विकासन्युज

उपभोक्तालाई ठगीबाट बचाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले मुलुकमा दसैं, तिहार, छठ जस्ता राष्ट्रिय चाडपर्वहरूको चहलपहल सुरु भएसँगै बजारमा कृत्रिमरूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्न आग्रह गरे । उनले भने, ‘अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तथा उपभोग्य वस्तुहरूमा जथाभावी मिसावट हुन नदिई खाद्य वस्तुहरूको गुणस्तर कायम राख्न सबैले आआफ्नो क्षेत्रमा अनुगमन र सुपरीवेक्षणलाई बढाउनुपर्ने हुन्छ ।’ प्रधानमन्त्री देउवाले अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको सहज र सर्वसुलभ उपलब्धता कायम गर्न, खाद्य वस्तुको स्वच्छता कायम गर्न र वस्तुको गुणस्तर तथा नापतौलमा कुनै मोलाहिजा हुन नदिन सरोकारवाला सबै निकायहरूलाई सक्रियता साथ बजार अनुगमन कार्यमा खटिन निर्देशन दिए । उनले भने, ‘बजार अनुगमन गर्दा थोक तथा खुद्रा सबै किसिमका अनुचित व्यापारिक क्रियाकलापलाई प्रत्यक्षरूपमा निगरानी गर्नुपर्ने हुन्छ । यस क्रममा सम्बन्धित सबै निकायको प्रतिनिधित्व हुने गरी संयुक्त अनुगमन टोली गठन गरी केन्द्रदेखि स्थानीय तहसम्म परिचालित हुन म सम्बन्धित निकायहरूलाई निर्देश गर्दछु ।’ उनले केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्त मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालय तथा निकायहरूले पनि बजार अनुगमन कार्यको समन्वय गरी बजारका गतिविधिलाई स्वच्छ र उपभोक्तामैत्री बनाउन विशेष पहलकदमी लिन आवश्यक छ भने । अहिले इन्धन, खाने तेल, गहुँलगायतका कतिपय खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा भएको मू्ल्य वृद्धि तथा रुस-युक्रेन युद्धका कारण विश्व आपूर्ति प्रणाली शृङ्खलामा आएको व्यवधानले कतिपय उपभोग्य वस्तुको मूल्य बढेको र उपभोक्ताहरू बढी मारमा परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसमाथि बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यले सर्वसाधारण जनतालाई थप आहत बनाउने बताए । यस पृष्ठभूमिमा बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सम्पूर्ण सरोकारवाला निकायहरूलाई उनले आग्रह गरे । विभिन्न चार मन्त्री र सचिवहरुसहितको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले १२ बुँदे निर्देशन दिएका हुन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर, उद्योगसचिव तोयानारायण ज्ञवाली, वाणिज्य तथा आपूर्तिसचिव तोयम राया, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो । छलफलमा उद्योगमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी गराउँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको बताए । साथै, उनले अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताएका थिए ।

निरन्तर घाटामा गएको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वाग्मती । सरकरी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ । कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ । उनले दसैंको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए । एक पटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन । दैनिक सात सय ५० मेट्रिकटन र वार्षिक दुई लाख ६० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डे जानकारी दिए । उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख रुपैयाँ नोक्सान भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको सो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको । आव २०७५/०७६ मा उद्योगले एक करोड पाँच लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यसपछि आव २०७६/०७७ मा २३ करोड ८२ लाख रुपैयाँ, २०७७र०७८ मा १७ करोड चार लाख रुपैयाँ उद्योगलाई घाटा भएको थियो । गत आर्थिक वर्षमा उद्योगले एक अर्ब २२ करोड रुपैयाँ आम्दनी गरेर एक अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको बताइएको छ । गत आर्थिक वर्ष उद्योगको नोक्सानी २३ करोड ५५ लाख रुपैयाँ रहेको छ । कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उनले उद्योगको वर्तमान समस्या हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको बताए ।

