विकासन्युज

निर्वाचन खर्चको विवरण सार्वजनिक गरिने

काठमाडाै‌‌ । राष्ट्रिय सूचना आयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचन सम्पन्न भएपश्चात कानुन बमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयन पत्र तथा संलग्न कागजात सर्वसाधारण मतदाताले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्ने निर्णय गरिएको जनाएको हो ।नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरिएको छ । ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम् जानकारी पाउने वातावरण बनाउन आवश्यकताका आधारमा निर्वाचन आयोगमा सुझाव पठाउने निर्णय गरिएको छ’, सूचना आयुक्त कमला वलीले भने । त्यसैगरी आयोगले सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (२८, सेप्टेम्बर) विभिन्न कार्यक्रम गरी मनाउने भएको पनि जानकारी दिएको छ । रासस

कृषि तथा पूर्वाधारमा ११५% ले बढ्यो बीमाको लगानी, निर्जीवनमा शिखर र जीवनमा संस्थान देखिए आक्रामक

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरु कृषि, पर्यटन र जलश्रोत लगायत पूर्वाधार क्षेत्रमा आकर्षित देखिन थालेका छन् । उक्त क्षेत्रमा जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको बढ्दो लगानीले कम्पनीहरुको आकर्षण बढेको बुझिएको हो । गत आर्थिक वर्ष (आव २०७८/७९) मा मात्रै कम्पनीहरुले ७ अर्ब ४५ करोड रुपैयाँ बढी लगानी गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ११५.७९ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन र जीवन बीमाबाट पूर्वाधार क्षेत्रमा ३ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी भएको थियो । जीवन र निर्जीवन बीमा कम्पनीमध्ये पनि जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी लगानी गरेका छन् । जीवन बीमाले ७ अर्ब १४ करोड रुपैयाँ लगानी गर्दा निर्जीवन बीमाले ३० करोड ७१ लाख रुपैयाँ बराबरको लगानी गरेको पाइएको छ । गत वर्ष लगानी रकम मात्रै नभई लगानी गर्ने कम्पनीको संख्या पनि बढेको छ । अघिल्लो आवमा ९ वटा कम्पनीले मात्रै सो क्षेत्रमा लगानी गरेका थिए भने गत आवमा बढेर १४ पुगेको छ । बीमा समितिको तथ्याङ्क अनुसार जीवन र निर्जीवन गरी कूल ३९ कम्पनीमध्ये १४ कम्पनीले मात्रै गत आर्थिक वर्षमा उक्त क्षेत्रमा लगानी गरेका पाइएको हो । लगानीमा गर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । समीक्षा अवधिमा मात्रै १० वटा जीवन बीमा कम्पनीले र बाँकी ४ वटा निर्जीवन बीमा कम्पनीले उक्त क्षेत्रमा लगानी गरेका समितिले जानकारी गराएको छ । गत वर्ष यो क्षेत्रमा लगानी गर्ने निर्जीवन बीमा कम्पनीमा सगरमाथा, प्रभु, आईएमई जनरल, शिखर र लुम्बिनी जनरल रहेका छन् । जसमध्ये शिखरले सबैभन्दा बढी लगानी गरेको छ । कम्पनीले एक वर्षको अवधिमा १७ करोड ४३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, प्रभुको ४ करोड ७३ लाख, सगरमाथाको ४ करोड ५४ लाख, आईएमई जनरल र लुम्बिनी जनरलको भने २/२ करोड रुपैयाँ बराबरको लगानी छ । आईएमई जनरल र लुम्बिनी जनरलले गत वर्ष यो क्षेत्रमा लगानी गरेका थिएनन् । अघिल्लो वर्ष यो क्षेत्रमा लगानी गरेका नेको र प्रुडेन्सियल इन्स्योरेन्सले भने यो क्षेत्रबाट हात झिकेको पाइएको छ । यता जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, रिलायन्स लाइफ, सन नेपाल, सिटिजन र प्रभु लाइफले लगानी गरेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानले यो क्षेत्रमा सबैभन्दा बढी अर्थात २८४.१५ प्रतिशत बढी लगानी गरेको छ । अघिल्लो वर्षमा १ अर्ब २७ करोड लगानी गरेको संस्थानले गत आवमा एकैपटक ४ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी गरेको हो । नेपाल लाइफले १ अर्ब ८० करोड, एशियनले १५ करोड, प्राइमले ६ करोड ६७ लाख, सूर्याले ८ लाख, रिलायन्सले ५ लाख, सन नेपालले ४३५, सिटिजन लाइफ र प्रभु लाइफले २/२ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो क्षेत्रमा लगानी गर्न अधिकांश जीवन बीमा कम्पनीहरु थपिएका छन् । अघिल्लो वर्षमा ४ वटा कम्पनीले मात्रै लगानी गरेका थिए भने यो वर्ष थपिएर ९ वटा पुगेका छन् । यी बाहेक अन्य कम्पनीले भने गत दुई वर्षयता कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गरेका छैनन् । बीमा समितिका अनुसार विभिन्न क्षेत्रमा लगानी गर्न पाउने बीमा कम्पनीले यो क्षेत्रमा भने न्युनतम १० देखि बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउने छन् ।

