विकासन्युज

घरबासको आकर्षक परिकार रातो च्याउ

गलकोट । बागलुङमा पछिल्लो समय घरबास पर्यटन निकै फस्टाउँदै गएको छ । बिदाका समयमा घुम्ने, रामाइलो गर्ने र पर्यटकीयस्थलको भ्रमण गर्ने परिपाटीसँगै आन्तरिक पर्यटक जिल्लाका विभिन्न घरबासमा पुग्ने गरेका छन् । बागलुङको ताराखोला गाउँपालिकाको एक घरबासले भने अन्य घरबासको तुलनामा फरक परिकारको स्वादले मनै लोभ्याउने गरेको छ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरबासको मुख्य आकर्षणका रुपमा जङ्गली रातो च्याउ रहेको छ । दुर्गम स्थानको ठूलो हिले सामुदायिक घरबासले आफ्नो घरबासको मुख्य परिकारका रुपमा रातो जङ्गली च्याउको परिकार पाहुनाले खुबै रुचाउने गरेका छन् । ताराखोलाको डुडेलेकको जङ्गलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरबासमा पुग्ने गरेका छन् । घरबासमा पुग्ने पाहुनाले त्यहाँको प्राकृतिक मनोरम दृश्य र सँगै अर्गानिक उत्पादनले आफूलाई आकर्षित गरेको ठूलोहिले सामुदायिक घरबासका सञ्चालक तेजेन्द्रबहादुर श्रीसले बताए । ‘ताराखोला भन्नासाथ रातो च्याउको नाम आउँछ, हामीले घरबासमा यसलाई मुख्य परिकारका रुपमा अगाडि सारेका छौँ, त्यसबाहेक सेतो च्याउ र फापरको पीठो दोस्रो आकर्षण हो’, श्रीसले भन्नुभयो, ‘डुडेलेक एक आकर्षक पर्यटकीय गन्तव्य हो, हामीले पर्यटकलाई आकर्षित गर्न घरबास सञ्चालनमा ल्याएका हौँ ।’ बर्खामा बाटोका कारण पर्यटक घटेको भए पनि च्याउको कोसेली पठाउन फोन आउनेसमेत गरेको छ । घरबासमा रातो च्याउबाहेक जङ्गली सेतो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल घारबासको मुख्य परीकार हो । पर्यटकीय क्षेत्र डुडेलेक पुग्ने र स्थानीय परिकारका पारखी ठूलो हिले पुग्ने गरेका छन् । तीन वर्षदेखि सञ्चालनमा आएको ठूलो हिले सामुदायिक घरबास पर्यटकीय क्षेत्रमा भएकाले पर्यटकको रोजाइमा पर्न थालेको हो । तारोखोला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो छ । प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ ताराखोला पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख रहेको छ । घरबास नखुल्दैसमेत यहाँ सामान्य पर्यटक घुम्न आउने गरेका थिए । ताराखोला गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटकहरु बढ्न थालेका छन् । घरबासमा आउने जोकोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेको घरबास सञ्चालक बताउँछन् । पाहुनाले आफ्नो परिवारका सदस्य रहेको युरोप, जापान, अष्ट्रेलिया तथा अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गरेर पठाउँदै आएको पाइएको छ । सुकेको रातो च्याउ लामो समय रहने भएकाले विदेशमा कोसेलीका लागि लैजाने गरेका छन् । जङ्गली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जङ्गली च्याउ सुकाएर राख्ने गरेका छन् । अहिले सुकेको एक पाथी रातो च्याउको मूल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजारसम्म पर्ने ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीले बताए । ‘जङ्गलमा गएर ल्याउनै सकस हुन्छ, च्याउको सिजनमा जङ्गलमा च्याउ टिप्नेको लार्को नै लागेकाे’, घर्तीले भने, ‘निकै दुःख गरेर ल्याइन्छ यसको महत्वसमेत धेरै भएकाले मूल्य राम्रो छ, परिवारले पनी खानैप¥यो, आफन्तलाई पठाएर रहेको मात्रै बिक्री गर्ने हो ।’ घर्तीले जङ्गली रातो र सेतो च्याउको माग धान्नै नसकेको बताए । स्थानीयवासीले जङ्गलमा घाँस, दाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरण भने हुन सेको छैन । अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै गएको र मूल्य बढ्दै गएको स्थानीय धनबहादुर बुढाले बताए । बुढाका अनुसार समयअगावै च्याउ टिप्दा बिउँ मासिने अवस्था रहेको बताउँदै यसलाई व्यावसायिक उत्पादनकारुपमा अगाडि बढाउनुपर्ने बताए । उच्च पहाडी भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ । जङ्गलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । ताराखोलाको उच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ । रातो च्याउ ताराखोलासहित गलकोटको रमुवा, ढोरपाटन तमानखोला लगायतको घना जङ्गलमा समेत पाइन्छ । रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँन थालेपछि गाउँपालिकाले रातो च्याउलगायत ताराखोलाको भाँगो, सिन्की र आलुलाई ब्राण्ड गर्ने नीति तथा कार्यक्रममै समावेश गरेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विश्वकर्माले स्थानीय अर्गानिक उत्पादनको ब्राण्डिङ, प्याकेजिङ र बजारीकरण गाउँपालिकाले गर्ने योजना बनाएको बताए । उनले ताराखोलाको भागो र आलुको माग निकै रहेको बताए । ताराखोलामा ठूलो हिलेसहित किकल्टा घरबासमा समेत रातो च्याउसँगै सिस्नोको परिकार खान पाइने गरेको छ । किकल्टा घरबास ताराखोलाको भागमा रहेकाले जिल्लाकै चर्चित घरबासमा पर्ने गरेको छ । सिताके च्याउको व्यावसायिक उत्पादन थाले जस्तै वैज्ञानिक तरिकाले रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष राजबहादुर थापाले बताए । रासस

एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड

चितवन । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् । कान्तिपुर हेल्थ अनलाइनले बिहीबार यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य समन्वय र पहल’ कार्यक्रममा सहभागीले स्वास्थ्य सेवाको गुणस्तर थप सुधार्न मिलेर काम गर्न सकिने जनाएका हुन् । भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, एनपिआइ नारायणी सामुदायिक अस्पताल र निजी अस्पताल समन्वय समितिका प्रमुख र प्रतिनिधिले समन्वयात्मक ढङ्गले काम गर्न यहाँको स्वास्थ्य सेवा थप सुदृढ हुनेमा जोड दिनुभएको थियो । यहाँका अस्पतालले पहिचानसहितको ‘एक अस्पतालः एक विशिष्टीकृत सेवा’ दिनुपर्नेमा पनि उनीहरुको भनाइ थियो । एक अस्पतालमा नभएका सेवा जिल्लाकै अर्को अस्पतालमा रिफर गर्ने, दुई वा त्योभन्दा बढी अस्पतालका चिकित्सक मिलेर एकै ठाउँमा जटिल उपचार र शल्यक्रिया एक साथ गर्ने, अस्पतालजन्य फोहोरमैला व्यवस्थापनजस्ता जटिल कार्यसँगै गर्ने कुरामा सहभागीको एकमत रहेको थियो । यहाँका दुई सरकारी अस्पताल, दुई मेडिकल कलेज २२ वटा निजी अस्पतालमा दैनिक सात हजार हाराहारी बिरामी सेवा लिन आउने गर्दछन् । चितवनसहित देशैभरबाट बिरामी यहाँ आउने गर्दछन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जिल्लाका ‘एक अस्पतालमा एक विशिष्टिकृत विशेष सेवा दिने गरी तयारी गर्नुपर्ने बताए । उनले भने, ‘प्रसूतिका लागि भरतपुर अस्पताल उत्कृष्ट भने जस्तै मेडिकल कलेज र अन्य अस्पतालमा एउटा सेवामा विशेष जोड दिउँ । जसले गर्दा बिरामी बाहिर जानु पर्दैन ।’ हतारहतारमा बाहिरबाट बिहान आएर बिरामी जाँचेर बेलुका फर्कनुपर्ने अवस्था चितवनमा अब नरहेको उनले बताए । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेले यहाँ भएका सेवालाई थप विशिष्टीकृत गर्दै नभएका सेवा भित्र्याउनुपर्नेमा जोड दिए । उनले गुणस्तरीय सेवामा सबैले जोड दिनुपर्ने बताए । उनले भने, ‘हामी चिकित्सक मात्रै होइन, यहाँका नागरिक पनि हौँ, यसको स्वास्थ्य क्षेत्रको विकासमा हाम्रो भूमिका आवश्यक छ ।’ चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले जिल्लामा सेवा विस्तार राम्रो हुँदै गएको भन्दै थप गुणस्तरमा जोड दिनुपर्ने बताए । सरोकारवाला मिलेर काम गर्दा बिरामीलाई समेत फाइदा पुग्नेमा उनको जोड थियो । उनले भने, ‘अब हामी नेपालको कुनै ठाउँमा भन्दा उपचारमा कमजोर छैनौँ ।’ भारत र अन्य देशसमेत जाने बिरामीलाई रोक्ने गरी पूर्वाधार, उपकरण र जनशक्ति जिल्लामै रहेको उनले बताए । कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा भी नटराज प्रसादले आफूले साँझ अबेर काठमाडौँमा भिडियो एक्सरे गर्ने चिकित्सक नभेटेको उहाहरण दिँदै उनले यहाँको सेवा उत्कृष्ट रहेको बताए । उनले भने, ‘यतिले हामीलाई सन्तुष्टि हुँदैन थप गुणस्तरीय सेवा दिनुपर्छ, त्यसका लागि सबै मिलेर काम गर्नुपर्छ।’ उनले थपे, ‘पहिलो काम मिलेर अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापनको काम गरौँ ।’ सरोकारवालासँगै मिलेर काम गर्नसकेमा स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्नेमा उनको थियो । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, कलेज अफ मेडिकल साइन्सेसका आवासीय निर्देशक डा मनोहर प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल, एनपिआइ नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक विष्णु कुँवर र निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले समन्वयमा काम गर्नसकेमा काममा सहजतासँगै गुणस्तरमा सुधार आउने बताए । जिल्लामै उत्कृष्ट सेवा दिन सकिने भए पनि उचित प्रचारप्रसारको अभावमा बिरामी बाहिर जाने गरेको भन्दै उनीहरुले नेपालमा हुने स्वास्थ्य सेवा यही दिन सकिनेमा जोड दिए । छलफलपछि जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक गौतम, कलेज अफ मेडिकल साइन्सेसका आवासीय निर्देशक डा प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा लम्साल र नारायणी सामुदायिक अस्पतालका कुँवर सदस्य छन् । आयोजक सस्था कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले जिल्लाका सरोकारवाला निकाय सहित अस्पतालका प्रमुखका उपस्थितिमा सम्पन्न कार्यक्रम भएको पहिलो भएको कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले जानकारी दिए । रासस

युरोपबाट आइपुगे हटएयर बलुनका पाइलट, असोज १५ गतेदेखि पुनः सञ्चालन हुने

पोखरा । पोखरामा हट एयर बलुन असोज १५ गते देखि पुनः सञ्चालनमा ल्याउने गरी तयारी पुरा भएको छ । कोरोना कहर पछि बन्द रहेको बलुन उडान पुन सुचारु गर्न युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए । ‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्,’ उनले भने ‘नेपालमा हट एयरको पाइलट नभएकाले हामीले युरोपबाट बोलाउनु परेको हो ।’ बलुनमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ । उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई ८ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको बाडेले जानकारी दिए । बलुन नेपालले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा सुरु गरेको हो । तर कोभिडका कारण केही समय बन्द गरिएको थियो । आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भर्ने योजना रहेको उनले जानकारी दिए । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिने छ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभूत दृश्यावलोकन गर्न सकिन्छ ।

