ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले १४ लाख रुपैयाँभन्दा बढी ऋण रहेको उपभोक्ता समितिले जनाएको छ । करिब दुई करोड रुपैयाँमा लागतमा सञ्चालन गरिएको लघु जलविद्युत् आयोजनाका लागि ऋण लिइएको नौँ लाख रुपैयाँ रकम अझै फिर्ता गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष अग्नीप्रसाद राईले बताए । ‘एक घर उपभोक्ताबाट प्रति महिना १०० रुपैयाँका दरले सेवा शुल्क लिने निर्णय गरेका थियौँ’, उनले भने, ‘समितिले तोकेको सेवा शुल्क उपभोक्ताले नबुझाउदा अहिले आर्थिक सङ्कट भएको छ । उपभोक्ताबाट सेवा शुल्क नउठेपछि आयोजना नै सङ्कटमा परेको छ ।’ नाखामखोला लघु जलविद्युत् आयोजनामा अहिले तीनजना प्राविधिक कर्मचारी कार्यरत रहेका र उनीहरुलाई मासिक तलब दिनसमेत समस्या भएको उपभोक्ता समितिले जनाएको छ । प्राविधिक कर्मचारीका लागि मासिक तलबबापत छ लाख रकम भुक्तानी दिन बाँकी रहेको अध्यक्ष राईले जानकारी दिए । सुरुमा सबै उपभोक्ताको उल्लाशमय सहभागितामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइए पनि पछिल्लो समय हेल्चेक्र्याइँले समस्या भएको देखिएको वडाध्यक्ष मुगाधन राईले बताए । ‘अहिलेको अवस्था हेर्दा लामो समय सञ्चालन गर्न सकिने अवस्था छैन’, उनले भने, ‘सामूहिकरुपमा सञ्चालन गरिएको आयोजना भएकाले एकजना व्यक्तिको निर्णयले चलाउने कुरा भएन । आर्थिक सङ्कट दिनानुदिन बढ्दै गएपछि उपभोक्ता समितिको बैठक बसेर केन्द्रीय प्रशारणलाइनमा जोड्न निर्णय गरिएको छ ।’ पटकपटक बिग्रँदै आएको उक्त नाखामखोला लघु जलविद्युत् आयोजना मर्मत गर्ने क्रममा यही भदौ १९ गते स्थानीय ३६ वर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको थिायो । श्रीमतीसहित चार सन्तानका बुबा प्रकाशको करेन्ट लागेर मृत्यु भएपछि क्षतिपूर्तिसमेत दिन नसकिएको उपभोक्ता समितिले जनाएको छ । विद्युत् गृह नजिक घर भएका राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गरेर सहयोग गर्दै आएकामा करेन्ट लागेर ज्यानै गुमाएको स्थानीयलाई बताएका छन् । सुरक्षाका उपाय नअपनाई अवरुद्ध विद्युत मर्मतको काम गर्दा यसअघि पनि विभिन्न समयमा प्राविधिक कर्मचारी र स्थानीय बासिन्दालाई पटक–पटक करेन्ट लाग्दै आएको छ । उता ऐसेलुखर्क गाउँपालिकामा तीनवटा लघु जलविद्युत् सञ्चालनमा छन् । वडा नं २ बाकाचोलमा सञ्चालित लिदिङखोला–२ लघु जलविद्युत् आयोजना ७० किलोवाट क्षमताको छ । दश वर्षअघि सञ्चालनमा ल्याइएको उक्त लघु जलविद्युत् आयोजनाको ऋण अहिले २७ लाख रुपैयाँ पुगेको उपभोक्ता समितिले जनाएको छ । वडा नं १ राखाबाङ्देलमा २०६९ भदौबाट सञ्चालित ७० किलोवाट क्षमताको लिदिङखोला–१ लघु जलविद्युत् आयोजनामा २५ लाख रुपैयाँ ऋण रहेको वडाध्यक्षसमेत रहनुभएका उपभोक्ता समितिका अध्यक्ष पुरुषोतम राजभण्डारीले बताए । ‘सेवाग्राहीले महसुल बुझाउने हो भने लघु जलविद्युत् आयोजना यतिबेला फाइदामा जान्थ्यो’, उनले भने, ‘सबैको अपनत्व हुनेगरी उपभोक्ता समितिमार्फत सञ्चालन गरियो । अहिले उपभोक्ता समितिलाई कसैले टेर्दैनन् । उपभोक्ता समितिले धान्न नसकेपछि वडालाई यसको व्यवस्थापन हेर्ने जिम्मेवारी आएको छ ।’ गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं। ३ ऐसेलुखर्कका स्थानीय बासिन्दाले सञ्चालनमा ल्याएको ९० किलोवाट क्षमताको लिदिङखोला ३ लघु जलविद्युत् आयोजनाको ऋण ७० लाख रुपैयाँ रहेको जनाइएको छ । केन्द्रीय प्रशारणलाइनको विद्युतसमेत सञ्चालनमा रहेको उक्त ठाउँमा सञ्चालित लघु जलविद्युत् आयोजनाको उपभोक्ता समितिले ऋण तिर्न नसकेपछि आयोजना नै बन्द गर्ने अवस्था आएको बुझिएको छ । आर्थिक सङ्कट झेल्दै आएका गाउँपालिकाभित्र सञ्चालित लघु जलविद्युत्लाई एकीकृत गर्दै केन्द्रीय प्रशारणलाइनको विद्युतमा जोड्नेगरी पहल थालिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए । ‘हरेक वर्ष प्राकृतिक प्रकोपले क्षति गरेपछि उपभोक्ता समितिले क्षतिपूर्तीका लागि गाउँपालिकामा निवेदन ल्याउँछ’, उनले भने, ‘गाउँपालिकाले सहयोग गर्ने स्थिति छैन । केन्द्रीय प्रशारणलाइनमा जोडियो भने उसैले हेर्ने भएकाले प्रक्रियाको बारेमा परामर्श भइरहेको छ ।’ केपिलासगढी गाउँपालिका–१ फेदीमा मात्रै चारवटा लघु जलविद्युत् आयोजना उत्पादन गरिएको थियो । अहिले तीनवटा सञ्चालनमा रहेका छन् भने, एउटा उत्पादन गरेर सञ्चालनमा ल्याएको केही महिनापछि नै पहिरोले बगाएर अलपत्र छ । ब्रिटिस गोर्खा वेलफेयर खोटाङको एक करोड २५ लाख रुपैयाँ लगानी तथा उपभोक्ताको श्रमदानमा उत्पादन गरिएको ३६ किलोवाट क्षमताको पञ्चमी–छमुवाखोला लघु जलविद्युत् आयोजना पहिरोले बगाउँदा एकजना प्राविधिक कर्मचारीको ज्यानसमेत गएको थियो । फेदीमा स्थानीय बासिन्दाको चन्दा सङ्कलन तथा दातृ निकायको सहयोगमा ४० किलोवाटको नोक्ती–तापखोला जलविद्युत् आयोजना, ३९ किलोवाटको स्वाँरा–तापखोला जलविद्युत् आयोजना र २४ किलोवाटको छमुवाखोला जलविद्युत् आयोजना हाल सञ्चालनमा छन् । करिब ६२५ घरधुरीले उपभोग गर्दै आएका यी तीनवटै लघु जलविद्युत् आयोजनामा आर्थिक सङ्कट रहेको वडाध्यक्ष नीरकुमार राईले बताए । सस्तो, भरपर्दो र स्थानीयवासीलाई रोजगारीको बन्दोबस्तसमेत हुने अपेक्षासहित जिल्लामा करिब तीन दर्जन लघु जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित लघु जलविद्युत् आयोजनामा अहिले आर्थिक सङ्कट देखिएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् । विसं २०५७ मा दिक्तेल बजारमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको लामो समयसम्म जिल्लाका अधिकांश ठाउँमा विस्तार नभएपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्त लघु जलविद्युत् आयोजना सञ्चालन गरेका थिए । शुरुमा लघु जलविद्युत् उत्पादनमा हौसिएका स्थानीय बासिन्दा अहिले आर्थिक सङ्कट पर्दै गएपछि निराश बनेका छन् । लघु जलविद्युत्मा आर्थिक सङ्कट पर्न थालेसँगै जिल्लामा सञ्चालित सबै लघु जलविद्युत् आयोजनाहरुलाई एकीकृत गर्दै केन्द्रीय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ २०७० सालमा केपिलासगढी गाउँपालिका–१ फेदीका तत्कालीन वडाध्यक्षसमेत रहनुभएका वीरबहादुर तामाङको अध्यक्षतामा ‘लघु जलविद्युत् उपभोक्ता जिल्ला महासङ्घ खोटाङ’ गठन गरिएको थियो । उक्त महासङ्घ अहिले निष्क्रिय छ । कानूनी झन्जटका कारण जिल्लामा सञ्चालित लघु जलविद्युत्लाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने काम गर्न नसकिएको अध्यक्ष तामाङले बताएका छन् । ‘अहिले जिल्लामा मात्र नभई देशभर सञ्चालित लघु जलविद्युत् आयोजनाहरु आर्थिक सङ्कटमा छन्’, उनले भने, ‘आर्थिक सङ्कटकै कारण अधिकांश लघु जलविद्युत्हरु बन्द हुने अवस्थामा छन् । यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।’ जिल्लामा उत्पादित १०० किलोवाट क्षमतासम्मको साना जलविद्युत् आयोजनाहरु केन्द्रीय प्रशारण लाइनमा जोड्न जिल्लामै सम्झौता गरेर प्रक्रिया अगाडि बढाउन सकिने नेपाल विद्युत प्राधिकरण, दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख विजयराज रेग्मीले बताए । रासस
