नेपाली बजारमा भित्रियो पहिलो राइसबेस्ड भोड्का, ककटेलमा पनि प्रयोग हुने
काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो । ‘न्यूड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको छ । ‘न्यूड सुपेरियर भोड्का’को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१ औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको छ । भिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुची देखिन्छ । नेपाली युवाहरु गतिशील छन् र केही न केही गुणस्तरीय एवम् समसामयिक, मौलिक स्वाद मन पराउँछन् । त्यस्ता चाहनाहरुलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काको रुपमा ‘न्यूड सुपेरियर भोड्का’ ल्याइएको हो । अतिरिक्त स्मूथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्यूड सुपेरियर भोड्का’ तयार पार्ने गरिन्छ । सत्प्रतिशत स्थानीय सामाग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आम्रसले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन् । यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव हुँदैन । भोड्कालाई चिसो बनाई पिउने विश्वव्यापी प्रचलन छ, ‘न्यूड सुपेरियर भोड्का’ पनि यसैगरी पिउन द नेपाल डिस्टीलरिजले सुझाएको छ । यसका अतिरिक्त यसलाई बरफमा राखेर पिउन सकिन्छ भने ककटेलहरुमा पनि प्रयोग गर्न सकिन्छ । यो भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाट नै भएको थियो । ‘न्यूड सुपेरियर भोड्का’को विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरुमा व्यापक परीक्षण र प्रतिक्रियाका श्रृंखलाहरु सञ्चालन गरिएका थिए । यो क्रममा सहभागीहरुले ‘न्यूड’को स्वादलाई औधी रुचाएका थिए । स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको उल्लेख गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले भने- ‘न्यूड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्वीडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टीलरिज’का अन्य ब्राण्डजस्तै पुनः रिफिल गर्न सकिन्न ।’ थप प्रष्ट पार्दै उनले भने- ‘विदेशमा बन्ने प्रिमियम गुणस्तरको भोड्का स्वदेशमै तयार भएकोले त्यस्ता पेय पदार्थ आयात गर्नुपर्ने बाध्यता हटी राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुर्याउने हाम्रो उद्देश्य हो ।’
अभियान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग ?
काठमाडौं । अभियान लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको आईपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । लघुवित्त र नेप्सेबीच शुक्रबार २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । लघुवित्तको संस्थापक सेयरधनीहरुको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) को गरी कूल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ । साथै, नेप्सेले लघुवित्तलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतम प्रतिकित्ता ३१६.०८ रुपैयाँ तोकेको छ । लघुवित्तको सेयर आइतबारदेखि कारोबारमा आउने छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा पुनः पद्मिनी प्रधानाङ्ग
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्ष पदमा पुनः निर्वाचित भएकी छिन् । टीआई नेपालकाे शुक्रबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाले प्रधानाङ्गलाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको हाे । सभाले कार्यसमिति सदस्यमा सबिता भण्डारी बराल, शरच्चन्द्र वस्ती, सिताराम अग्रहरी, मदनकृष्ण शर्मा, महेन्द्र नारायण श्रेष्ठ, हरि बहादुर थापा, सुनिता गुरुङ र राष्ट्रिय ब्यवसायिक पहललाई निर्वाचित गरेको छ । अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ । सभाले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणालीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ ।
