विकासन्युज

ओली रेलमा चढ्ने भएपछि एक घण्टा ढिलो गरी चल्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकौरिया चोकमा हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरबाट रेल चढेर गएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा पुगेका उनी तीनकौरिया चोकमा पुग्नको लागि जनकपुरधाममा रहेको रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका हुन् । ओली रेलमा चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर जनकपुरबाट रेल गुडेको छ । जनकपुरधामबाट जयनगरका लागि सधै बिहान ११ बजे रेल गुड्ने गरेकोमा ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो दिउँसो १२ बजे मात्रै रेल गुडेको हो । रेल सेवा शुरू भएयता अहिलेसम्म ढिलो भएको थिएन ।

दार्चुलाबाट काठमाडौं ल्याइँदै पाँच सय च्याङ्ग्रा, प्रतिकिलो कति ?

काठमाडौं । यस वर्षको बडादशैंमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो एक हजार एक सय ५० रुपैयाँमा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ । यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ । कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसैंअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ । ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ । रासस

पठाओ अब चितवनमा पनि, बीमाको लागि हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग गर्यो सहकार्य

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ । अहिले राजधानीका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् । राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरू गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरूसमेत गरेको छ । प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरूपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडर/क्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन् । पठाओले गत वर्षदेखि पठाओ बजार पनि सुरू गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी २०७८ को जेठ ३० गतेदेखि पठाओ बजार सुरू गरिएको थियो । चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१-५९७००९९ मा कल गर्न पनि सकिन्छ । आजदेखि चितवनमा सेवा सुरु काठमाडौं उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आजबाट आफ्नो सेवा सञ्चालन गरेको छ । चितवनमा अटो र बाइकमा पठाओ सेवा सुरु भएको हो । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओकी प्रवक्ता सुरक्षा हमाल बताउँछिन् । चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लू बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । पठाओमा यस्ता छन् सुविधा ? पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल-सेन्टर र ग्राहक सहयोग सेवा, एपभित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक चालक यसको सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा रहेका छन् । हरेक यात्रामा १ लाखसम्मको उपचार र १० लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध छ । यो बीमा रकम नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो ।

बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला

बागलुङ । गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् । गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर अपरझट अस्पताल पुर्याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ । गाउँ पुगेका सडक बर्खाका कारण दर्जनौं स्थानमा पहिराले परिएका छन् भने कयौं स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नुपरेको निसीखोला गाउँपालिका-१ मा मदन घर्तीमगरले बताए । उनले सडक पहिराले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको बताए । ‘गाउँमा बाटो छैन भनौ भने छ, तर बर्खामा गाडीनै चल्न सक्दैनन्, हिउँदमा त गाडी निरन्तर चल्छन्, बर्गा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेले निकै दुःख पाए, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ,’ स्थानीयवासी घर्तीमगरले भने, ‘हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलुन् ?, दसैं आउन लाग्यो अझै खुलाउने सुरसार छैन ।’ उनले बर्खामा सडक सञ्चालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेरै अस्पताल झर्नुपरेको र सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताए । ‘सडक भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदलयात्रा गर्दामाथिदेखि पहिरो झरेर पुरिने होकी भन्ने डर उस्तै छ, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने ?, बोकेर भए पनि अस्पताल पुर्याउनु पर्यो, हाम्लाई त सडक भएर पनि दुःख नभएर पनि दुःख,’ घर्तीमगरले गुनसो गरे । बडिगाड गाउँपालिका-७ का गाडी चालक बोमबहादुर बुढामगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताए । उनले असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नुपरेको बताए । अब दसैँमा सडक खुलेमात्रै गाडी चलाउन सुरु गर्ने चालक बुढामगरको भनाइ थियो । ‘बाटो बिग्रिएर खतम भएको छ, पहिराले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताले खनेर खुलाउन सकिने थिए, धेरै ठूलो-ठूलो पहिराले ठाउँ-ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजार तिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता चिर्ने उपाय त हुन्थ्यो,’ उनले भने, ‘पहिराले गाउँमै अड्कियो, अब दसैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दसैँ मनाउने ?, पोहोर साल त बजारतिरै थिए, ठिकठिकै कमाइ भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खाजेर तिर्नुपर्यो ।’ लामो समयदेखि गाउँ-गाउँमा गाडी चलाउँदै आएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताए । उनले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलतिर भासिने हुँदा दुर्घटना हुने सम्भावना बढी हुने बताए । विकले अहिले गाउँका सडक पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्छ भने । ‘बर्खामा गाउँमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छे बोक्नै पर्यो, सामान ओसार्न परिहाल्यो, अझ गाउँका सडक निकै साँघुरा हुन्छ, धेरै पानी पर्यो भने चिप्लिने डर हुन्छ,’ चालक विकले भने, ‘सम्बन्धित निकायले सडक निर्माण गरेर मत्र छोड्छ, तर कहाँ नाली बनाउनुपर्छ, कहाँ पर्खाल उठाउनुपर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नुपर्छ, नाली निर्माण भयो भने धेरै सडक बर्खामा पनि चल्छन् ।’ उनले गाउँपालिका तथा नगरपालिकाले अनावश्यक ठाउँमा पनि बिना नापजाँच सडक निर्माण गर्दा सडक बर्खाको समयमा ठप्प हुने गरेको बताए । गाउँका सडकबाट आएको बाढी पहिराले मुख्य सडक पनि अवरुद्ध हुने गरेको छ । बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीसमेत उच्च जोखिममा परेको छ । दुई/चार वटा घर भएको लेकको टुप्पामा पनि सडक खन्ने प्रवृत्ति बढेको छ, त्यसको असर कति धेरै परेको छ भन्नेकुरा सम्बन्धित निकायलाई थाहा छैन, सडक लेकको टुप्पमा त पुगेको छ तर त्यसको तलतिर कति धेरै बस्ती पहिराको उच्च जोखिममा परेका र समथर खेतीयोग्य जमिन पनि सडकदेखि बगेर आएको बाढीले बगर बनाइदिएको छ । यो एक ठाउँको समस्या होइन, धेरै ठाउँमा यस्तो भएको छ र पनि बाटो खन्न छोडेका छैनन् । रासस

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी

बेदकोट । चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् । विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन् । जिल्लाका विभिन्न क्षेत्रबाट चोरी-पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेकालगायतका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ । भन्सार कार्यालयमा रहेका गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल रहेका छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरी, पैठारी गरिरहेका अवस्थामा नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको गोदाममा थन्किएका छन् । यसअघि २०७५ सालको वैशाख, जेठतिर गरिएकोे लिलामबाट भन्सार कार्यालयले झण्डै चार करोड रुपैयाँ राजस्व असुली भएको थियो । दसैँ, तिहारपछि गाडी लिलाम हुने कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रराज विश्वकर्मा बताउँछन् । ‘यातायातको इञ्जिनीयरले सबै गाडी हेरिसक्नुभएको छ, त्यसको रिपोर्ट तयार भइरहेको छ,’ उनले भने, ‘रिपोर्ट प्राप्त गरेपछि मूल्याङ्कन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।’ विगतमा कोरोनालगायत विभिन्न कारणले गाडी लिलाम गर्नमा ढिलाइ भए पनि अब भने त्यस्तो नहुने उनको दाबी छ । ‘कर्मचारी अपुग भएकाले लिलामका लागि ०७८ साल माघमा विभागबाट कर्मचारी थप तथा काजमा मागेका थियौँ, त्यसपछि गाडीको चेसिज, इन्जिन हेरेका थियौं,’ भन्सार अधिकृत विश्वकर्माले भने, ‘लिलाममा ढिलाइ हुदा गाडीको मूल्य घट्ने हुनाले त्यसो नहोस् भनेर आर्थिक वर्ष २०७८/७९ मा सक्ने चाहना थियो, तर प्रावधिक कारणले गर्न सकेनौँ, अब यसमा एक/दुई महिनाभन्दा बढी लाग्दैन ।’ रासस

डलर र पाउण्डभन्दा पनि महँगो छ कुवेतको दिनार, राष्ट्र बैंकले सञ्चिति गर्छ कि गर्दैन ?