अर्थतन्त्रको अवस्था बुझ्न समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं । पछिल्लो समयको अर्थतन्त्रको विषयमा मूल्यांकन गर्न एक समिति गठन भएको छ । अर्थमन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजगत्वमा समिति गठन भएको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोग , नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघका २ जना, र निजी क्षेत्रका तीन जना गरी सदस्य हुने गरी कुल ९ जना हुने गरी समिति बनेको हो । समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गरेका हुन् । आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष , नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर , नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ , नेपाल बैंकर्स संघ लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको समस्या भन्नुहुँदै यसमा कसैलाई दोष लगाएर पन्छिन नहुने बताए । ‘यो समस्याको समाधान सबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नुपर्छ’, उनले भने, ‘कुनै एकलाई दोष लगाएर होइन, मिलेर जानुपर्छ ।’ मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा किसान तथा साना उद्योगलाई प्रोत्साहन हुने गरी व्यवस्था गरिएको दोहो¥याउनु हुँदै कार्यान्वयनमा तदारुकता दिन सम्बन्धित निकायलाई आग्रह गरे । पछिल्लो समय बैंकहरूले ब्याज वृद्धि गरेको गुनासो आफ्नो जिल्ला भ्रमणका क्रममा व्यवसायीहरूले गरेकोबारे ध्यानाकर्षण भएको बताउँदै उनले साना उद्यमीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन पनि आग्रह गरे । ‘किसान तथा साना उद्यमीहरूलाई प्रोत्साहन नगरीकन अर्थतन्त्र सुधार हुँदैन’, उहाँले साना उद्यमीलाई ढुक्क हुन आग्रह गर्दै भने, ‘यसबारे बजेटले पनि स्पष्ट बोलेको छ ।’ यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकहरूले गरेको निर्णयले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरे । उनले सबै निकायसँग सहकार्य गरेर हाल देखिएको असहज परिस्थितिको सामना गर्न निजी क्षेत्र कटिबद्ध रहेको पनि बताए ।

व्यवसायीहरुको गुनासो : कामदारहरु सीप सिक्छन्, विदेश जान्छन्

काठमाडौं । वस्तुगत व्यवसायीहरुले नेपालमा तालिम सिकेर विदेश जाने संख्या बढ्दा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न ६ वटा वस्तुगत संघसँग सिप तथा तालिम सम्झौता कार्यक्रममा बोल्दै व्यावसायीहरुले यस्तो गुनासो गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको स्वास्थ तथा सीप बिकास समितिका सभापति हेमराज ढकालले तालिम लिएर विदेश जाँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको बताए । कम्पनीमा थोरै समय काम गर्ने अनि केही सिप सिकेपछि विदेश जाने गरेको उनको भनाइ छ । ‘तालिम प्राप्त कर्मचारी वैदेशिक रोजगारमा जाँदा सीप सिकाएको प्रभावकारी भएन, केही समय काम गर्छन्, मेनपावरमा पासपोर्ट दिन्छन्, भिजा आउने वित्तीकै विदेश जान्छन्,’ उनले भने, ‘दक्ष जनशक्तिको अभाव हुँदा उद्योगहरु सञ्चालन गर्न समस्या भयो, काम गर्दागर्दै तालिम दिने व्यवस्था हुनुपर्छ, तालिम सिकेर विदेश जान रोक्नुपर्छ ।’ विभिन्न वस्तुगत संघसँगको समन्वय गरेर महासंघको २२ लाखलाइ रोजगारी दिने लक्ष्य पुरा गर्नुपर्ने उनले बताए । १ सय बिलियनको अर्थतन्त्र बनाउने भिजन पेपर २०३० लाई पूरा गर्न सीप तालिमको व्यवस्था गरेर रोजगारी दिनु पर्ने उनको भनाइ छ । साना तथा मझौला उधोगले उत्पादन गरेका वस्तुलाई महत्व नदिँदा आयात बढेको उनले बताए । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) का अध्यक्ष अरनिको राज भण्डारीले तालिमसँगसँगै रोजगारीको समेत जिम्मेवारी लिएको बताए । कोरोना महामारीको समयमा होटलहरु पूर्ण रुपमा ठप्प हुँदा समस्या पर्नुका साथै दक्ष जनशक्तिको क्षमता समेत घटेको उनको भनाइ छ । ‘कोरोना महामारीको समयमा व्यवसाय ठप्प हुँदा दक्ष जनशक्तिको क्षमता समेत घटेको छ, लामो समयदेखि काम बाट बन्चित भएका ब्यक्तीलाई तालिम दिँदा सहज हुनेछ, आवश्यकता हेरेर तालिमको व्यवस्था गरेर रोजगारी दिन्छौं,’ उनले भने । नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभेल एजेन्टकी युविका भण्डारीले पर्यटन क्षेत्रमा तालिमका लागि आवेदन दिने संख्या बढी रहेको बताइन् । आफूहरुले तालिम दिएका ब्यक्तिहरु विदेश जाँदा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ छ । साथै उनले पर्यटन क्षेत्रमा दक्ष कर्मचारीको अभाव रहेको बताइन् । फिसरी एशोसियसनका अध्यक्ष अम्बिका अधिकारी काम गर्ने जनशक्तिको अभाव रहेको बताउँछन् । माछापालन क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति अभाव भएका बेला महासंघको तालिमले सहयोग पुग्ने उनको धारणा छ । ‘आफैं काम गर्ने मान्छेलाईं तालिम दिदै आएको थियौं, महासंघले तालिम दिने भएपछि मत्स्य पालन व्यावसायीलाई सहज हुनेछ, मत्स्य पालन सम्बन्धी तालिमको व्यवस्था देशभरि हुनुपर्छ,’ उनले भने । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्कीले नेपालको निर्यात क्षेत्रमा अलैचीं एक नम्बरमा पर्ने भएकाले अझै ब्यापक गर्नुपर्ने बताए । पछिल्लो समय भारते पनि आफैं उत्पादन गरिरहेकाले गुणस्तरमा जोड दिनु पर्ने उनको भनाइ छ । ‘नेपालको निर्याताम अलैंची एक नम्बरमा छ, भारतमा मात्रै निर्यात गर्नु परेको छ तर, पछिल्लो समय भारत आफैंले पनि उत्पादन गर्दा गुणस्तरीयतामा जोड दिनु परेको छ, अलैंचीको मुख्य बजार झापा हो, समयमा तालिम दिएर अझै ब्यापक बनाउनु पर्छ,’ उनले भने । जुत्ता उत्पादक संघका महासचिव ग्यानेन्द्र प्रसाद दाहालले विदेशी कामदारको भरमा व्यवसाय सञ्चालन गर्नु परेको गुनासो गरे । भारतबाट कामदार ल्याएर व्यवसाय सञ्चालन गर्दा ठूलो रकम बाहिर जाने गरेको उनले बताए । ‘जुत्ता व्यवसायमा दक्ष जनशक्तिको अभाव हुँदा बिदेशीबाट कामदार ल्याउनु पर्छ, विदेशबाट जनशक्तिको भरमा व्यवसाय संचालन गर्नु पर्ने बाध्यता छ, उनीहरुले ठूलो रकम पनि नेपालबाट बाहिर लगेर जान्छन्, नेपालमा जनशक्ति उत्पादन गर्न तालिमको आवश्यकता छ,’ उनले भने ।

कुमारी क्यापिटलले कानून व्यवसायीलाई दियो लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौं । कुमारी क्यापिटलले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो । सो कार्यक्रममा कुमारी क्यापिटलका इन्भेष्टमेण्ट बैंकिङ बिभागबाट ममिन शाक्य, सौगात पन्त र विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के के हुन र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ५० भन्दा बढी वकिलहरु र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वकिलहरुले सक्रिय रुपमा सहभागिता जनाउँदै शेयर बजारमा लगानी सम्बन्धी आफ्ना सबै जिज्ञासा राखेका थिए ।

विद्युतीय बाइक किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् साढे तीन लाखदेखि ५ लाखसम्मका बाइक

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीमाम आम सर्वसाधारणको चासो बढ्दै गएको छ । नेपाल सरकारले पनि पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएपछि व्यवसायीसँगै सर्वसाधारण तथा ग्राहकहरुको चासो र प्राथमिकतामा विद्युतीय सवारी साधनहरु पर्ने गरेका छन् । अटोमोबाइल्स एशोसिएन अफ नेपाल (नाडा) ले पनि बिहीबारदेखि आइतबारसम्म नाडा इभी अटो शो सचालन गर्यो । शो एक्स्पोमा आकर्षक गाडीदेखि स्कुटर तथा बाइकहरु पनि प्रदर्शनमा राखिएका छन् । विशेष गरेर धेरै जसो मानिसहरुको प्राथमिकतामा बाइकहरु पर्छन् । एक्स्पोमा पनि धेरै कम्पनीहरुले बाइक प्रदर्शनी राखे । न्यूनतम साढे २ तीन लाखदेखि अधिकतम् ६ लाखसम्मका बाइक प्रदर्शनीमा थिए । आज हामीले एक्स्पोमा राखिएका बाइक र ती बाइकको विशेषताहरुको बारेमा चर्चा गरेका छौं । प्योर ईभीको ‘एट्रिष्ट टीएम ३५०’ प्योर इभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले विभिन्न मोडलका स्कुटी र बाइकहरु बिक्री गर्दै आएको छ । यस कम्पनीले अहिले एट्रिष्ट टीएम ३५० मोडलको वान इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्दै आएको छ । जसको मूल्य कम्पनीले ३ लाख ९९ हजार रुपैयाँ पर्छ । यो बाइकलाई विभिन्न रङ्गमा पाउन सकिन्छ । भारतीय इलेक्ट्रिक ब्रान्डको यो बाइकमा ७ इन्चको एलइडी डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प र एलइडी डिआरएलएस दिइएको छ । कम्पनीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम-आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर छ । यो इलेक्ट्रिक बाइकलाई ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ। साथै यसले १४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा तीनवटा मोडहरु ड्राइभ, क्रसओभर र थ्रील रहेका छन् यसले उकालो बाटोमा १६ डिग्रीसम्म चढ्न सक्छ भने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । यसको ब्याट्रीमा कम्पनीले ५ वर्षसम्मको वारेन्टी प्रदान गरेको छ। रिमोटबाटै स्टार्ट गर्न सकिने यसको अगाडि र पछाडि दुबै भागमा हाइड्रोलिक डुअल सस्पेन्सन दिइएको छ । इभीट्रीकको राइज बाइक इभीट्रीकले अहिले राइज मोडलको बाइक नाडा एक्स्पोमा बिक्रीका लागि राखेको छ । सो मोटसाइकलको २ हजार वाट रेटेड पावर, ३ हजार ५ सय पिक पावर र बाइकको क्लियरेन्स २०० एमएम छ । यस मोटरसाइकललाई फुल चार्ज गरेर १२० किलोमिटर गुडाउन सकिन्छ । यो मोटरसाइकल ४/५ घण्टामा फुल चार्ज हुन्छ । कम्पनीका सेल्स म्यान मदन भट्टराईका अनुसार यस बाइकको मूल्य ४ लाख ६८ हजार रुपैयाँ पर्छ । नाडा ईभी एक्स्पोमा यस बाइकको मूल्य १० हजार छुटमा पाइन्छ । बाइकको ३ वर्षका लागि ब्याट्री वारेन्टी छ । मोटरसाइकलमा मोबाइल चार्जिङ र गेर सिस्टम पनि छ भने चाबी नभएपनि बाइकलाई थम्बबाट स्टार्ट गर्न सकिन्छ ।  