कास्कीकी शिवमाया: कृषि पेशाले बनाइदियो करोडपति
लेखनाथ । कास्कीको लेखनाथस्थित अघौँ चोकमा भैँसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गछिन् म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा । छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट विसं २०६३ मा पोखरा झरेकी उनलाई कृषि पेशाले छोटो समयमै करोडपति बनाइदिएको हो । विसं २०७१ मा लेखनाथको अर्घौ चोकमा १७ रोपनी जग्गा भाडामा लिएर केही हजार रकमबाट सुरु भएको शेरपूर्जाको कृषि फार्मको पूँजी अहिले करिब तीन करोड रुपैयाँ पुगेको छ । उनले सुरुमा दिदीबहिनी कृषि फार्म सञ्चालनमा ल्याएर तरकारी खेतीबाट आफ्नो कृर्षि अगाडि बढाएकी थिइन् । नौ वर्षकै अवधिमा अहिले शेरपूर्जाको फार्ममा १८ लैना भैँसी, एउटा राँगो, चार लैना गाई, १५ पाडा–पाडी, चार बाच्छा–बाच्छी, १५ रोपनी क्षे शेरपूर्जाले भैँसीका लागि थप ११ रोपनी जमिनमा घाँसखेतीसमेत गरेकी छिन् । कुराकानीमा उनले भने, ‘दूध तथा तरकारी बिक्रीबाट मासिक तीन लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ, खर्च कटाएर मासिक डेढ लाख रुपैयाँ बचत हुन्छ । उत्पादित तरकारीले विस्तारै बजार लिन थालेपछि गोबरका लागि भैँसीपालन गर्ने सोच बनाउँदा यसमा समेत मेरो आकर्षण बढ्यो ।’ तरकारी खेती गर्ने क्रममा एक ट्र्याक्टर मलका लागि सात हजार रुपैयाँ बुझाउँदा शेरपूर्जाको मन खिन्न भयो र सोच्न थालिन् गोबरका लागि भए पनि अब एउटा भैँसी पाल्नुपर्छ । तरकारी खेती सुरु गरेको तीन वर्षपछि विसं २०७३ मा उनले भैँसीपालन गर्ने सोच बनाईन् । शेरपूर्जासँग भैँसी किन्ने पैसा थिएन । भैँसी किनेपछि दूध पनि बिक्री गर्न पाइने तरकारी उत्पादनका लागि गोबर पनि हुने भएकाले ऋण गरेरै भएपनि तराईबाट एउटा लैनो जर्सी भैँसी किनेर ल्याइन् । मेहेनत गर्दै अगाडि बढेकी शेरपूर्जा अहिले गाउँकै नमूना महिला कृषि उद्यमी बनेकी छिन् । दुई वर्ष अगाडिदेखि उनले बाख्रापालनसमेत सुरु गर्दै आएकी छिन् । त्यतिबेला शेरपूर्जाको श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा थिए । श्रीमान्को कमाइले कोठामा बसेर खान र छोराछोरी बोर्डिङ पढाउन कठिन भइरहेकाले छोराछोरीको पढाइ खर्च जुटाउन र बिहान–बेलुका हातमुख जोड्नका लागि मैले पनि केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्न थाल्यो । पोखरा–२७ को लेखनाथस्थित खराने फाँटमा बस्ने क्रममा उनले विसं २०७१ मा पोखरा–२७ कै लेखनाथस्थित अघौँमा १७ रोपनी जग्गा भाडामा लिएर दिदी–बहिनी कृषि फार्म सञ्चालनमा ल्याइन् । फार्ममा गोलभेँडा, काक्रा, घिरौला, करेला, साग, काउली, बन्दालगायत तरकारी उत्पादन हुन थाल्यो । दुई–तीन महिला उनका तरकारी फार्ममा काम गर्छन् । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म शेरपूर्जा बारीमै खट्छिन् । किनेको एउटा भैैँसीको दूध पनि फार्मबाटै बिक्री हुन थाल्यो, मूल्य राम्रै पाएपछि त्यो भैँसी खरिद गरेको दुई वर्षपछि उनले २०७५ मा भैँसी थप्ने योजना बनाइन् । तरकारी खेती विस्तारै अगाडि बढ्दै थियो भैँसी पनि थपेर आम्दानी वृद्धि गर्ने योजना थियो, शेरपूर्जाको तर पैसा थिएन । भैँसी खरिदका लागि ऋण लिन विभिन्न बैंक चाहर्ने क्रममा बङ्गलादेश बैंकले ऋण दिने भयो उनलाई । भैँसी खरिद र तरकारी खेती विस्तार गर्नका लागि शेरपूर्जालाई उक्त बैंकले ५० लाख रुपैयाँ दिने निर्णय ग¥यो । बैंकबाट लिएको पैसामध्ये ३० लाख रुपैयाँ भैँसी खरिद र २० लाख रुपैयाँ तरकारीको टनेल बनाउन प्रयोग गरिन् उनले । शेरपूर्जाले ऋण लिएको चार वर्षमै ऋण घटाएर १० लाख रुपैयाँमा पु¥याउनुभएको थियो। छोराछोरी पढाउन र खान पुगेको छ, श्रीमान् पनि बिदेशबाट आएर पोखरा–२७ मा नै किराना पसल गरेका छन् । अब विस्तारै बाख्राबाट पनि आम्दानी हुन्छ । भैँसीको दूध फार्मबाट प्रतिलिटर एक सय २० रुपैयाँमा बिक्री हुने गरेको र केही दूध डेरीले बिक्रीका लागि लाने गरेको जानकारी उनले दिइन् । ‘अहिले मेरो फार्मको पूँजीको मूल्याङ्कन तीन करोड रुपैयाँ गरिएको छ । सत्र रोपनी जमिनबाट बढाएर उनले अहिले २९ रोपनी जग्गा भाडामा लिएकी छिन् । १७ रोपनीमा भैँसी, तरकारी र बाख्रा फार्म छ भने ११ रोपनीमा भैँसीका लागि घाँस उत्पादन गरेकी छु । कृषि पेशाबाटै छोरोले इञ्जीनियर र छोरीले नर्स विषय पढे’, शेरपूर्जाले भनिन्, ‘लेखनाथमा आफ्नै एउटा घर पनि छ ।” कृषि कार्यालयले केही मात्रामा आर्थिक अनुदान दिएको छ । भैँसीपालन र तरकारी खेतीको तालिम पनि लिएकी छिन्। रासस
शिखर इन्स्योरेन्सले धादिङमा सम्पन्न गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङका प्रमुख संदिप सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्ले, राष्ट्रिय वाणिज्य बैंक धादिङका प्रबन्धक दिपक न्यौपाउनेको विशेष आतिथ्य रहेको कार्यक्रममा सिद्धलेक र ज्वालामुखीका बिभिन्न वडाका वडाअध्क्ष्यहरु, समाजसेवी, बुद्धिजिवी, कृषकहरु लगाएतको सहभागिता रहेको थियो । कर्यक्रममा शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्लेले बाली तथा पशुपन्छी बीमाको इतिहास, बीमालेख, दावी प्रक्रिया, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्रहरुका बारेमा जानकारी दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कृषहहरुलाई बीमाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए । उनले वडावडामा गएर यस्ता बीमा सचेतना कार्यक्रम सञ्चलन गर्न इन्स्योरेन्स कम्पनीलाई आग्रह गरे । पछिल्लो समय बिमा कम्पनी पशु बिमाका योजना लिएर गाउँगाउँमा पुग्न थालेका छन् । पशुको बिी गर्दा बीमा कम्पनीलाई त्यसवापत लाग्ने शुल्कको ८० प्रतिशत रकम सरकारले दिन थालेपछि कम्पनीको सक्रियता बढ्न थालेको छ । किसान पनि पशु बीमाप्रति आकर्षित हुन थालेका छन् । यस्तै बाली बीमाप्रति पनि कृषकको चासो बढेको छ । सचेतना कार्यक्रममा सहभागि कृषकहरूले बाली बीमालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।
फेरी बढ्यो डलरको भाउ
