बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु, कुलमानले गरे उद्घाटन
काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । कम्पनीले असोज २ गते एक कार्यक्रम आयोजना गरी सर्भिस सेन्टर संचालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका हुन् । कम्पनीले विगतदेखि एउटा उत्कृष्ट सर्भिसेन्टर निर्माणको योजना तयार पारेका थियो । बजारमा गाडीको संख्या वृद्धिसँगै सर्भिस सेन्टरको आवश्यकता बढ्दै गएकोले सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको कम्पनीको भनाई छ । नयाँ सर्भिस सेन्टरको उद्घाटनमा मन्तब्य राख्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भने, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौं, बढ्दो विद्युतीय सावरीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेवारी हो, त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौं ।’ करिब २७ हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टर उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘यस्ता सर्भिस सेन्टरहरु निर्माण हुनुपर्छ, देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्छ । बीवाइडीले जसरी सर्भिस सेन्टर विस्तारमा काम गरेको छ यो फैलदै जाओस् ।’ अहिले ६ वटा वे निर्माण गरेर संचालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वेपछि थप्न मिल्ने गरी तयार गरिएको छ । यहाँ गाडीलाई आवश्यक पर्ने स्पेयर पार्टस्को वायर हाउस पनि तयार गरिएको छ ।
सत्तापक्षले आफूले खनेको खाल्डोमा आफै परेर प्रधानन्यायाधीशलाई सफाई दिएको ओलीको टिप्पणी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गरेका छन् । आईतबार ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरामाथि लागेको महाअभियोगमाथि सत्तापक्षले सफाइ दिएको बताएका हुन् । उनले महाअभियोग प्रस्ताव पारित नभइ संसदको कार्यकाल सकिएकाले प्रधानन्यायाधीशले सफाइ पाएको बताए । सत्तापक्ष आफूले खनेको खाल्डोमा आफै परेकाले प्रधानन्यायाधीशले सफाइ पाएको उनको भनाई छ । ‘यो संसदको कार्यकाल नै सिद्धियो, यसो भइसकेपछि त्यो महाअभियोगको प्रस्ताव पारित भएन, दर्ता भयो तर त्यो पारित भएन भनेपछि त कुरा सिद्धियो, त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो, विलम्व गरेर सफाइ दियो, प्रक्रिया अगाडी नबढाएर सफाइ दियो, आफूले खनेको खाल्डोमा आफैं परेर सफाइ दियो, अथवा आफैंले थापेको पासोमा आफैं परेर सफाइ दियो त्यो ऊ जानोस्, सफाइ त दियो, अथवा पारित गरेन,’ उनले भने । उनले सरकारले सर्वोच्च अदालतमाथि गोलाबारी गरेको आरोप लगाए । संसदीय प्रक्रियाको निश्चित अवधि हुने भन्दै अध्यक्ष ओलीले आगामी संसदमा पनि सभामुखले महाअभियोग प्रस्ताव घर्रामा राखे भने के हुन्छ ? भन्ने प्रश्न गरे । सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने उनले बताए । उनले भने ‘अर्को संसदको सभामुखले पनि घर्रामा राख्यो भने ? फेरि अर्कोले गर्ने ? तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्छ । सरकारले पुष्टि गर्नुपर्ने, गरेन । बोरिस एल्सिनले रुसमा संसदमाथि गोलाबारी गरेको थियो । अब यस्ता बोरिस एल्सिनहरुसँग संसदका कुरा के गर्ने ? अदालतका कुरा के गर्ने ? स्वतन्त्र न्यायालयको कुरा के गर्ने ? लोकतन्त्रका कुरा के गर्ने ? कानूनी राजका कुरा के गर्ने ? यिनीहरु त बोरिस एल्सिन जस्ता । यो त सर्वोच्च अदालतमाथि लगातार हानेको गोलाबारी नै हो नि यो ।’ उनले सरकारले गैरजिम्मेवार क्रियाकलाप गरिरहेको भन्दै आफूहरुले त्यसको बिरोध गर्ने बताए । उनले लोकतान्त्रिक मूल्यमान्यता र शक्ति पृथकिकरणको सिद्धान्त अनुसार शासन सत्ता चल्नुपर्ने उनको भनाई छ ।
महिला साफ च्याम्पियनसिप : साँझ ५ बजे नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै, टिकट शुल्क कति ?
काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५ः०० बजे सुरु हुने भएको छ । सोमबार साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो । नेपाल र बंगलादेश पहिलो पटक उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् । महिला साफ च्याम्पियनसिपको समूह चरण र सेमिफाइनलकै टिकट दर फाइनलका लागि यथावत राखिएको बताइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर कायम भएको छ ।
‘सरकारले एकदमै अत्याचार गर्यो, जनताले हाम्रो जीवन रक्षा गरिदिनुस्’ (भिडियोसहित)
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधी राणाले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छिन् । जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताइन् । आईतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताइन् । देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताइन् । उनले भावविह्वल हुँदै स्कुुलमा रहेको बच्चा ल्याउने नदिने, औंषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो गरिन् । हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधिले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गरिन् । ‘हामीलाई बाहिर निस्कन पनि दिईराखेको छैन, बच्चाहरु स्कुलमा लिन जानुपर्छ, एउटा बच्चा लिई आईराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो, हामीले पनि बाँच्न पाउनु पर्यो नि । एकदमै अराजकताको पनि पराकाष्ट छ । अव के कारणले यिनीहरुले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरुलाई चाँही एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ, अब यो सबै कुरा चाँही नेपाली जनताले बुझिदिनु पर्यो,’ उनले भनिन् । ‘हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौं-सबजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबजना उठेर आई दिनुपर्यो । हामीहरुलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । हामीबाट यहाँबाट बाहिर निस्कन र भित्र जाने हाम्रो कन्डिसन छैन, यो सबै जनाले बुझिदिनु पर्यो, म यही भन्न चाहन्छु, हामी १० बजे अदालत जाने भनेपछि पुलिसहरु एकदमै आक्रामक शैलीमा हाम्रो निवासको बाहिर जम्मा हुनु भएको छ । उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिईराख्नु भएको छैन, बच्चाहरुलाई लिन जानुपर्छ सञ्चो छैन, औषधिहरु लिन जानु पर्यो, काम गर्ने मानिस बाहिर हिँडीराखेको बेलामा उनीहरुलाई समातेर लगेर अराजकता मच्चायो भनेर थुनि राखेको छ, अराजकता कसले मच्चाई राखेको छ ? त्यो त स्वतन्त्र रुपमा देखिराख्या छ बाहिर, उहाँहरुले एकदमै सबै जनालाई आफ्नो सरकारको दमनमा पावर देखाएर हामीलाई यस्तो गरिराख्नु भएको छ । यो सबै कुरा नेपाली जनताले बुझ्न एकदमै जरुरी छ, अहिलेको सरकारले एकदमै हामीलाई अन्याय, अत्याचारै गरेको छ । यो गठबन्धनको सरकारले हामीमाथि अत्याचारै गरेको छ, हामीले त एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ,’ उनले भनिन् । सुनिधीका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनु भएको बुझिएको छ । छोरी सुनिधिका अनुसार उनाँलाई सञ्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औंषधि ल्याउन समेत नदिएको बताइएको छ । ‘सरकार हाम्रो विरुद्धमा लागेको छ, हाम्रो त हातखुट्टानै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौं ? हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिम्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के लगत हो ? छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आई दिनुपर्यो, अदालतको माया छ भने हामीलाई सहयोग गर्नु पर्यो,’ उनले भनिन् । निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज (आईतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरिरहेका थिए । तर सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ । यता, राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबरा र उनको परिवारको अवस्थाबारे जानकारी लिन गएपनि त्यसबारे औंपचारिक कुनै जानकारी गराएको छैन । भिडियो : न्याय माग्दै चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधी
ग्लोबल आईएमई लघुवित्तले २० जना ग्राहक सदस्यलाई दियो डल बनाउने तालिम
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाकास्थित शाखा कार्यालय ताथलीबाट २० जना ग्राहक सदस्यहरुलाई आधारभूत डल तथा कुशन बनाउने तालिम प्रदान गरेकोे छ । वित्तीय संस्थासग आवद्ध सदस्यहरुको आम्दानीको श्रोत वृद्धि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा रबिना रिजालले प्रशिक्षण दिएकी थिइन् । सो तालिम भदौ २९ गते सुरु भई ३१ गते समापन भएको थियो । आर्थिक उपार्जनको विभिन्न माध्यमहरु मध्ये डल तथा कुशन बनाउने तालिम पनि एक भएको र तालिमबाट प्राप्त सीपको प्रयोग गर्न सकिएमा आर्थिक उपार्जन गर्न सकिने प्रशिक्षक रबिना रिजालले बताइन् । हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ४८ हजार ३४९ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ६४ करोड ४९ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट ३ अर्ब १ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
साथीमार्टले असोज १५ गतेदेखि फ्रेन्चाइज नदिने
काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरेको साथीमार्टका संस्थापक सीईओ सागर पोख्रेलले बताए । यसका साथै मार्टले प्रविधिको विकास, हप्ताको सातै दिन र २४ सै घण्टा सहयोग गर्ने, सप्लाइ चेनको व्यवस्थापन, स्टोर सेटअप र त्यसको व्यवस्थापनका लागि सहयोग गर्ने र अन्य नयाँ योजनाहरु लागू गर्ने पनि बताएको छ । नेपालमा पहिलोपटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इ-कमर्स सञ्चालन गर्ने साथीमार्टले देशैभर सेवा विस्तार गरेको छ । एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई(कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ । नेपालमा ३० भन्दा बढी जिल्ला र ६० भन्दा धेरै सहरमा साथीमार्टको १०८ फ्रेन्चाइज सञ्चालनमा छन् । त्यस्तै, काठमाडौ, इटहरी, विर्तामोड र बुटवलमा वायरहाउस रहेको छ, र चितवन र धनगढीमा छिट्टै सञ्चालन गर्ने योजना रहेको छ । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
आइएमई पे मार्फत गोल्डस्टार जुत्ता किन्दा २० प्रतिशत छुट
काठमाडौं । आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैं तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । साथै, प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा जुत्ता खरिद गर्दा फ्लाट २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ । आइएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनछन् । सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन् । यद्यपि, विजेताहरुले डेलिभरी चार्ज भने स्वयम नै तिर्नु पर्ने शर्त राखिएको कम्पनीले बताएको छ ।
नारायणी डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल स्टार चितवनमा विशेष छुट
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवन बीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई होटलमा छुट दिने सम्झौता भएको हो । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवनका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंकका विशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवनको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्ने छन । बैंकले विभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई विभित्र मापदण्डको आधारमा विशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटलबाट लिने सेवामा छुट लिन सक्ने बैंकले जनाएको छ ।