‘एक किसानले एक वर्षमा पाँचसय स्याउका बिरुवा रोप्नुपर्छ’
जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् । जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहनदेखि सहुलियत कर्जा र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्न सरकार गम्भीर भएर लागिपरेको स्पष्ट पारे । जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित गुठीचौर एग्रोफर्मको उद्घाटन गर्न शनिबार जुम्ला पुगेका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान छ । एक किसानले एक वर्षमा पाँचसय स्याउका बिरुवा रोप्नुपर्छ ।’ कृषि उत्पादन वृद्धिविना मुलुकको आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘कर्णालीसँग समग्र मुलुकलाई नै पाल्नसक्ने क्षमता भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ ।’ उनले किसान पेसन कार्यक्रमलाई दुर्गममा पु¥याउने र किसानलाई उपयुक्त प्रविधि मल बीउ समयमै वितरण गर्ने सरकारको पहिलो काम भएको जानकारी दिए । ‘जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ । गुठिचौर एग्रो फार्म जुम्लाको आर्थिक विकासका एक आयाम हो’, अर्थमन्त्री शर्माले भने, ‘सङ्घीय सरकारले दुर्गमक कृषि क्षेत्र उत्थानका लागि आवश्यक लगानीको नीति बनाउँछ ।’ उनले कर्णाली कृषि, पर्यटन, जडीबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र पर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको बताए । सांसद गजेन्द्रबहादुर महतले गुठिचौर एग्रोफर्म जुम्लाकै नमूना र आर्थिक समृद्धिको आधार रहेको बताए । उनले गुठिचौर एग्रोफर्मले सयौँलाई रोजगारी सिर्जनादेखि कृषि क्रान्तीको सुरुआत भएको उल्लेख गरे । विसं २०७५ देखि सुरुआत गरिएको गुठिचौर एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार बिरुवा रोपिएको सञ्चालक मिमबहादुर भण्डारीले बताए । उनका अनुसार ५० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ । जुम्लाकै ठूलो स्याउ बगैँचा उद्घाटन गर्न अर्थमन्त्री ल्याउनु जुम्लाको सम्भावनालाई देखाउन खोजिएको हो । जुम्लाले कृषि क्रान्तीमा यसले सुरु गर्छ । स्याउलाई आर्थिक समृद्धिको मेरुदण्डका रुपमा खेती गर्न जरुरी छ । जुम्लाले एक घर एक बगैँचाको अवधारणा अघि सारेपछि स्याउ बगैँचा लगाउनेको होडबाजी नै चलेको सञ्चालक भण्डारीले जानकारी दिए । गत वर्षभन्दा यो वर्षमा स्याउ उत्पादनमा केही वृद्धि भएकाले किसानले स्याउको उचित मूल्य पाउन नसकेको स्याउ किसानको गुनासो छ । जिल्लाको उत्पादनमूलक स्याउ सुर्खेत, नेपालगञ्ज, कोहलपुर, काठमाडौँ, बुटवल, दाङ र नारायणघाटको सहरसम्म पुगे पनि बजारमा जुम्लाको स्याउले खासै मूल्य नपाएको स्याउ व्यापारी धर्मसंह कठायतले बताए । रासस
हाईल्याण्ड डिस्टिलरीकाे यती भोड्का सार्वजनिक
काठमाडाैं । हाईल्याण्ड डिस्टिलरीले ‘यती भोड्का’ बजारमा सार्वजनिक गरेको छ । नयाँ शैलीकाे फंकी बाटलमा आएकाे यस भाेड्का कम्पनीले भर्खरै सार्वजनिक गरेकाे हाे । स्विट्जरल्याण्डको प्रविधि प्रयोग गरिएको यती भोड्का चार गुणा डिस्टिल र तीन गुणा फिल्टर गरिएको कम्पनीले जनाएकाे छ । यति भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काभन्दा कम नभएकाे कम्पनीले बताएकाे छ । ‘यती भोड्काको विशेष स्वाद, सिल्की र स्मूथ हुनुका साथै यसले मुखमा आनन्दको मिठो स्वाद दिन्छ र यसको बोतलमा पनि निकै आकर्षक लेबल छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यती भोड्का ७५० मि.लि., ३७५ मि.लि. र १८० मि.लि. गरी ३ साईजमा त्रमशः २२००, ११०० र ५५० रुपैयाँमा मुख्य उपलब्ध छ ।