काठमाडौं । डलरको मूल्य निरन्त बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार डलरको भाउ निरन्तर बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ। अब नेपालमा १ डलर साट्नको लागि १२९ रुपैयाँ ६८ पैसा खर्च गर्नु पर्नेछ । अघिल्लो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको थियो । आज एकैदिन डलरको भाउ झण्डै साढे १ रुपैयाँले बढेकाे छ। यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा थियो। अहिले डलरको भाउ पुनः सो विन्दु भन्दा माथि पुगेको छ । यसले डलरको भाउ उच्च बिन्दुमा पुगेकाे देखिन्छ । अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरीका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको हो । पछिल्लो समय भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ ।डलरको भाउ महंगो भएमा निकासीकर्ता, पर्यटन क्षेत्र र रेमिट्यान्स रकम पठाउनेलाई फाइदा हुन्छ ।
बागलुङको प्रभा माविको ६२ वर्षे यात्रा : छाप्रोदेखि नमूना विद्यालयसम्म यसरी बनायाे बाटाे
बागलुङ श्र एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुप¥यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि उस्तै । अभावै अभावमा गुज्रिएको विद्यालय अहिले जिल्लाकै नमूना बनेको छ । अझै पनि विद्यालयमा समस्या छन्, नभएका होइनन् । तर अहिले विगतको तुलनामा निकै सुविधासम्पन्न भएको छ । निसीखोला गाउँपालिका–३ झिवाखोलामा रहेको यस विद्यालय पश्चिम बागलुङकै अग्रणी विद्यालयमध्येमा पर्छ । निसीखोलामा यस विद्यालयभन्दा अगाडि धेरै विद्यालय स्थापना भए पनि सबैभन्दा पहिले माध्यमिक तहसम्म पढाइ हुने पहिलो विद्यालय भने प्रभा मावि नै हो । विसं २०१७ मा स्थापना भएको विद्यालय २०२७ सालमा मध्यमिक तहसम्म पढाइ थालिएको थियो । विसं २०२८ मा नयाँ शिक्षा नियम लागू भएपछि विद्यालयलाई माविबाट निमाविमा झारिएको थियो । विद्यार्थीको चाप र स्थानीयको मागपछि सरकारले १४ वर्षपछि पुनः २०४२ सालमा मावि तहमै रुपान्तरण गरी पठनपाठन सञ्चालन गरिँदै आइएको छ । निसीखोलामा प्रभा माविभन्दा अघि यस क्षेत्रमा माध्यमिक तहसम्म पढाइ हुँदैनथ्यो । साविक बोहरागाउँ, निसी र देवीस्थान गाविसअन्तर्गतका विद्यार्थी घण्टौँ लगाएर यस विद्यालयमा पुगेर अध्ययन गर्दै आएका थिए । तर पछि निसीमा ज्ञानेन्द्र मावि, देवीस्थानमा देवीस्थान माविमा १० कक्षासम्म पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई केही राहत पुगेको थियो । लामो समय माध्यमिक तहसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा विसं २०६७ देखि बाह्र कक्षा सञ्चालनमा आयो । कक्षा १२ सम्म सञ्चालनमा आएपछि निसीखोलाका विद्यार्थीलाई सहज भएको छ । किसान मजदुरका छोराछोरीले पनि घरबाटै उच्च शिक्षा हासिल गर्न पाउने वातावरण तयार भएको स्थानीय बताउँछन् । झिवाखोलामा बाह्र कक्षा सञ्चालन नहुँदा यहाँका सयौँ विद्यार्थी उच्च शिक्षा लिन निसीखोला बाहिर जानुपर्ने बाध्यता थियो । निसीखोलाको केन्द्र भागमा रहेको हुँदा विद्यार्थीको चाप पनि उत्तिकै छ । विद्यालयमा स–साना टहरादेखि काठ र ढुङ्गाबाट बनेका भवनमा पठनपाठन सञ्चालन गर्दै आएको यस विद्यालयमा अहिले सुविधासम्पन्न भवन बनेका छन् । भौतिक संरचनाका हिसाबले सुविधासम्पन्न भएको र अब शिक्षालाई गुणस्तरीय बनाउनतर्फ लागेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताए । उनले पछिल्लो समय कक्षा ११ मा विद्यार्थीको चाप बढेपछि विद्यालय भवनसमेत आवश्यक परेको बताउँछन् । ‘वर्षौंसम्म भौतिक