तनहुँका सहकारी : साढे ११ अर्बको कर्जा प्रवाह, ८९३ जनालाई रोजगारी
डुम्रे । तनहुँमा सहकारीलाई एकापसमा गाभ्न थालिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी र गण्डकी बहुद्देश्यीय सहकारीबीच एकापसमा गाभ्ने सहमती भएको छ । दुई सहकारी गाभ्ने काम सम्पन्न भएसँगै एकिकृत कारोबारसमेत सूरु भएको छ । एकिकृत भएपछि जनकल्याण सहकारीले पहिलो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट वृषराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । संस्थाको उपाध्यक्षमा प्रियनाथ पौडेल, सचिवमा उदयराज तिमल्सेना, कोषाध्यक्षमा देवकुमार श्रेष्ठ र सदस्यहरुमा राजकुमार श्रेष्ठ, अंकुरकुमार पिया, गोविन्द श्रेष्ठ, प्रदीप काफ्ले र चन्द्रकुमारी बराल चयन भएका छन् । यस्तै लेखा समिति संयोजकमा ओमराज श्रेष्ठ, शिक्षा समिति संयोजकमा हरिप्रसाद वाग्ले र ऋण समिति संयोजकमा गोविन्द श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको सेयर पूँजी एक करोड ७८ लाख ५२ हजार रहेको छ । १५ करोड ४७ लाख ४५ हजार निक्षेप संकलन गरी १५ करोड २४ लाख ३९ हजार कर्जा प्रवाह भएको छ । संस्थाको विनियमा उल्लेख भएबमोजिम सेवा प्रवाहलाई अगाडि बढाउन कृषिमा समयानुकूल मल, बिउ विजन र यान्त्रिक सामग्री खरिद बिक्री गर्नुका साथै कच्चा पदार्थको प्रशोधन गरी बजारीकरण गर्नका लागि मल, बिउ तथा कुटानी पिसानीलाई उच्च प्रशोधनका लागि व्यवस्था गरिने संस्थाका सचिव उदयराज तिमल्सेनाले जानकारी दिए । राष्ट्रिय सहकारी बैंकको तथ्याङ्कअनुसार तनहुँमा २५३ सहकारी सञ्चालनमा छन् । व्यास नगरपालिकामा ८२ सहकारी संस्थाको कूल सेयर पूँजी ७० करोड ८९ लाख ६२ हजार, भानु नगरपालिकामा ५५ सहकारी संस्थाको कूल सेयर पूँजी तीन करोड ३३ लाख ४३, शुक्लागण्डकी नगरपालिकाका २५ सहकारीको कूल सेयर पूँजी एक अर्ब ११ करोड ८८ लाख, म्याग्दे गाउँपालिकाका २४ सहकारीको कूल सेयर पूँजी २७ करोड ५७ लाख २५ हजार र भिमाद नगरपालिकाका १९ सहकारी संस्थाको कूल सेयर पूँजी चार करोड ८० लाख १९ हजार रहेको छ । यसैगरी बन्दीपुर गाउँपालिकाका १८ सहकारी संस्थाको कूल सेयर पूँजी २२ करोड १८ लाख ७९ हजार, आँबुखैरेनी गाउँपालिकाका १४ सहकारी संस्थाको कूल सेयर पूँजी १७ करोड ८९ लाख २२ हजार, देवघाट गाउँपालिकाका १४ सहकारीको कूल पूँजी १७ करोड ५८ लाख २२ हजार, ऋषिङ गाउँपालिकाको एक सहकारीको सेयर पूँजी पाँच लाख ६० हजार र घिरिङ गाउँपालिकाको एक सहकारीको सेयर पूँजी नौ लाख ३१ हजार रहेको छ । तनहुँका २५३ सहकारी संस्थाले कूल ११ अर्ब ४४ करोड ९४ लाख १८ हजार कर्जा प्रवाह गर्दै आएका छन् । यी सहकारी संस्थाले ८९३ जनालाई रोजगारी दिएको प्रबन्धक दाहालले बताए । राष्ट्रिय सहकारी बैंक तनहुँ शाखाले तनहुँलगायत लमजुङ, गोर्खा र मनाङको कार्य क्षेत्र हेर्छ । राष्ट्रिय सहकारी बैंकमा आवद्ध चार जिल्लामा २९३ सहकारी सञ्चालनमा छन् । सहकारी ऐनअनुसार हाल स्थानीय सरकारले नै दर्ता तथा सञ्चालन गर्न पाउने प्रावधान रहेकाले राष्ट्रिय सहकारी बैंकको तथ्याङ्क फरक पर्न सक्ने सहकारी बैंक तनहुँका शाखा प्रबन्धक दाहालले बताए । ‘केही सहकारीबीच मर्जर हुने सम्भावना छ,’ उनले भने । सहकारी ऐन, २०४८ को दफा ३१ को उपदफा १ बमोजिम उद्देश्य कार्यान्वयन गर्न सहकारी संस्था एकापसमा एकिकरण गर्ने सम्बन्धमा सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९ अनुसार एकिकरण हुन चाहेमा एकिकरण कार्यको समय सीमा र तोकिएको प्रस्तावित कार्ययोजनासहित आ–आफ्नो सञ्चालक समितिबाट प्रस्ताव पारित गरी सो सम्बन्धी कार्य गर्न विभाग/कार्यालयमा निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । रासस
