विकासन्युज

ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै पैसा डबल हुने मुद्दती योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् । यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ । यो योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

समीट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्तले संस्थापक सेयरधनीहरूको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । कम्पनीको अनुसार यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने जनाएको  छ ।

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

मकवानपुर । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेका छन् । बाँकी मृतक एकजनाको सनाखत हुन बाँकी छ । गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा अन्य २१ घाइतेको हेटौँडा अस्पतालमा हुँदैछ ।

टेण्डर नपरेपछि रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा ढुवानी भएन चामल

फाइल फाेटाे सिन्धुपाल्चोक । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ । पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । ‘पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दैछौँ’, उनले भने । पहाडी जिल्लामा चामल पु¥याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल पठाएको छ । ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उनले बताए । ‘अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन’, सुनारले भने । चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ । चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उनले बताए । बास्मती चामलको मूल्य प्रतिकिलो  एक सय तीन, जिरा मसिनो प्रतिकिलो ६० र सोना मन्सुलीको मूल्य प्रतिकिलो ४३ पर्छ । दाङमा धान प्रसस्त फल्छ । सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ । खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उनको भनाइ छ । तुलसीपुरमा कम्पनीको गोदममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ । रासस

मर्मतको पर्खाइमा म्याग्दीको १३५ वर्ष पुरानो झोलुङ्गे पुल

गलेश्वर । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो । बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो । अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले जानकारी दिए । ‘यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो’, उनले भने । जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ । पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ । साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन् । रासस

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै

जाजरकोट । डोल्पाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ । एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार डिपिआरको काम भएपछि एक सय २२ मेगावाट विद्युत् उत्पादन हुने छ । ‘जगदुल्लाको अहिले मुआब्जा, विद्युत् खरिद बिक्री (पिपिए)लगायत काम सम्पन्न भइसकेका छन्’, उनले भने । विभिन्न निकायबाट सेयर लगानी गरेबापतको रकम भुक्तानीको काम भइरहेको छ । विद्युत् उत्पादन कम्पनीले चार लाख ९१ हजार आठ सय कित्ता शेयर, हाइडो«इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता सेयर, नेपाल विद्युत् प्राधिकरणले २१ लाख ८७ हजार कित्ता सेयर, कर्णाली प्रदेश सरकारको ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर स्थानीय तह (जलदुल्ला र मुड्केचुला)को २३ लाख ४३ हजार कित्ता सेयरबापत ६३ करोड ४९ लाख तीन हजारको रकम कम्पनीले लिइरहेको छ । विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेकको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने कम्पनीले जनाएको छ । यस्तै विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत सेयर छ । अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको पाँच/पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवद्र्धनात्मक सेयर छ । चालु आर्थिक वर्षको अन्तिमसम्म कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिए । अधिकांश ठाउँबाट शेयरवापतको रकम आइसकेको छ । केही ठाउँको मात्र बाँकी छ । एक सय छ मेगावाटको अर्ध–जलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजना निर्माणको पूर्वतयारी गरिरहेको कम्पनीले एक सय २२ मेगावाटको जगदुल्ला ‘ए’ पनि अघि बढाउन लागेको हो । कम्पनीले सूचना जारी गर्दै जगदुल्ला ‘ए’को वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गन बोलपत्र आह्वान गरी नौ महिनामा प्रतिवेदन तयार गर्ने योजना रहेको कम्पनीका प्रबन्धक सञ्जय सापकोटाले बताए । विद्युत् प्राधिकरण मातहतको एनइए इञ्जीनियरिङ कम्पनीले अध्ययन र डिजाइनको काम गरिरहेको छ । एक वर्षभित्र आयोजनाको अध्ययन सक्ने लक्ष्य छ । आयोजनाका लागि सात दशमलव एक किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । विद्युत् उत्पादन पछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्सन बनाएर सुरुङमार्गमार्फत जाजरकोट, रुकुमपश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पु¥याएर विद्युत् उत्पादन हुनेछ । त्रिवेणीमा आयोजनाको विद्युत्गृह रहनेछ । रासस

मेलम्ची, इन्द्रावतीमा फेरी पाइन थाले माछा

सिन्धुपाल्चोक । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ । मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । ‘माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्’, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भनिन् । काठमाडौंको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आएको बताउँछन् । मेलम्चीका माछा निकै स्वादिलो भएको उनी बताउँछन् । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो । बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताउनुभयो । उहाँले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आएका छन् । प्रतिकिलो रु एक हजार एक सयसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो । माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो । रासस

लालीगुराँस बहुउद्देश्यीय र स्टार सहकारीबीच मर्जर सम्झौता

ललितपुर । सहकारी क्षेत्रमा मर्जरको लहर चलेका बेलामा ललितपुरका दुई वटा सहकारी संस्था मर्ज हुने भएका छन् । महानगरपालिका–३ स्थित रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र वडा नम्बर ५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भएको हो । बिहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा लालीगुँरासका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचतका अध्यक्ष दिनेश राईले हस्ताक्षर गरेका हुन् । सहकारी ऐन २०७४, नियमावली २०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको जनाएको छ । साथै मर्जर गर्न कार्यदल पनि गठन भएको छ । कार्यदलमा लालीगुँरासका तर्फबाट अध्यक्ष श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट (सीए) गोविन्द शर्मा गैरे रहेका छन् भने स्टार बचतका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट (सीए) प्रयास श्रेष्ठ रहेका छन् । ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले संस्थाको संचालक समिति, उपसमिति र सेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।