निफ्रा बैंकको सेयर मूल्य हालसम्म कै सस्तो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको सेयर मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । बैंकको सेयर मूल्य हालसम्म कै सस्तो भएको हो । पूँजी बजार निरन्तर ओरलो लागेसँगै बैंकको सेयरको भाउ पनि हालसम्म कै सस्तो मूल्यमा झरेको हो । आइतबार १.१० बजेसम्मको सेयर कारोबारमा बैंकको सेयर मूल्य ६.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १३.८० रुपैयाँ घटेर १८६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको १ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ । बैंकको सेयर २०७७ फागुन २ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । प्रतिकित्ता ३४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकको सेयर मूल्य निरन्तर घट्दै सस्तो मूल्यमा झरेको हो । बैंकले मात्र गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट चुक्ता पूँजीको ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि बैंकले आव २०७७÷०७८ मा सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता सेयर र सर्वसाधारण समूहको ८ करोड ६४ लाख कित्ता सेयर स्वामित्व रहेको छ । बैंकको सेयर मूलय सुरुवातमा प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेपनि हाल भने न्यूनतम मूल्यमा पुगेको हो । बैंकको सेयर मूल्य सस्तो भएकाले खरिद गर्नको संख्या पनि बढी रहेको छ । पछिल्लो विवरण अनुसार १ लाख २२ हजार ८१८ कित्ता खरिद गर्ने रहेका छन् भने १२ लाख ४५४ कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गरिरहेको छ । बैंकको आम्दानीको मुख्य स्रोत भनेको संकलन गरेको निक्षेपको ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर हो ।
शल्यक्रिया सेवाले जिल्लावासीलाई राहत
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई राहत भएको छ । उक्त केन्द्रले साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको हो । उपचार केन्द्रमा बिहीबारमात्रै पित्तथैलीमा पत्थरीको सफल शल्यक्रिया गरिएको थियो । शुक्लागण्डकी नगरपालिका–७ निवासी ६१ वर्षीया कुमारी गाहा मगरको पित्तथैलीमा पत्थरीको उक्त उपचार केन्द्रमा गरिएको शल्यक्रिया सफल भएको थियो ।जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताए । ‘बाहिर उपचार गर्न जाँदा खर्च बढी हुन्थ्यो, आफ्नो घर नजिकैको अस्पतालमा शल्यक्रिया सेवा पाउँदा सहज भयो,’ उनले भने । उक्त केन्द्र नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन भएपछि सामान्य शल्यक्रियाका लागि पनि पोखरा, भरतपुरलगायत ठूला शहरमा जानुपर्ने बाध्यता अन्त्य भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतमा शल्यक्रिया सेवा दिइरहेको उनले बताए । ‘यहाँ नियमितरुपमा सञ्चालन भएको शल्यक्रिया सेवा तनहुँलगायत आसपासका जिल्लावासीलाई सहज भएको छ,’ डा श्रेष्ठले भने । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा। विद्याभुषण ताम्राकार, सर्जन डा। परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा। रमेश घिमिरे, डा। अभिषेक पौडेल आदी छन् । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई पनि राहात भएको छ । केन्द्रमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । उक्त केन्द्रले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गर्नाका साथै केही समय अगाडिदेखि कल्चर सेवा पनि शुरु गरेको छ । बिहान १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायत सेवा पनि उक्त केन्द्रबाट सञ्चालन भइरहेको छ । पचास शैय्याको उक्त केन्द्रमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेट सम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व।गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।उक्त केन्द्रमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत् उपचार केन्द्रमा पूर्वाधार निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको थियो । केन्द्रमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन भइरहेको छ । दुई करोड १८ लाख रुपैयाँको लागतमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । रासस
पाँच तारा सहकारीले सदस्यलाई १८ प्रतिशत लाभांश दिने
काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । सहकारीको शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले सदस्यलाई संस्थाले सदस्यलाई १० प्रतिशत नगद लाभांश र ८ प्रतिशत संरक्षित पुँजी फिर्ता कोषबाट दामासाहीले रकम दिने निर्णय गरेको हो । संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षता उक्त साधारणसभा सम्पन्न भएको थियो ।संस्थाले २०३ नयाँ सदस्य सदस्य वृद्धि गर्न सफल भएको छ । सभाले संस्थाका कोषाध्यक्ष कुमार विमलीद्वारा प्रस्तुत आ.व.२०७८/०७९ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक सुशिल प्रसाईले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा सेयर पुँजी ८ करोड १२ लाख ५६ हजार पुर्याउने लक्ष्य संस्थाले लिएको छ । संस्थाको साधारण जगेडा कोषमा ५ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको छ भने अन्य कोषमा ४ करोड ५२ लाख ८४ हजार रहेको छ । त्यस्तै, संस्थागत विकास कोषमा १ करोड ८ लाख ४६ हजार रुपैयाँ रहेको छ । संस्थाले यस गत आ.व.मा ५७ करोड ४१ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ९० लाख ६९ हजार कर्जा लगानी गर्न सफल भएको छ । संस्थाले गएको आर्थिक वर्ष २ करोड २४ लाख ९९ हजार रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ । सभामा ७० वर्षमाथिका ३५ जना ज्येष्ठ सदस्यलाई प्रतिव्यक्ति २ हजारका दरले दशैं भत्ता प्रदान गरिएको थियो । संस्थाले यस वर्षबाट सदस्य राहत कार्यक्रम समेत शुरुवात गरेसँगै संस्थाका संस्थापक सदस्य उर्वती घिमिरेको निधन भएकाले निजका परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
किसानलाई चीज बनाउन सिकाउँदै गल्याङ नगरपालिका
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चीज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चीज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चीजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रमअन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चीज’ उत्पादनसम्बन्धी सीप प्रदान गरिएको पशु विकास शाखा प्रमुख सुशील अर्यालले बताए । नेपाली बजारमा चीजको माग उच्च रहेकाले बजारको समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएकाले किसानलाई नयाँ परिकार उत्पादन गर्नेतर्फ अभिप्रेरित गरिएको उनले बताए । ‘अमेरिकाबाट आएका विशेषज्ञसँगै यहाँका किसानले सीप सिकिरहेका छन्’, उनले भने, ‘स्वादका हिसाबले गुणस्तरीयतामा जोड दिएका छौँ, गुणस्तरीय उत्पादन गरेपछि बजारीकरणको समस्या हुँदैन ।’ गल्याङ–९ गेझास्थित मुरली एग्रोफर्म प्रालिमा अमेरिकाबाट आएका चीज विशेषज्ञमार्फत सीप सिकाइएको हो । दूध उत्पादन गर्दै आएको मुरली एग्रोफर्ममा आवद्ध चार जना किसानसहित स्थानीय १५ जना दुग्ध उत्पादक किसानले सीप सिकेका छन् । चीज गाउँ ठाउँकै लागि नयाँ र नौलो भएकाले पनि यहाँका दुग्ध उत्पादक आकर्षित भएका छन् । ‘दूध उत्पादन गर्दै आएका छौँ, हाम्रो फर्मको उद्देश्य नै यहाँको दूध यहीँ खपत गर्नुपर्छ भन्ने हो’, मुरली एग्रोफर्मका सञ्चालक कुसुम भण्डारीले भने, ‘हाम्रो उद्देश्य अनुरुपकै कार्यक्रम नगरपालिकाले यहाँ सञ्चालन गरिदियो हामी निक्कै खुसी छौँ ।’ गाईपालनसम्बन्धी तरिकासहित चीज बनाउनका लागि निक्कै उत्साहित भएर यहाँका किसान लागेको सञ्चालक भण्डारीको छ । दूधबाट भन्दा पनि चीजबाट मूल्य धेरै पाइने, बजारको समस्या नहुने, नयाँ र नौलो परिकार बनाउने सीप पाएपछि व्यवसाय थप प्रभावकारी हुने उनको दाबी छ । उपभोगसँग मात्रै रमाएको पुस्तालाई उत्पादनसँग जोड्नका लागि नगरपालिका निरन्तर अगाडि बढेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । घर–घरको आर्थिक विकास नहुँदासम्म पालिकाको समृद्धि सम्भव नहुने उनको बुझाइ छ । ‘गल्याङ नगरपालिका कृषि र पशुपालनमा सम्भावना बोकेको र ग्रामीण भेग भएको ठाउँ हो’, उनले भने, ‘यहाँ जे जे कुराको सम्भावना हुन्छ, यहाँको हावापानी, भूगोलकै आधारमा सम्भावनाको खोजी गरी अगाडि बढ्दै छौँ ।’ युवाशक्ति विदेश पलायन भइरहेको अवस्थामा उनीहरूलाई यहीँ रोक्दै युवा पुस्तालाई उत्पादनसँग जोड्दै आर्थिकस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ । नगरपालिकाले यहाँका सम्भावनाको खोजी गर्नुका साथै उत्पादन, बजारीकरण, उचित मूल्य प्राप्तिका लागि पहल गर्ने नीति तथा योजनासहित अगाडि बढेको दाबी उनको छ । चीज विशेषगरी होटल तथा रेष्टुरेन्टमा पिज्जामा प्रयोग गर्नका लागि माग हुने गरेको छ । रासस
