विकासन्युज

करोडौंको लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द

टीकापुर । कैलालीको टीकापुरमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ । तीन करोड ५६ लाख, ३६ हजार रुपैयाँको लागतमा बनाइको च्याम्बर गत वर्षसम्म कहिलेकाहीँ सञ्चालनमा आए पनि यस वर्ष भने केराको याम सकिन लाग्दासमेत बन्द छ । आफ्नै गाउँठाउँमा केरा पकाउने च्याम्बर निर्माण हुँदा खुसी भएका यहाँका केरा किसानदेखि उपभोक्ता अहिले च्याम्बर बन्द भएपछि निरास भएका छन् । च्याम्बर बन्द भएपछि यहाँका नागरिकले विषादी प्रयोग नभएको केरा खान पाउने अधिकार कुण्ठित भएको स्थानीयवासी काशीराम कार्कीेले बताए । ‘च्याम्बर सञ्चालनपछि नागरिकले विषादी प्रयोग नभएको केरा खान पाइरहेका थिए । च्याम्बरमा पकाएको केरा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनिन्थ्योे’, उनले भने, ‘च्याम्बर बन्द भएपछि बजारभरि विषादी हालेर पकाएको केरा उपलब्ध छ तर करोडौँको लगानी खेर गएको छ ।’ केरा पकाउने च्याम्बर सञ्चालनमा आएको भए यहाँका केरा उत्पादक किसानले आफ्नै ठाउँमा राम्रो मूल्य पाउथे । केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र थारुले च्याम्बर सञ्चालनमा नआउँदा व्यापारी, उपभोक्तालगायत सबैलाई घाटा भएको बताए । ‘केराका व्यापारीले अलि लामो समयसम्म च्याम्बरमा राखेको आकर्षक केरा बेच्न पाउँथे र उपभोक्ताले पनि स्वस्थ केरा खान पाउँथे’, उनले भने, ‘च्याम्बर बन्द हुँदा केरा व्यवसायी, व्यापारी र उपभोक्ता सबैलाई मार परेको छ । च्याम्बरमा पकाइएको केरा एक सातासम्म राख्न सकिन्थ्यो, विषादी प्रयोग गरेको केरा दुई दिनमै सड्छ ।’ च्याम्बरमा पकाइएको केरा लामो समयसम्म नसड्ने, विषादीरहित स्वस्थकर हुने, हेर्दा आकर्षक र पहेंलो देखिने हुन्छ । राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको अनुदानमा प्रालीले च्याम्बर सञ्चालनमा ल्याएको थियोे । पाँच वटा च्याम्बरमा प्रत्येक पटक एक सय ५० टन केरा पकाउन सकिने व्यवस्था थियो । च्याम्बरमा राखेको पाँच दिनमा केरा बजार पठाउने गरिन्थ्यो । च्याम्बर निर्माणका लागि रानी जमरा टीकापुरस्थित कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले  एक करोड, ९० लाख, आठ हजार पाँच सय ९१ अनुदान सहयोग गरेकामा च्याम्बर सञ्चालक कर्णाली कृषि सेवा प्रालीले  एक करोड, ६६ लाख, २७ हजार, छ सय ४५ लगानी गरेको थियो । कर्णाली कृषि सेवा प्रालीकोतर्फबाट सुरुमा तीन जनाले लगानी गरे पनि अहिले आफू त्यसबाट बाहिरिसकेको र कागजी प्रक्रियामात्र मिलाउन बाँकी रहेको सुरुका लगानीकर्तामध्येका एक वीरेन्द्र ढुङ्गानाले बताए । अर्का एक जनाको बीचमै निधन भइसकेको र अहिले च्याम्बरको सञ्चालन गर्ने जिम्मा सुरुका लगानीकर्तामध्येका एक शिलाकान्त झाको छ तर उनी सम्पर्कमा नरेहको स्थानीयवासीले बताए । च्याम्बरमा काम गर्ने र त्यसको रेखदेख गर्ने जिम्मा पाएका राजु ढुङ्गानाका अनुसार झा केही दिनदेखि सम्पर्कमा आएका छैनन् । एक सय ५० टन क्षमता भएको च्याम्बरका ३०/३० टनका पाँच वटा खण्ड छन् । यसरी बनेको संरचना पनि सञ्चालनमा नआउँदा एकातिर केरा व्यवसायी तथा व्यापारीलाई घाटा र उपभोक्ता स्वस्थ केरा खानबाट बञ्चित भएका छन् भने अर्कोतर्फ सरकारी लगानीको पनि सदुपयोग नभएको स्थानीयवासीको गुनासो थियो । करोडौँ लगानी गरेर बनेको संरचना सञ्चालनमा ल्याउन स्थानीय सरकार र सिँचाइ आयोजनाले सञ्चालनका लागि पहल गर्नुपर्ने गर्नुपर्नेमा स्थानीय केरा व्यवसायीले जोड दिए । रासस