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था सुखद नरहेका कारण अहिले मूलतः अमेरिकी डलरको मूल्यबारे चासो व्याप्त छ। नेपाल राष्ट्र ब्याङ्कले शनिवारका लागि डलरको खरिद दर १२९.२९ तोकेको छ जुन अहिलेसम्मै सर्वाधिक हो। नेपालले गर्ने विदेशी मुद्रा कारोबारमा डलरको भूमिका बढी भएकोले पनि सरकारी निकायदेखि सर्वसाधारणमा डलरको मूल्यबारे चासो रहेको पाइन्छ। पछिल्लो विनिमय दरअनुसार अहिले एक अमेरिकी डलरको खरिद १२९.२९ रुपैयाँ र विक्री दर १२९.८९ रुपैयाँ छ। डलरबाहेक ब्रिटिश पाउन्ड, युरो, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउ धेरैको चासोको विषय रहन्छ। तर अहिले पाउन्डको मूल्य केही घटेको छ। त्यसबाहेक कतार, दक्षिण कोरिया, मलेशिया र साउदी अरब लगायतका नेपालीका लागि प्रमुख श्रम गन्तव्यका रूपमा स्थापित मुलुकहरूको मुद्राको मूल्यबारे पनि बेलाबखत चर्चा हुने गर्छ। तर के तपाईँलाई थाहा छ नेपालमा अमेरिकी डलरदेखि ब्रिटिश पाउन्डभन्दा पनि महँगोमा कारोबार हुने अर्कै कुनै मुद्रा छ ?  नेपाल राष्ट्र बै‌ंकले शनिवारका लागि तय गरेको विनिमय दरअनुसार एक यूके पाउन्ड स्टर्लिङको मूल्य १४३.६५ रुपैयाँ छ भने स्विट्जरल्यान्डको मुद्रा स्विस फ्र्याङ्कको भाउ १३१.८७ रुपैयाँ छ। तर सबैभन्दा महँगो मुद्राका रूपमा भने कुवेतको दिनार सूचीकृत छ जसको मूल्य ४१७.९ रुपैयाँ कायम छ। त्यसपछिको सबैभन्दा महँगो मुद्रामा बहराइनको दिनार रहेको छ जसको बजार मूल्य ३४२.९२ छ। दिनार महँगो हुनुको कारण के हो ?  प्रशस्तै तेल रहेको कुवेत साउदी अरब, इराक र इराननजिकै अवस्थित छ। अमेरिकी डलरदेखि पाउन्डजस्ता मुद्राको कतिपय वस्तु तथा सेवा आयातका लागि अन्तर्राष्ट्रिय बजारमा बढी माग हुन्छ जसले गर्दा ती मुद्रा बलियो भएका छन्। त्यस्तै सेवाको भुक्तानीका लागि पनि ती मुद्राको माग उच्च हुने बताइन्छ। तर केन्द्रीय बैंकका एक पूर्वडेप्युटी गभर्नरका अनुसार कुनै पनि मुद्राको सामर्थ्य आधारभूत रूपमा एउटै मात्र तत्त्वले निर्देश गर्छ जसलाई पीपीपी अर्थात् पर्चेजिङ पाउअर प्यारिटी भनिन्छ। यसको साइनो मुद्रास्फीति अर्थात् बजार महँगीसँग रहेको बताइन्छ। कुनै पनि मुद्राको विनिमय दर १००,२००,३०० भनेको ‘ त्यसलाई डिटरमाइनिङ फ्याक्टर (निर्धारण गर्ने तत्त्व) भनेको त्यो मुद्राको पर्चेजिङ पाउअर ९क्रयशक्ति० बराबर हुन्छ। त्यसलाई सोझो हिसाबले भन्दा एक दिनारको चार डलरजति पर्छ भन्नुको अर्थ कुवेतमा एक दिनारमा कुनै वस्तु पाइन्छ भने अमेरिकामा त्यसको लागत चार डलर पर्छ,ुु नेपाल राष्ट्र ब्याङ्कका पूर्वडेप्युटी गभर्नर कृष्णबहादुर मानन्धरले भने। अर्थतन्त्रको आकार लगायतका पाटाहरूले भने यसमा उल्लेख्य फरक नपार्ने उनको भनाइ छ। ‘दक्षिण कोरिया नेपालभन्दा धेरै विकसित छ। तर सटही दर त्यति बलियो छैन। मुद्राको शक्ति खरिद शक्तिमै भर पर्छ,’ मानन्धरले भने। नेपालमा मात्रै नभएर दिनार विश्व बजारमै महँगो मुद्राका रूपमा स्थापित छ। नेपाली मुद्राको तुलनामा सर्वाधिक महँगो भए पनि नेपालले दिनार सञ्चित भने गर्दैन। बिबिसी

