विकासन्युज

सामाजिक सञ्जालमा रमाउनाले हराउन थाले गाउँघरबाट दसैँमा पिङ

त्रिवेणी । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ । ‘पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो,’ कावासोतीका स्थानीय विनोद सिग्देलले भने, ‘अहिले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।’ गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उनले स्मरण गरे । ‘कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो,’ सिग्देलले भने, ‘पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो ।’ नेपाली संस्कृति परम्परा अनुसार दसैँमा पिङ राख्ने चलन छ । अझ गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने बिश्वास रहिआएको छ । तर, नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ । कावासोतीका रमाकान्त पौडेलले भने, ‘सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ ।’ बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय गौड बन्दै गएको उनको भनाइ छ । ‘सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,’ पौडेलले भने, ‘सहरबजारका मानिसको दैनिकी पनि आफैमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु ।’ गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ । ‘रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ,’ चापागाईंले भने, ‘यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो ।’ फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताए । पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ । पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उनको भनाइ छ । दसँै र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । ‘हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ’, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भने । रासस

विश्वको सबैभन्दा सस्तो विद्युतीय गाडी नेपालमा पाइन्छ, अब ईभीको विकल्प छैन : अध्यक्ष थापा

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अहिले काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी अटो शो गरिरहेको छ । गत बिहीबारदेखि सुरु भएको नाडा ईभी एक्स्पो आइतबार सकिँदैछ । नाडा ईभी अटो एक्स्पो नेपालमा पहिलो पटक भएको हो । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समयमा आयोजना गरिएको नाडा ईभी अटो एक्स्पोको विषमा हामीले नाडाका अध्यक्ष ध्रुव थापासँग कुराकानी गरेका छौं । उहाँसँग हामीले विशेष गरेर नाडा ईभी अटो शो, अवलोकनकर्ताहरुको विद्युतीय सवारीप्रतिको दृष्टिकोण र समग्र विद्युतीय सवारी साधनको विषयमा कुराकानी गरेका छौं , प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश चार दिनसम्म चलेको नाडा ईभी अटो शो आज सकिँदैछ, यो अवधिमा अवलोकनकर्ताको धारणा र मनसाय कस्तो पाउनु भयो ? हामीले नाडा ईभी अटो शो गर्दा जुन खालको अपेक्षा गरेका थियौं, विद्युतीय गाडीप्रति आम जनमानसको बुझाइ धेरै र सकारात्मक पायौं । हामीले अपेक्षा गरेको भन्दा धेरै अवलोकनकर्ताहरु अवलोकन गर्न आउनु भएको छ । सबैले विद्युतीय सवारी साधनप्रति चासो र इच्छा देखाइरहनु भएको छ । विद्युतीय सवारीप्रति आकर्षण बढ्दो छ । आशा छ आगामी दिनमा नेपालमा विद्युतीय सवारी साधनको भविश्य उज्वल छ । नाडाले ४० हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको थियो, कतिले अवलोकन गरे ? आजको विवरण आउन बाँकी छ । हामीले काटेको टिकट, वितरण गरेको