ताेकिएभन्दा बढी विदेशी मुद्रा विदेश लैजान खोज्दा…

काठमाडौं । राजस्व अनुसन्धान विभागले अनाधिकृत रुपमा परिवत्र्य विदेशी विनिमय अवैध रुपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले पुनले आठ हजार दुई सय ३० बराबरको यूरो अनाधकिृत रुपमा विदेश लैजान खोजेको आरोप लगाएको छ । पुन गत असार २४ गते पुन काठमाडौंबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए । रुकुमपूर्व उत्तरगङ्गा–१० घर भई बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विमिनय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणा गरेको बाहेक पाँच हजार अमेकिरी डलर वा सो बराबरको परिवत्र्य मुद्रा मात्रै फिर्ता लैजान पाउने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खीलाप गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले गत भदौ ३० गते पुनविरुद्ध मुद्दा दायर गरेको भए पनि आवश्यक प्रक्रिया पु¥याउन समय लागेकाले आज विज्ञप्तिमार्फत जानकारी दिएको जनाएको छ । यस्तै विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका अनुसार आरोपी पटेलले पनि छ लाख ३५ हजार चार सय बराबरको विदेशी परिवत्र्य मुद्रा अनाधिकृत रुपमा विदेश लैजान खोजेको पाइएको छ । विभागले आरोपी पटेलले विदेश लैजान खोजेको रकम जफथ गरी जरीवाना समेत माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ । विभागले नवलपरासीको सरावल गाँउपालिका–३ का आनन्दप्रसाद कलवारविरुद्ध ४३ लाख ७४ हजार बराबरको बिगो दाबी गर्दै यही असोज ६ गते जिल्ला अदालत धादिङमा मुद्दा दायर गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्ले धादिङले कलवारलाई केही समय पहिले पक्राउ गरेको थियो । विभागले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ । रासस

सरकारको ‘डाटा रिकभरी सेन्टर’मा आगलागी

काठमाडौ । मकवानपुरको हेटौंडा उपमहानगरापलिका ४ हुप्रा चौरमा रहेको डिजास्टर रिकभरी केन्द्रमा आगलागी भएको छ । आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको हो । आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पड्किएर आगलागी भएको बताइएको छ ।

नागरिक लगानी कोषले अब अनलाइनबाटै शिक्षकहरुको फाँटवारी पठाउने

काठमाडौ । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । कोषले सामुदायिक विद्यालयका शिक्षकहरुले सावधिक जीवन बीमा योजना अन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट उक्त व्यवस्था सुरु गरेको हो । योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यसअघिनै शुरु गरेको हो । शिक्षकहरुले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ । शिक्षकहरुमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यामिक बिद्यालय ललितपुरका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेलले बताए । उनले यस्तो सेवाबाट कागज रहित कार्यको विकास भएको प्रतिक्रिया दिए । कोषको प्रणालीले प्रदान गरेको सबमिसन नंम्वरको आधारमा कट्टी रकम दाखिला गर्ने सुबिधा मुलुकभरका सबै क वर्गका वाणिज्य बैंकहरुमा रहेको हुँदा सम्बन्धित कार्यालय, विद्यालयहरुले आ-आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन् । फाँटवारी पठाउने तरिकाको तालिम कोषले दैनिक रुपमा सञ्चालन गरिरहेको छ ।

अब डीएचआई टिभी ४२ हजारमै हेर्न सकिने, डिशहोम फाइबरनेटले ल्यायो ‘खुशीको साथी’