वैशाख १ गतेदेखि बन्दीपुरमा केबलकार सञ्चालनमा आउँदै

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । ‘दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो’, उनले भने, ‘त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । तर अहिले तीव्ररुपमा काम अगाडि बढेको छ ।’ उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताए ।  ‘विसं २०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउँछ, केबलकारको टावर जडान सुरु भएको छ’, उनले भने । शर्माका अनुसार केही दिन अगाडि मात्रै केबलकारका सामान झारिएको छ । ‘टावरको सामान आउन ढिलाइ भयो, अहिले सामान झारेर काम सुरु भएको छ’, उनले भने । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच तारे होटलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको शर्माले बताए । कम्पनीले केबलकारभित्रै रेस्टुराँ सञ्चालनको तयारीसमेत गरेको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेस्टुराँ सञ्चालन हुनेछ । एक घण्टाको २५ हजार रुपैयाँ शुल्क तिरेपछि रु १०÷१५ हजार बराबरको खानाको सुविधा पनि दिइने जनाइएको छ । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी: बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । लिमिटेडले बन्दीपुर केबलकारको आइपिओ खुलाउने तयारी गरेको छ । सर्वसाधारणका लागि एक सय कित्ता बराबरको आइपिओ खुला गरिनेछ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् । रासस

अब एनआईसी एशिया बैंकमा रहेको खातामा रेमिट्यान्स प्राप्त गर्नेले ३०० रुपैयाँ पाउने

काठमाडौं । एनआईसी एशिया बैंकले दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकहरुले आकर्षक दक्षिणाको पाउने छन् । असोज १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुने बैंकले जनाएको छ । यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ । बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

इसेवाबाट बीमाशुल्क भुक्तानी गर्दा इलामका अनुपमले जिते १ लाख रुपैयाँ

काठमाडौं । इसेवाले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन् । नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गर्दा पाेखरेलले एक लाख रूपैयाँ जितेका हुन् । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो । यस योजनामा बम्पर उपहार विजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार नगद जितेका छन् । साथै, पोखरेलले बीमा गरेकाे नेपाल लाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत नगद २० हजार प्राप्त गरेको छ । विजेताहरूलाई शुक्रबार एक कार्यक्रमकाबीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका थिए । लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक एक हजार रुपैयाँ जितेका छन् । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो । योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढिको कारोबार भएको थियाे । यस अवधिमा ६० वटा भन्दा धेरै बीमा शुल्क इसेवा मार्फत भुक्तानी भएकाे थियाे ।  

