताउँछन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि प्रभावित बनेको दशैं यसपालि मनाउनका लागि घर जानेहरुको भीड लागेको छ । बसपार्कमा टिकट काट्नेहरु पनि बढ्दै गएका छन् । अहिले अग्रिम टिकट लिनेहरु बसपार्कमा भरिभराउ हुने गरेका छन् । असोज १ गते अर्थात् शनिबारदेखि मात्रै अग्रिम बुकिङ सुरु भएको थियो । शनिबार मात्रै ११ हजार यात्रुले अग्रिम टिकट काटेको बुझिएको छ । आइतबार (आज) पनि करिब १५ हजार जनाले टिकट काटेको बुझिएको छ । अहिलेदेखि नै अग्रिम टिकट लिनेहरुको संख्या बढेको कारण पछि टिकट पाइने सम्भावना कम हुने व्यवसायीहरु बताउँछन् । यातायात व्यवसायी ज्ञानु केसीले अहिले नै अग्रिम टिकट लिनेको भीड लाग्दा पछि टिकट नै पाइने सम्भावना कम हुने बताए । उनका अनुसार अहिले नै धेरै गाडी प्याक भइसकेका छन् । गाडीको संख्यामा कम हुने अवस्था देखेपछि यातायात व्यवसायीहरूले बाहिरबाट गाडीहरू मगाउन थालेका छन् । ‘दशैको बेला सबैलाई घर जानु पर्ने हुन्छ, त्यो बेला यात्रुको चाप पनि बढ्छ, धेरै सडक पनि अस्तव्यस्त छन्, समयमै घर पुग्न पनि मुस्किल हुन्छ, यात्रुको चापलाई मध्यनजर गरेर अहिले गाडी पनि मगाउन थालेका छन्,’ उनले भने । यातायात व्यवसायी माधव कुमार तिमिल्सिना पनि अग्रिम टिकट काट्नेको भीड लाग्ने गरेको बताउँछन् । ‘अहिले काठमाडौं बाहिरनेको चाप धेरै छैन, यात्रुले अग्रिम टिकट बुकिङ मात्र गरिरहेका छन्, असोज ५ गतेपछि झन धेरै भीड लाग्न सक्छ,’ उनले भने ।