कञ्चनपुरकाे सामुदायिक विद्यालयमा पढाई राम्रो हुन थालेपछि विद्यार्थीको भर्ना बढ्दै
दोधारा चाँदनी । कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा गत वर्षको भन्दा यस वर्ष विद्यार्थीको सङ्ख्या बढेको छ । विसं २०७५ मा नौ सय विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा पाँच वर्षको अवधिमा एक हजार सात सय पुगेको छ । विसं २०७६ मा विद्यालयमा एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेकोमा २०७७ मा विद्यार्थीको सङ्ख्या बढेर एक हजार सात सय पुगेको विद्यालयका प्राचार्य ललित साउँदले बताए । विसं २०७८ मा विद्यालयमा एक हजार नौ सय विद्यार्थी अध्ययनरत रहेकोमा यस वर्ष विद्यार्थी सङ्ख्या बढेर दुई हजार दुई सय पुगेको उनले बताए । ‘हरेक वर्ष हाम्रो विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको छ ।’ उनले भने, ‘हामीले पनि हरेक वर्ष गुणस्तर बढाउँदै लगेका छौँ ।’ उनले सामुदायिक पनि अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन थालेपछि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको जानकारी दिए । ‘सामुदायिक विद्यालयमा पनि अङ्गे्रजी माध्यममा अध्यापन हुन थालेको छ यसले पनि सामुदायिक विद्यालयप्रति आकर्षण बढेको हो ।’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले पनि धेरै लगानी गरेको छ ।’ उनले माध्यमीक तहमा सामुदायिक विद्यालयमै प्राविधिक धारका कक्षासमेत सञ्चालन भएपछि विद्यार्थीको सङ्ख्या बढेको जानकारी दिए । ‘हामीले प्राविधिकतर्फ कृषि, ओभरसेयर, सव–ओभरसेयरका कक्षा सञ्चालन गरेका छौँ ।’ उनले भने, ‘विद्यालयको गुणस्तर सुधार र शैक्षिक क्रियाकलापले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप छ ।’ उनले विद्यार्थीको सङ्ख्या बढेपछि कक्षामा सेक्सनसमेत थप भएको बर्ताए । सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि छात्रवृत्ति, विद्यालयमा खाजा र राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रम ल्याएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको उनले बताए । महेन्द्र माध्यमिक विद्यालयले यस वर्षदेखि कानुन सङ्कायको समेत अध्ययपन गराउन थालेपछि यहाँ आउने विद्यार्थीको सङ्ख्या बढेको उनले बताए । त्यसैगरी निङ्लाशैनी माध्यमिक विद्यालयका प्राचार्य भवानी पन्तले विगतका वर्षहरुको तुलनामा यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए । ‘पछिल्लो समय जसरी साुमदायिक विद्यालयले पढाइ र व्यवस्थापनमा सुधार ल्याए यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढेको छ ।’ उनले भने, ‘हाम्रो विद्यालयमा पनि गत वर्षको भन्दा १० प्रतिशतले विद्यार्थीको सङ्ख्या बढेको छ ।’ उनले अहिले सामुदायिक विद्यालयमा शैक्षिक क्रियाकलाप बढेकाले विद्यार्थीको आकर्षण बढेको बताए । जिल्लाको सबैभन्दा पुरानो नमूना विद्यालय वैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका प्राचार्य हरिराज विष्टले सामुदायिक विद्यालयप्रति अविश्वास घट्दै गएको बताउँछन् । ‘एक पटक सामुदायिक विद्यालयको स्तर निकै घटेको थियो त्यो देखेर सामुदायिक विद्यालयका शिक्षक र व्यवस्थापन पक्ष आफैँ सचेत भए ।’ उनले भने, ‘सामुदायिक विद्यालयमा पहिलेको भन्दा अहिले धेरै सुधार भएकाले विद्यार्थी बढेका हुन् ।’ सामुदायिक विद्यालयको अस्तित्व नै सङ्कटमा परेपछि सुधारका लागि सबै लागेको उनले बताए । ‘विद्यालयको व्यवस्थापन र प्रशासन पक्ष सचेर भएर सुधारको अभियानमा लागे यसले सामुदायिक विद्यालयको गुणस्तरमा निकै सुधार ल्याएको छ ।’ उनले भने, ‘हाम्रो विद्यालयमा मात्रै होइन पछिल्लो समय देशभरिका सबै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।’ पछिल्लो समय सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याए पनि सरोकारवाला निकायले चासो नदिएको उनले गुनासो गरे । ‘शिक्षा समन्वय एकाइ र पालिकाको शिक्षा शाखाले समय समयमा अनुगमन गर्नुप¥यो ।’ उनले भने, ‘राम्रो काम गरेकालाई प्रोत्साहनका कार्यक्रम ल्याउने र नराम्रो गरेकालाई कारबाहीको दायरामा ल्याएर सुधार गर्न लगाउने गनुपर्छ ।’ उनले विद्यालय आफैँ सचेत भएर गुणस्तर सुधारमा लागे पनि सरोकारवाला निकायबाट सहयोग हुन नसकेको बताए । ‘अहिले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढेको छ हरेक वर्ष विद्यार्थी बढ्न थालेका छन् ।’ उनले भने ‘विद्यालयलय एक्लैले लागेर पर्याप्त हुँदैन यसका लागि शिक्षक अभिाभावक र सरोकारवाला निकाय सबै लाग्नुपर्छ’, उनी पछिल्लो समय सामुदायिक विद्यालयमा सरकारले पनि लगानी बढाएकाले विद्यालयका भौतिक संरचनासमेत सुविधा सम्पन्न हुन थालेको जानकारी दिए । सरकारले लागू गरेको राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमबाट विद्यालयलाई प्रविधिमैत्री बनाउनसमेत टेवा पुगेको उनले बताए । ‘अहिले हरेक सामुदायिक विद्यालयमा कम्युटर ल्याब छन् कक्षा कोठामा प्राजेक्टर छन् सुविधा सम्पन्न विद्यालय छन् ।’ उनले भने, ‘आवश्यकताको आधारमा शैक्षिक क्रियाकलापसमेत बढेकाले विद्यार्थी सामुदायिक विद्यालयमा आउन थालेका छन् ।’ त्यसैगरी यहाँको सरस्वती माध्यमिक विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले विगतका वर्षहरुको तुलनामा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए । ‘सामुदायिक विद्यालयमा सुधार भएपछि निजी विद्यालय छोडेर सामुदायिकमा आउने क्रम बढेको छ ।’ उनले भने, ‘सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारमा सबैले सचेत भए यो सङ्ख्या अझ बढ्छ ।’ कोरोना महामारीपछि आर्थिकरुपले धराशायी भएकाले पनि सामुदायिक विद्यालयमा भर्ना हुनेको सङ्ख्या बढेको शिक्षकको बुझाइ छ । रासस
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दै ढकाल
काठमाडौं । लगानीकर्ता हरि ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । ढकाललाई चितवन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार चुनेको हो । आगागी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लगानीकर्ता हरि ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको उनले बताए । यसअघि स्वतन्त्रबाट उम्मेदवारी दिने भनेपनि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले उम्मेदवारी दिने भएका हुन् । सेयर बजारका लगानीकर्ता समेत रहेका हरि ढकालले सबैभन्दा पहिला प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका थिए । चितवन क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरिसकेका अहिले उनी चुनावी तयारीमै व्यस्त छन् । नेपाली पुँजी बजारको सुधारका लागि पनि लामो समयदेखि संघर्ष गर्दै आएका ढकाल अर्थतन्त्रका महत्वपूर्ण एजेण्डाहरु लिएर चुनावमा भाग लिँदैछन् । भारी मतान्तरले विजयी हुन्छु, अबको राजनीति उद्यमशिलतासहितको हुनु पर्छ : हरि ढकाल