यि हुन् दसैँमा प्रदर्शनमा आउने चलचित्र

काठमाडौं । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण प्रदर्शन हुन सकेको थिएन । यो चलचित्र नेपाल र भारतमा पनि एकसाथ प्रदर्शन हुँदैछ । चलचित्र ‘प्रेमगीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि निर्माण गरिएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र साङ्गीतिक प्रेम कथामा आधारित हो । यसअघि ‘प्रेम गीत’ ‘प्रेम गीत २’ प्रदर्शनमा आइसकेका छन् । अभिनेता प्रदीप खड्का र नवअभिनेत्री कृष्टिना गुरुङको मुख्य अभिनय रहेको यस चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । त्यस्तै चलचित्र ‘बाबरी’ यही असोज १४ गते शुक्रबार प्रदर्शन हुँदैछ । चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धीरज मगरको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । यो चलचित्र नेपालसँगै विदेशमा पनि एक साथ प्रदर्शन हुँदैछ । दक्षिण कोरिया, अष्टेलिया, हङकङलगायत अन्य देशमा पनि असोज १४ गते नै प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिए । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र ‘दुई नम्बरी’ विजयादशमीको दुईदिन पछि अर्थात् असोज २१ गते प्रदर्शन गरिने भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार पारिएको यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य अभिनय रहेको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको संयुक्त लगानीमा बनेको यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ । यो चलचित्र पनि नेपाललगायत विदेशमा प्रदर्शन गरिने भएको छ । चलचित्र पक्षले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिकामा भएका नेपाली दर्शकले चलचित्र हेर्न पाउने जानकारी दिइएको छ । चलचित्रमा नवनायिका उगेन छोदेन, बुद्धि तामाङ, शारदा गिरी, कविता आले, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ । यसअघि चलचित्र पक्षले कात्तिक ४ गते तिहारमा प्रदर्शन मिति तोकेको थियो । त्यस्तै चलचित्र ‘हिजोआजका कुरा’दसैँ सकिएपछि र तिहारको मुखमा अर्थात् असोज २८ गते प्रदर्शन हुँदैछ । कलाकार सन्तोष पन्तले लामो समयदेखि निर्माण गर्दै आएका हाँस्य टेलिशृङ्खलालाई अब चलचित्रमा परिणत गरिएको हो । उक्त चलचित्रमा कलाकार पन्तका छोरा साकारले निर्देशन गर्नुभएको छ । कलाकार पन्त र रमा थपलियाको मुख्य अभिनय रहेको उक्त चलचित्रमा रिमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, नितेशराज पन्त, विनायक कुइँकेललगायत कलाकारको अभिनय रहेको छ । चलचित्र प्रदर्शनका लागि दसैँ, तिहार बिदा उपयुक्त मानिँदै आएको छ । अरु बेलाभन्दा दसैँमा आमदर्शक घरपरिवारसँग रमाइलो गर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन् । त्यस कारण सामान्य चलचित्र पनि व्यावसायिक हिसाबले सफल हुनेमा निर्माताको विश्वास छ । यस वर्षको दसैँमा प्रदर्शनमा आउने चलचित्र निर्माताले आफ्नो चलचित्र भिन्नभिन्न कथावस्तुमा रहेको बताएका छन् । रासस

कञ्चनपुरका विजयराजले रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती गर्दै

दाेधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन् । लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उनले छ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन् । जीवनभरि काम मात्रै कति गर्ने भनेर उनले न्यून लगानीमा बढी प्रतिफल आउने कृषि क्षेत्रको खोजी गरेको जानकारी दिए । “करिब छ महिना जति मैले अध्ययन गरे कुन खेती गर्दा राम्रो फाइदा होला भनेर”, उनले भने, “सबैभन्दा बढी फाइदा रक्तचन्दन, श्रीखण्ड र अगरउडमा देखे त्यसपछि यसको अध्यनमा लागे ।” उनले छ महिना रक्तचन्दन, श्रीखण्ड र अगरउड फाइदा देखेपछि उहाँ भारतको बेङ्गोलर गएर तालिमसँगै यस खेतीको अवलोकन गरे । “भारतको बेङ्गलोरमा दुई हप्ताको तालिम लिए त्यहाँ यसबारेमा धेरै कुरा सिके”, उनले भने, “त्यहाँ मैले विभिन्न फार्ममा अवलोकन पनि गरे त्यहीबाट बीउ ल्याएर नर्सरी तयार गरेर बिरुवा उत्पादनमा लागे ।” सुरुआतमा आठ कट्ठा जमिन भाडामा लिएर करिब तीन लाखको लगानीमा खेती सुरु गरे अहिले उहाँले सेती विस्तार गर्दै थप एक बिघा जमिन भाडामा लिएर बिरुवा उत्पादनमा लागेका छन् । “यो खेती गर्न सजिलो र फाइदा पनि छ खेतका आली र घर आगनमासमेत रोप्न सकिन्छ”, उनले भने, “रक्तचन्दनको बिरुवा १८ वर्षमा तयार हुन्छ ।” उनले आयस्तर वृद्धिसँगै विदेशसँगको व्यापारघाटा कम गर्न पनि यो खेती गर्न जरुरी रहेको बताए । छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्ड लगाए अहिले हुर्किरहेको उनले बताए । “सुरुमा यहाँको हावापानीमा हुन्छ कि हँुदैन भन्ने डर थियो अहिले राम्रो भएर बिरुवा हुर्किरहेका छन्”, उनले भने, “यहाँको हावापानीमा पनि राम्रो हुने देखेपछि थप एक बिघा भाडामा लिएर खेती विस्तार गरेको छु ।” उनले रक्तचन्दन र श्रीखण्डसँगै अगरउडका बिरुवा पनि रोपेका छन् । अहिले उनले आफ्नै नर्सरीसमेत स्थापना गरेर मनग्य आम्दानी गरिरहेको बताए । उनले सिजनमा ३० हजार बिरुवा उत्पादन हुने गरेको बताए । “रक्तचन्दन, श्रीखण्ड र अगरउड औषधीय गुण भएका बहुमूल्य वनस्पति हुन्”, उनले भने, “धार्मिकरूपमा समेत यिनको महत्वपूर्ण मान्यता छ अन्तर्राष्ट्रिय बजारमा यो धेरै महँगो छ ।” हरेक धर्मका व्यक्तिले पूजाआजादेखि आफ्ना मठ मन्दिरमा रक्तचन्दनदेखि श्रीखण्ड चढाउने गर्छन् । “रक्तचन्दन र श्रीखण्डको नेपालमा माग कम छ भारतमा यसको प्रतिकिलोग्राम पाँच हजारभन्दा बढीमा बिक्री हुन्छ”, उनले भने, “अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ  चीनमा प्रतिकिलोग्राम १८ देखि ३४ हजारसम्म बिक्री भइरहेको छ ।” उनले यसको प्रमुख बजार चीन रहेको बताए । उनले रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने बताए । एक बिरुवाको तौल तीनदेखि पाँच क्विन्टलसम्म हुने र यसको प्रयोग विभिन्न किसिमका आयुर्वेदिक औषधि निर्माण, महँगा फर्निचर निर्माण, विभिन्न कसिमका खानाका परिकारमा समेत यसको प्रयोग हुने गरेको उनले बताए । “एक बिरुवाबाट जतिसुकै खराब उत्पादन भए पनि १८ वर्षमा दुई लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ”, उनले भने, “श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन हुन्छ जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर रु चार लाखसम्म बिक्री हुन्छ ।” उनले तेल निकालेर बाँकी रहेको काठबाट अगरबत्ती, धुप र साबुनलगायत निर्माणमा पनि काम लाग्ने बताए । उनका अनुसार यो परजीवी भएकाले यसले अर्को बिरुवाको जराबाट आफ्ना लागि आवश्यक तत्व लिने गर्छ । “यो परजीवी भएका कारणले श्रीखण्डको छेउमै फलफूल तथा अन्य बिरुवा पनि रोप्नुपर्छ”, उनले भने, “श्रीखण्डको काठ नेपालमा प्रतिकिलो तीन हजार ५०० देखि चार हजार ५००सम्म बिक्री हुन्छ ।” उनले यसमा तीन खेती सँगै गर्न सकिने जानकारी दिए । उनले सरकारले नीतिगतरूपमै यसको व्यावसायिक खेतीका लागि प्रोत्साहित गर्नुपर्ने बताए । साबुन, धुप, तेल तथा धार्मिक कार्यका लागि श्रीखण्ड र रक्त चन्दनको माग बढ्दै गएकाले औषधिजन्य बिरुवाका रूपमा यसको खेती गरे अर्थतन्त्रमा समेत टेवा पुग्ने जनाइएको छ । चीनमा यसको व्यापार बढ्दै गएकाले श्रीखण्ड र रक्तचन्दनको खेती व्यावसायिकरूपमा खेती गरिएको उनले बताए । रासस