थिङ्क ट्याङ्क नसमेट्दा श्रीलंका संकटमा फस्यो, नेपालले यसलाई समेट्नु पर्छ : डा. वाग्ले
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । आईतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा कुनै पनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै हानीनोक्सानी विषयमा पनि थिङ्क ट्याङ्कहरुले पूर्ण जानकारी राख्नुपर्ने बताए । श्रीलंकाले थिङ्क ट्याङ्कहरु समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको उनको भनाई छ । श्रीलंकमा शासकहरुको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताउँदै उनले नेपालले पनि थिङ्क ट्याङ्कहरुलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे । उनले कुनैपनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरुले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको समेत बताए । उनले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनियता कायम गर्नुपर्ने आवश्यक्ता औंल्याए । पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरु चलायमान भइरहनुपर्ने आवश्यक्ता रहेको भन्दै विश्वविद्यालय भित्र पनि थिङ्क ट्याङ्कहरुलाई विकास गर्न जरुरी रहेको बताए । ‘अरुण हाइड्रोपावर १९९५ मा क्यान्सिल भयो विभिन्न कारणहरुले, त्यो क्यान्सिल हुँदा यो राज्यले व्यहोरेको कस्ट कति ? कस्ट अफ एक्शन होइन, कस्ट अफ इनएक्शनतिर पनि हामी जानुपर्छ, यस्ता कुराहरु पनि थिङ्क ट्याङ्कहरुले बोल्दिनुपर्छ, मलाई हालैको श्रीलंकाको संकटमा भिज्ने मौका मिलेको हुनाले त्यहाँ के कारणले श्रीलंका जस्तो उन्नत मुलुक संकटमा फस्यो, फसेन भन्नेकुराको विविध कोणबाट विश्लेषण हुन्छ । मैले त्यसमा धेरै घोत्लिएको कारण थाहा भयो कि थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण जिरो, कस्ताकस्ता निर्णयहरु गरिए ह्वीमका भरमा, शासकीय सनकका भरमा मन्त्रालयकै निर्णयहरुमा पनि थिङ्क ट्याङ्कहरुको कमी भएको देखियो, त्यसले गर्दा श्रीलंका या अवस्थामा पुग्नुमा ठूलो भुमिका खेलेको छ, जस्तो चुनाव जितियो राष्ट्रपति र प्रधानमन्त्रीले फुकिदिनुभयो, अब भ्याट रेट हाम्रो १५ बाट ८ प्रतिशत भयो भन्नुभयो, त्यसको पूर्ति गर्न के छन् वैकल्पिक उपाय यसको बारेमा सोच्दै नसोचेको देखियो । यस्तो निर्णयमा कुनैपनि थिङ्क ट्याङ्कहरुको गहिरो पृष्ठपोषण भएर वहस भएन, यस्ता नीति निर्माण गर्दा पारदर्शी बनाउनुपर्छ, विश्वसनियता र पारदर्शी भएमा थिङ्क ट्याङ्कहरुको सुझाव पनि सरकारलाई दिँदा राम्रो हुन्छ, थिङ्क ट्याङ्कहरु पनि इन आइशोलेशन रहने होइन, पश्चिमा मुलुकहरुबाट हामीले सिक्न जरुरी छ, विश्वविद्यालय भित्र थिङ्क ट्याङ्कहरुलाई सस्टेन गर्ने, पब्लिक फण्डिङबाट सस्टेन गर्ने हो ।’ पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी रहेको भनाई राखे ।
राष्ट्रपति भण्डारीले एकैदिन प्रमाणिकरण गरिन् दुई विधेयक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दुईवटा विधेयक प्रमाणिकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले असोज ९ गते आइतबार मात्रै संघीय संसदको बैठकबाट पारित भएको दुईवटा विधेयक प्रमाणीकरण गरेकी हुन् । उनले प्रमाणीकरण गरेको विधेयकमध्ये शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको एक विधेयक हो । त्यस्तै, अर्को कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक समेत प्रमाणीकरण भएको छ ।
रियलमीले ल्यायो मोबाइल फोनदेखि ६५ इन्च टिभी जित्नेसम्मको योजना
काठमाडौं । टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । उक्त ब्रान्डले नेपाली चाडपर्वलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो । असोज १० गतेबाट रियलमीक्यापेनडटकममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभी, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सकिने छ । यस योजना अन्तर्गत असोज १० गतेदेखि कार्तिक १४ गतेसम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन् । यस योजनामा सहभागि हुनको लागि रियलमीक्याम्पेनडटकममा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ । यसरी छानिएका विजेताहरुमध्ये हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको ४के टिभी जित्न सक्नेछन् । चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘हाम्रा उपभोक्ताहरुलाई हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौं । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले उहाँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।’
