विकासन्युज

आइसिटी अवार्डको नलेज पार्टनरमा प्रेसिडेन्सियल विजनेश स्कुल

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेस स्कुल आवद्ध भएको छ । कलेज गत २ वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ । सोमबार प्रेसिडेन्सियल विजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘नलेज पार्टनर’को रुपमा अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेटरहरुलाई विशेष कार्यक्रम समेत सञ्चालन गर्नेछ । अमेरिकन विजनेश डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल विजनेश स्कुलले केहिवर्षदेखि आइटी शैक्षिक कार्यक्रम अन्तगर्त बिएस्सी आइटी, एमएस्सी आइटी र एमबिए आइटीका कोर्सहरु सञ्चालन गरिरहेको छ । यसैगरी एक दशकभन्दा बढि समयदेखि विजनेश शैक्षिक कार्यक्रम अन्तर्गत बिबिए र एमबिए सञ्चालन गरिरहेको कलेजले इन्कुवेसन तथा उद्यमशिलतालाइ लक्षित गरेर विभिन्न कार्यक्रम तथा सेसनहरु सञ्चालन गर्र्दै आइरहेको छ । कलेजले हरेक वर्ष आइटी कन्क्लेभ पनि आयोजना गर्ने गरेको छ । सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।

एनसीसी बैंकले कर्मचारी घटाउन स्वेच्छिक अवकाश योजना ल्याउने

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएसँगै एनसीसी बैंकले स्वेच्छिक अवकाश योजना ल्याउने भएको छ । दुई बैंकबीच आज मर्जर सम्झौता भएसँगै अब एनसीसी बैंकले कर्मचारीहरुका लागि स्वेच्छिक अवकाश योजना ल्याउने भएको हो । अहिले एनसीसी बैंकमा १६०० कर्मचारी छन् । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । दुई बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । दुई बैंक मर्जर भएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेछन् भने कुमारीका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुनेछ ।

तिब्बतबाट भेडा र च्याङ्ग्रा आयात नहुँदा खसीबोका महँगियो

फुङ्लिङ । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो । दसैँको मौका छोपेर हाट बजारमा नियमित खरिद/बिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी बढाएका हुन् । चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयले बताएका छन् । उपभोक्ताका अनुसार हाट बजारमा १० हजार रुपैयाँ पर्ने एउटा खसीको मूल्य अहिले महँगिएर १४/१५ हजार रुपैयाँ मूल्य पुगेको छ । फुङ्लिङ बजारका स्थानीय डिल्ली पौडेलले निकै महँगो मूल्य तिरेर आफूलाई आवश्यक खसी खरिद गरेको बताए । नियमित बजारमा १० किलोग्रामको खसीबोकालाई रु आठ हजार पर्ने गरेकामा चाडपर्वको समयमा भने १२ हजार रुपैयाँ भन्दाबढी परेको फुङ्लिङ नगरपालिका–७ का स्थानीय कमल भट्टराईले बताए । भट्टराईका अनुसार चाडपर्वको मौका छोपेर स्थानीय किसान तथा व्यवसायीले आफूखुसी खसीबोकाको मूल्य बढाउने गरेका छन् । यो मौसममा खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत महँगिएको उपभोक्ता बताउँछन् । प्रतिवटा ्तीन हजार रुपैयाँसम्ममा पाइने पाठापाठी हाटमा पाँच हजार रुपैयाँभन्दा बढीसम्म मूल्य तिर्नुपरेको उपभोक्ता खरिदकर्ताले बताएका छन् । फुङ्लिङमा लाग्ने हाटबजारमा जिल्लाको निघुरादिन, फूलबारी र छिमेकी पाँचथर जिल्लाको अमरपुरलगायत क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गर्दछन् । कोभिड महामारको तीन वर्षअघिदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुन छोडेकाले पनि खसीबोका महँगिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका उपाध्यक्ष पासाङ शेर्पाले बताउँछन् । आजभन्दा चार/पाँच वर्ष अघिसम्म चाडपर्वका समयमा टिपताला भञ्ज्याङ नाका हुँदै तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुने गर्दथ्यो । तिब्बतबाट च्याङ्ग्रा आयात हुँदा यहाँ खसीबोका निक्कै सस्तो मूल्यमा खरिद बिक्री हुने गरेको शेर्पाले बताए । रासस

एनसीसी र कुमारीबीच मर्जर सम्झौता, सीईओ अर्याल, स्वाप रेसियो कति ?

काठमाडौं । एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ । आज दुवै बैंकबीच एक कार्यक्रमकाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको बताइएको हो । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बैंकको सिईओ बन्ने बताइएको छ । कुमारीका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ । बैंकको यकिन स्वाप रेसियो भने डीडीएपछि थाहा हुने बताइएको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै, गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यस्तै, कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ र एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मकाे तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

