विकासन्युज

दशैं नजिकिएसँगै चीनबाट धमाधम आउन थाल्यो सामान, १० दिनमा आए १५८ कन्टेनर

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड सङ्क्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल समय २१ सम्म कन्टेनर आउन थालेको जनाइएको छ । सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौँको सङ्ख्यामा पुग्ने गरेका थिए । कोभिड–१९ को सङ्क्रमण भएपश्चात मितेरी पुलबाट मानवको आवतजावत ठप्प बनाएपछि अहिले चिनियाँ पक्षले नै रसुवागढी पु¥याइ छाड्ने गरेका छन् । चिनियाँ टेलरले सामान झार्ने गरेको र चीनको उत्पादक कम्पनीदेखि रसुवागढीसम्म ढुवानीका लागि चिनियाँ मुसा टान्सपोर्टसमेतका ढुवानी कम्पनी कार्यरत रहेको बताइएको छ । चीनमा कोभिड सङ्क्रमणपश्चात बन्द भएको सामान आयात पुनः सञ्चालन हुँदा तीन कन्टेनरबाट सुरू भएको छ, नौ र १४ हुँदै हाल २१ चिनियाँ कन्टेनरले रसुवागढी नाकामा सामान पु¥याउने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् । गत भदौ ३० गतेबाट पुनः सञ्चालन भएको आयात सामग्रीमा अधिकांश तयारी पोशाक रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनर हुने र १० दिनको अन्तरालमा एक सय ५८ चिनियाँ ठूला कन्टेनरले रसुवागढीमा सामान पु¥याइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन् । हालसम्म आयात भएका सामग्रीमा एक सय १९ टिपर तयारी पोशाक, ३५ टिपर नेपालमा सञ्चालित जलविद्युत्का उपकरण र चार टिपर ओखर रहेको बताइएको छ । स्याउ भने शनिबारसम्म आएको छैन । कोभिडका कारण केरूङमा रोकिएका सामग्री ढिलै भए पनि नेपाल भित्रिँदा नेपाली व्यापारीलाई केही हदसम्म सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताए । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्री छिटोभन्दा छिटो काठमाडौँ पठाउन भन्सार परीक्षण द्रुतरूपमा अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याक्नेलाई ५ हजार जरिवाना

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित उत्तर–दक्षिण कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने भएको छ । ढुङ्गेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने डिभिजन वन कार्यालयले जनाएको छ । पछिल्लो समय मानिसले खाँदबारी–तुम्लिङटार सडकखण्ड छेउमा फोहर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न सूचना टाँस गरिएको छ । डिभिजन वन कार्यालय र मनकामना सामुदायिक वन उपभोक्ता समूहले संयुक्तरूपमा बोर्ड टाँसेर सूचना जारी गरेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रलाल राईले बताए । खाँदबारी बजारलगायतका मानिसले लुकिछिपी रातको समयमा ट्रयाक्टर र गाडीमा फोहर ल्याएर सडक छेउमा फ्याँक्ने गरेको स्थानीयको भनाइ छ । राजमार्ग आसपासको फोहर फ्याँक्ने क्षेत्रमा सार्वजनिक सूचना नै टाँस गरेर सचेत गराइएको हो । वन क्षेत्रमा कसैले अटेर गरेर फोहर फ्याँकेमा वन र वातावरणसम्बन्धी ऐन–नियमअनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ । रासस

चाडवाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू, बीमा नभएका गाडीलाई रुट परमिट नदिइने