कर्णालीमा पेट्रोलियम भण्डारन गृह निर्माणमा ढिलाइ
कर्णाली । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारन क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान एवं प्राप्ति प्रक्रियामा ढिलाइ हुँदा सुर्खेतमा पेट्रोलियम पदार्थको भण्डारन गृह निर्माण योजना अघि बढ्न नसकेको हो । सङ्घीय सरकारले पछिल्ला वर्षका नीति तथा कार्यक्रम र बजेटमा समावेश गरे पनि यस योजनाले मूर्तरुप लिन सकेको छैन । नेपाल आयल निगमको सुर्खेतमा प्रादेशिक कार्यालय भए पनि भण्डारन डिपो छैन् । जसले गर्दा निगमले नेपालगञ्जबाट ट्याङ्करमा इन्धन आपूर्ति गर्दै पम्पलाई सिधै वितरण गर्ने गर्दछ । निगमका प्रादेशिक कार्यालय प्रमुख राजकुमार केसीले कर्णाली प्रदेशमा भण्डारन डिपोको अतिआवश्यकता रहेको बताए । ‘अन्य सबै प्रदेशमा भण्डारन डिपो छन्, तर कर्णालीमा छैन’, उनले भने, ‘यहाँ डिपो नहुँदा पटक–पटक पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ ।’ हाल वीरेन्द्रनगरस्थित निगमको नाममा रहेको १८ कट्ठा क्षेत्रफलमा कार्यालयका साथै हवाई इन्धन र मट्टितेलको मात्र भण्डारन हुने गरेको छ । हवाई इन्धन ६० हजार लिटर र मट्टितेल ४५ हजार लिटर भण्डारन क्षमता रहेको छ । कार्यालय प्रमुख केसीले भने, ‘निगम परिसरमा रहेको जग्गामा भण्डारन ट्याङ्की बनाउन ठाउँ पुग्दैन, दीर्घकालीन समाधानका लागि नयाँ स्थानमा जग्गा खोजेर निर्माण गर्नुपर्ने हुन्छ ।’ निगमको प्राविधिक टोलीले वीरेन्द्रनगर–१ र भेरीगङ्गा नगरपालिका–१२ स्थित सामुदायिक वनको क्षेत्राधिकारमा रहेको जग्गामा प्रारम्भिक अध्ययन गरेको थियो । प्राविधिक टोली भेरीगङ्गा–१२ को जग्गालाई छनोट गर्ने टुङ्गोमा पुगेको बताएको छ । त्यहाँ १० बिघा जग्गा छ । निगमले यस वर्ष जग्गा प्राप्ति र विस्तृत सम्भाव्यता अध्ययनको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुर्खेतमा भण्डारण सुविधासहितको डिपो बनेपछि प्रदेशको दैनिक माग धान्नका लागि नेपालगञ्जमा भर पर्नुपर्ने अवस्था अन्त्य हुने बताइएको छ । निगमका अनुसार कर्णाली प्रदेशमा दैनिक एक लाख लिटर डिजेल र ३० हजार लिटर पेट्रोल खपत हुने गर्दछ । भण्डारन गृह बनेपछि डिजेल चार दिन र पेट्रोल सात दिनसम्मको माग धान्नेछ । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले भण्डारन डिपो निर्माणमा ढिलाइ हुँदा कर्णालीबासीले पटक–पटक पेट्रोलियम पदार्थको अभाव झेल्नुपरेको बताए । ‘हामीले निगमलाई धेरैपटक अनुरोध ग¥यौँ, बजेटमात्र छुट्याउने होइन, काम पनि अघि बढ्नुप¥यो भन्दै आएका छौँ’, उनले भने, ‘प्रदेशमा एउटा भण्डारन डिपो नहुनु दुःखद् हो, अहिलेजस्तो नेपालगञ्जबाट एक दिन मात्रै ढुवानी नहुँदा यहाँ इन्धन अभाव हुने अवस्थाको छिटो अन्त्य हुनुपर्छ ।’ सुर्खेतको वीरेन्द्रनगरमा मात्रै सात वटा पम्प सञ्चालनमा छन् । ती सबै पम्पले नेपालगञ्जबाट इन्धन ढुवानी गर्नुपर्ने बाध्यता छ । जसले गर्दा मूल्य पनि महँगो पर्ने पम्प सञ्चालक बताउँछन् । रासस
११ दिनको यात्रापछि बझाङको च्याङ्ग्रा पोखरामा, एक लटमा ६० लाखसम्मको कारोबार
महेन्द्रनगर/चैनपुर । आइतबार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दशैं तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्छन् । तीन/चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उनले काठमाडौं/पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए । ‘बाटो–बाटोमा वनपखेरामा च्याङ्ग्रा चराउँदै आउनुपर्छ,’ उनले भने, ‘सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो ।’ उनले पोखरालगायतका क्षेत्रमा च्याङ्ग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताए । ‘एक लटमा ५०/६० लाखसम्मको कारोबार पनि हुन्छ,’ उनले भने, ‘दुखः गरेअनुसार पारिश्रमिक आइहाल्छ ।’ उनले च्याङ्ग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको सुनाए । उनले हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्याङ्ग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरुलाई कुनैखालको सहयोग/अनुदान नरहेको दुखेसो पोखे । ‘थोरै मात्रै मेरो घरको भए पनि अरु सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्याङ्ग्रा पोखरा लग्दैछु,’ उनले भने, ‘साइपालको फेदबाट पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन ।’ उनले गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा जोड दिए । त्यसैगरी बोहरासँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ कै किन्थे बोहराले गाउँमा थोरै सङ्ख्यामा किसान भेडा/च्याङ्ग्रा पालनमा रहेको बताए । ‘समयमा पु¥याउन सके राम्रै खपत हुन्छ ।’ छपन्न भेडा लिएर पोखरा हिँडेका उनले भने, ‘हामीअघि दुई/चार खेप च्याङ्ग्रा साइपालबाट पोखरा पुगिसक्यो ।’ त्यस्तै साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीलाई दसैँमा भेडा च्याङ्ग्राको व्यापार गर्न थालेको वर्षौं भइसक्यो । बझाङ तथा दार्चुलाका भेडा च्याङ्ग्रा खरिद गरेर पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री गर्नु उनको मौसमी व्यापार हो । हिमाली च्याङ्ग्रा भित्रिसकेपछि दशैंको चहलपहल सुरू हुने पोखरा अहिले च्याङ्ग्रामय जस्तै भएको छ । पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्याङ्ग्रा अहिले खरिद बिक्री भइरहेका छन् । पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब चार सयको हाराहारीमा भेडा/च्याङ्ग्रा पोखरा पु¥याइसकेका छन् । उनको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्याङ्ग्रा बिक्रीका ओसारिसकेका छन् । ‘दशैंको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्याङ्ग्रा बिक्री हुन्छ’, पूर्वअध्यक्ष धामीले भने, ‘बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौँ ।’ फूलपातीसम्म पनि बिक्री भएन भने ठूलो घाटा हुन्छ उनले भने । उनका अनुसार साइपालमा एउटा भेडा च्याङ्ग्राको मूल्य २० देखि २५ हजार पर्छ । ‘साइपालमा २०÷२५ हजार पर्ने च्याङ्ग्रा पोखरामा ४०/४५ हजार पर्छ’, उनले भने, ‘बिक्री भए मेहेनत गरेअनुसार खर्च चल्थ्यो तर गत वर्षजस्तै भए निकै घाटा हुन्छ ।’ गत वर्ष उनको टोलीले पोखरा बेच्न लिएका भेडा बिक्री नभएपछि निकै घाटा भएको उनले सुनाए । गत वर्ष महँगो भयो भनेर गलत प्रचार भएपछि ठूलो नोक्सान बेहोरेका धामीले पछि गएर किनेकै मूल्यमा पनि च्याङ्ग्रा बिक्री नभएको बताए । अहिले धामीको टोलीले दार्चुलाबाट दुई सय २९ र बझाङबाट एक सय ६० भेडा/च्याङ्ग्रा खरिद गरेर बिक्रीका लागि पोखरा पुगेका छन् । बझाङबाट मात्रै गत हप्ता ११ ट्रक भेडा/च्याङ्ग्रा पोखरा पुगाएका छन् । त्यसैगरी साइपाल गाउँपालिकाकै बमबहादुर बोहरा पनि च्याङ्ग्रा लिएर पोखरा पुगेको बताउँदै उनले बिक्री सुरु गरेको जानकारी दिए । ‘हिजो १६ च्याङ्ग्रा बिक्री गरेँ,’ उनले भने, ‘यस पटक दुई ट्रकमा च्याङ्ग्रा लिएर पोखरा पुगेको छु ।’ रासस
