विकासन्युज

हिमालयन बैंकको न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालन

काठमाडौं । हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ । यस क्यास डिपोजिट मेसिन बाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघिपछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ । हाल बैंकले नेपालभरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६,००० भन्दा बढी पिओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ ।

सुर्खेतमा टीभीएसको ३५ जना राइडरका साथमा एओजी राइड सम्पन्न 

काठमाडौं । टीभीएसले सुर्खेत जिल्लामा “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको सम्पन्न गरेको छ । असोज १ गते सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइड अन्तर्गत ३५ जना राइडर सहभागि थिए । कार्यक्रम अन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा निकै खुशी लागेकाे बताएका थिए । टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरु रहेकाे छ ।

क्यानले १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नपाउने, यस्ता छन् मन्त्रिपरिषदका दर्जनौं निर्णयहरु

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान) ले विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नपाउने भएको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषदको निर्णय आईतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वि.सं. २०७७ कार्त्तिक २७ गतेको मन्त्रीपरिषद्को विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको बताएका हुन् । उनले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको पनि बताए । उनका अनुसार सरकारले संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्यष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, राष्ट्रिय भूमि आयोगका सदस्यहरुमा सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र सोमबहादुर नेपालीलाई कास्की जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले कोहलपुर-सुर्खेत-दैलेख, १३२ केबी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीले सरकारले वि.सं.२०७९ कार्तिक ८ र ९ मा जेनेभामा आयोजना हुने कमिशन अन साइन्स टेक्नोलोजी फर डेभलपमेण्ट इन्टरसेशनल प्लान मिटिङमा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवलाई भाग लिन स्वीकृत दिने निर्णय गरेको बताए । यस्ता छन् १२ निर्णयहरु – नेपालको संविधानको धारा ५३ को उपधारा २ बमोजिम संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत २०७९ साल असोज १ गते शनिवार राति १२ बजेबाट अन्त्य गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । – सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने । – विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृत दिने । – विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने । – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव  कालीप्रसाद पराजुलीलाई तोक्ने । – २०७९ साल कार्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुन गइरहेको इनटरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक रजप्रताप सिंहलाई सहभागी हुन स्वीकृत दिने । – संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्येष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने । – राष्ट्रिय भूमि आयोगका सदस्यहरुमा नवलपरासी पश्चिम पालीनन्दन गाउँपालिका २ का  सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र पोखरा नगरपालिका वडा नम्बर ९ का सोमबहादुर नेपालीलाई कास्की जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्ति गर्ने । – कोहलपुर-सुर्खेत-दैलेख, १३२ केबी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने । – २०७९ कार्तिक ८ र ९ मा जेनेभामा आयोजना हुने कमिशन अन साइन्स टेक्नोलोजी फर डेभलपमेण्ट इन्टरसेशनल प्लान मिटिङमा सहसचिव विज्ञान तथा प्रविधिलाई भाग लिन स्वीकृत दिने । – नेपाल सरकार मन्त्रीपरिषद्को २०७७/७/२७ निर्णय बमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने । – २०७९ साल भदौ २१ गतेको निर्णयमा छुट भएको शहीद दशरथ चन्द स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने । प्रवक्ता कार्कीले सरकारले वि.सं.२०७९ साल भदौ २१ गतेको निर्णयमा छुट भएको शहीद दशरथ चन्द स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णइय गरेको पनि बताए ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई साढे ५ लाख जरिवाना

काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवार तथा पदाधिकारीहरुलाई निर्वाचन आयोगले जरिवाना गराउने भएको छ । निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण बुझाउन उम्मेदवार तथा विजयी पदाधिकारीहरुलाई ताकेता गर्दापनि नबुझाएका कारण जरिवाना गराउने निर्णय गर्नुपरेको बताएको हो । आईतबार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन परिणाम प्राप्त भएको ३५ दिनभित्र निर्वाचन खर्च बुझाउनुपर्ने कानूनी प्रावधान रहेको बताए । सो समयभित्र विवरण आयोगलाई बुझाउने उम्मेदवारले भने ७ दिनभित्र सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको भन्दै उनले सो प्रावधानको उल्लंघन गर्नेहरुलाई कारबाही गर्नुपर्नेको बताए । आयोगले ढिलो बुझाउनेहरुलाई र नबुझाउनेहरुलाई स्पष्टिकरण सोधेको भएपनि स्पष्टिकरण चित्तबुझ्दो नभएको उनी बताउँछन् । जरिवाना रकम नबुझाएमा निर्वाचित पदाधिकारीको पद रिक्त हुने तथा उम्मेदवारको हकमा भने ६ वर्षसम्म प्रतिष्पर्धा गर्न नपाउने उनले उल्लेख गरे । त्यसैगरी, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही पाँच लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई जनही दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई चार लाख पचास हजार रुपैयाँ र नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई दुई लाख रुपैयाँका दरले जरिवाना गराउने भएको छ । गाउँ पालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई तीन लाख पचास हजार रुपैयाँ तथा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यको हकमा एक लाख पचास हजार रुपैयाँका दरले जरिवाना हुने भएको छ ।

कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

वीरेन्द्रनगर । कर्णालीमा दसैँ, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन भएको छ । शनिबारदेखि सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा सुपथ पसल सञ्चालन भएको छ । चाडपर्वको बेलामा बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो । उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे । सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारीरूपले तीव्र पारिने बताए । रिजालले यस्ता सहुलियत मूल्य पसल सहरमा मात्र नभई गाउँसम्म पु¥याउन आवश्यक रहेको औँल्याए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुको विविधीकरणमा लागेको बताए । उनले सहुलियत मूल्य पसलबाट चामल, दालसहित घ्यू, तेल तथा अन्य मसलाजन्य वस्तु उपलब्ध गराउनका लागि पहल गरिएको जानकारी दिए । मिश्रले चामल र दालमा प्रतिकेजी सात रुपियाँ छुट दिइएको जानकारी दिए । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख रुपैयाँ र साल्ट्र टेडिङ कर्पोरेसनलाई  एक करोड रुपैयाँ छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । रासस

सानिमा बैंकका ग्राहकले थप २० वटा मर्चेन्टहरुमा छुट पाउने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु÷सेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छ । बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेलर्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शन जस्ता २० वटा विभिन्न मर्चेन्टहरुसंग १० देखि ३० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए टि एम् संचालनमा रहेका छन् ।

सुजुकीको कार किन्दा २ लाखसम्मको छुट, १ वर्षको सवारी बीमा पनि

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् । कम्पनीको अनुसार यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले बताएको छ । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री वितरण गर्दै आएको छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र गेटवे पेमेन्ट सर्भीसले सञ्चालन थालनीको तैयारी गरेको युपीआइ नेपाल क्यूआर बिच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ । ेनेपाल राष्ट्र बैंकले २०७८।१०।२१ मा जारी गरेको परिपत्रमार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाइ अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो । उक्त सम्झाैतामा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीसको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् । स्मार्टच्वाईस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडियामा आवद्ध भुक्तानी संयन्त्र मार्फत नेपाल र भारतबीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तैयारीमा रहेको गेटवे पेमेन्ट सर्भीसबीच भएको यस सम्झौताले मुलुकको डिजिटल भुक्क्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने बताइएकाे छ । यस सम्झौता पश्चात युपीआइ नेपाल क्यूआरको सुविधा लिने विभिन्न व्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुकतानी गर्न सक्नेछन् भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका व्यापार—व्यवसायले युपीआइ नेपाल क्यूआर नेटवर्कमा आवद्ध ग्राहकहरु मार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ ।