विकासन्युज

लगानीकर्ता दिपेन्द्र अग्रवालले ब्रोकर लाइसेन्सका लागि आवेदन दिने

काठमाण्डौ । लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि आवेदन दिने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेसँगै लगानीकर्ता अग्रवालले आवेदन दिने तयारी गरेका हुन् । आफू ब्रोकर लाइसेन्सका लागि अनुमति माग्न बोर्डमा आवेदन दिने प्रक्रियामा रहेको उनले विकासन्युजसँग बताए । हालसम्म सेबोनमा आवेदन नदिएपनि केही दिनमा दिने तयारी रहेका उनको भनाइ छ । कुन कम्पनीको नामबाट ब्रोकर लाइसेन्स लिने भनेर अन्तिम रुप दिइरहेको उनले बताए । रकम संकलनको तयारी गरिरहेकाले जति रकम संकलन भयाे सोही अनुसार ब्रोकर लाइसेन्सका लागि आवेदन दिने उनले बताए । उनले नयाँ स्टक एक्सचेञ्जका लागि भने आवेदन नदिने बताए । स्टक एक्सचेञ्जमा ठूलो विवाद भएकाले आफू विवादमा नपर्ने उनले बताए । नयाँ स्टकका लागि ठूला लगानीकर्ताले आवेदन दिन सक्ने उनको भनाइ छ । सिमित कार्य गर्ने धितोपत्र दलाल सेवाको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम चुक्ता पूँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारीका लागि न्यूनतम चुक्ता पूँजी १५० करोड रुपैयाँ हुनु पर्ने छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र धितोपत्र व्यवसायी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नु पर्नेछ । सेबोनले नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन भन्दै असोज २ गते आवेदन खुला गरेको थियो । नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलायो धितोपत्र बोर्डले

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमणी प्रणालीका कारण हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानरुमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौंको न्यूनतम १९ दशमलव छ र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।

नारायणगढ मुग्लिन सडक: चार महिनामा २४ पटक पहिरो, १०९ घण्टा अवरुद्ध

तस्बिर स्रोत: चिराक कुलको फेसबुकबाट भरतपुर । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुप¥यो । गतजेठ महिनायता मात्रै यो सडकखण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा सो सडकखण्डमा साना–ठूला पहिरो खसेका छन् । पृथ्वी राजमार्गको चितवन खण्डा मुग्लिन मौवाखोलमा पर्ने घोप्टे भिरमा पनि दुई÷तीन पटक पहिरो खसेको उनले बताए । ‘पहिरोका कारण कति रात सडकमा बिताएका छौँ, प्रहरी निरीक्षक अधिकारीले भने’, ‘पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ ।’ उनले सडकखण्डको भौगोलिक अवस्था र जनशक्तिको कमीका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनामा समस्या हुने गरेको बताए । ‘जिल्लाभर ६० जना ट्राफिक प्रहरीको दरबन्दी हो, अधिकांश समय पहिराका कारण हुने ट्राफिक समस्या समाधानमै केन्द्रित गर्नुपरेको छ’, उनले भने । अधिकारीले नारायणगढ–मुग्लिन सडककै कारण जिल्लाको अन्य क्षेत्रमा ट्रफिक व्यवस्थापन र जनचेतनाका काम गर्न नपाइएको गुनासो गरे । उनले सडकखण्डमा पहिरो नआउनका लागि दीर्घकालीनरुपमा समाधान खोजिनुपर्ने बताए । सडकखण्डअन्तर्गत गत वर्ष २० किलो र सेतीदोभानमा बढी पहिरो खसेको थियो तर यस वर्ष भरतपुर–२९ को केराबारीस्थित मौरी पुल र १८ किलोमा बढी पहिरो खस्यो । यसबाहेक अन्य ठाउँमा छिटफुटरुपमा पहिरो खस्ने गरेको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण १८ किलोमा निरन्तर पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए । उनले मौरी पुलमा भौगोलिक बनावट र शाखा बाटोकै कारण ठूलो पानी पर्नासाथ पहिरो खस्ने गरेको जानकारी दिए । मौरी खोलाले बगाएर ल्याएको ढुङ्गा–माटो जम्मा भएकाले पनि समस्या भएको उनको भनाइ छ । ‘खोलाको ढुङ्गा–माटो समयमै उठाउन सकिएको भए समस्या कम हुने थियो । दुई पुलमध्ये एउटा पुल पुरिएको छ । पानी आउनासाथ लेदो बगेर सडक पुरिहाल्छ’, उनले भने । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउनकै लागि २० किलोमा एउटा लोडर र जेसिभी, मौरी पुलमा चेन भएको स्काभेटर, मुग्लिनमा एउटा लोडर र फिस्लिङमा एउटा लोडर तयारी अवस्थामा राखिएको छ । जुगेडीदेखि मौवाखोलासम्मको सडकका लागि सडक डिभिजन कार्यालय भरतपुरले सबै स्रोतसाधन तयारी अवस्थामा राख्ने गरेको जनाएको छ । सडकखण्डमा पहिरो रोकथामका लागि भन्दै विभिन्न काम गरिए पनि प्रभावकारी बन्न सकेका छ्रैनन् । इन्जिनियर कार्कीले कार्यालयको बजेट र क्षमताअनुसार पहिरो रोकथामका लागि काम गरिरहेको बताए । उनले यसको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन र काम गर्नुपर्ने भन्दै त्यसका लागि धेरै बजेट आवश्यक पर्ने बताए । उनले सडकखण्डको अवस्था र गर्नुपर्ने कामका विषयमा सडक विभाग पनि जानकार रहेको बताए । पछिल्लो समय आइतबार पनि सो सडकखण्डमा पहिरो जाँदा केहीबेर सडक अवरुद्ध भएको थियो । यस वर्ष असोजको दोस्रो सातासम्म पनि पानी परिरहेको छ । यस वर्ष चाडवाडको समयमा पहिराले दुःख दिने होकी भन्ने चिन्ता थपिएको सवारी चालक रोशन गुरुङ बताउँछन् । नारायणगढदेखि काठमाडौंसम्म दैनिक माइक्रो चलाउने उनी पानी पर्नासाथ नारायणगढ–मुलिन सडकको जाममा परिन्छ कि भन्ने चिन्ता हुने गरेको बताए । सडकखण्डका दर्जन बढी पहिराको जोखिम ठाउँ रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिचान गरिसकेको छ । राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । सडक पुनःनिर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई दुई अर्ब ९० करोड रुपैयाँ खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । यसमध्ये सात ठाउँमा पहिरो रोक्ने काम गरिएको थियो । रासस

