सानिमा माई हाइड्रोको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने
काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुधबार बुकक्लोज गर्ने भएकोले मंगलबारसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत अर्थात् १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । कम्पनीको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले लाभांश पारित गर्न कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।
‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिर ९ देखि, १६ देशका २३ नाटक
काठमाडौं । नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चद्यने महोत्सवका देश विदेशका २३ नाटक मञ्चन हुनेछ । साथै विभिन्न अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला, कला प्रदर्शनीहरु हुनेछन् । महोत्सवमा आवेदन परेका मध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटकरु छानिएको आयोजकले जनाएको छ । मण्डला थिएटर नेपालले आयोजना गर्ने ९ दिवसीय नाट्य महोत्सवको सोमबार घोषणा कार्यक्रम तथा पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरिएको हो । मण्डला नाटकघर थापागाउँमा हुने महोत्सवमा नेपाल लगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् । साथै, भारत, उरुग्वे, कम्बोडिया आदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने महोत्सवका निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिए । महोत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए । त्यस्तै महोत्सवका संयोजक विजया कार्कीले महोत्सवबारे जानकारी गराउँदै ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना २०२२ बाट छानिएका उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिने जानकारी दिए । उनले भने, ‘महोत्सवमा नेपाली नाटकले आधुनिक रङ्गमञ्चमा मौलिक कथावाचन शैलीका आयाम देखाउनेछ भने विदेशी नाटकले त्यहाँका समसामयिक सामाजिक÷राजनीतिक विषय लिएर आउनछेन् ।’ महोत्सवबारे अन्य वक्ताहरु कार्यक्रममा मण्डला थिएटरका संस्थापक अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सव नेपाली रङ्गमञ्चको विकास र समृद्धिका लागि एक प्रयास भएको बताए । उनले ३ वर्षअघि धेरै नाट्य संस्था र नाटकघरसँग मिलेर आयोजना गरेको पहिलो महोत्सव सम्झदैं देशमा कला, साहित्य, संगीतलगायतका महोत्सवहरुको आवश्यकता रहेको औंल्याए । त्यस्तै, अग्रज रङ्गकर्मी अनुप बरालले महोत्सवलाई शुभकामना दिँदै युवा पुस्ताले नेपाली रङ्गमञ्चमा देखाएको सक्रियता र यस्ता महोत्सवहरुले नेपाली रङ्गमञ्चको भविष्य निर्माण गर्दै जाने उल्लेख गरे । त्यस्तै, कार्यक्रम सञ्चालकको रुपमा रङ्गकर्मी केदार श्रेष्ठले रङ्गमञ्च कलालाई जीवनतर्फ फर्काउने र जीवनलाई कलातर्फ फर्काउने ठाउँ रहेको कथन सम्झदै नेपाल अन्तर्राष्टिय नाट्य महोत्सव सम्बन्ध र भावनाहरुको पनि महोत्सव रहेको उल्लेख गरे । इनोभेटिभ आइडिया अवार्ड महोत्सवले १ लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्डको पनि घोषणा गरेको छ । यस अवार्डका लागि रङ्गमञ्चसँग सम्बन्धित नाटक लेखन, निर्देशन, निर्माण तथा अनुसन्धानका लागि इच्छुकहरुले अवधारणा पत्र पठाउन सक्नेछन् । जसमध्ये एक अवधारणालाई अवार्ड प्रदान गरिने जनाइएको छ ।
दशैंमा पेट्रोल/डिजेलको मूल्य घटाएर उपभोक्तालाई राहत दिने तयारीमा सरकार
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटेपछि नेपाल आयल निगम पनि पेट्रोल डिजेलेको मूल्य घटाउनमा सकारात्मक देखिएको छ । यसअघि निरन्तर मूल्य बढाउँदै र यथावत राख्दै आएको निगत यस पटक भने मूल्य घटाउनमा सकारात्मक देखिएको हो । यस पटक पनि भारतले मूल्य घटाएर पठाउने निश्चित छ । भारतले मूल्य घटाएर पठाएको अवस्थामा नेपालमा पनि पेट्रोल र। डिजेलको मूल्य घटाउनमा सकारात्मक हुने अवस्था रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । ‘असोज १६ गते इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य पठाउँछ, अन्तर्राष्ट्रिय बजारमा मूल्य मूल्य घट्दो क्रममा छ, भारतबाट घटेर आएमा हामी पनि घटाउन तयार हुन्छौं,’ उनले भने । उनले आईओसीले पठाउने मूल्यसूचीका आधारमा नेपालमा मूल्य तोक्ने बताए । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ । निगमका अनुसार हाल मासिक दिनको १८ करोड रुपैयाँ अझैँ पेट्रोलमा नोक्सानमा छ । यसअघि सेप्टेम्बर १६ मा आईओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ६.५५ रुपैयाँ तथा डिजेलमा ४२ पैसाले मूल्य घटेर आए तापनि निगमले समायोजन गरेको थिएन। यसअघि आईओसीलाई बक्यौता तिर्न नसक्ने अवस्था आएपछि निगमले सरकारसँग सात अर्ब र राष्ट्रिय वाणिज्य ब्याङ्कसँग ३ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
‘मुख्यमन्त्रीज्यू ! आयुर्वेदिक र एलोप्याथिकलाई एकै डालोमा हाल्न मिल्छ र ?’