संरचना अभावमा विद्यार्थीलाई कहिले खुला चौरमा, कहिले जीर्ण भवनमा राखेर पठनपाठन गरायौँं, जोखिममै विद्यालय सञ्चालन गर्न बाध्य भयौं, केही वर्ष अघिसम्म पर्याप्त विद्यालय भवन थिएन, पुराना र जीर्ण भवनमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो, अहिले विभिन्न सङ्घसंस्था र सरकारको सहयोगमा भवन निर्माण भएका छन्, निकै सहज भएको छ’, आचार्यले भने, ‘अहिले भवन करिब–करिब अन्तिम चरणमा पुगेको छ, चारकोठे भवन बन्दै छ, यो बनिसक्यो भने भौतिक संरचानमा हामी कमजोर हुने छैनौँ, अहिले विद्यार्थीको चाप पनि बेढेको छ ।’ आचार्यले भौतिक संरचनाको पर्याप्ततासँगै अब गुणस्तरीय शिक्षा प्रदानतर्फ जोड दिन थालेको बताउनुभयो । नयाँ–नयाँ प्रविधिको विकाससँगै शिक्षहरूलाई पनि सोहीअनुसारको तालिम प्रशिक्षण दिएर शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन थालेको आचार्यको भनाइ छ । ‘भौतिक संरचनाको विकाससँगै हामी अब कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौँ भन्नेतर्फ केन्द्रित भएका छौँ, अहिलेसम्म भवन अभाव थियो, अब त्यति धेरै समस्या नहोला, विद्यार्थीको चाप पनि बढेकै छ, विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर शिक्षालाई प्रविधिसँग पनि जोडेर जाने लक्ष्य राखेका छौँ,’ प्रअ आचार्यले भने । अहिले विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै उनले प्रावि तहमा पनि विद्यार्थीको आकर्षण बढ्दो रहेको बताए । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा प्रावि तहमा एक सय ३०, आधारभूत र मावि तहमा गरी छ सय २० विद्यार्थी अध्ययनरत छन् । उनले नमूना विद्यालयका रूपमा यस विद्यालयलाई अगाडि सार्न माग गरिरहेको बताए । अहिले कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको उनको भनाइ छ । ‘विद्यार्थीको उत्साह निकै देखियो, यहाँ कहिल्यै पनि विद्यार्थीको कमी भएन, अहिले झन् विद्यार्थीको चाप बढेको छ, व्यवस्थापनलाई पनि हामीले चुस्त बनाएका छौँ, ११ कक्षा र साना कक्षामा देखिएको विद्यार्थीको चापले हामी पनि उत्साहित भएका छौँ’, उनले भने, ‘शिक्षाको गुणस्तर राम्रो भएर पनि हो कि जस्तो लागेको छ, विद्यार्थीको बाक्लो उपस्थितिले हामी पनि खुसी छौँ, अझै केही व्यवस्थापन गरिरहेका छौँ, चारकोठे भवन बनिसकेपछि हाम्रा धेरै समस्या समाधान हुने छन् ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशविक्रम शाहीले प्रभा मावि भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षाका लागि आफूहरू लागिरहेको बताए । उनले गोर्खा वेलफेयर ट्रसले १३ कोठे सुविधासम्पन्न भवन बनाइदिएपछि विद्यालयको भौतिक संरचनामा ठूलो परिवर्तन आएको भन्दै अब भौतिक संरचनामा विद्यालय कमजोर नरहेको बताए । ‘अब विद्यालय पहिलेको जस्तो भौतिक संरचनाको अभावमा गुज्रिनु पर्दैन, विभिन्न सङ्घसंस्थाको सहयोगले विद्यालय भवन निकै राम्रो बनेका छन्, अझै केही कोठा थपिँदैछन्’, अध्यक्ष शाहीले भने, ‘निरन्नतर प्रयास गरिरहेका छौँ, अब गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।’ विद्यालयमा विज्ञानका प्रयोगशाला, कम्प्युटरलगायत अन्य आवश्यक सामग्रीको समेत व्यवस्थापन भएको अध्यक्ष शाहीको भनाइ छ । रासस