कम्तिमा ८ जना कर्मचारी र चुक्ता पूँजी १ करोड रुपैयाँ भएको कम्पनीलाई नेप्सेले तथ्याङ्क बिक्री गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथ्याङ्कलाई बिक्री गर्न पाउने कार्यविधि सार्वजनिक भएको छ । कार्यविधि तयार भएसँगै नेप्सेलाई तथ्याङ्क बिक्री गरेर आम्दानी गर्ने बाटो पनि खुलेको छ । यसअघि लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ (एपीआई पोलिसी)लाई स्वीकृत गरेको थिएन । सेबोनले स्वीकृत गरेसँगै नेप्सेलाई आफ्नो तथ्यांक बिक्री गर्न बाटो खुला भएको हो । साथै, नेप्सले आफूसँग भएको तथ्याङ्कको शुल्क समेत निर्धारण गरेको छ । नेप्सले बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा विश्लेषक कम्पनीको प्रयोगका निम्ति न्यूनतम चुक्ता पूँजी ५ करोड रुपैयाँ भएको, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा १५ जना कर्मचारी भएको कम्पनीलाई मात्रै तथ्याङ्क बिक्री गर्ने भएको छ । यस्तै, तथ्याङ्क वितरक कम्पनी, वित्तीय औजार विकासकर्ता कम्पनी आदिको व्यापारिक तथा पुनवितरण प्रयोजनका लागि न्यूनतम चुक्ता पूँजी १ करोड रुपैयाँ, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा ८ जना कर्मचारी भएको कम्पनीलाई मात्रै बिक्री गर्ने जनाएको छ । यस्तै, सञ्चार माध्यमहरुको समाचार प्रयोजनका लागि न्यूनतम चुक्ता पूँजी ५० लाख रुपैयाँ, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा १० जना कर्मचारी भएको सञ्चार माध्यमलाई मात्रै तथ्याङ्क बिक्री गर्ने भएको छ । यस्तै, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैर नाफामुलक अनुसन्धानात्मक संस्थाहरु आदिको लागि), तथ्यांक प्रयोगकर्ता विदेशी कम्पनीलाई तथ्याङ्क बिक्री गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । नेप्सेले फरक फरक संस्थाहरुका लागि फरक फरक शुल्क निर्धारण गरेको छ ।
कुमारी बैंककाे ‘११ % केबिएल डिबेन्चर २०८९’ को बाँडफाँड सम्पन्न
काठमाडौं । कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ % केबिएल डिबेन्चर २०८९’ को बाँडफाँड सम्पन्न भएको छ । उक्त डिबेन्चरमा व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको थियो । सो डिबेन्चर शुक्रबार ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ । बैंकले १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेको थियो । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने भएको थियो । सर्वसाधारण नेपालीको लागि उक्त डिबेन्चर भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म निष्काशन तथा बिक्री खूल्ला गरिएको थियो । बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती
इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ । सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले भने सास्ती खेप्दै आएका छन् । ‘सडक खाल्डाखुल्डी र धुलोले गर्दा गाडीको बिग्रिरहन्छ’, चालक सुरज लम्सालले भने । नौ दशमलव पाँच किलोमिटर सडकखण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेको छ । तर सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्ने गरेका छन् । ट्राफिक प्रहरी प्रदेश नं १ इटहरीका अनुसार पछिल्लो एक वर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना गम्भीर र अन्य ६३ जना सामान्य घाइते भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क नै छ । सडक निर्माणमा लापरवाही र ढिलाइ भएकै कारण दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसरी दुर्घटना बढेपछि केही दिनअघि धरानका स्थानीयवासीले छ लेन सडक विस्तार आयोजना, ठेकेदार कम्पनीलगायतको ध्यानाकर्षण गराएका थिए । अझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामी लिएर जाने–आउने एम्बुलेन्सलाई समेत ढिलाइ हुने गरेको छ । जसको असर विरामीलाई नै पर्ने गरेको छ । बर्खाको समयमा खाल्डाखुल्डी हुँदा पानी जम्ने भएकाले गर्दा धेरै नै समस्या भइरहेको सवारी चालकहरूको अनुभव छ । जङ्गल क्षेत्रमा अहिले रानी–धरान छ लेन सडक अयोजनाको दुईवटा ठेक्का सञ्चालनमा छन् । तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् प्यासिफिक जेभीले ठेक्का पाएको छ । सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्स्ट्रक्सनको ठेक्का पाएको छ । सडकको दुवै साइडमा बाटो फराकिलो बनाइएको छ । तर बाटोमा थुपारिएको निर्माण समाग्रीले सडक अस्तव्यस्त बनेको छ । पछिल्लो समय सडक निर्माणका लागि विसं २०८० सम्म समयावधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी छ । छ लेन आयोजनाले इन्धनदेखि निर्माण सामग्रीमा मूल्यवृद्धिको असरका कारण काम सुस्त भएको जिकिर गरेको छ । ठेक्का सम्झौता हुँदा निर्माण शुल्कले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै ठेकेदार कम्पनीहरुको कन्स्ट्रक्सन होलिडे आन्दोलनका कारण काम अड्किएको लेन सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए । उनका अनुसार सडक निर्माण सुस्त हुनुमा सामग्रीमा भएको मूल्यवृद्धिले समेत असर पारेको छ । ठेकेदार कम्पनीको समस्या समाधान गरेर दशैँलगतै अब पिचको काम अघि बढ्ने समेत उनले बताए । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ । दुहवी बजार र इटहरीको विराटनगर लाइनमा पनि सडक विस्तार गर्न बाँकी छ । दुहवी बजार क्षेत्रको भने घर जग्गा खाली नभएकाले विस्तार हुन सकेको छैन । दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रका रूपमा कायम गर्ने निर्णय गरेको थियो । त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअुनसार दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो । त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ । आर्थिक वर्ष २०६९र०७० देखि सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो पटक समय थप गरिएको छ । पूरै सडक निर्माण गर्दा शुरुमा रु १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो । सकडमा अवरोधै अवरोध सो सडकको सिमाना राजमार्ग ९निर्माण व्यवस्था ऐन, २०२१ बमोजिम सरकारले २०२१ साल फागुन ११ गते सूचना प्रकाशित गरी विराटनगर–धरान सडक बीचमा दायाँ २५ मिटर र बायाँ २५ मिटर गरी जम्मा ५० मिटर चौडा कायम गरेको थियो । तर सडक दायाँ–बायाँ बस्नेहरूले सरकारको सो निर्णयलाई नमानेका कारण सुनसरीको दुहवी बजारभित्र सडक विस्तार हुन सकेको छैन । विसं २०२१ मा गरिएको सडक सीमा निर्माणलाई कायमै राखी सरकारले सो सडकको नाम २०४३ साल जेठ २० मा आएर जोगबनी–धरान–धनकुटा राख्यो । विसं २०३४ साउन १५ गते फेरि सरकारले अर्को निर्णय गर्दै विराटनगर शहरी क्षेत्रमा भने सडकको चौडाई ३० मिटर मात्र कायम गर्यो । त्यसको छ वर्षपछि २०५४ साल चैत ३ गते दुहवी बजारको इनरूवा चोकदेखि लुनकरण दास च्यारिटी अस्पताल जाने सडकको मोडसम्मको जम्मा छ सय ३० मिटर लम्बाइमा भने सडकको चौडाइ १६ दशमलव ४६ मिटर मात्र कायम गरियो । यसरी पटक पटकका कानूनी निर्णयले गर्दा दुहवी बजारभित्र सडक विस्तारको काम हुन सकेको छैन । राजमार्ग निर्माण व्यवस्था ऐन, २०२१ को दफा २ अनुसार सरकारले राजमार्गको सीमा घोषणा गरेको १५ दिनपछि तोकिएको सीमाभित्रको जग्गा स्वतः सडक विभागका नाममा आउनुपर्नेमा हालसम्म पनि नामसारी भई नआएकाले सडक विस्तार गर्न आयोजनालाई समस्या भएको हो । जग्गा प्राप्ति ऐन, २०३४ को दफा २३३० अनुसार पनि सडक सीमा तोकिएको जग्गाको धनीपुर्जा सडक विभागका नाममा आउनु पर्ने हो । दुहवी बजारभित्रको सीमा विवाद र मुआब्जा विवादका कारण देखाउँदै स्थानीयवासीले ठाउँ खाली नगर्दा बुढी खोलादेखि दुहवी बजार सिरानसम्म दुई किलोमिटर सडकमा काम हुन सकेको छैन । बजारभित्रको छ सय ३० मिटर दूरीभित्रका एक सय ७७ घरको लगत लिने कार्यमा पनि स्थानीयवासीले अवरोध पुर्याउँदै आएका छन् । धरान बजारभित्र पनि सडक विस्तार गर्न समस्या भएको छ । त्यसैगरी विद्युत्को काम समयमा नहुनु, सडक क्षेत्रभित्र घर तथा उद्योगको फोहोर पानी हालिदिने आदि विभिन्न कारणले पनि सडक विस्तार आयोजनाले गति लिन नसकेको छ लेन सडक योजनाका इन्जिनियर दासले बताए । रासस
टुकुचाको सुरुङ राणाकालमै बनेको प्रमाणहरु भेटिए
काठमाडौं । पुरातत्व विभागले टुकुचालाई भूमिगत गर्न बनाइएको सुरुङ कम्तिमा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालमा बनेको पुष्टि हुने थप प्रमाणहरु पत्ता लगाएको छ । महानगरले टुकुचा खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएपछि उनीविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएका थिए । महानगरले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला रेखांकन गरिदिन नापी विभागलाई पत्राचार गरेको थियो । मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने समिति गठन गरेको थियो । जसले अध्यन गर्दै जाने क्रममा महानगरले सुरुङ खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा ‘श्री(३ वीर’ लेखेको भेटाएको समितिका एक सदस्यले बताएका छन् । यसअघि नै टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भएका थिए । तर, महानगरपालिकाले खोला अतिक्रमण गरेर बनाइएको भन्दै त्यसलाई खुला गर्न ठाउँ(ठाउँमा डोजर चलाएको थियो ।
प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकले ५१ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने छन् । बैंकको सो संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक सेयरधनीले बढाबढ मूल्यमा आवेदन दिनुपर्ने छ । बैंकको सेयरमा न्यूनतम १० लाख कित्तासम्म आवेदन दिन पाइनेछ । सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिन सकिनेछ । साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।