विकासन्युज

कामना सेवाका ग्राहकले फोनपे क्युआर गर्दा १० प्रतिशत छुट पाउने

काठमाडौं ।  कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुको लागि चाडपर्व अफर ल्याएको छ । यो अफर अनुसार बैंकले आफ्ना फानेपे क्युआर ग्राहकहरुलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ । ‘यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौं फानेपे गरौ’ भन्ने नाराका साथ क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, फोनपेबाट क्युआर, आइबिएफटि तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । फोनपे कयुआरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । ग्राहकहरुले यो लक्की ड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एक्सेप्ट गर्नु पर्नेछ ।

नाडा इभी एक्स्पोमा सबैभन्दा बढी टाटाको नेक्सन बुकिङ, कुन ब्राण्डका कति बुकिङ ?

काठमाडौं । नेपालमै पहिलोपटक भएको विद्युतिय सवारी एक्स्पो ‘नाडा इभी एकस्पो’ मा सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजना काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको उक्त एकस्पोमा १३० वटा टाटाको नेक्सन इभी बुकिङ भएको हो । एक्स्पोमा हुन्डाईको कोना ५६ वटा, बिवाइडीको ई-६ ५० वटा, डुहानको ३० वटा, हुन्डाईकै आयोनिक-५ मोडल ३ वटा र दी गोको १० वटा पिकअप बुकिङ भएको छ । यस्तै, दुई पाँग्रे सवारी साधनमा सेग्वेको ५० वटा, हिरो इलेक्ट्रिकको ४० वटा, एनआइयुको २८ वटा, पेयोर स्कुटरको १२ वटा, टेल्जीको ८ वटा, रेमोटोर्स स्कुटरको ७ वटा र ब्लु शार्कको ३ वटा बुकिङ भएको छ । ४ दिन संचालन भएको उक्त एक्सपो आइतबार समापन भएको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको गरेको हो । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुब थापाले  अपेक्षा गरेको भन्दा धेरै अवलोकनकर्ताहरु अवलोकन गर्न आएको बताए । उनले विद्युतीय सवारी साधनप्रति सर्वसाधारणको चासोले आफुहरु खुसी भएको बताए । उनले सवारी साधनको खरिद बिक्री र बुकिङ पनि सोचेभन्दा बढी भएको बताए । ‘सबैले विद्युतीय गाडीलाई बुझ्न चाहिरहनु भएको छ, खरिद पनि गरिरहनु भएको छ भने बुकिङ पनि भइरहेको छ, अहिले सप्लाई दिन नसक्ने अवस्था छ, सप्लाई दिन नसकेकाहरुले बुकिङ गरिरहनु भएको छ, अहिले बुकिङ गरेर उनीहरुले केही दिनपछि सप्लाई गर्नु हुन्छ,’ उनले भने ।  

साइकल र्याली र रक्तदान कार्यक्रम गरी सनराइज बैंकले मनायो १५ औं वार्षिकोत्सव

काठमाडाैं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकाेत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साइकल ¥याली पनि सम्पन्न गरेको छ । ‘स्वच्छ वातावरण स्वस्थ जिवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका विभिन्न टोल हुँदै पुन: प्रधान कार्यालयमै आएर समापन भएको थियो । उक्त र्यालीमा ३५० जना भन्दा बढीको सहभागिता रहेको थियो । यसैगरी, सनराइज बैंकले रक्तदान कार्यक्रम समेत गरेको छ । विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिक उत्सव मनाइरहेको यस बैकले ८ लाखभन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बंैकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ ।

आज नेप्सेसँगै सेयर कारोबार पनि बन्द

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । सोमबार सार्वजनिक विदा परेको हुँदा सेयर कारोबार नहुने भएको हो । असोज १० गते महान पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्सेमा सेयर कारोबार नहुने भएको हो । अब भोलि मंगलबार मात्रै सेयर कारोबार खुल्नेछ ।

एनआईविएल प्रगति फण्डले खातामा पठायो लाभांश

काठमाडौं । एनआइविएल एस क्यापिटलको एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेको छ । फण्डले आर्थिक वर्ष २०७८÷०७९ को लागि इकाईधनीहरूलाई ४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । सोही लाभांश आइतबारदेखि इकाईधनीहरुको खातामा पठाउन थालेको हो । फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भईनसकेका इकाईधनीहरूले आफ्नो खाता नं. अद्यावधिक गराउन अनुरोध गरेको छ । हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र नगद लाभांश जम्मा हुने क्यापिटलले जनाएको छ ।

इष्टर्न हाईड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । इष्टर्न हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको जनाएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित दरमा ६ लाख २० हजार कित्ता सेयर असोज ९ गते आईतबार बाँडफाँट गरेको बताएको हो । कम्पनीले भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म आयोजना प्रभावित स्थानीयवासीका लागि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गरेको थियो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ बाट हेर्न सकिने छ ।

सवारीसाधनको जाँचमा कडा गरिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने

फाइल फोटो काठमाडौं । चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ । दसैँका लागि सोमबार घटस्थापनादेखि धेरै सङ्ख्यामा यात्रु बाहिरिने र सरकारले यात्रुबाहक सवारीसाधनलाई जतासुकै चल्न रुट अनुमति आवश्यक नपर्ने हुँदा जाँच बढाइएको कार्यालयले जनाएको छ । सवारीसाधनलाई छतमा यात्रा गर्न नदिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको छ छैन जाँच गर्ने र सवारीसाधनको अवस्था जाँच गरिने कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले बताए । उनले भने, ‘सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नाकामा जाँच बढाउन लागिएको छ ।’ उपत्यकाबाट बाहिरिने मात्रै नभई उपत्यकाभित्रै चल्ने सवारीसाधनलाई लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि दसैँमा धेरै सवारीसाधन बाहिरिएर सडक खुकुलो हुँदा चालकले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटनाको सम्भावना बढी हुँदा यो समयमा थप जाँच गर्न लागिएको छ । चाडपर्वका समयमा एकै पटक धेरै सवारीसाधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा सवारीसाधन व्यवस्थापन गर्ने र उपत्यकाबाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ । प्रवक्ता भट्टले भने, ‘चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको छ ।’ यात्रुको गुनासो सम्बोधनका लागि विभाग, व्यवसायी र ट्राफिक प्रहरी सम्मिलित यात्रु सहायकता कक्षको स्थापना गरिएको छ । त्यो सम्बोधन नहुँदा १०० र १०३ मा पनि सम्पर्क गरेर गुनासो राख्न सकिने उनले बताए । रासस

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताए । ‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन,’ उनले भने, ‘घर आँगन बदल्ने, उज्यालो ल्याउने, सम्वृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।’ देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उनले देशलाई अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता रहेको बताए । चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको भन्दै उहाँले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र सम्वृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईंहरुलाई प्राप्त हुने छ ।’ चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उनले बताए । आफूले यो राष्ट्रका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदाय सबैलाई सम्वृद्धिको उचाइमा लाने सपना बोकेको उनको भनाइ थियो । रासस