पासका आधारमा शनिबारसम्म २५ हजार जनाले अवलोकन गर्नु भएको छ । आइतबारसहित हाम्रो लक्ष्य भेटिन्छ । स्टल राखेका कम्पनीहरु पनि खुसी हुनुहुन्छ । ग्राहकहरुले जुन किसिमको चासो विद्युतीय गाडीप्रति देखाउनु भएको छ । कम्पनीहरु खुसी हुनुहुन्छ । विद्युतीय गाडीप्रति सर्वसाधारणको दृष्टिकोण कस्तो पाउनु भयो ? सबैले विद्युतीय गाडीलाई बुझ्न चाहिरहनु भएको छ । खरिद पनि गरिरहनु भएको छ भने बुकिङ पनि भइरहेको छ । अहिले सप्लाई दिन नसक्ने अवस्था छ । सप्लाई दिन नसकेकाहरुले बुकिङ गरिरहनु भएको छ । अहिले बुकिङ गरेर उनीहरुले केही दिनपछि सप्लाई गर्नु हुनछ । नाडा अटो शोमार्फत् के कति विद्युतीय सवारी साधन खरिद बिक्री भए, के कति बुकिङ भए ? अहिलेसम्म यकिन तथ्यांक आउन सकेको छैन । आज साँझसम्म त्यो तथ्यांक आउला । हामीले मूल्यांकन गरे अनुसार खरिद बिक्री पनि राम्रै भइरहेको छ । बुकिङ पनि राम्रो भएको हाम्रो बुझाइ छ । तथ्यांक नआउँदासम्म यति नै भयो भन्ने अवस्था भने अहिले छैन । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन महँगो भए भन्ने गुनासो सर्वसाधारणको छ नी ? होइन, अन्य देशको तुलनामा नेपालमा विद्युतीय सवारी साधन धेरै सस्तो छ । संसारका जुनसुकै देशमा पनि ईभी महँगो छ । तर, नेपालमा ड्युटी अलिकति कम भएको कारण सस्तो छ । अन्य देशमा तीन वटा पेट्रोलियम बराबर एउटा ईभी आउँछ । तर, नेपालमा सस्तो नै हो । अब सबैले इभी प्रयोग गर्न आवश्यक छ । सरकारले यसमा अझ कुनै सहुलियत र ड्युटी कम गर्यो भने अझै सस्तो हुन्छ । विश्वका सबै देशहरु ईभीमा कन्भर्ट भइरहेका छन् । नेपालमा पनि यसको विकल्प छैन । नाडा ईभी अटो शोका लागि सरकारको तर्फबाट के कस्तो सहयोग मिल्यो ? हामीलाई सबै क्षेत्रबाट सहयोग मिलेको छ । सरकारको पनि इभीलाई प्रमोट गर्नु पर्छ भन्ने धारणा छ । सरकारले पनि यसलाई प्राथमकताका साथ काम पनि गरिरहेको छ । यो एक्स्पोमो उद्घाटन नै अर्थमन्त्रील गर्नुभयो । वातावरणमन्त्री हिजो मात्रै अवलोकनमा आउनु भयो । यसले पनि सरकारले विद्युतीय सवारी साधनलाई धेरै प्राथमिकतामा राखेको छ भन्ने बुझिन्छ । सरकार र अन्य क्षेत्रबाट पनि हामीलाई राम्रो साथ मिलेको छ । नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउनका लागि सरकारले के गर्न आवश्यक छ ? सरकारले अझै विद्युतीय सवारी साधनमा प्राथमिकता दिनु पर्ने आवश्यकता छ । नीति बनाउँदा दीर्घकालिन नीति बनाउनु पर्छ । अझै ५÷७ वर्ष इभीको ड्युटी कम गर्नु पर्छ । सहज नीतिगत व्यवस्था गरेर काम गर्न सकिन्छ । तब मात्रै हामीले लिएका नीतिहरुले सार्थकता पाउँछन् । इभीलाई अगाडि बढाउन सकिन्छ । नेपालमा विद्युतीय सवारी सञ्चालन गर्न सहज छ । अझ उत्पादनमा समेत सहज रहेको छ । उत्पादन गर्ने भए त्यही अनुसारको सहुलियत दिएर नीति सरकारले बनाउनु प¥यो । भारत, चीन लगायतका देशमा विद्युत सवारी साधन उत्पादकलाई सहुलियत दिएका छन् । त्यो खालको नीति नेपालले पनि बनाओस् । अब इभीको बजार आइसकेपछि पेट्रोलियम पदार्थका सवारी बिक्री गर्ने कम्पनी त टाट पल्टिने भए नी ? त्यस्तो हुँदैन । समयले नै स्वतः कन्र्भट गर्छ । अहिले जुन–जुनको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन छ, उहाँहरुले ईभी पनि बिक्री गर्नु हुन्छ । अझै उहाँहरु बजार विस्तारमा लाग्नु भएको छ । हामीले यसलाई बिस्तारै परिर्वतन गर्नुपर्छ । यसमा अटो व्यवसायीहरु पनि सकारात्मक छौं । नेपालको लागि विद्युतीय सवारी साधन अति–आवश्यक हो । भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्   

सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको छ । आइतबार राष्ट्रपति भण्डारीको नाममा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालतले  नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको हो । संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेका हो ।

दुई महिनामा २ खर्ब ७३ अर्बको आयात हुँदा २८ अर्बको निर्यात, व्यापार घाटा पनि कम

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्ममा नेपालकाे कुल वैदेशिक व्यापार ३ खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा तथ्यांक अनुसार नेपालकाे कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ भएको छ । विभागको तथ्याङ्कअनुसार नेपालले भदाै महिनासम्ममा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.५१ प्रतिशत र निर्यातको हिस्सा ९.४९ प्रतिशत रहेको छ । गत आवको तुलनामा कुल वैदेशिक व्यापार भने १५.७० प्रतिशत कम भएको छ । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यस्तै, नेपालकाे व्यापार घाटा पनि गत वर्षको तुलनामा ९.४५ प्रतिशतले घटेको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन

काठमाडौं । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक बोलपत्र आह्वान गर्दा एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले तेस्रो पटक बोलपत्र प्रकाशित गर्ने तयारी गरेको बताइएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताए । उनले भने, ‘दुई पटक बोलपत्र प्रकाशित गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन्, अब हामी छिट्टै अर्को बोलपत्र प्रकाशन गछौँ ।’ प्राधिकरणले पाँच वर्षका लागि ठेक्का दिने गरी अन्तर्राष्ट्रिय कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो । ठेक्का परेको कम्पनीले पाँच वर्षको करिब ५७ करोड रुपैयाँ बुझाउनुपर्छ । टर्मिनल भवन व्यवस्थापनको जिम्मा पाउने कम्पनीले भवनमा सञ्चालित आउटलेट व्यवस्थापनको जिम्मा लिनेछ । प्राधिकरणले यो व्यवस्थापनसँगै सरसफाइ पनि गर्ने गरी जिम्मेवारी दिने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले जिम्मा लिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको व्यवस्थापन तुलनात्मकरुपमा फरक देखिने प्रवक्ता निरौलाले जानकारी दिए । रासस

फुटपाथ व्यवसायीले भने : १ महिनाभित्र माग पुरा नभए महानगरविरुद्ध आन्दोलन गर्छौं

काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले महानगरले वार्ता र संम्वादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग अघि सारेको छ । स्वरोजगार श्रमिकहरुको व्यवस्थापनको लागि कानून तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघले माग गरेको छ । यसैगरी, चाडवाड लक्षित गरेर अल्पकालिन रुपमा बिहान र बेलुकीको निश्चित समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरु फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ । स्वरोजगार श्रमजीवीहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा सत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानीनै सिध्याइ दिनेगरी सामान नियन्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ । त्यस्तै, श्रम डेक्सको स्थापना गरी आफ्ना पालिकाभित्रका श्रमसम्बन्धी विषयहरुलाई व्यवस्थित गरि श्रमिकहरुको आवश्यक सुचिकरणलगायतका श्रम व्यवस्थापनसँग सम्बन्धित कामको थालनी गर्नुपर्ने संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । र, तत्काल उत्पन्न भएका समस्या समाधान र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरु सम्मिलित ‘उपत्यकामा सञ्चालन गरिने नागरिक बजार तथा स्वरोजगार श्रमिकको समस्या समाधानका लागि सर्वपक्षिय कार्यदल’ तत्काल गठन गरी आवश्यक कामको थालनी गर्नुपर्नेमा जोड दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष माया गुरुङले आफूले नेतृत्व गरेको संगठनमा १८ हजार श्रमिकहरु सदस्य रहेको बताईन् । उनले भनिन्,‘लाखौं करोडौं सम्पत्ति भएकाहरुलाई अवैधानिक संरचना भत्काउँदा खासै असर पर्दैन्, तर ५ हजार रुपैयाँले व्यापार गर्नेलाई ठुलो असर गर्छ ।’ उनले फुटपाथ व्यवसायीहरुलाई महानगरका प्रतिनिधिहरुले लछारपछार गरेको उल्लेख गर्दै त्यसको घोर भत्र्सना गरिन् । त्यस्तै, प्रतिनिधि परिषदका प्रमुख नारायण न्यौपानेले फुटपाथको व्यापार राज्यलाई नभई नहुने व्यवसाय भएको बताए । ‘अबको आन्दोलन संयुक्त मोर्चा बनाएर गर्नुपर्छ, सम्पुर्ण व्यवसायी, विभिन्न संगठनहरु एकत्रित हुन आवश्यक छ,’ उनले भने । राज्यलाई कर तिर्न आफूहरु तयार रहेको पनि उनले बताए । संघका अनुसार सडकपेटी, गल्ली, बजार, अस्थायी टहरामा श्रम गरेर जीवन चलाउनेहरुको संख्या उपत्यकामा करिब ५० हजार र उनीहरुको आश्रित परिवारसमेत गरी करिब २ लाख रहेका छन । संघले गत भदौ ३० गते महानगरलाई आफ्नो समस्याबारे ध्यानाकार्षण पत्र बुझाएको छ ।

