पुरानोसँग बजाजको नयाँ बाइक साट्न सकिने, समय मात्र तीन दिन
काठमाडौं । आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेटले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसनभन्दा ७ हजार रुपैयाँ थप मूल्य पनि पाउन सकिनेछ । सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७ हजार रुपैयाँसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन् र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् । असोज ७ गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममा पल्सर एन सिरिज पनि सार्वजनिक गरिने योजना रहेको छ ।
एक अर्काका कर्मचारीलाई काममा नराख्ने अडानी र अम्बानीबीच सम्झौता
काठमाडौं । भारतका अर्बपतिहरु गौतम अडानी र मुकेश अम्बानीबीच ठूलो सम्झौता भएको छ । गौतम अडानीको नेतृत्वमा रहेको अदानी समूह र मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजले एकअर्काका कर्मचारीलाई काममा नराख्ने सम्झौता गरेको हो । भारतीय सञ्चार माध्यमका अनुसार यी दुवै कम्पनीहरू बीच नो–पोचिङ प्याक्ट यस वर्षको मेदेखि लागू भएको छ । यो उनीहरूको सबै समूहका कम्पनीहरूमा लागू हुने बताइएको छ। यद्यपि, अडानी समूह र रिलायन्स इन्डस्ट्रीज दुवैले प्रतिवेदनमा गरिएका दाबीहरूबारे कुनै टिप्पणी वा पुष्टि गरेका छैनन् । यो नियम लागू भएपछि दुवै समूहले एकअर्काको कर्मचारीलाई आफ्नो कम्पनीमा काम लगाउन पाउने छैनन् । यी दुई समूहको सबै क्षेत्रहरूमा उपस्थिति छ र केही क्षेत्रमा ठूलो प्रतिस्पर्धीका रुपमा रहेका छन् । त्यसैले पनि एकअर्काका कर्मचारी नलिने सम्झौता गरेका हुन् । अडानी समूह पावर, बन्दरगाह, एयरपोर्ट, नवीकरणीय ऊर्जा र सौर्य ऊर्जा क्षेत्रहरूमा फस्टाइरहेको कम्पनी हो र हालै पेट्रोकेमिकल्स क्षेत्रमा प्रवेश गरेको छ, जहाँ रिलायन्स इन्डस्ट्रीज पहिले देखि नै शीर्ष कम्पनीको रुपमा काम गरिहरेको छ । टेलिकममा पनि दुवै कम्पनी एकअर्काको प्रतिस्पर्धी छन् । यति मात्र होइन, भर्खरै सम्पन्न फाइभजी लिलामीमा विश्वको तेस्रो ठूलो मोबाइल नेटवर्क अपरेटर रिलायन्स जियो इन्फोकम सबैभन्दा ठूलो कम्पनीको रूपमा उभिएको छ ।
संवैधानिक व्यवस्थाको बर्खिलाप राष्ट्रपति संस्थाबाटै भयो : मन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छिन् । मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधान विपरित काम गरेको बताइन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणित नगरेर गल्ती गरेको पटकपटक दोहोर्याएको बताइन् । मन्त्री भुसालले नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय नगर्ने र गल्ती पनि नगर्ने सम्मानित संस्थाको रुपमा रहेको उल्लेख गरेको भन्दै त्यसलाई विवादमा पार्ने काम गर्न नहुने स्पष्ट पारिन् । उनले सो विधेयकलाई देखाएर आगामी मंसीर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्वाध ढंगले अघि बढाउने काममा सहयोग गर्न पनि बुद्धिजीवि, नागरिक समाज र सचेत नेपाली जनतालाई आह्वान गरिन् । निर्वाचनलाई सहज ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो ।
सेयर लगानीकर्ताले गुमाए ५ लाख करोड
काठमाडौं । सेयर बजारमा उतार चढाव स्वभाविक हो । लगानीकर्ताले सेयर बजारबाट कहिले एकै दिन लाखौं कमाउँछन् त कहिले लाखौं गुमाउँछन् । यतिबेला नेपालसँगै धेरैको देशको सेयर बजार घट्दो अवस्थामा छ । भारतीय सेयर बजार पनि घट्दा लगानीकर्ताले अर्बौं गुमाउनु परेको छ । अमेरिकी केन्द्रीय बैंक फेड रिजर्भका प्रमुख जेरोम पावेलले ब्याजदर बढाउने घोषणा र त्यसपछि डलरको तुलनामा पैसाको भाउमा ऐतिहासिक गिरावट आएपछि भारतीय सेयर बजारमा हंगामा मच्चिएको छ । जसको असर सेयर बजारका लगानीकर्ताले व्यहोरेका छन् । साताको अन्तिम कारोबार दिन भारतीय बजारका लगानीकर्ताले ५ लाख करोड रुपैयाँ गुमाएका छन् । बिहीबार भारतीय सेयर बजार बन्द हुँदा मुम्बई स्टक एक्सचेन्जको बजार पुँजीकरण २८१.७० लाख करोड रुपैयाँ नजिक थियो । जुन शुक्रबार घटेर २७६.६५ लाख करोड रुपैयाँमा झरेको छ । फेडले ब्याजदर बढाए पनि भविष्यमा अझै बढाउने सङ्केत दिएको छ जसका कारण विदेशी लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन् । रिजर्व बैंक अफ इण्डियाको मौद्रिक नीति समितिको बैठक सेप्टेम्बर २८–३० मा बस्दैछ । अगष्ट महिनामा खुद्रा मुद्रास्फीति फेरि ७ प्रतिशतको नजिक पुगेको छ । त्यसपछि फेरि आरबीआईले रेपो दर बढाउने अड्कलबाजी गरिरहेको छ । भारतीय अर्थतन्त्र पनि अहिले नकारात्मक अवस्थामा छ ।
दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न सरकारले गठन गर्यो समिति
फाइल फोटो काठमाडौं । नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि सरकारले सदस्यीय समिति गठन गरेको छ । सरकारले आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिनुभएअनुसार मन्त्रिपरिषद्ले प्रवक्ता पोखरेलको संयोजकत्वमा समिति गठन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । समितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको गृहमन्त्रालयले जनाएको छ । समितिले सडक दुर्घटना न्यूनिकरणका लागि के गर्नुपर्छ ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने ? आम नागरिकलाई सहरबाट गाउँगाउँसम्म कसरी सुरक्षितरूपमा पुर्याउने भन्नेबारेमा अध्ययय गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने छ । रासस