अग्नि मोटोइन्कले ल्यायाे ‘४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’
काठमाडौं । अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्कले ‘४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर सार्वजनिक गरेकाे छ । चितवनमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त जनेरेटर सार्वजनिक गरेकाे हाे । कम्पनीकाे अनुसार नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको छ । उक्त जनेरेटर नेपालभर रहेका सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जनाएकाे छ । हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीए देखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ ।
व्यावसायिक किबीखेतीमा रमाउँदै मेलम्चीका कृषक, वार्षिक १० लाख आम्दानी
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षांैदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् । उनीहरुले हैबुङ कृषि फार्मबाट मेलम्ची–१ भोटेचौर र मेलम्ची–३ हैबुङमा किबी उत्पादन गर्दै आएका छन् । पचास रोपनी बढी जमिनमा उनीहरुले खेती गर्दै आएका हुन् । परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर हावापानीअनुसारको खेती गर्न उनीहरु लागिरहेका छन् । मेलम्चीमा किबी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको मेलम्ची–१ का कृषक राजेन्द्र दुलालले बताए । ‘करिब १२०० बोट किबी लगाएका छौँ । २०७० साल बाट सुरु गरेका हौँ’, उनले भने, ‘बजारमा किबीको मूल्य र माग दुवै रहेको छ । किबी रोपेर आम्दानी राम्रो भएको छ ।’ ‘बिरुवा हुर्केर आम्दानी दिन पाँच वर्ष लाग्ने रहेछ । युट्युव र किताब हेरेरै खेती गर्ने प्रक्रिया सिकेका हौँ । सुरुमा एक करोड रुपैयाँ भन्दा माथि लगानी लागेको छ’, उनले सुनाए । किबी खेती सँगसँगै बिरुवा पनि बिक्री गर्ने गरेको उनले बताए । ‘जमिन बाँझो भएर बसेको छ । धेरै युवाहरुले वैदेशिक रोजगारी लाई रोज्ने गरेका छन् । हामी गाउँमै आधुनिक खेती गर्नपर्छ भनेर लागीरहेका छौँ । यो खेती गरेपछि पहिलाको जस्तो धेरै बाँदर र बँदेलले पनि दुःख दिएको छैन । वार्षिक १० लाखभन्दा माथि आम्दानी हुन्छ’, दुलालले भने । किबीखेती गरेमा आम्दानी राम्रो हुने भएपछि आफूले किबी लगाएको मेलम्ची नगरपालिका–१ कुलप्रसाद चौँलागाइले बताए । ‘किबी फल गाउँमा बिरलै सुन्न पाइन्थ्यो, एकजना अग्रज बाट यो फल राम्रो हो भन्ने जानकारी पाएँ । नौ/दश वटा फलमा हुने गुण एउटै किबी फलमा हुने रहेछ भन्ने ज्ञान प्राप्त गरेर हामीले यो फल सुरु गरेका हौँ’, उनले भने । किबी फलको भविष्य राम्रो रहेको उनले बताए । यो व्यवसाय अन्य बाली भन्दा उपलब्धिमूलक रहेको समेत उनले बताए । सरकारले यो खेतीलाई प्रोत्साहन गर्नुपर्ने उनको माग छ । घरपरिवारको जीविकोपार्जन समेत किबी खेतीबाट राम्रो चलाइरहेको उनी बताउँछन् । मेलम्ची नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ९ वडाका कृषकले १० हजार किबीको बिरुवा लगाएका छन् । करिब छ सय २५ रोपनी जमिनमा कृषकले किबीखेती गर्दै आएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । ‘पचास प्रतिशत लागत साझेदारीमा गतवर्ष १६ वटा फार्मलाई अनुदान दिएको थियो । यस वर्ष पनि प्रदेशको १५ लाख रुपैयाँ अनुदान वडा नं १ र ९ का कृषकलाई दिन लागिएको छ’, आचार्यले भने । सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने भएपछि किसान यो खेतीतर्फ आकर्षित भएका हुन् । किबीखेती मौसमका अनुसार पनि मेलम्ची उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भएर यो खेतीको सुरुआत गरिएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । किबी खेती समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि दुईहजार चार सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्वपूर्ण औषधिका रूपमा लिइन्छ । रासस