सदर चिडियाखानामा अवलोकनकर्ताहरु बढे

काठमाडौं । काठमाडौंको जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको चिडियाखाना प्रशासनले जनाएको छ । हिजो आज दैनिक कम्तीमा पनि एक हजार पाँच सयसम्म सदर चिडियाखाना अवलोकन गर्न आउने गरेको सदर चिडियाखाना प्रमुख रचना शाहले बताए । उनले भने, ‘कोरोना सङ्क्रमण दर घट्दै गएकाले अहिले चिडियाखाना अवलोकन गर्नेको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ, सबैभन्दा बढी युवा र बिद्यार्थी आउने गरेका छन् ।’ अवलोकनकर्ता बढेसँगै चिडियाखाना प्रशासनले अवलोकनकर्तालाई अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालना गराउने गरेको छ । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने नियम बनाएको बताइएको छ । चिडियाखाना अवलोकन समय हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म राखिएको छ । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव जनावर राखिएका प्रमुख शाहले बताए । उनका अनुसार चिडियाखानामा मुख्य आकर्षणका रुपमा बाघ, भालु, चितुवा, रेडपाण्डा रातो हाब्रे रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकनका गर्न विदेशीलाई एक हजार रुपैयाँ, सार्क राष्ट्रका पाहुनालाई पाँच सय रुपैयाँ, नेपालीलाई दुई सय रुपैयाँ, विद्यार्थीलाई एक सय रुपैयाँ ३५ र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको चिडियाखाना प्रशासनले जनाएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमसेर जङ्बहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रुपमा स्थापना गरेका हुन् । विसं २०११ बाट सर्वसाधरणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको छ । रासस

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चरलाई ‘वे टु लिस्टिङ्ग’ सेवा दिने

काठमाडौं । कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीसँग वे टु लिस्टिङ सेवा प्रदान गर्ने सम्झाैता गरेकाे छ । उक्त सम्झाैतामा क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरेका छन् । वे टु लिस्टिङ्ग सेवा सम्झाैता अन्तर्गत क्यापिटलले आराभालाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पुर्ण परामर्श सेवा र धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने छ । इजराईलबाट कृषिसम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी एकिकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ । साथै, कम्पनीले आफ्नो सहायक कम्पनी एएनएमसिएग्रो मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्री वितरण समेत गर्दै आईरहेको छ । नेपालको कृषि क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएवापत आराभा नेपाल श्रम तथा रोजगार मन्त्रालयबाट ‘सर्वोत्कृष्ट उद्यमी पुरष्कारु तथा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बाट पुरस्कृत भइसकेको छ ।