निफ्राका सेयरधनीलाई नगद लाभांश मात्रै
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।
प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य बढेकाे छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति
काठमाडौं । एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाले बताएकी छिन् । बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धीत लान्छना तथा भेदभाव न्युनिकरणका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएकी हुन् । ‘७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितहरुप्रति समाजमा भेदभाव तथा लान्छना यथावत रहेको र सबै गर्भवती प्रसुति ,सुत्केरी महिलाहरुको एचआईभी परीक्षणको पहुँचमा सकेका छैनन्,’ डा. देवकोटाले भनिन्, ‘एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएका छ ।’ डा. देवकोटाले यसअघि एआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’ को मात्र उपचार हुने बताईन् । डा. देवकोटाले भनिन्, ‘नयाँ एचआईभीका संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुले स्वास्थ्यसम्बन्धी सुधार ल्याउँने र एचआईभी संक्रमित तथा मुख्य समुहहरुमा एचआईभी सम्बन्धित असमानताहरुमा कमी ल्याउँने रहेको लक्ष्य रहेको छ ।’ आर्थिक वर्ष २०७७/०७८ मा ५६ करोड ४८ लाख ८५ हजार थियो । भने २०७८÷०७९ मा ५६ करोड ५२ लाख थियो र तर यस आर्थिक वर्ष २०७९÷०८० मा ५५ हजार ९७ लाख बजेट रहेको केन्द्रकी निर्देशक डा. देवकोटाले जानकारी दिईन् । डा. देवकोेटाले पहिलाको तुलनामा बिरामीको संख्या बढ्दै गएको तर बजेट भने घटेको बताइन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल एचआईभी एड्सका अनुमानित ३० हजार संक्रमित रहेका छन् । जसमा महिलाभन्दा पुरुष बढी छन् । पुरुष १६ हजार ४०० रहेका छन् । जुन ५५ प्रतिशत रहेका छन् । भने महिला १३ हजार ६०० रहेका छन् । १४ बर्षमुनिका बालबालिकाहरु १२ सय रहेका छन् । जुन ४ प्रतिशत हो । हरेक वर्ष ६८० नयाँ एचआईभी संक्रमित थपिने गरेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. देवकोटाले जानकारी दिईन् । डा.देवकोटाका अनुसार एचआईभीबाट मृत्यु ५१० जनाको भएको छ । त्यसैगरी, एचआईभी संक्रमित गर्भवती महिलाहरुको संख्या (जसलाई आमाबाट बच्चामा हुने संक्रमणको निवारण गर्ने सेवाको आवश्यकता छ) २०० जना रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छडा.देवकोटाले भनिन्, ‘एचआईभीको उच्च जोखिममा सुईको प्रयोग गर्ने, यौनकर्मी र पुरुष समलिङगी र तेस्रो लिङगीमा बढी पर्दछन् ।’ सरकारले फर्मासिस्ट थप दरबन्दीको व्यवस्था र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने देखिएको डा. देवकोटाले जानकारी दिइन् । केन्द्रकी निर्देशक डा. देवकोटाका अनुसार एचआईभी रोकथाम कार्यक्रहरु नयाँ एचआईभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समुहहरुलाई प्राथमिकतामा राखि समयमा नै सेवा पुर्याउँनुपर्ने र प्रदेश, स्थानीय स्तरका प्रयोगशालामा क्षमता अभिवृद्धि गर्ने जस्तै मानव संसाधन बजेट, पुर्वाधार लजिस्टिक्स र आपुर्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ । डा. देवकोटाले ‘नेपालबाट २०३० सम्ममा एचआईभी एड्स उन्मुलन गर्ने सरकारको लक्ष्य छ ।’ कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ ।’ त्यसैगरी, कार्यक्रममा इपीक नेपालका राजेश खनालले हामी पहिला कुन समुदायमा एचआइभी संक्रमित छन् त्यो समुदाय खोज्ने गरेको बताए । ‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले काम गदै आएको छ,’ खनाले भने, ‘हामीले सातै प्रदेशमा ३७ जिल्लामा रहेका छन् । भने ३८७ नगरपालिकामा यो संस्थाले सेवा दिदै आएका छौं । ’ खनालका अनुसार पहिला पहिला एचआईभी एड्स रगतबाट जाँच गरिन्थ्यो भने अहिले र्यालबाट एचआईभी परीक्षण भईरहेको छ । त्यसैगरी, कार्यक्रममा सेभ द चिल्ड्रन सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिने बताए । यो संस्थाले मुख्य चार तहमा काम गदै आएको समेत जानकारी दिए । वन्तले भने,‘हामीले २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका छौं, आठ वटा गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालन गरिरहेका छौं ।’ वन्तका अनुसार महिला एचआईभी पोजेटिभका लागि लक्षित गरेर काठमाडौं, ललितपुर, भक्तपुर , पोखरा र सुनसरी जिल्ला गरी पाँच जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘सबैभन्दा बढी बैदेशिक रोजगारीमा जाने २० वटा जिल्ला छानेर हामीले एचआईभीका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौं , राष्ट्रिय रणनिति अनुसार १२ वटा जिल्लाका १३ वटा कारागारमा एचआईभीका कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ वन्तलेभने, ‘एचआईभीकालाई लाछ र विभेद न्युनिकरणका लागि केटालाईटिक फन्डिङका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं, जुन ५५ जिल्लामा सञ्चालन भईरहेको छ ।’ सेव.द. चिल्ड्रनले वैदेशिक रोजगारीमा भारत लगायत देश गएर आएका जिल्लामा नेपाल हेल्थ सोसाईटीबाट कार्यक्रम सञ्चालन गरिरहेको छ । सेव द चिल्ड्रनले भारतबाट आएकाहरुलाई एचआईभीसँगै क्षयरोगको पनि परीक्षण गर्ने गरिएको वन्तको भनाई छ । कार्यक्रममा ए.एच.एफका अजित पौडेलले एआरटी सेवामा आउँन सहयोग गर्ने गरेको बताए । पौडेलले यस संस्थाले एआरटी सेवा लिईरहेकालाई औषधी लिने बेला भयो भनेर घरमै गएर बोलाएर दिने गरेको बताए । एआरटी सेवा लिन जानआउँन समस्या हुनेलाई आर्थिक सहयोग गरेर भए पनि एआरटी सेवाको पहुँचमा लैजाने गरेको समेत उनले जानकारी दिए । पौडेले भने, ‘जोखिम न्युनिकरणका लागि व्यवहार परिवर्तनका लागि शिक्षा दिने काम गईरहेका छौं ।’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले एचआईभी संक्रमितलाई गरिनें विभेद र लान्छना ससबै समुदाय मिलेर घटाउँन सकिने बताए । डा. सिंहले भने, ‘एक जना मात्र लागेर हुदैंन सबै समुदाय लागेर मात्र यो भेदभाव र लान्छना अन्त्य गर्न सकिन्छ ।’ स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले आम जनमानसमा एचआईभी एड्स तथा यौनबाट संक्रमितहरुमाथि समाजमा अझ पनि भेदभाव र लान्छना लगाउने कार्य जारी रहेको भन्दै त्यसको न्युनिकरणका लागि सरोकारवाला पक्षसंग मिलेर छलफल चलाएको बताए । उनले भेदभाव तथा लान्छनाकै कारण अहिले पनि करीब एक तिहाई संक्रमितहरु उपचारको पहुँच बाहिर रहेको बताउँदै सञ्चारमाध्यम ती भेदभाव र लान्छना कम गर्न सहयोगी हु नसक्ने धारणा राखे ।