‘नेप्सेको तथ्यांङ्क शुल्क बोर्डले बढाएको छैन’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्क शुल्कमा वृद्धि नगरिएको स्पष्टिकरण दिएको छ । उक्त शुल्कमा बोर्डबाट ६ गुणासम्म वृद्धि गरि स्वीकृति भएको भन्ने हल्ला आएसँगै बोर्डले सो सम्बन्धमा आफ्नो स्पष्टिकरण दिएको छ । बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै आफूले नेप्सेबाट स्वीकृत भएर बोर्डमा आएको प्रस्ताव जस्ताको त्यस्तै स्वीकृत गरेको जानकारी गराएको छ । नेप्सेले बोर्डको स्वीकृतिको लागि उक्त तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ मा शुल्कहरु सहितको कार्यविधि बोर्डमा पेश गरेको थियो । ‘धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ (संशोधन सहित० को विनियम ३९ क। मा धितोपत्रको कारोवार भए पश्चात उपलब्ध हुने तथ्याङ्क तथा जानकारी दिने सम्वन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यबिधि बनाई लागू गर्न सक्ने र नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोवार भए पश्चातको तथ्याङ्क तथा जानकारी उपलब्ध गराए बापत कुनै शुल्क लिने व्यवस्था भएमा त्यस्तो शुल्क बोर्डबाट स्वीकृत भएपछि मात्र लिन सकिने व्यवस्था छ,’ उल्लेख छ । सोही बमोजिम नेप्सेबाट बोर्डमा पेश भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्याङ्क प्रयोग सम्वन्धी कार्यविधि, २०७७ मा उल्लेखित शुल्कहरुँबाट स्वीकृतिका लागि बोर्ड समक्ष प्रस्ताव गरिए बमोजिम यथावत नै रहने गरि स्वीकृत गरिएको बोर्डले जानकारी गराएको छ ।

मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं। गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको हाे । हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर सामागाउँ पुगिसकेकाे बताइएकाे छ । हिमपहिराेकाे कारण कति क्षति भयाे भन्न विवरण आउन बाँकी छ ।

शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

रामपुर । विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि । दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने जो कोही पनि दङ्ग पर्छन् । पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुर नगरपालिकामा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा पहिचान बनाएको छ । हिजोआज यहाँको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाइ सिक्ने थलो बनेको छ । शैक्षिक अवलोकनका लागि रामतुलसी हेर्न र सिक्न लायकको विद्यालय बनेपछि संस्थागत विद्यालय छाडेर यहाँ अध्ययन गर्न आउने विद्यार्थीको आकर्षण छ । भारत गुजरातस्थित एक राम्रै बोर्डिङ स्कुलबाट एसइईसम्मको शिक्षा लिगेकी सञ्जना उचै यस वर्ष कक्षा ११ मा रामतुलसी माविमा विज्ञान सङ्कायमा भर्ना भई अध्ययनरत छन् । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भए पनि शिक्षामा अब्बल विद्यालय भएकाले उच्च शिक्षाका लागि भारत छाडेर रामतुलसीमा भर्ना भएको उनले बताए । उनी भन्छन्, ‘गुजरातमा राम्रै बोर्डिङ स्कुलमा पढेको थिए, नेपालमै बसेर सामुदायिक विद्यालयमा पढ्ने रहर जाग्यो, त्यसमा पनि गाउँमै सञ्चालन भइरहेको यस विद्यालय हामीले खोजे जस्तै पठनपाठन हुँदोरहेछ, यहाँको वातावरणले मलाई शिक्षामा आकर्षित बनायो ।’ सामुदायिक भए पनि बोर्डिङ स्कुलको तुलनामा धेरै सुविधा, गुणस्तरीय शिक्षा भएकाले आफ्नो रोजाइमा यसै विद्यालय परेको कृति अधिकारी बताउँछन् । उनी पनि संस्थागत विद्यालय छाडेर एसइई उत्तीर्णपश्चात यस विद्यालयमा आएका हुन् । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमूना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ । यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले सोचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ । घरमै बसेर न्यूनतम् शुल्कमा गुणस्तरीय प्रविधिमैत्री शिक्षा लिन पाइने, पढ्नका निम्ति अन्यत्र जाने झमेला गर्नु नपर्ने, अर्कोतर्फ विद्यालयको शैक्षिक वातावरणले आकर्षित बनाएको विशाल चौबै बताउँछन् । ‘सहर बजारका ठूला विद्यालयमा पढाइ हुने विषय यहाँ छन्, आफूले इच्छा गरेको विषयवस्तु यहीँ पढ्न पाएपछि अन्यत्र जानु परेन, पढाइमा कम खर्च, विषयानुसार आवश्यक पर्ने सबै प्रविधिको सुविधा विद्यालयले उपलब्ध गराएको छ, अनुभवी शिक्षकबाट शिक्षण कार्यले पढाइसँगै यहाँ आएपछि विषयवस्तुभित्रका मात्र नभई बाहिरी धेरै ज्ञान सीप सिक्ने अवसर मिलेको छ’, उनले भने । विद्यालयको प्रवेशद्वारभित्र पसेपछि नपढ्नेलाई पनि पढ्नुपर्छ भन्ने खालको वातावरण यहाँ पाइएको उनको भनाइ छ । यहाँ हरेक वर्ष एक सय ५० का दरले विद्यार्थी बढिरहेका छन् । शिक्षक, कर्मचारीको इमान्दारितापन, समुदायले रामतुलसी विद्यालयप्रति लिएको विश्वास, न्यूनतम् शुल्कमा विद्यालय सञ्चालन भएकाले बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताउँछन्, प्रधानाध्यापक बालकृष्ण लम्साल । ‘विद्यार्थीको चौतर्फी सिकाइमा विद्यालयले कुनै सुविधा कञ्जुस्याइँ गरेको छैन, पारिवारिक वातावरणमा शिक्षण कार्य भइरहेको छ, संस्थागतमा पढेका विद्यार्थी यहाँ आउनेक्रम बढिरहेको छ’, उनले भने, ‘बिहान साँझको समयमा अब विद्यालयमा आध्यात्मिक चिन्तन र सङ्गीतको शिक्षा सञ्चालन गर्ने, विद्यालयको प्रवेशद्वारभित्र पसेपछि पानीको फोहोरासहितको पोखरी निर्माण, शिव पार्वतीको मूर्ति स्थापना गर्ने योजना छ’ । भूगोलको हिसावले शहरोन्मुख, बजार नजिकै विद्यालय, अन्यत्र विद्यालयमा पढाई नभएका विषय यहाँ सञ्चालन, तीन वर्षे कृषि बाली विज्ञान, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा सङ्कायमा पठनपाठन भइरहेको छ । यहाँको वातावरण र व्यवस्थापकीय पक्ष राम्रो हुँदै जाँदा विद्यार्थीको आकर्षण बढेको हो । नमूना विद्यालयको पाँचौँ वर्षमा विद्यालय प्रवेश गरेको छ । समयानुकूल शिक्षण सिकाइलाई अवलम्बन गरेर शैक्षिक वातावरण व्यवस्थापन गर्दै जाँदा हिजो स्कुल आउन नमान्ने बालबालिका अहिले नियमित स्कुल आउने, पठनपाठनमा चासो दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् । उनका अनुसार मन्त्री, सरकारी तवरमा उच्च तहमा पुगेका कर्मचारी, विभिन्न क्षेत्रमा