जोय इ-बाइक यस कम्पनीले पनि विभिन्न मोडलका विद्युतीय मोटरसाइलक बिक्री गर्दै आएको छ । कम्पनीले थन्डरबोल्ड, हरिकेन, बेष्ट र स्काइलायन मोडलका विद्युतीय बाइक बिक्री गर्दै आएको छ । यी बाइकहरुको अनुमानित मूल्य ५ लाख रुपैयाँ पर्ने कम्पनीका इञ्जिनियर तथा सर्भिस हेड अनन्त पोखरेलले बताए । उनका अनुसार बाइकलाई फुुल चार्ज गरेपछि ११० किलोमिटर गुडाउन सकिनेछ । उनले मोटरसाइलको ब्याट्री ग्यारेन्टी ३ वर्षका लागि तोकिएको बताए । उनले बाइकलाई एक घण्टामा ९० किलोमिटर गुडाउन सकिने बताए । यो भारतीय प्रडक्ट हो । विगत ४ वर्षदेखि यो बाइक बिक्री भइरहेको छ । नेपालमा भर्खरै सार्वजनिक गरिएको हो । बाइकको मोटरको पावर ५ किलोवाट छ । मिकु सुपर र मिकु म्याक्स मिकु ब्राण्डको मिकु सुपर र मिकु म्याक्स बाइक पनि युवा लक्षित बाइक हुन् । न्यूनतम ३ लाख ६० हजार रुपैयाँ मूल्य पर्ने यस बाइकमा दुइटा ब्याट्रीको सुविधा रहेको कम्पनी बताएको छ । यस बाइकमा ७० भोल्टका दुई वटा ब्याट्री छन् । मिकु सुपरले १३५ किलोमिटरको रेञ्ज दिन्छ । यसमा एलईडी लाइट छ । यस बाइकको सबैभन्दा राम्रो पक्ष भनेको लाइट पावरफुल छ । फिगंरप्रिन्टबाट पनि बाइकलाई अनर अफ गर्न सकिन्छ । यी दुवै बाइक कालो, सेता, निलो, लगायत रङ्गमा उपलब्ध छन् । यो ४/५ घण्टामा दुइटै ब्याट्री फुल चार्ज गर्न सकिन्छ । यसको टप स्पीड ८० किलोमिटर प्रति घन्टा रहेको छ । यो मोटरसाइकलमा फुल एलइडी लाइट्स, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, राइडीङ मोड, डबल डिस्क ब्रेक जस्ता फिचर पाउन सकिन्छ । डी लाइफ स्टाइलका यी चार मोडल डी लाइफ स्टाइलका यी चार मोडलका विद्युतीय बाइकहरु बिक्री गर्दै आएको छ । टीसी, टीसी स्ट्रीट हन्टर, टीसी म्याक्स र टीसी वान्डर्रर विद्युतीय बाइकहरु उपलब्ध छन् । टीसी स्ट्रीट हन्टर सार्वजनिक भएको दुई दिन मात्रै भएको छ । यसमा ३ हजार ५ सय वाटको मोटर जडान गरिएको छ । यो बाइकको टप स्पिड ८५ किलोमिटर छ । यो बाइक साढे ३ घण्टामा फुल चार्ज हुन्छ । कम्पनीका सेल्स इक्जुकेटिभ कनक बज्राचार्यका अनुसार यो बाइकका लागि सिंगल ब्याट्री खरिद गरेमा ३ लाख ८० हजार र डबल ब्याट्री खरिद गरेमा ४ लाख ८० हजार रुपैयाँ मूल्य पर्छ । यो चाइनिज ब्राण्डको बाइक हो । यस कम्पनीको टीसीएस म्याक्स मोडल छ । यसमा ५ हजार वाटको मोटरवाट छ । यसमा १०० किलोमिटर रेञ्ज र ९० को स्पीड छ । यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ पर्छ । कम्पनीले टीसी वान्डर्रर बाइक पनि बिक्री गर्दै आएको छ । जसको मूल्य सिंगल ब्याट्रीमा ३ लाख ९० हजार र डबल ब्याट्रीमा ४ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ । यस्तै, यस कम्पनीले सबैभन्दा सस्तो अर्थात् २ लाख ९५ हजार रुपैयाँ पर्छ तर यस बाइकमा डबल ब्याट्री लिएमा भने ३ लाख ९० हजार रुपैयाँ पर्छ । यसमा ३ हजार वाटको मोटर पावर र ५/६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