कर्णाली । आयुर्वेदिकलाई विश्वकै प्राचीन चिकित्सा पद्दतिका रूपमा चिनिन्छ । यो चिकित्सा पद्दति मानव स्वस्थ शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्दछ । खासगरी आयुर्वेदमा वाथ, पित्त र कफको सन्तुलन हुन नसक्दा रोग लाग्ने विश्वास गरिन्छ । मानव जीवनलाई स्वस्थ एवं शान्त राख्न यसले योग, पञ्चकर्म र क्षारसूत्रको प्रवद्र्धनमा जोड दिने गर्दछ । हाम्रो आहार-विहार, सोच र दिनचर्यालाई सही राख्न विशेष जोड दिने प्राकृतिक चिकित्सा पद्दतिलाई सरकारी तहबाटै बेवास्ता गरिएको भन्दै पछिल्लो समयमा त्यसबारे आवाज उठ्न थालेका छन् । मानव जीवनका लागि अत्यावश्यक तर हेला गरिएको क्षेत्र भन्दै त्यसका सरोकारवालाले कर्णाली सरकारलाई प्रश्न उठाएका छन् । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा यहाँका सबै जिल्लाका आयुर्वेद औषधालयलाई स्वास्थ्य सेवा कार्यालयको एउटा कोठामा सीमित गरियो । आफ्नै छुट्टै पहिचान र महत्व बोकेको क्षेत्र स्वास्थ्य क्षेत्रमा गाभिएपछि आयुर्वेदमा कार्यरत कर्मचारीले नैराश्य प्रकट गरे । कार्य प्रकृति नमिले पनि प्रदेश सरकारले स्वास्थ्य कार्यालयसँग आयुर्वेदलाई गाभेपछि उनीहरुलाई काम गर्नुको विकल्प रहेन । पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्दति आधुनिक चिकित्सा पद्दतिसँग मिल्न नसक्ने आयुर्वेदसम्बन्धी जानकारले बताउँदै आएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आइतबार आयोजित ‘सिधा कुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका कर्णाली प्रदेश अध्यक्ष दीपेन्द्र कँडेलले सरकारले आयुर्वेद चिकित्सा पद्दतिलाई मास्ने गरी काम गरेको आरोप लगाए । आयुर्वेदिक र एलोप्याथिक दुवैको सैद्धान्तिक र व्यावहारिक रूपमै विभिन्न किसिमका विरोधाभास भएको रहेको भन्दै उनले मुख्यमन्त्रीलाई प्रश्न गरे, ‘मुख्यमन्त्रीज्यू ! आयुर्वेदिक र एलोप्याथिक चिकित्सा पद्दतिलाई एकै डालोमा हाल्न मिल्छ र ? भीर माहुरी र घर माहुरीलाई एकै घारमा राख्यो भने के हुन्छ ?’ अहिले पनि दुवैलाई मर्ज (मिलान) गर्ने प्रदेश सरकारको निर्णयले सेवाग्राहीमा पर्न जाने अप्ठ्यारोका विषयमा बेलैमा ध्यान दिन अध्यक्ष कँडेलले आग्रह गरे । जवाफमा मुख्यमन्त्री शाहीले मर्ज गर्ने गरी प्रदेश सरकारले निर्णय नगरेको बताए । कर्णाली आफैँमा योगभूमि भएकाले यसको क्षेत्रलाई फराकिलो बनाएर लैजाने गरी सरकारले काम अगाडि बढाउने भन्दै उनले जनताको जीवनसँग जोडिएको स्वास्थ्य सेवामा प्राथमिकता दिइएको जनाए । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त कार्यालय प्रमुख नन्दप्रसाद न्यौपानेले स्वास्थ्य सेवाका कर्मचारीले नै आयुर्वेदको काम छैन भन्ने गरेकाले त्यसको गलत सन्देश नागरिक तहमा पुगेको बताए । ‘यसअघि आफ्नै संरचना र क्षेत्राधिकारमा काम गरेको आयुर्वेद औषधालय स्वास्थ्य सेवा कार्यालयको एक कोठामा छ,’ उनले भने, ‘आयुर्वेदिक चिकित्सामा ध्यान गएको देखिँदैन ।’ रासस
अबदेखि सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नै पर्ने
काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ । सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशका २०७१’ र सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०७६ दुवै कानुनमा ९० प्रतिशत भागमा चेतनामूलक र सन्देशमुलक सामग्री राख्ने उल्लेख छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ को दफा ९ मा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेनिङ र लेबलको बाहिर कूल भागमध्ये कम्तिमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्नेजस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ट रुपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने उल्लेख छ । निर्देशिकामा दफा ४ मा चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य