कृषि ज्ञानकेन्द्र दाङको सात करोड बढी बजेट

देउखुरी । कृषि ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बजेटको आकार ५० प्रतिशतले घटेको उक्त कार्यालयले जनाएको छ । केन्द्रका प्रमुख घनश्याम चौधरीका अनुसार चालू आर्थिक वर्षका लागि सात करोड तीन लाख २६ हजार रुपैयाँ विनियोजन भएकामा पुँजीगततर्फ ६५ लाख पाँच हजार रुपैयाँ रहेको छ भने चालूतर्फ  सात करोड एक लाख २१ हजार रुपैयाँ मात्रै विनियोजन भएको छ ।   गत आर्थिक वर्ष २०७८/७९ मा बजेटको आकार दोब्बर बढी थियो । गत आर्थिक वर्षमा ज्ञान केन्द्रमा रु १४ करोड ९३ लाख ४० हजार रहेको उनले बताए । कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि  दुई करोड १९ लाख २८ हजार रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि  तीन करोड ५८ हजार रुपैयाँ, कृषि तथा पशुपक्षी स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रम चालूतर्फ ४९ लाख ३९ हजार रुपैयाँ, कृषि तथा पशुपक्षीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रम चालूतर्फ  ७९ लाख ५६ हजार रुपैयाँ, स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि ३१ लाख ९० हजार रुपैयाँ र गरी कूल सात हजार ८३ लाख २६ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए ।   अनुदानको कार्यक्रममा जिल्लामा विनियोजित कूल बजेटको ७० दशमलव ६० प्रतिशत खर्च भएकामा अनुदान कार्यक्रममा सम्झौता भएको बजेटमा ७८ प्रतिशत र अनुदान कार्यक्रममा खर्च भएको बजेटअनुसार ४९ दशमलव १४ प्रतिशत रहेको छ । अनुदानग्राहीले ज्ञानकेन्द्रमार्फत लिएको सेवाबाट बजार पूर्वाधार तीन वटा तथा सिँचाइ पूर्वाधार २२ वटा तयार भएको छ ।   उहाँले लक्षित कार्यक्रमअनुसार बजेट पूर्ण कार्यान्वयनमा समस्या परेको बताए । स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत सञ्चालित कस्टम हाइरङ सेन्टरलाई दीगोपना राख्न सहकारी वा स्थानीय तह कसलाई हस्तान्तरण गर्ने हो र समन्वय समितिलाई निरन्तरत कार्यान्वयन गराउन समस्या देखिएको, मिसन कार्यक्रमको क्रमागतमा अनुदान बजेट कम हुनेहुँदा कार्यक्रम सञ्चालनमा उत्साहित नदेखिएको बताए ।   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय एकाइ प्रमुख महेश रेग्मीले किसानका लागि आएका कार्यक्रममा किसानको आकर्षण कम भएको बताए । तुलसीपुर उपमहानगरपालिका कृषि शाखा वागबानी अधिकृत धनराज गौतमले हावापानी र माटोको परिक्षण गरेर बालीको पकेट क्षेत्र कायम गर्नुपर्नेमा जोड दिए ।   कृषिका कार्यक्रमले कृषि क्षेत्रमा देखा परेका चुनौतीसँगै अवसरका बारेमा किसानलाई बुझाउन आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा दाङका १० वटै पालिकाका कृषि कार्यालयका प्रमुख र व्यावसायिक किसानको सहभागिता थियो । रासस

एकैदिन १ हजार ५२ जनामा देखियो डेंगुको संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुको १ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १ हजार ५२ जना संक्रमित थपिएका हुन् । हालसम्म ‍२५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमणका कारण सोमबारसम्म ३२ जनाको मृत्यु भएको छ ।

देशभरका ६ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध

काठमा‍डाै‌ । दसैँ नजिकिँदै गर्दा हाल देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् । वर्षाका कारण आएको बाढीपहिरोले गर्दा अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिकरुपमा सवारीसाधन सञ्चालनमा रहेका छन् । साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोट–बल्दे खण्डमा अवरुद्ध रहेको छ । अवरुद्ध रहेको स्थानमा लोडर र स्काभेटरको प्रयोग गरेर खुलाउने प्रयास भइरहेको र सँगसँगै वैकल्पिक सडकका लागि स्थानीयवासीसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ । यता बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबँेसी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ । सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ । कर्णाली राजमार्गको हर्रे, सेतो भिर, दरबारे, पदुका, रामघाट, किट्टुलगायतका स्थानमा सडक अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सडक सुचारु गर्न प्रयास भइरहेको छ । जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काइभेटरको प्रयोग गरी खुलाउने प्रयास जारी रहेको छ । हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बँेसीशहर–चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालु रहेको छ । यस वर्ष नै वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल एक सय ४५ सडक पूर्णरुपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ । विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ । गत वर्ष वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडकखण्डसमेत पटकपटक अवरुद्ध भइरहेका छन् । अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राख्ने गरेको जनाएको छ । रासस

सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु हुँदैन : निलहरि बास्तोला

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन् । सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले यस्तो बताएका हुन् । उनले पछिल्लो समय स्थानीय सरकारले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यलाई अस्थित्व मेटाउने काम भएको बताए । अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउण्डलाई अहिले सडक बनाउने नाममा भत्काएर अहिले ५ दिनको बनाइएको भन्दै आपत्ति जनाए । उनले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरुको अस्थित्व मेटाउन नमिल्ने बताए । अध्यक्ष बास्तोलाले पछिल्लो समय धेरै पर्वतीय ट्रेकिङ गन्तव्यहरु हराउने क्रममा रहेको गुनासो गरे । उनले विश्वमा प्रचार भएर हजारौं नागरिकलाई रोजगारी दिने पर्वतीय ट्रेकिङ गन्तव्यलाई कायम राखेर वैकल्पिक मार्गबाट सडक बनाउन सल्लाह गर्न आग्रह गरे । उनले स्थानीय सरकारहरुले पर्वतीय ट्रेकिङ गन्तव्य भएको स्थानमा सडक बनाउँदा वा पर्यटन क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्दा टानसँग सल्लाह गर्नु उचित हुने बताए । उनले रोजगारीको सिर्जना लगायत अन्य प्रचुर सम्भवना रहेको सिन्धुपाल्चोको जुगल हिमालको प्रचारप्रसार गर्न आवश्यक रहेको र त्यसमा प्रचारप्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । त्यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिए अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने बताए । उनले पर्वतीय उद्योग जनशक्ति,व्यवस्थापनदेखि आवश्यक पूर्वाधार स्वदेशी भएको र लगानी गर्न अन्य मुलुकसँग सहयोग माग गर्नु नपर्ने उद्योग हुने बताए ।