चाडपर्व लक्षित ‘रुट परमिट’ खुला

काठमाडौं । दशैं, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ । दशैंका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए । काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आआफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ । उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ ।’ सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए । अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन चल्न पाउने छैनन् । विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । कतिपय यात्रु यो महिनाको सुरुदेखि नै जान थालेका छन् भने यो सङ्ख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी चाप फूलपाती पछि हुने उनले बताए । दशैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्र यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभि इक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न सडक विभागलाई महासङ्घले अनुरोध समेत गरेको छ । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिराका कारण अहिले पनि सडक अवरुद्ध भइरहने जनाइएको छ ।

चन्द्रागिरी नगरपालिकामा डेङ्गु रोगको निःशुल्क परीक्षण

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ । नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गु रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने, ‘नगर क्षेत्रभित्र पनि डेङ्गु रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु ।’ अस्पतालका प्रमुख डा हेमनाथ आचार्यले डेङ्गु रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए । उनका अनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेङ्गु रोगका बिरामी भर्ना भएका छैनन् । पन्ध्र श्ययाको अस्पतालले डेङ्गु रोग परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिकामार्फत मिलाएको छ । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको समस्या बढ्न थाल्दछ । एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको डा आचार्यले बताए । डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस

दशैंको पहिलो दिन : घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडाै‌ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ । हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । रासस

आजदेखि न्युराेडभित्र कुनै पनि सवारीसाधन प्रवेश गर्न नपाउने

काठमाडौं । आजदेखि न्युरोड गेटभित्र कुनै पनि प्रकारको सवारीसाधन प्रवेश गर्न नपाउने भएका छन् । काठमाडौं ट्राफिक प्रहरी कार्यलयले एक सूचना जारी गर्दै असोज १० गते, असोज १४, असोज १५ र असोज १६ गते न्युरोड गेटभित्र कुनै पनि प्रकारको सवारीसाधन प्रवेश गर्न नपाउने बताएको हो । प्रहरी कार्यलयको अनुसार बिहान १० बजेदेखि साँझ सवारी चाप नभइन्जेलसम्म कुनै पनि सवारी न्युरोड गेट भित्र प्रवेश गर्न पाउने छैनन् । ट्राफिक प्रहरीले यसको लागि खुला मन्चमा पार्किङको व्यवस्था गरेको जानकारी दिएको छ ।

इसेवा मार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट पाइने

काठमाडौं ।  इसेवा मार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म छुट पाइने भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा मेगा फोनपेका तर्फबाट चिफ बिजनेस अफिसर सुमित दास र इसेवाका तर्फबाट चिफ म्यानेजस आशिष गौतमका बिचमा हस्ताक्षर गरे । यो योजना असोज १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । दशैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको दुवै कम्पनीले जनाएकाे छ । यसैबिच फोनपेले नेपालीहरुको महान चाड दशैँलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ,नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे क्यूआर गर्ने,फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सकिनेछ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङ्गको फोन जित्न सकिनेछ । ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाईल जित्न सकिनेछ ।