धेरै जनशक्ति उत्पादन गर्ने पुरानो हाइस्कुलले चिनिएको रामतुलसी नमूना माविले अहिले शैक्षिक क्षेत्रमा नौलो आयाम बनाउन सफल भएको छ । ‘शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयले दक्ष जनशक्ति छनोट, विद्यार्थीलाई विद्यालयभित्र पुगिसकेपछि पढुँपढुँ बनाउने खालको शैक्षिक वातावरण तयार पारिएको छ, हामीले कसरी हुन्छ विद्यार्थीलाई खुसीका साथ पढ्ने वातावरण बनाइदिएका छौँ, अहिले विद्यार्थीको चाप धेरै छ, व्यवस्थापन पक्षबाट शैक्षिक कार्यमा कुनै कमी हुन दिएका छैनाँै’, उनले भने । रामपुर नगरपालिकाले नगरभित्रका विद्यालयमा शिक्षामा समानुपातिक बजेट बाँडफाँट नगरेको हुँदा अव विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई बजेट उपलब्ध गराउनु पर्ने अध्यक्ष पौडेलको माग छ । धेरै विद्यार्थीले पढ्ने यस विद्यालयमा नगर सरकारले चासो दिएको पाइँदैन । हाल यस विद्यालयमा १०२ शिक्षक, कर्मचारी कार्यरत छन् । यसमध्ये सरकारी दरबन्दीका ३० जना शिक्षक कार्यरत छन् । बाँकी सबै निजी स्रोतका शिक्षक, कर्मचारी हुन् । मासिक १३ लाख रुपैयाँ रकम निजी स्रोतका शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापन विद्यालयले आन्तरिकरुपमा नै गरिरहेको छ । विद्यालयको विभिन्न जग्गा तथा सटर भाडाबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुन्छ । कक्षा ११ र १२ अन्तर्गत शिक्षा र व्यवस्थापनका विषय बिहान, विज्ञान विषय दिउँसोमा चलिरहेको छ । कक्षा ११ र १२ का सबै विषय दिउँसोमा चलाउन विद्यार्थी सङ्ख्या बढी भएकाले कक्षाकोठाको अभाव रहेको विद्यालयले जनाएको छ । दिउँसोमा ६५ वटा कक्षा नियमित चलिरहेको छ । दुईवटा स्कुल बस दैनिक सञ्चालनमा ल्याइएको छ । विद्यालयका एक सय २० कोठामध्ये एक सय कोठा शैक्षिक प्रयोजनमा छ । गत आर्थिक वर्षमा व्यावसायिक शिक्षा अभिवृद्धि परियोजनाअन्तर्गत विनियोजित रु ३२ लाख सहयोगमा अत्याधुनिक खालको कम्प्युटर ल्याब तयार पारिएको छ । जहाँ एकै पटकमा ३० जना विद्यार्थीले प्रयोग गर्न मिल्ने खालको संरचना तयार छ । यहाँ कक्षा ८ देखि १२ सम्म कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । व्यवस्थित पुस्तकालय, सुविधा सम्पन्न तीन सय मानिस अट्ने क्षमताको चमेना गृह व्यवस्थापन गरिएको छ । अति न्यून शुल्क लिएर संस्थागत विद्यालयले दिने सबै सेवासुविधा उपलब्ध गराइएको र यस विद्यालयलाई नेपालकै नमूना विद्यालय बनाउने कोशिसमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक श्रेष्ठले बताए । विद्यालयमा प्राथमिक उपचारका लागि एक जना नर्स र प्रवेशद्वारभित्र पस्ने बित्तिकै सुरक्षा कर्मचारी परिचालन गरिएको सदस्य श्रेष्ठ बताउँछन् । विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेमा वा विभिन्न समस्या देखिएमा प्राथमिक उपचार उपलब्ध गराउन नर्स कर्मचारीको व्यवस्था गरिएको हो । हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ भने अबदेखि भने अङ्ग्रेजी माध्यमअन्र्तगत पनि विशिष्टीकृतरुपमा प्रविधियुक्त शिक्षा दिइने विद्यालयले जनाएको छ । विशिष्टीकृत शिक्षा प्रदान गर्न पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षा सञ्चालन गरिरहेको समितिले जनाएको छ । रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चौर, बगैँचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुविधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैका सामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योति प्रदान गर्न २०२५ सालमा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ । तत्कालीन समयमा पूर्वी पाल्पाको एकमात्र शैक्षिक धरोधरका रुपमा रहेको यस विद्यालयले धेरै विद्यार्थीलाई शिक्षाको उज्यालो ज्योति छरेको छ । अहिले पनि हाइस्कुल भनेपछि धेरैको बुझाइमा रामतुलसी भनेर बुझिन्छ । आजको अवस्थासम्म आइपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मार्न सफल भएको छ । यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमूना पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाइमा पर्ने गरेको छ । पर्याप्त खेलमैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालयलगायतको राम्रो सुविधा छ । रासस