व्याकुल माइलालाई मासिक ५० हजार दिने मन्त्रीपरिषद्को निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । असोज ७ गते बसेको मन्त्रीपरिषद्को निर्णयले यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । आईतबार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै उनले सरकारले संस्कतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । त्यस्तै, सरकारले थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रीगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने, राष्ट्रिय शतर्कता केन्द्र शतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, क्यानडाको आटवामा २०७९, असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृत दिने, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९/०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्ने, दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने, चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको प्रशारण लाइनको आरओडब्ल्यू र टावर ब्यांक संरचनाहरु निर्माण गर्नका लागि सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ३,४,५, ६ र ११ मा रहेको राष्ट्रिय वन भित्रको ५.८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने, विभिन्न स्थानीय तहहरुलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको बताए । उनले सरकारले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष ०७९/०८० को लागि अधिकृत स्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि बताए । सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्युनिकरण गरी नागरिकको आगमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्वन लगायतका विषयमा अनुगमन, नियमन, सुरपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने निर्णय गरेको पनि उनले बताए । यस्ताे छ मन्त्रिपरिष्दकाे निर्णय थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रीगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने । राष्ट्रिय शतर्कता केन्द्र शतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने । क्यानडाको आटवामा २०७९, असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय तिलक परियारलाई स्वीकृत दिने । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९÷०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने । प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्ने । दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने । चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने । माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको प्रशारण लाइनको आरओडब्ल्यू र टावर ब्यांक संरचनाहरु निर्माण गर्नका लागि सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ३,४,५, ६ र ११ मा रहेको राष्ट्रिय वन भित्रको ५.८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने । विभिन्न स्थानीय तहहरुलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने । विज्ञापन बोर्डका लागि आर्थिक वर्ष ०७९÷०८० को लागि अधिकृत स्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने । सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्युनिकरण गरी नागरिकको आगमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्वन लगायतका विषयमा अनुगमन, नियमन, सुरपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने । संस्कतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सहज जीवन यापनको लागि मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने ।