कोरिया सरकारले नेपाललाई १ करोड ६० लाख अमेरिकी डलर सहयोग गर्ने
काठमाडौं । कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पनःएकीकरण गर्न नेपाल सरकार र कोरियाको राजदूतावासबीच सम्झौता भएको छ । ‘कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने’ र ‘नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना’ गर्ने दुई आयोजना कार्यान्वयन सम्बन्धी नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच सम्झौता भएको हो । दुई आयोजनाका लागि कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग २ अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने सहमती भएको हो । अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्थाले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्ने बताएको छ । कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने, कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनःएकीकरण र उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ । त्यसैगरी साइबर ब्यूरो परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराध विरुद्धको क्षमतालाई सुदृढ गर्नु रहेको छ । जसमा साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि हुनेछ । अर्थ सचिव पुष्करले साइबर अपराधका बढ्दो घटनालाई नियन्त्रण गर्न साइबर ब्यूरोलाई सक्षम र सुसज्जित बनाउनका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारहरूलाई आफ्नो समाजमा स्थापित गर्न र नेपालमा रोजगारी बढाउनका लागि यी दुई परियोजना महत्त्वपूर्ण रहेको बताए । राजदुत चोङसुक पार्कले विश्वभर र नेपालमा पनि व्यापक रूपमा बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न साइबर अपराध नियन्त्रण आयोजना महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे । साथै, कोरियाबाट फर्किएका आप्रवासी सम्बन्धी आयोजना मार्फत ठूलो संख्यामा कोरियाबाट फर्किएकाले आफ्नो सीपलाई उपयोग गरी उद्यम स्थापना मार्फत रोजगारी सिर्जना गरी देशको आर्थिक वृद्धिमा योगदान पुर्याउन सक्ने उनले बताए ।
नेपाल ल्युव आयलले १० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने
काठमाडौं । नेपाल ल्युव आयलले चुक्ता पूँजी वृद्धि गर्ने भएको छ । कम्पनीको अधिकृत एवंम जारी पूँजी ५ करोड रुपैयाँ थप गरी १० करोड रुपैयाँ पुर्याउने भएको हो । कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न र लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज २८ गते बिहान ११ः३० बजे याक प्यालेस, पुल्चोक ललितपुरमा ३१ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । कम्पनीको साधारण सभा तथा लाभांश प्रयोजनार्थ असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १३ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाली बजारमा भित्रियो पहिलो राइसबेस्ड भोड्का, ककटेलमा पनि प्रयोग हुने
काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो । ‘न्यूड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको छ । ‘न्यूड सुपेरियर भोड्का’को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१ औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको छ । भिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुची देखिन्छ । नेपाली युवाहरु गतिशील छन् र केही न केही गुणस्तरीय एवम् समसामयिक, मौलिक स्वाद मन पराउँछन् । त्यस्ता चाहनाहरुलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काको रुपमा ‘न्यूड सुपेरियर भोड्का’ ल्याइएको हो । अतिरिक्त स्मूथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्यूड सुपेरियर भोड्का’ तयार पार्ने गरिन्छ । सत्प्रतिशत स्थानीय सामाग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आम्रसले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन् । यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव हुँदैन । भोड्कालाई चिसो बनाई पिउने विश्वव्यापी प्रचलन छ, ‘न्यूड सुपेरियर भोड्का’ पनि यसैगरी पिउन द नेपाल डिस्टीलरिजले सुझाएको छ । यसका अतिरिक्त यसलाई बरफमा राखेर पिउन सकिन्छ भने ककटेलहरुमा पनि प्रयोग गर्न सकिन्छ । यो भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाट नै भएको थियो । ‘न्यूड सुपेरियर भोड्का’को विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरुमा व्यापक परीक्षण र प्रतिक्रियाका श्रृंखलाहरु सञ्चालन गरिएका थिए । यो क्रममा सहभागीहरुले ‘न्यूड’को स्वादलाई औधी रुचाएका थिए । स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको उल्लेख गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले भने- ‘न्यूड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्वीडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टीलरिज’का अन्य ब्राण्डजस्तै पुनः रिफिल गर्न सकिन्न ।’ थप प्रष्ट पार्दै उनले भने- ‘विदेशमा बन्ने प्रिमियम गुणस्तरको भोड्का स्वदेशमै तयार भएकोले त्यस्ता पेय पदार्थ आयात गर्नुपर्ने बाध्यता हटी राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुर्याउने हाम्रो उद्देश्य हो ।’