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ योजना ुखुशीको साथीु सार्वजनिक गरेको छ । योअन्तर्गत ग्राहकहरुले मात्र ४१ हजार ७३९ रूपैयाँमा डीएचआई स्मार्ट टिभी, ५जी ड्युल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सबस्क्रिप्सन पाउने छन् । साथै, ग्राहकले डिशहोम आईटीभीको एक वर्षको सबस्क्रिप्सन पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिँदै ग्राहकहरुको मन जितिरहेको छ । त्यस्तै, आईटीभीमा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् । खुशीको साथी अन्तर्गतको उत्कृष्ट डीएचआई स्मार्ट टिभीमा ग्राहकले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन् । परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि डीएचआई स्मार्ट टिभीसहित यो योजना ल्याएको हो ।

विश्व पर्यटन दिवसमा रेवान पोखराले एक दिने सडक महोत्सव गर्ने

पोखरा । विश्व पर्यटन दिवस सेप्टेम्बर २७ मा पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन रेवानले यही असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो । ‘पर्यटनमा पुनविचार गराँै’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । हरेक वर्ष गर्दै आएको एक दिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि वाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए । उनका अनुसार नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत गरिनेछ भने जातीय भेषभुषासहितका सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी गरिनेछ । आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटनलाई विभिन्न पक्षसँग जोडेर पर्यटकीय गतिविधिमा जोड दिन आवश्यक रहेको जनाउँदै अब पर्यटनलाई परम्परागत भन्दा नविनतम् सोचबाट पुनविचार गरेर अगाडि बढाउनु पर्ने रेवानका कार्यबहाक अध्यक्ष विश्व पौडेले बताए । उनले देशमा रहेका सम्पूर्ण मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन र विकास गर्दै आर्थिक उपार्जनमा जोडेर जानुपर्ने र यसमा सञ्चारकर्मीको प्रवद्र्धनात्मक भूमिका महत्वपूर्ण रहेको धारणा राखे । सोही अवसरमा पोखरा पर्यटन परिषद्ले पनि ‘पोखरा अन्तराष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । उनले पोखराको पर्यटनलाई विश्व बजारमा पु¥याउनका लागि छिमेकी मुलक भारतका विभिन्न शहरबाट १० जना पत्रकारलाई पोखरामा पर्यटकीय गन्तब्यको स्थलगत भ्रमण गराउने र अन्तराष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्रि म्यानेजर’सँग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको बताए । उनका अनुसार अहिले करिब २४ एयरलाइन्सले अन्तराष्ट्रिय उडान गर्दै आएका छन् । तीमध्ये १० एयरलाइन्सका प्रतिनिधि कार्यक्रममा सहभागी जनाउने छन् । नेपालको आर्थिक विकासका लागि पर्यटनको महत्वपूर्ण योगदान रहेको जनाउँदै पर्यटन दिवसमा पोखराका पर्यटन सम्बद्ध सङ्घ–सङ्स्थाले पनि क्षेत्रगत रुपमा विभिन्न कार्यक्रम तय गरेका छन् । रासस

१८१५ बिन्दुमा झर्यो नेप्से, लक्ष्मीको सर्वाधिक कारोबार, अभियानमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । निरन्तर घटिरहेको नेप्से परिसूचक १८१५ बिन्दुभन्दा तल झरेको छ । आइतबारको बजारमा परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.३० प्रतिशतले घटी हो । बजारमा कारोबार रकम भने बढेको छ । गत बिहीबारको तुलनामा आइतबारको कारोबार बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । जबकी बिहीबारको कूल कारोबार ६५ करोड ५७ लाख रुपैयाँमा सीमित थियो । कारोबारमा आएका कम्पनीमध्ये लक्ष्मी बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन २६ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा नबिल बैंक रहेको छ । आइतबार नबिलको ४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा लक्ष्मी बैंकको सेयर मूल्य बढेको छ भने नबिल बैंकको घटेको छ । लक्ष्मीको ५ रुपैयाँले बढेर प्रतिकित्ता १९३ रुपैयाँ र नबिलको ६.१० रुपैयाँले घटेर प्रतिकित्ता ७५२ रुपैयाँमा किनबेच भएको छ । घटेको बजारमा पनि अभियान लघुवित्तको भने सेयर मूल्य १० प्रतिशतले बढेको छ । दोश्रो बजारमा पहिलो कारोबार भएको दिन लघुवित्तको सेयरमा सर्किट लागेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ । जुन सुरुवाती मूल्यको तुलनामा प्रतिकित्ता ३१.६० रुपैयाँले बढी हो । आइतबार तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेर प्रतिकित्ता ३५२ रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३०.२० रुपैयाँले घटी हो । यता कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये उत्पादनमूलक समूह सबैभन्दा बढी अर्थात ८४.४ अंकले ओरालो लागेको छ ।