मंगलम् पाइप्सका कर्मचारीले पाए टिभीदेखि ४ तोलासम्मको सुन

काठमाडौं । नेपालको सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार दिउँसो ४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो । अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको छ । कार्यकममा उपहार वितरण मुख्य आकर्षणको रुपमा रहेको थियो । कम्पनीले उत्कृष्ट काम गर्नेमध्ये टार्गेट स्ल्याब अनुसार ३२ इन्चको स्मार्ट टिभि १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक ८ जनालाई, पल्सर १५० सिसी बाइक ४ जनालाई, पल्सर २२० सिसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरिएको थियो । कार्यक्रममा मंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गरेका थिए ।

नबिल बैंकले रानीघाटमा खोल्यो पहिलो शाखारहित बैंकिङ सेवा

सुर्खेत । नबिल बैंकले सुर्खेत जिल्लाको बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा गरेका हुन् । साथै, शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोजकुमार थापालाई बिएलबि मेसिन र प्रमाण पत्र हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले शाखारहित बैंकिङ सेवाको लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासको लागि वित्तीय पहुँच मुख्य आधारशिला भएको र यसका लागि गाँउपालिका बैंकसँग हरदम हातेमालो गर्ने बताए । कार्यक्रममा बोल्दै नबिल बैंक वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाँउपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरुवात गर्न पाउदा आफु अत्यन्त खुसी भएको बताए । नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पु¥याउन हरदम तत्पर रहेको जानकारी दिए । नबिल बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत् खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिनेछ । नबिल बैंकले दिगो बैंकिङ्ग कार्यक्रम अन्तर्गत देशका विभिन्न ठाउँहरुमा वित्तीय पहुँच पुर्याउने र डिजिटाइजेशनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । यसका साथै नबिल बैंकले वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा डिजिटल बैंकिङ्गङ तथा वित्तीय पहुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति, सुर्खेतको सभाहलमा भएको उक्त कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवधन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको थियो । नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।