मंगलबार सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । असोज ११ गते मंगलबार सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणका लागि असोज १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा असोज ११ गतेसम्म कायम सेयरधनीहरुलेमात्र लाभांश प्राप्त गर्ने सक्नेछन् । कम्पनी गत आवको मुनाफाबाट चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ ।

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा । मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए । मेची उद्योग वाणिज्य सङ्घले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहो¥याएको थियो । भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो । मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी भारतीय गाडीले पाउने उल्लेख छ । यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनु पर्दैन । यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक पाँच सय रुपैयाँ तिरेर अस्थायी अनुमतिपत्र लिनुपथ्र्यो । मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारीसाधनले नेपालसँगको सीमा नाँघेर धुलाबारी बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने बताए । ‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो’, मेची भन्सार एजेन्ट सङ्घका अध्यक्षसमेत रहेका निरौलाले भने, ‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकरभिट्टा, इँटाभट्टा र धुलाबारीमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौँ । रासस

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

काठमाडौं ।  केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डिएचआई भ्याकूम क्लिनर, मिक्चर, राइस कुकर लगायत एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यसैगरी साप्ताहिक रुपमा डिएचआई ब्राण्डको वासिङ मेशिन, डिएचआई ४३ इन्चको टेलिभिजन, १७० लिटरको रेफ्रिजिरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङ्ग लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । बम्पर उपहारमा एक जनालाई ४ रात ५ दिनको दुवई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणी तिमिल्सिनाले जानकारी दिए । त्यस्तै बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल बितरण गरिने उनको भनाई छ । उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई उपलब्ध गराइने कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिए । चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ केएल टावरले उपहार योजना सञ्चालन गरेको हो । असोज ५ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक ३० गतेसम्म चल्नेछ । टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।

विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसालौं : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वमा विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसाल्न अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । यस्तै, बैंकले नोटमा केरमेट गर्ने, जलाउने, च्यात्ने वा नोटको आकृति बिगार्ने काम नगर्न अनुरोध गरेको छ । यस्तो काम दण्डनीय रहेको बैंकले जनाएको छ । राष्ट्र बैंकले नोटसँग धार्मिक कार्य, वार्षिक उत्सव, दशैं, तिहार , पुजाआजा, जस्ता सामाजिक कार्यहरुमा दक्षिणाका रुपमा प्रयोग हुने अविर, केशरी, अक्षता लगायतको वस्तु प्रयोग नर्गन अनुरोध गरेको छ । ‘सफा नोट सभ्याताको प्रतिक हो, नोटलाई जतन गर्नु हामी सबैको कर्तव्य हो,’ सूचनामा भनिएको छ ।