बैंकको नीति परिवर्तन गरौं, ऋण लगानी लघुवित्त कोषबाट गरौं : अर्थमन्त्री शर्माको विचार
नेपाल सरकारले साउन १९ गतेको निर्णय अनुसार निक्षेप सुरक्षण कोषको सीमा प्रतिव्यक्ति ५ लाख रुपैयाँ कायम गरिएको छ । यसले गर्दा सुरक्षण कोषको जिम्मेवारी पनि वृद्धि भएको छ । कोषले निक्षेपका साथै कर्जाको सुरक्षण समेत गरिरहेको छ । सरकारले गरिबी निवारण तथा स्वरोजगार सृजना हुनका लागि तयार गरेका रणनीतिलाई प्राथमिकता दिएका धितो नभएका विपन्न, साना तथा मझौला कृषकहरुलाई लगानी गरिएको कर्जाको सुरक्षण गरी बैंक तथा वित्तीय पहुँच विस्तारमा पनि कोषले भूमिका खेलिरहेको छ । अहिलेको सापक्षेमा निक्षेप तथा कर्जा सुरक्षणकोष अझ विस्तार भई वृहत कार्यक्रम गर्नुपर्ने देखिन्छ । पछिल्लो नीति तथा कार्यक्रम तथा बजेटले विशेष गरी साना किसान तथा उत्पादन क्षेत्रलाई बिनाधितो ऋण उपलब्ध गराउने लगायतका नीतिहरु बनाएको कारणले कोषको काम थप बढ्ने देखिन्छ । त्यसैगरी, स्वरोजगार बनाएर बेरोजगारीलाई अन्त्य गर्ने, गरिबी निवारण गर्ने, आम जनताको जीवनस्तर उकास्ने नै कोषको मूख्य लक्ष्य हो । यो लक्ष्यमा थप ब्यापक रुपमा रुपमा गृहकार्य गर्नुपर्ने अवस्था छ । जोखिम व्यवस्थापनका साथै संस्थागत अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली, आधुनिक कार्य प्रणालीको विकासलाई पनि संस्थाले सँगसँगै अगाडि बढाउनुपर्ने देखिन्छ । निक्षेप तथा कर्जा सुरक्षण कार्यक्रमका अन्तर्राष्ट्रिय मान्यतालाई पनि हामीले अध्ययन गरेर कसरी लागू गर्न सक्छौं, त्यसमा ध्यान दिन जरुरी छ । विशेष गरी चालु आवको बजेटले लघुवित्त लगानी कोष निमार्ण गर्ने कार्यक्रम ल्याएको छ । त्यसमा सबै सरकारी संस्थानहरुमा भएको कोष पनि त्यहाँ लगानी गर्ने गरी त्यसको नियमावली तथा कार्यविधि बन्दै गरेको छ । साना किसानलाई उनीहरुकै घर दैलोमा लगानी गर्नका लागि पनि यो कार्यक्रम ल्याइएको छ । र, पछिल्लो समय सुन्दै आइएको गरिबलाई महंगो ब्याज दिइयो र त्यसले गर्दा उनीहरु संकटमा परिरहेको भन्ने विषयलाई पनि यो कार्यक्रमले समेट्ने छ । हामीले सहुलियपूर्ण ऋण त्यहाँ पुर्याउनुपर्छ, जहाँ सबैभन्दा कमजोर वर्ग छ, कमजोर समुदाय छ, साना उद्यमीहरु छन्, तिनलाई पुर्याउनुपर्छ । यो कार्यान्वयन गर्ने चरणमा छौं । सबै बैंक तथा वित्तीय संस्थाले पनि लोन कोष मार्फत लगानी गर्नुपर्ने छ । योबाट बैंकहरु पनि झन्झटबाट मुक्त हुनेछन् । ऋण अब कोष मार्फत् लगानी गरिने छ । सुरक्षण कोषको दायरा र कार्यक्षेत्र सँगसँगै विस्तार हुने भयो । यसको दायरा वृद्धि भएसँगै कोषले लिने गरेको शुल्कमा पनि विचार पुर्याउनु पर्ने देखिन्छ । यसमा बोर्डले विचार गरोस् । सरकारी संस्थानहरुमा रहेको जुन पुँजी छ, त्यो पुँजीको निश्चित प्रतिशत अब लघुवित्त लगानी कोषमार्फत हामीले साना किसान तथा उद्यमी, स्टार्टअपहरुलाई सहज रुपमा ऋण उपलब्ध गराउनु पर्छ । त्यसको लागि विधि तथा संरचना तयार हुँदै छ । हामी