सरकारले एक जनालाई १० पटकसम्म तालिम दियो, ६० प्रतिशत अदक्ष जनशक्ति चालउँछन् व्यवसाय : अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालका सबै किसिमका विजनेश हाउसमा ६० प्रतिशतभन्दा बढी कर्मचारी अदक्ष रहेको बताएका छन् । आइतबार महासंघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली प्रदेशमा झनै विजोग अवस्था रहेको बताए । ‘नेपालमा सञ्चालन सबै विजनेश हाउसमा ६० प्रतिशत कर्मचारी अदक्ष कर्मचारी रहेका छन्, ४० प्रतिशत दक्ष जनशक्ति कर्मचारीले विजनेश चलिरहको छ, कर्णाली प्रदेशमा १० प्रतिशत मात्रै दक्ष जनशक्ति रहेका छन्,’ उनले भने, ‘सीप सिकेका जनशक्तिको आवश्यकता धेरै छ, अहिलेको आवश्यकता भनेको तालिमसँगै रोजगारी दिनु पर्नेछ ।’ सरकारले तालिमका नाममा ठूलो रकम खर्च गरेको उनको भनाइ छ । उनले सरकारले एक जनालाई १० पटकसम्म तालिम दिएको समेत बताए । ‘सरकारले लामो समयदेखि तालिम दिइरहेको छ, एक जना नेपालीले १० पटकसम्म तालिम पाएको भन्ने सुनेको छ, वास्तविकता जस्तै लाग्छ, सरकारले तालिमका नाममा ठूलो रकम खर्च गरेको हुँदा १० पटक नै तालिम दिएको होला जस्तो लाग्छ, सरकारले तालिम दिएपनि अर्कै ठाउँमा सरुवा गर्छ,’ उनले भने । उनले प्रत्येक वर्ष ६ लाख जनसंख्या काम गर्न सक्षम रहेको बताए । उनीहरुलाई रोजगारी दिन ठूलो चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘नेपालको कूल जनसंख्याको १६ देखि ४५ वर्ष उमेर समूहको ४० प्रतिशत जनशक्ति छ, यो जनशक्ति नेपालमा काम गर्न सक्ने क्षमता भएका हुन्, प्रत्येक वर्ष ५/६ लाख जनशक्ति उयत्पादन हुन्छन्, सरकारले ५० हजारलाई मात्रै रोजगारी दिन्छ, निजी क्षेत्रले २ लाखलाई रोजगारी दिन्छ, एक लाख जनसंख्या प्रत्येक वर्ष विदेश जान्छन्, बाँकी डेढ लाखदेखि २ लाखलाई कसले रोजगारी दिने भन्ने चुनौति छ ।’ जसमध्ये २० प्रतिशत जनसंख्या पढ्न पनि नचाहने, तालिम पनि लिन नचाहने रहेको हुँदा बिडम्बनाको रुपमा लिएको उनले बताए । अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान रहेको हुँदा निजी क्षेत्रले नै तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने उनले बताए । तालिम प्राप्त जनशक्तिलाई विदेश जानबाट रोक्नु पर्ने उनको भनाइ छ ।
महगिँदै फिल्म, घट्दै दर्शक
काठमाडौं । कोरोना भाइरस महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा व्यहोर्नुप¥यो । बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन् । साउथमा बन्ने तामिल, तेलुगु, कन्नडाले विश्वभर दर्शक बढाइरहँदा बलिउडले भने गुमाउँदै गएको छ । दर्शक ओटिटी ओभर दी टप भनिने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारलगायतमा रमाउन थालेका छन् । फिल्म हल पुग्ने समय र खर्चले ओटिटीको सेवा झन्डै वार्षिक नै उपभोग गर्न पाइने भएपछि बलिउडले दर्शक गुमाइरहेको अनुमान गर्न सकिन्छ । नेपालमा पनि त्यस्तै देखियो । यहाँ ओटिटीको प्रभाव नभए तापनि फिल्म हेराई महँगिएपछि दर्शक घट्दै गएको पाइयो । सुरुआती व्यापार आक्रामक गर्ने कलाकारको फिल्ममा नै दर्शक देखिएनन् । ‘वर्ड अफ माउथ’ बलियो नभएसम्म दर्शक हलसम्म नपुग्नाले अपेक्षा गरिएका धेरै फिल्म असफल भए । प्रदीप खड्काले अभिनय गरेका फिल्म ‘प्रकाश’ ले न्यून सुरुआत ग¥यो । उनले अभिनय गरेको पछिल्लो फिल्मको तथ्याङ्क हेर्ने हो भने सुरुआती दिनमा नै व्यापार राम्रो हुन्थ्यो । समीक्षा आएपछि दर्शकको सङ्ख्यामा घटबढ त हुन्छ । यसपटक दर्शक सुरुमै आएनन् । यसपटक प्रदीप आफ्नो ‘स्टारडम’को छायाँबाट निस्किएर ‘प्रकाश’ बनेका थिए । जुम्लाको एक गाउँले युवकमा उनलाई देखियो । उनको अघिल्लो फिल्मले एक दिनमै गर्ने व्यापार ‘प्रकाश’ ले एक सातामा पनि गर्न सकेको थिएन । जसका कारण कारण दर्शक नै आएनन् । अभिनेता खगेद्र लामिछानेको टल्क जङ्ग भर्सेस टुल्के, पशुपति प्रसाद जस्ता फिल्मबाट दर्शकको मन जित्नु भएको छ । उनीप्रति एउटा वर्ग विश्वस्त छ । उनले उठान गर्ने विषयवस्तु ‘अर्गानिक’ हुने गरेको दर्शकहरुको टिप्पणी छ । उहाँ ‘पानीफोटो’ मार्फत लेखक र अभिनेतासँगै निर्देशक बनेर आए । रचनात्मक पक्षमा आफैँले मूल्याङ्कन गरेर तयार गरेको फिल्म हेर्नेको सङ्ख्या न्यून छ । गत साउनमा प्रदर्शन भएका फिल्मले गरेको व्यवसाय न्यून छ । प्रदर्शित फिल्मले प्रचारप्रसार गरेबापतको खर्चसमेत उठाउन सकेन् । दर्शक हलमा आएर राम्रो नराम्रो प्रतिक्रिया