माथिल्लो भागको अगाडि र पछाडि ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र राख्नुपर्ने अनिवार्य व्यवस्था रहेको थियो । चुरोटको बट्टा, प्याकेट र र्यापर्समा मुख्य भागमा ७० प्रतिशत चित्र र २० प्रतिशत चेतनामूलक सन्देश राख्ने निर्देशिकामा उल्लेख गरिएको थियो । तर उत्पादक कम्पनीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ अनुसार नै बट्टामा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक रङ्गिन चित्र राखी पछिल्लो निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र घातक चित्र राखेका थिएनन् । सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ र निर्देशिका २०७१ अनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यन्वयनमा आउनुपर्ने आदेश दिए पनि अब अनिवार्य रुपमा कार्यन्वयनमा जानुपर्ने भएको छ । विसं २०७२ जेठ १ गतेदेखि निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यान्वयनमा आउनुपर्ने उत्पादकले कार्यान्वयन नगरेपछि बाध्य भएर सर्वोच्च अदालतलेमा रिट दायर गर्नुपरेको थियो । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को दफा ९ मा कूल भागको ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने चेतनामूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ष्ट रुपमा बुझने र लेख्नेगरी नेपाली भाषामा छाप्नुपर्ने उल्लेख छ । सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक चित्र राखेर मानिसमा चुरोट सेवन गर्ने घटेको पाइएको थियो । एक्सन नेपालले गरेको एक अध्ययनले ५५ प्रतिशत चुरोट सेवन गर्नेमा कमी आएको बताइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले चुरोटको बट्टा, प्याकेट र र्यापर्सको बाहिरी भागमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र अङ्कित भए मानिसले चुरोट सेवनमा कमी आउने बताए । ‘विभिन्न अध्ययन अनुसन्धानले पनि जति ठूलो चुरोटमा घातक चित्र भयो । त्यति नै मानिस डराएर सुर्तीजन्य पदार्थको सेवन गर्दैनन् भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘अब हामीले पनि सुर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने वित्तिकै मानिसले सेवन गर्न छाड्ने छन् ।’ उनले सर्वोच्च अदालतको पूर्ण आदेश आएपछि सुर्तिजन्य पदार्थको उत्पादक कम्पनीलाई पत्र लेखेर चुरोट, खैनी जस्तोको बट्टामा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने निर्देशन दिने बताए । नेपालमा सुर्तीजन्य सेवनबाट वार्षिक करिव २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ । चुरोट सेवन गर्नेमा बढी हृदयघात चुरोट पिउने मानिसमा हृदयघात हुने सम्भावना बढी हुने गरेको गंगालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी बताउँछन् । युवामा चुरोट सेवन गर्ने क्रम बढेको पाइन्छ । हृदयघात भएकामध्ये ६५ प्रतिशत चुरोट सेवन गर्नेहरू हुन्छन् । तीमध्ये ४० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेको उनको भनाइ छ । उनका अनुसार ४० वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने गर्दछ । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला पनि हृदयघात ६० वर्षमाथिकामा हुने गरे पनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षमुनि पनि हुने गरेको बताउँछन् । ‘चुरोट सेवन गर्नाले युवावस्थामा नै हृदयघात हुने सङ्ख्या अत्यधिक बढदै गएको छ,’ उनले भने । रासस
२० लाखले छोड्दै काठमाडौं उपत्यका
फाइल फोटो काठमाडौं । बडादशैंमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दशैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैंका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो । तीन वर्षअघि काठमाडौं उपत्यकाबाट दशैंका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ । दशैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ । सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी कार्यालयले दशैं मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातयात व्यवसायीले पनि दशैंका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ । अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । रासस
हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी, ५० जनाले पाए रोजगारी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ । किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न ककनीमा थुप्रै संरचना बनेका छन् । ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि पर्यटनको प्रवद्र्धन गर्ने योजनाबाट सुरु गरिएको बताउँछन् हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक प्रताप लामा । करिब पाँच सय रोपनी जग्गामा किबी, सिताके च्याउ, भैँसीपालन तथा अन्य खेती उनीहरुले गरिरहेका छन् । किबीले अब केही समयमा उत्पादन दिने लामाले बताए । च्याउ, गोलभेडा, आलु, मूलालगायत अन्य तरकारी भने उत्पादन भइरहेका छन् । ककनीसम्म पुग्ने राम्रो सडक नहुँदा त्यहाँ उत्पादित वस्तुलाई सहज तरिकाले बजार लैजान सकिएको छैन । किबी, आलु, गोलभेडा, साग, च्याउ उत्पादन हुने ककनीमा सडकको सहज पहुँच हुने हो भने काम गर्न सजिलो हुने बताउँछन् सञ्चालक लामा । उनले मलको दुःखले गाईभैँसी पनि पाल्न थालिएको बताए । यस भेगका प्रायः सबै नागरिक कृषि पेशामै आत्मनिर्भर छन् । तर किसानमा प्राविधिक ज्ञान नहुँदा कतिपय स्थानमा किसानले गरेको लगानी खेर जाने गरेको छ । तर हेलम्बुको ककनी भने किबी खेतीका लागि उपयुक्त हुने बताउँछन् फार्मका कृषि प्राविधिक विकास पौडेल । त्यहाँबाट उत्पादित तरकारी, दूधलगायत नजिकै रहेका विद्यालयको छात्राबास र गाउँमा पनि खपत हुने गरेको छ । यहाँको उत्पादन अर्गानिक रहेको र नजिकै पाउँदा सहज भएको पाल्चोक माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र खड्काले बताए । फार्मले नियमितरूपमा छ जनालाई र आवश्यकताअनुसार ४०-५० जनालाई रोजगारी दिएको छ । फार्ममा स्थानीय विद्यालयका विद्यार्थी पनि संलग्न हुँदै आएका छन् । यहाँ प्रयोगात्मक कक्षा गर्न विद्यार्थी आउने गरेका छन् । आफ्नै गाउँमा प्रयोगात्मक कक्षा गर्न पाएकामा हेलम्बुका मनोज पण्डितले खुसी व्यक्त गरे । रासस
डेङ्गु रोग पीडितका लागि हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान
काठमाडौं । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले डेङ्गु रोग पीडितको सहयोगार्थ रक्तदान अभियान सुरु गरेको छ । राजधानी काठमाडौ लगायत देशभर डेङ्गु रोगको प्रकोप बढिरहेका बेला हेल्थ एट होमले पाटन जेसिज,नेपाल भेन्टिलेटर सेवा र सघन क्रिटिकल केयर सँगको संयुक्त आयोजनामा रक्तदान शिविर सञ्चालन गरेको हो । यो अभियान दुई सातासम्म सञ्चालन हुनेछ । हेल्थ एक होमको प्राङ्गढबाट सुरु भएको रक्तदान अभियान राजधानीका विभिन्न स्थानमा सञ्चालन हुने पाटन जेसिजका अध्यक्ष प्रवेश मल्लले बताए । मुलुकभर डेङ्गुका बिराभी बढिरहेका बेला उनीहरुलाई रगतको पनि आवश्यकता पर्न सक्छ । प्रकोप बढिरहेका बेला कोसैलेपनि रगत अभावमा आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले आफुहरुले संयुक्त रुपमा रक्तदान अभियान सञ्चालन गरेको हेल्थ एट होमकी एचआर एण्ड अपरेशन म्यानेजर डेजी नापितले बताए । हेल्थ एट होमले विभिन्न समयमा रक्तदान शिविर सञ्चालन गर्दै आएको छ । साथै हेल्थ एट होमले अहिले डेङ्गु रोग पीडितलाई निशुल्क स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । हेल्थ एट होमले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निशुल्क परामर्श सेवा दिइरहेको छ । साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो । १४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।