काठमाडौं । यतिबेला बालाजु स्थित नयाँ बसपार्कमा दशैंका लागि घर जानेहरूको घुइँचो बढ्दो छ । दशैं नजिकिएसँगै घर जानेहरूको बसपार्कमा चहलपहल बढ्न थालेको हो । दशैंमा घर जानेदेखि अग्रिम टिकट बुकिङ गर्ने मानिसहरूको घुइँचोको कारण नयाँ बसपार्कको टिकट काउन्टरमा घुइँचो लाग्ने गरेको यातायात व्यवसायीहरु बताउँछन् ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि प्रभावित बनेको दशैं यसपालि मनाउनका लागि घर जानेहरुको भीड लागेको छ । बसपार्कमा टिकट काट्नेहरु पनि बढ्दै गएका छन् ।
अहिले अग्रिम टिकट लिनेहरु बसपार्कमा भरिभराउ हुने गरेका छन् । असोज १ गते अर्थात् शनिबारदेखि मात्रै अग्रिम बुकिङ सुरु भएको थियो । शनिबार मात्रै ११ हजार यात्रुले अग्रिम टिकट काटेको बुझिएको छ ।
आइतबार (आज) पनि करिब १५ हजार जनाले टिकट काटेको बुझिएको छ । अहिलेदेखि नै अग्रिम टिकट लिनेहरुको संख्या बढेको कारण पछि टिकट पाइने सम्भावना कम हुने व्यवसायीहरु बताउँछन् ।
यातायात व्यवसायी ज्ञानु केसीले अहिले नै अग्रिम टिकट लिनेको भीड लाग्दा पछि टिकट नै पाइने सम्भावना कम हुने बताए । उनका अनुसार अहिले नै धेरै गाडी प्याक भइसकेका छन् ।
गाडीको संख्यामा कम हुने अवस्था देखेपछि यातायात व्यवसायीहरूले बाहिरबाट गाडीहरू मगाउन थालेका छन् । ‘दशैको बेला सबैलाई घर जानु पर्ने हुन्छ, त्यो बेला यात्रुको चाप पनि बढ्छ, धेरै सडक पनि अस्तव्यस्त छन्, समयमै घर पुग्न पनि मुस्किल हुन्छ, यात्रुको चापलाई मध्यनजर गरेर अहिले गाडी पनि मगाउन थालेका छन्,’ उनले भने ।
यातायात व्यवसायी माधव कुमार तिमिल्सिना पनि अग्रिम टिकट काट्नेको भीड लाग्ने गरेको बताउँछन् । ‘अहिले काठमाडौं बाहिरनेको चाप धेरै छैन, यात्रुले अग्रिम टिकट बुकिङ मात्र गरिरहेका छन्, असोज ५ गतेपछि झन धेरै भीड लाग्न सक्छ,’ उनले भने ।