दिनुभन्दा पनि हलसम्मै नआएका फिल्मले यो क्षति व्यहोर्नुप¥यो । अभिनेताका रुपमा आफ्नो पहिचान स्थापित गर्नुभएका सौगात मल्ल ‘द सेक्रेट्स अफ राधा’मार्फत निर्माता बने । फिल्मले उठान गरेको विषयवस्तु मन परेर आफू निर्माता बनेको उनले बताए । चरित्र बाच्ने अभिनेताका रुपमा दर्शकले स्वीकार्नु भएको सौगात पनि असफल भए । उनको फिल्म एकसाता नबित्दै हलबाट निकालियो । किनकी दर्शकको उपस्थिति न्यून थियो । सौगातले कलाकारिता गरेर आर्जन गरेका रकम फिल्म निर्माणमा लगाउँदा दर्शक हलसम्मै आएनन् । यी उदाहरण मात्र हुन् । कबड्डी चारबाहेक अन्य फिल्मले लगानी हलबाट उठाउन सकेको छैन । ‘ए मेरो हजुर ४’ र ‘झिँगेदाउ’ले हलमा गरेको व्यापारसँगै विदेश राइट्स्, डिजिटल राईट्स् लगायतबाट लगानी सुरक्षित गरेको हुनसक्छन । बलिउडको पनि अवस्था यस्तै छ । साउथ इन्डियामा बनेको पुष्पा, आरआरआर, केजीएफ च्याप्टर २ बाहेक बलिउडको दुई/तीन फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भए । अक्षय कुमार, आमिर खान जस्ता स्टारको फिल्मले गरेको व्यापार निकै न्यून छ । लेखकसँगै फिल्मको रेगुलर दर्शक प्रदीप भारद्वाज दर्शक घट्नुको कारण महँगी बताउँछन् । प्राय शुक्रबारदेखि शनिबारसम्ममा प्रदर्शन भएका फिल्म हेरिसक्ने भारद्वाज टिकट दरभन्दा पनि खानेकुरा महङ्गिएको बताउँछन् । ‘फिल्म हेर्न जाँदा जति खर्च टिकटमा हुन्छ त्यो भन्दाबढी खानेकुरामा हुनेगरेको छ टिकट, पार्किङ, कफी र पपकर्नको जोड्ने हो भने एक हजार हाराहारीमा पर्न सक्छ । जसले दर्शक फिल्म प्रति विस्वथ नभएसम्म हलसम्म आएका छैनन’, उनले भने । भारतमा भने ओटिटी पनि कारण रहेको बलिउड अभिनेता तथा निर्देशक विशाल देसाइ बताउँछन् । “हलमा जाँदा हुने खर्च बढिरहेको छ नै । हामीले ओटिटी अप्सन पाएका छौँ । हल रिलिज भएको आठ हप्ताभित्रमा ओटिटीमै आउँछ भने किन समय र पैसा खर्चिने ? अहिले दर्शकको सोचाई यस्तै छ”, उनले भने । निर्देशक देसाइले आफ्नै ड्राइभरको उदाहरण दिँदै भने, ‘मेरो ड्राइभर पहिले मलाई पार्किङमा पर्खिदा आराम गर्थे । अहिले मोवाईलमा ओटिटी आएको फिल्म हेरेको पाउँछु । उनी बिदामा हल जान्थे फिल्म हेर्न तर अहिले ओटिटी आइहाल्छ नी भनेर त्यो बिदा परिवारसँग घरमै सदुपयोग गर्छन् ।’ दर्शकमा फिल्मप्रतिको चेतना बढ्नुका साथै मेकर्सले गम्भीर भएर फिल्म नबनाउँदा दर्शक निराश भएको नेपाल चलचित्र सङ्घको पूर्वध्यक्ष प्रदीपकुमार उदय बताउँछन् । ‘आर्थिक मन्दीले असर गरिरहेको छ । आइरहेका फिल्ममा नयाँपन पाइएको छैन । लकडाउनपश्चात् नेपालमा पनि ओटिटी प्रयोगकर्ता बढेकाले पनि दर्शक हलमा कम देखेका हुन्’, उनले भने । मेकर्सले सिरियस भएर फिल्म मेकिङ नगरे उहाँ दर्शकलाई आकर्षण गरेसम्म हलमा ल्याउन गाह्रो हुने बताउँछन् । रासस
राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल्स र क्युआर कारोबारमा क्यासब्याक अफर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले चाडपर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पाइन्ट अफ सेल्सको माध्यमबाट काराेबार गर्दा क्यासब्याक अफर ल्याएकाे छ । बैंकले प्रति कारोबार १ हजार वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक अफर ल्याएको हाे । यो योजना आगामी असोज १० गते देखि कात्तिक १३ गतेसम्म लागू हुने बैंकले जनाएकाे छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक पाइनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा ५०० रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत वा १ हजार रकम क्यासब्याक पाइनेछ । यसैगरी, असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा १०० रुपैयाँ रकम क्यासब्याक पाइनेछ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
बीमा समितिको आईआरएमआईएस सिस्टम सेवा अवरुद्ध हुने
काठमाडौं । बीमा समितिबाट सञ्चालनमा रहेको आईआरएमआर्ईएस सिस्टमको सेवा अवरुद्ध हुने भएको छ । समितिले आइतबार एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । यसका साथै, एजेन्ट तथा सर्भेयरको दर्ता तथा नवीकरण सेवा पनि अवरुद्ध हुने उक्त सूचनामा उल्लेख छ । समितिका अनुसार यी सेवाहरु असोज ९ गते दिउँसो २ बजेदेखि असोज १० गतेसम्म बन्द हुने छ ।