कागती खेतीमा भविष्य खोज्दै बागलुङका युवा
ढोरपाटन । ‘विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।’ बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन् । उनले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाउनु भयो । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि लगाएका उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन थालेपछि पोखरेलको अनुहारमा खुसी छाएको छ । उनी भन्छन्, ‘कागती बहुउपयोगी रैछ भन्ने विदेश गएर चिनियो, पहिले यहाँ हुँदा खास्सै वास्ता गरिएन, विदेशबाट आएर मैले डेढ सय कागती लगाए अहिले फल दिन थालेका छन्, नयाँ जातका चार सय पचास बिरुवा दुई वर्ष अगाडि रोपेको तिनीहरु पनि फल्न थाले, अब आम्दानीको मेसो सुरु भयो ।’ तेइस वर्ष भारत र २२ महिना कतारमा बिताएका ४८ वर्षीय किसान पोखरेलले १५ रोपनी बारीमा कागती खती गरेका छन् । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उनका बारीमा छन् । अघिल्लो वर्ष एक लाखको कागती बिक्री गरेका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गर्ने बताउँछन् ‘अघिल्लो वर्ष कागतीको सिजन रैनछ, कम बोटले मात्रै फल दिएको हुँदा आम्दानी पनि कम भयो, यसपालि कागती निकै राम्रो फलेको छ, दुई बढीको बिक्री गर्ने अनुमान गरेको छु ।’ कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उनको भनाइ छ । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेल बताउँछन् । गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको जनाउँदै ५० हजार रुपैयाँ बराबरको टिमुर बिक्री गर्ने उनी बताउँछन् । कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ । ‘गत वर्षसम्म बजारको कत्ति पनि समस्या थिएन, यस वर्ष कागती सुन्तला लटरम्म फलेका छन्, साँघुरो बजार छ, कहाँ लगेर बच्ने भन्ने पिर छ, बजार अभाव छ, थोक व्यापारी आउँदैनन्, खुद्रा व्यापारले उत्पादन खेर जाने देख्छु’, उनी भन्छन्, ‘कागती मात्रै भए पनि हुन्थ्यो, अहिले त सुन्तला र टिमुर पनि थपिएको छ, कहाँ लगेर बेच्ने हो ? गाह्रो पर्ला जस्तो लागेको छ ।’ उनले कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुक समेत बजारमा पठाउने गर्दै आएका छ । चुक कागतीको रस खासगरी तराईमा बढी बिक्री हुने गरेको उनको भनाइ छ । निसीखोला गाउँपालिका–६ का ३७ वर्षीय लोकबहादुर कुँवरले पनि कागती खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । सात वर्षदेखि निरन्तर कागती खेती गर्दै आएका कुँवरले यस वर्ष चार लाख बढीको कागती बेच्ने सोचमा छन् । आठ सय कागतीका बोटमध्ये झण्डै पाँच सय बोटले फल दिन थालेको उनको भनाइ छ । अर्को वर्ष कागतीको उत्पादन दोब्बर हुने उनी बताउँछन् । ‘यस वर्ष सबै बिरुवाले फल दिन सकेनन्, अर्को वर्ष करिब छ सय बिरुवाले फल दिने अनुमान गरेको छु, यो वर्ष चार लाख आम्दानी हुने अनुमान गरेको छु, अर्को साल सिजन राम्रो भयो भने छ लाख त न्यूनतम पनि आम्दानी हुन्छ’, उनी भन्छन्, ‘मेरो बारीमा दुई जातका कागती छन्, एउटा जातको कागतीले बाह्रै महिना फल दिन्छ, अर्कोले वर्षमा दुई पटकसम्म फल दिन्छ, यसले गर्दा वर्षभरि थोरै भए पनि आम्दानी हुने अपेक्षा गरेको छु ।’