सबै बैंक तथा वित्तीय संस्थाहरुले पनि यो कोष मार्फत लगानी गर्नुपर्ने देखिन्छ । यो कोषले वास्तवमा अहिले जति प्रयत्न गरिरहेको छ, त्यो अपर्याप्त हो । हाम्रो क्षेत्र, दायरा तथा आवश्यकता अनुसार हुन सकेको छैन । हामीले जति बढी लगानी गर्न सक्यौं, जति स्वरोजगार बनाउन सक्यौं, जति उत्पादन वृद्धि गर्न सक्यौं त्यति नै आयात प्रतिस्थापन हुन्छ । कृषि क्षेत्रको उत्पादन वृद्धि र त्यसबाट उत्पादित वस्तुलाई हामीले अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्न सक्ने अवस्था सिर्जना गर्नका लागि हामी सबैको ध्यान जान जरुरी छ । म बैंकहरुलाई पनि उत्पादनशील क्षेत्रमा गर्नका लागि आग्रह गर्छु । हामीले औद्योगिक क्षेत्र उत्पादन क्षेत्र भनेर २ प्रतिशत कममा व्याजदरमा दिनुपर्छ भन्ने पनि नीति छ । प्रारम्भिक एक करोड भन्ने छ त्यसलाई पनि संशोधन गर्नुपर्छ । किनभने यसले पुग्दैन । औद्योगिक क्षेत्रहरु लगानीको अभावमा धरायसी हुने अवस्था छ, यसलाई बचाउनुपर्छ । यसलाई बचाइएन भने देशको आर्थिक विकास सम्भव छैन । यतातिर म गर्भनर सावसँगै सबै क्षेत्रका नेत्तृवहरुको ध्यानाकर्षण गराउन चाहान्छु । हामीले उत्पादन क्षेत्रमा लगानी वृद्धि गरेर मात्रै समग्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं र अहिलेको बजेटको मूल उद्देश्य भनेको पनि यहि नै हो । यसलाई हामीले आयात प्रतिस्थापनसँग जोडेका छौं । कृषि क्षेत्रमा बजेट वृद्धि गरेका छौं । उत्पादन वृद्धि गर्न क्षेत्रअनुसार हाम्रो आयातलाई हामीले तोकेअनुसारको प्रतिशतमा कम गर्ने भनेका छौं । यो कम गर्न लगानी पनि त्यहि अनुसार नै गर्नुपर्छ । अहिले तरलताको समस्या छ । त्यसलाई समाधान गर्न राष्ट्र बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्था, अर्थमन्त्रालयले यसको बारेमा छलफल गरेर समाधान गर्नुपर्ने छ । खाद्दयान्नको मूल्य वृद्धि, पेट्रोलको मूल्य फलामको मूल्य वृद्धि लगायतको समस्या भोगिरहेका छन् । अब हाम्रो उद्देश्य के हो भने । हामी सबै सबै कुरा पनि होएनौं, तर यस्ता संकट आउँदा हामी आफै चल्न सक्ने र हामी आफैले गर्न सक्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ । त्यसैले, ग्रामिण अर्थतन्त्रको विकास नगरि हामीले समृद्धिको बाटोमा पुग्न सक्दैनौं । ग्रामीण अर्थतन्त्रलाई हामीले जोड दिएर, त्यहाँको श्रोत साधनहरुको प्रयोग गरेर त्यसबाट हामीले उत्पादन वृद्धि गरेर, रोजगारी सृष्टि गरेर आवश्यक तालिम तथा आवश्यक प्रविधिहरुको उपलब्धता हासिल गरेर जानुपर्ने अवस्था छ । त्यसको लागि हाम्रा बैंक तथा वित्तीय संस्थाहरुको केही नीतिहरु पनि बदल्न आवश्यक छन् । परियोजनालाई कसरी सम्पत्ति मान्ने ? यसमा छुट्टै धितो हुनुपर्ने । कसैले एउटा उद्योग बनाउँछु भन्यो भने यसलाई कुन नीतिले सम्बोधन गर्ने । यता पनि सोच्नुपर्ने हुन्छ । नत्र नयाँ स्टार्टअप तथा नयाँ ठंगले केही व्यवसाय गर्छु भन्नेले गर्न नसक्ने अवस्था आउन सक्छ । र, बैंकबाट लिएको ऋणले जग्गा किन्ने कारण के हो ? यस्तो वातावरणको अन्त्य गर्न पनि केही नीतिहरु परिवर्तन गर्नैपर्छ । (अर्थमन्त्री शर्माले एक सार्वजनिक कार्यक्रममा राखेका विचार)