काठमाडौं ।  सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको शनिबारको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । समितिले नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी टाइम कार्ड लागू गर्नेसहित विभिन्न १४ निर्णय गरेको छ । समितिका संयोजक गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा सवारीसाधनको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने तथा त्यसका लागि आवश्यकतानुसार अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले हरेक सार्वजनिक सवारीसाधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बरलगायतका आवश्यक सूचना रहेको स्टिकर, दुर्घटना भएमा सङ्केत गर्ने वस्तु राख्ने र सवारीसाधन स्यानिटाइज गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । चालकले अस्वाभाविक किसिमले सवारी चलाएमा गुनासो गर्न फोन नम्बर सार्वजनिक गर्ने र त्यस्तो गुनासो सुनी तत्काल परिचालित हुन सबै प्रहरी युनिटलाई निर्देशन दिने गरी आवश्यक व्यवस्था मिलाइने भएको छ । गृह मन्त्रालयबाट प्राप्त जानकारीअनुसार यातायात व्यवस्था विभागबाट यही असोज ९ गतेदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा उपत्यकाका मुख्य–मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ । सवारीसाधनको सहज सञ्चालनका लागि यातायात व्यवसायी महासङ्घका तर्फबाट प्रत्येक प्रदेश र जिल्लामा सम्पर्क व्यक्ति तोकेर फोन नम्बरसमेतको जानकारी नेपाल प्रहरीलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ । बीमा नभएका सवारीसाधन दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा मेकानिकल परीक्षण नभएका सवारीसाधनको बीच बाटोमा यान्त्रिक समस्याका कारण दुर्घटना हुने तथा यात्रु अलपत्र पर्न सक्ने सम्भावना भएकाले बीमा नभएका र मेकानिकल परीक्षण नभएका सवारीसाधनलाई रुट परमिट नदिइने भएको छ । त्यसका लागि यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले आवश्यक व्यवस्था मिलाउने छ । मादकपदार्थ र लागुपदार्थ प्रयोगको आकस्मिक जाँचको व्यवस्था मिलाउने र लागुपदार्थ प्रयोग गरेको सम्बन्धमा लागुऔषध नियन्त्रण ब्यूरोको मातहतका कार्यालयबाट टेष्ट किटको प्रयोग गरी जाँच गर्ने व्यवस्था मिलाइने जनाइएको छ । दुर्घटना न्यूनीकरणमा पूर्वसतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायी महासङ्घको प्रतिनिधित्वमा समिति गठन गरी आवश्यक कार्य गरिने छ । सडकमा भएका खाल्डाखुल्डी पुर्न र सडकको आवश्यकतानुसार अवस्था सुधार गर्न डिभिजन सडक कार्यालय, प्रदेश र स्थानीय तहसँग समेत समन्वय बढाइने छ । यातायात व्यवसायी महासङ्घको समन्वयमा विद्यमान रिफ्रेशमेन्ट सेन्टरलाई चालु हालतमा राख्ने व्यवस्था मिलाइने, दुर्घटना भई हवाई उद्धार गर्नुपर्ने भएमा यातायात व्यवसायी महासङ्घको समन्वयमा लागत व्यहोर्ने गरी हवाई साधन परिचालन गर्ने तथा जिल्लास्थित बजार अनुगमन समितिमार्फत राजमार्गमा रहेका होटल, रेष्टुरेण्टको खानाको परीक्षण गर्ने र गुणस्तर परीक्षण कमजोर भएकाले समयमा सुधार नगरे कानुनअनुसार कारबाही गर्ने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ । बिग्रेका तथा तत्काल मर्मत गर्नुपर्ने सडक सञ्चालन गर्न सडक विभागले मातहतका निकाय र प्रदेश पूर्वाधार कार्यालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ । यस्तै लामो दूरीमा चल्ने सवारीसाधनमा दुई चालकको व्यवस्था कार्यान्वयन गर्न नेपाल प्रहरीबाट अनुगमन गर्ने र सो भएको नपाइएमा तत्काल कारबाही गर्ने, बस व्यवसायीसमेतको समन्वयमा राजमार्गमा सवारीसाधनको अनुगमन, सवारी दुर्घटना भएमा तत्काल उद्धार गर्न मातहतका युनिटलाई परिचालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।