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पछिल्लो समय कागती खेतीमा लाग्ने कृषक बढेको बताए । उनका अनुसार अहिले जिल्लामा दुई सय १० जना कृषकले व्यावसायिकरुपमा कागती खेती गरिरहेको बताउनुभयो । बागलुङको माथिल्लो भेगबाहेक धेरै ठाउँमा कागती खेती गर्नका उपयुक्त हुने भट्टराईले बताउँछन् । ‘पछिल्लो समय बागलुङमा कागती खेती गर्ने कृषक बढ्दै गएका छन्, जिल्लामा अघिल्लो वर्षसम्म निकै कम सङ्ख्या थियो, अहिले दुई १० जनाले व्यावसायिकरुपमै यसको खेती गर्छन्,’ उनी भन्छन्, ‘बागलुङका अधिकांश क्षेत्र कागती खेतीका लागि उपयुक्त मानिन्छ, धेरैले कागती खेतीमा चासो देखाएपछि जिल्लाको धेरै पालिकामा कागती पकेट क्षेत्र पनि घोषण भएका छन् ।’ भट्टराईका अनुसार सात सयदेखि एक सय छ सय मिटरको उचाइमा कागती खेती निकै राम्रो हुने गर्छ । बागलुङमा कागती खेतीको प्रवद्ध्र्रन विस्तारै हुन थालेको उनी बताउँछन् । ‘कागती खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले सहयोगसमेत गर्दै आएको छ, अहिले विस्तारै यहाँ कागतीको प्रवद्र्धन हुँदैछ, अब हरेक वर्ष बागलुङमा कागती उत्पादन बढ्ने देखिन्छ’, उनी भन्छन् । जिल्लामा हरेक वर्ष कागती र सुन्तला गरी तीन सय ५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिने र यसबाट राम्रो आम्दानी गर्न सक्ने हुँदा कृषकलाई कृषि ज्ञान केन्द्रले प्रोत्साहित गरिरहेको उनी बताउँछन् । रासस
लगानीकर्ता दिपेन्द्र अग्रवालले ब्रोकर लाइसेन्सका लागि आवेदन दिने
काठमाण्डौ । लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि आवेदन दिने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेसँगै लगानीकर्ता अग्रवालले आवेदन दिने तयारी गरेका हुन् । आफू ब्रोकर लाइसेन्सका लागि अनुमति माग्न बोर्डमा आवेदन दिने प्रक्रियामा रहेको उनले विकासन्युजसँग बताए । हालसम्म सेबोनमा आवेदन नदिएपनि केही दिनमा दिने तयारी रहेका उनको भनाइ छ । कुन कम्पनीको नामबाट ब्रोकर लाइसेन्स लिने भनेर अन्तिम रुप दिइरहेको उनले बताए । रकम संकलनको तयारी गरिरहेकाले जति रकम संकलन भयाे सोही अनुसार ब्रोकर लाइसेन्सका लागि आवेदन दिने उनले बताए । उनले नयाँ स्टक एक्सचेञ्जका लागि भने आवेदन नदिने बताए । स्टक एक्सचेञ्जमा ठूलो विवाद भएकाले आफू विवादमा नपर्ने उनले बताए । नयाँ स्टकका लागि ठूला लगानीकर्ताले आवेदन दिन सक्ने उनको भनाइ छ । सिमित कार्य गर्ने धितोपत्र दलाल सेवाको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम चुक्ता पूँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारीका लागि न्यूनतम चुक्ता पूँजी १५० करोड रुपैयाँ हुनु पर्ने छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र धितोपत्र व्यवसायी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नु पर्नेछ । सेबोनले नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन भन्दै असोज २ गते आवेदन खुला गरेको थियो । नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलायो धितोपत्र बोर्डले
आजको मौसम : हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमणी प्रणालीका कारण हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानरुमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौंको न्यूनतम १९ दशमलव छ र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।