काठमाडौंका सडकको दुरावस्था (फोटोफिचर)

काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं । स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय । कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे बाटो । चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् । जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँदिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ । सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सीमित छन् । चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् । राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन् । कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ ।

ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ? जाँतोले कसरी अन्नलाई पिठोमा परिणत गर्छ ? पानीघट्ट चल्दा विज्ञानका कुन कुन सिद्धान्तले काम गर्छन् ? अनि रकेट कसरी अन्तरिक्षसम्म पुग्छ ? अबको तीन वर्षपछि आफ्ना पुर्खाले विकास गरेका परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य मुख्य नमूना कीर्तिपुरमा देख्न पाइने छ । त्यहाँस्थित विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान सङ्ग्रहालयका प्रमुख सनतकुमार शर्माका अनुसार सङ्ग्रहालयलाई नेपालसहित विश्वका विभिन्न भागमा भएका विज्ञान र प्रविधि क्षेत्रका थुप्रै उपलब्धिसम्बन्धी प्रदर्शन गर्ने गरी ‘साइन्स सिटी’ मा परिणत गरिँदैछ । अहिले सङ्ग्रहालयलाई त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएका सबै क्षेत्र समेट्ने गरी कुल एक सय ५० रोपनी क्षेत्रफलमा ‘साइन्स सिटी’ बन्नेछ । आज मनाइएको राष्ट्रिय विज्ञान दिवसका सन्दर्भमा कुरा गर्दै उनले यससम्बन्धी गुरुयोजना तयार पारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाइएकोसमेत जानकारी दिए । यस योजनाअनुसार काम सुरु भएपछि तीन वर्षभित्र भूमिगत कक्षहरुसहितको ठूलो क्षेत्रफलमा विज्ञानका उपलब्धिहरु राखिने छन् । “यही सङ्ग्रहालयमा ठूला ठूला अक्वारियम, तारामण्डल र ग्रहहरु हेर्न सकिने अब्जरभेटरी, विश्वले विज्ञानमा गरिरहेका नयाँ नयाँ उपलब्धिहरु तथा विज्ञानको इतिहाससमेत हेर्न पाइने छ”, शर्माले भने । यसबाहेक डाइनोसरको सम्पूर्ण विषयवस्तु थाहा दिने गरी एक डाइनोसर पार्क पनि बनाइने छ । अब्जरभेटरीबाट नेपालका आकाशमा उदाउने ग्रह र नक्षेत्रको अवस्थिति र गतिबारे प्रत्यक्ष ज्ञान हुनेछ । राष्ट्रियस्तरमा देशकै पहिलो र एक मात्र विज्ञान सङ्ग्रहालयका रूपमा रहेको यो विज्ञान सङ्ग्रहालयको उद्घाटन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल असोज १ गते गरेका थिए । सङ्ग्रहालयमा अहिले रोबोट, बिजुली र चुम्बकत्व, प्रकाश, दृष्टि र अप्टिकल भ्रम, ध्वनि र एप्लाइड मेकानिक्स, मानव विकास क्रम र शरीर विज्ञानका विभिन्न पक्षहरू राखिएका छन् । यसबाहेक ग्रह नक्षत्र अध्ययनका लागि वेधशाला र विज्ञानका विभिन्न उपलब्धि समेटिएको सानो फिल्म हल पनि त्यहीँ छ । यो हलमा विज्ञानसम्बन्धी वृत्तचित्र र फिल्महरु प्रदर्शन गरिँदै आएको छ । यसबाट सर्वसाधारण र खासगरी विज्ञानका विद्यार्थीले लाभ लिइरहेका छन् । रासस