झापाको सहारा सहकारी : निक्षेप करिब १० करोड, सदस्य एक लाख ६० हजार बढी

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था आर्थिक कारोबार र सदस्य सङ्ख्याका आधारमा देशकै ठूलो सहकारी संस्था भएको छ । बिर्तामोड नगरपालिका वडा नं २ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालको यही भदौ मसान्तसम्ममा सदस्य सङ्ख्या एक लाख ६० हजार २५ जना पुगेको छ भने सोही अवधिमा कुल निक्षेप बचत नौ अर्ब ९६ करोड ३५ लाख २२ हजार चार सय ६७ रहेको छ । संस्थाका अध्यक्ष हरिकुमार राजवंशीले सहारा नेपाल देशकै पहिलो बनेको बताए । प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, इलामसहित ११ जिल्लामा ७९ वटा सेवा केन्द्र विस्तार गरिसकेको सहारा नेपालले सदस्यमाझ बचत सङ्कलन, कर्जा लगानी र लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकको वित्तीय क्षेत्रमा आर्थिक सङ्कुचन र तरलता अभावको समस्या देखापरेको भए पनि सहारा नेपालको वित्तीय प्रगति सन्तोषजनक रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए । उनले यही भदौ मसान्तसम्ममा संस्थाको सेयर पूँजी एक अर्ब ६३ करोड १८ लाख ९१ हजार आठ सय र साधारण जगेडा कोषमा एक अर्ब ११ करोड १९ लाख ८२ हजार नौ सय ५८ पुगेको जनाउँदै संस्थाले आफ्ना सदस्यलाई १२ अर्ब ८४ करोड ३४ लाख ४१ हजार तीन सय ७८ कर्जा लगानी गरेको बताए । विसं २०५२ मा ३३ जनाले ३४ हजार सेयर पूँजी सङ्कलन गरेर स्थापना गरेको सहारा नेपाल मुलुककै ठूलो मात्र नभएर नमूना सहकारी संस्थामा विकास भएको संस्थापक सदस्य एवं कार्यकारी प्रमुख गिरीको भनाइ छ । संस्थामा हाल पाँच सय २० कर्मचारी र ऋणी सङ्ख्या ८७ हजार ७० रहेका छन् । तरलता अभाव नहोस् भनेर संस्थासँग एक अर्ब ६३ करोड सात लाख ४४ हजार आठ सय १६ नगद तथा बैंक मौज्दात रहेको गिरीले जानकारी दिए । संस्थाले चाडपर्वका अवसर पारेर ज्येष्ठ, एकल र अशक्त सदस्यलाई सामाजिक सुरक्षा सुविधाका रूपमा नगद वितरण गरेको छ । शनिबार सहारा नेपालका सबै सेवा केन्द्रमा कुल एक हजार ५४ जनालाई यस वर्षको सामाजिक सुरक्षा सुविधाअन्तर्गत  ९५ लाख ९० हजार नगद वितरण गरेको संस्थाका केन्द्रीय कार्यालयका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । उनका अनुसार ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्य र मृत्यु भएका सदस्यका परिवारलाई एक लाखदेखि पाँच लाखसम्म परिवार राहत वितरण गरिएको छ । यो राहत यस वर्ष १२ जना सदस्यलाई दिइएको छ । ज्येष्ठ सदस्यमध्ये ८५ वर्ष उमेर पार भएका चार जनालाई जनही रु २५ हजारका दरले दीर्घायू सदस्य सम्मान प्रदान गरिएको छ भने अशक्त, एकल र ज्येष्ठ सदस्यलाई जनही वार्षिक रु छ देखि १० हजारसम्म सामाजिक सुरक्षा सुविधा प्रदान गरिएको उहाँले बताउनुभयो । एकल महिला र पुरुष दुवैले सुविधा पाउने गरेका छन् । सहारा नेपालले गत वर्ष सामाजिक सुरक्षा सुविधाअन्तर्गत सदस्यहरूलाई दशैँको अवसरमा एक करोड सात लाख ४९ हजार वितरण गरेको थियो । रासस

सरकार र गाेविन्द केसीबीच भएकाे १० बुँदे सहमति केके हुन् ?