राष्ट्रिय वाणिज्य बैंकले किंग्स कलेजका उद्यमी विद्यार्थीलाई सहुलियत ऋण दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दैआइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने इन्क्युवबेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ । काठमाडाैंमा आयोजना गरिएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कलेजको तर्फबाट कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । अर्धवार्षिक रूपमा संचालन गरिने ‘ओथारो’ले सहभागीहरूको सोचलाई सघन कार्यशाला, मेन्टरसीप, विज्ञसँगको साक्षात्कार र अन्तरक्रियाका साथसाथै आवश्यक सहयोग प्रदान गरेर व्यवसायमा रूपान्तरण गर्न सघाउ पु¥याउँदै आइरहेको कलेजले बताएको छ । राष्ट्रिय वाणिज्य बैंकसँगको हातेमालोले उद्यमशील सोच एवं धारणालाई व्यवसायीक स्वरुप प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै यस सहकार्यबाट अधिकतम नेपाली युवाहरूले नवीनतम उद्यमको विकास र प्रवद्र्धन गर्नका लागि अवसर पाउने कलेजका कार्यकारी निर्देशक अर्यालले बताए । ‘उद्यमशीलता प्रवद्र्धनका लागि हामीले विभिन्न नगरपालिका लगायत अरू संस्थाहरूसँग पनि सहकार्य गर्दै आएका थियौं,’ साझेदारी पत्रमा हस्ताक्षर गरेपश्चात राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए, ‘किंग्स कलेजजस्तो उद्यमशीलता केन्द्रित प्रतिष्ठित शैक्षिक संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । कलेजसँग आगामी दिनमा अन्य क्षेत्रहरुमा पनि सहकार्य गर्ने इच्छा छ ।’ श्रेष्ठका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यस कार्यक्रममा विज्ञहरू, आर्थिक साझेदार तथा उत्कृष्ट तीन सहभागीलाई बैंकको प्रक्रिया र नियमानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउने छ । ‘कलेजले कार्यक्रमको योजना, आयोजना तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारीसँगै आर्थिक साझेदारी र विज्ञहरू पनि उपलब्ध गराउनेछ,’ अर्यालले जानकारी दिए ।
प्राधिकरणले दुई करोड ३४ लाख लगानीमा बाराको टाँगियाबस्तीमा बाल्यो बिजुली
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ । प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनै भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगिया बस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए । नेपाल विद्युत प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्याएर शनिबारबाट टाँगियाबस्तीमा बत्ति बलिएको हो । टाँगियाबस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरु, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाँगियाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो । टोलीले टाँगियाबस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो । ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो । प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ वत्ति जडान गरिएको बताए । प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ । रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभरड कन्डक्टर÷इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ । टाँगियाबस्तीमा विद्युत उपलब्ध गराउन एक सय केभिए क्षमताका चार थान बितरण ट्रान्सफर्मर जडान गरिएको छ ।
‘काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउनु हुन्न’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नु नहुने बताएका छन् ।आईतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए । पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । श्रेष्ठ अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताउँछन् । ‘मन्त्रालयले पुरानै शैलीमा संरचनाहरुको स्थापना गर्ने योजना बनाएको छ, पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले कयोजनावद्ध रुपमा काम गरिरहेको छ, पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर अघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेका हाैं, उनले भने । मन्त्री श्रेष्ठले पर्यटकहरुलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण हुने जानकारी दिए ।
अधिकतम मूल्यबाट सुरु भयो अभियान लघुवित्तको कारोबार, कतिमा भयो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अभियान लघुवित्तको पहिलो पटक सेयर कारोबार भएको छ । आइतबार नेप्सेको स्पेसल प्रिओपनिङ सेसनमा लघुवित्तको सेयर कारोबार अधिकतम मूल्यबाट कारोबार भएको हो । लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ३१६ रुपैयाँमा कारोबार भएको हो । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । सोही अनुसार लघुवित्तको पहिलो कारोबार अधिकतम मूलयबाट सुरु भएको हो । लघुवित्तको दोश्रो बजारमा कारोबारका लागि एभिवाइएएन सिम्बोल प्रदान गरेको छ । लघुवित्तको २५ लाख कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।
राष्ट्र बैंकले १२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार ९१ दिन अवधिका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँ गरी कूल १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछ । आइतबार ३ बजे दुवै ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ ।
बन्दीपुर गाउँपालिकाले दियो १८ विद्यालयलाई कम्प्युटर
तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छ वटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । शैक्षिक गुणस्तरका आधारमा दण्ड तथा पुरस्कारको नीति अवलम्बन गरेको सो गाउँपालिकाले जनाएको छ । पालिकाका सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति लिइएको छ । ‘एक विद्यालय, एक विज्ञान प्रयोगशाला’ विकासको अवधारणाअनुरुप क्रमशः सबै विद्यालयमा विस्तार गर्दै लैजाने कार्यलाई पनि निरन्तरता दिइएको उनले बताए । गाउँपालिकाले सामुदायिक विद्यालयलाई अपाङ्गतामैत्री, आधारभूत खानेपानी तथा शौचालययुक्त र शिक्षा सिकाइलाई सहयोग पुग्ने सुरक्षित पूर्वाधार विकासमा जोड दिँदै आएको छ । गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको संरक्षण र संवद्र्धनका लागि गाउँपालिकामा मर्मतसम्भार कोषको स्थापना गर्ने योजना बनाएको छ । आधारभूत तहसम्मको शिक्षालाई प्रवद्र्धन गरी विपन्न, कमजोर तथा पिछाडिएका वर्गका बालबालिकालाई विद्यालय पहुँचमा पु¥याउन विपन्न लक्षित कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्र रहेका गरिब तथा जेहेन्दार कक्षा १२ उत्तीर्ण गरेका छजना विद्यार्थीलाई वार्षिकरूपमा छात्रावृत्ति प्रदान गर्ने नीति अवलम्बन गरिएको छ । प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । शैक्षिक सुधारका लागि एकाइ परीक्षाको नीति लिएर अघि बढिएको गाउँपालिकाले जनाएको छ । रासस
बोटलर्स नेपालको दुवै कम्पनीको लाभांश घोषणा, कसकाे बढी ?
काठमाडाैं । नेपालमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको कमाइएबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) ले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।