काठमाडौं । सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र प्रा डा केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार शनिबारदेखि नै प्राडा केसीले अनशन अन्त्य गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कुरुवा कैलालीका सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडे । सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि देशभरिका सरकारी अस्पतालमा कम्तीमा हाल सञ्चालनमा रहेका श्यया सङ्ख्याअनुसार दरबन्दी कायम गर्ने, कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा १८ मा स्वार्थ बाझिएमा निर्णय गर्न नहुने व्यवस्था रहेको र अब उप्रान्त नियुक्ति वा मनोनयन हुने व्यक्तिको स्वार्थको द्वन्द्व लागि गाह्रो नहुने कानुनी व्यवस्था थप गर्न संशोधनसम्बन्धी मस्यौदा तयारी गरी सरकारले आगामी संसद्को अधिवेशनमा पेश गर्नुपर्ने छ । प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको लागि मापदण्ड बनाइ पारदर्शी ढङ्गले गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा ४७ बमोजिम चिकित्सासम्बन्धी शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थामा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक विषयमा ठोस रायसहितको प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने सहमति भएको छ । चिकित्सा शिक्षा आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेकोले शीघ्र स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि आवश्यक बजेट आगामी आवदेखि आयोगका नाममा विनियोजन गर्ने, जलवायु सङ्कटका कारण उत्पन्न हुने जटिलता न्यूनीकरणका लागि तत्काल पेट्रोलियम पदार्थको खपत कम गर्न तथा दीर्घकालीन नेपाललाई निर्धारित लक्ष्य बमोजिम जिरो नेट कार्बन देश बनाउनका लागि स्वच्छ ऊर्जामा आधारित प्रविधिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आवश्यक नीतिगत तथा कानुनी प्रबन्ध गर्ने सहमति भएको उल्लेख छ । सहमति पत्रमा सहमतिमा उल्लेख भएका बुँदाको कार्यन्वयन सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायले कार्ययोजना बनाइ तत्काल कार्यान्वयनको प्रक्रियामाम लैजाने र सहमति अनुमोदनका लागि सहमति भए पश्चात सरकार मन्त्रिपरिषद्को बैठकसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख छ । स्वास्थ्य सुधारका विभिन्न माग राखी प्रा डा केसी कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि यहीँ बिहीबार (असोज ६) गते उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनले १३औँ दिनमा अनशन तोडेका हुन् ।

केविएल सेक्युरिटिजले सिमित कार्य गर्न पूँजी वृद्धि गर्ने

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केविएल सेक्युरिटिजले आफ्नो पूँजी वृद्धि गर्ने भएको छ । कम्पनीले सिमित कार्य गर्ने धितोपत्र दलालको इजाजतप्राप्त गर्न आवेदनका लागि पूँजी वृद्धि गर्न आवश्यक देखिएको हुँदा अधिकतम पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी २० करोड रुपैयाँ पुर्याउने भएको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित विशेष साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको सभा असोज २४ गते कुमारी बैंकको रविष्टर्ड कार्यालयमा बिहान १० बजे बोलाएको हो । कम्पनीको सभाले हाल कायम ५ करोड रुपैयाँ चुक्ता पूँजीलाई ६० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ पाँचौं संशोधन बमोजिम धितोपत्र दलालको काम गर्ने कम्पनीको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने प्रावधान भएकोले सोहि अनुसार प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न कम्पनीले विशेष साधारणसभा बोलाएको जनाएको छ ।

नयाँ बसपार्क क्षेत्रका सबै होटलले सिसी क्यामेरा राख्नैपर्ने

काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिए । यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्यरूपमा रेकर्ड राक्नुपर्ने भएको छ । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आवद्ध छन् । रासस

रुरु जलविद्युतको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । रु रु जलविद्युत आयोजनाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीका असोज ७ गते बैठकले सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीको सोही दिन बसेको बैठकले आफ्नो १७ औं वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कार्तिक ४ गते साधारण सभा बोलाएको हो । यस्तै, कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले असोज २६ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्ने र साधारण सभामा सहभागी हुन पाउनेछन् ।